भक्कानिँदै निकालें' जोखिम मोलेर जीवन बचाउनेहरू कान्तिपुर संवाददाता काठमाडौ, वैशाख १९ - लक्ष्मण बस्नेत, इन्सपेक्टर, सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटार भूकम्प आएको दिन बिदामा काठमाडौ आएका थिएँ। भुइचालो जान साथ काममै बोलावट भयो। त्यसैदिन कुरिनटारबाट टोली झिकाएर आइतबार बिहानदेखि खटिए। हामीलाई जीवित निकाल्न सकिने ठाउँमा खटिन भनिएको थियो। नयाँ बसपार्क क्षेत्रमा हाम्रो टिम खटियो। मंगलबार सयपत्री गेष्ट हाउसमा खोजी सुरु गर्यांै। हामी अर्घाखाँचीका ऋषि खनाललाई जीवितै उद्धार गर्न सफल भयौं। नौ तले भवनको तल्लो भागबाट उनलाई निकालेको हो। तेस्रो तल्लासम्म भित्र दबेको थियो। छिर्नै समस्या थियो। पाँचौं तल्लाबाट ढलान काट्दै काट्दै अन्तिम तल्ला पुग्यौ। रातभरि ढलान काट्यौं। मंगलबार बिहान १० बजेदेखि ढलान काट्न सुरु गरेका थियौं। राति ११ बजे ऋषि भएको ठाउँमा पुग्यौं। कराउँदै गएका थियौं। कोही हुनुहुन्छ भन्यौं, ढकढक गरेको आवाज सुनियो। हामी आउँदै छौं, नआत्तिनुस् भन्यौं। नजिकै छौं, केही मिनेटमा उद्धार गर्छौं भन्यौं। भित्र जाँदा शव गन्हाइरहेको थियो। ऋषिको कम्मर पर्खालले च्यापिएको थियो, खुट्टा बिमले। हलचल गर्न सक्दैनथ्यो। एउटा हात र खुटटा मात्रै चल्थ्यो। कोल्टो परेका रहेछन्। हामीलाई देख्नेबित्तिकै पानी खान मागे। उनलाई भित्ताले च्यापेको कारण गाह्रो भएको थियो। मेसिन लगाएर काट्दा कम्मरमा चोट लाग्ने सम्भावना थियो। भित्ता फोर्न तीन घण्टा लाग्यो। जोगाएर फुटाउनुपर्ने, सुतेर हान्नु पर्ने थियो। त्यतिन्जेलसम्म कम्मर माथिको संरचना हटाइए। कम्मर निकालेपछि उठ्लान् भन्ने सोचेका थियौं। तर, खुट्टा पनि च्यापिएको रहेछ। तिमी औंला चलाउन सक्छौ भनेर सोधें। उनले पनि कम्मर मात्रै थिचिएको बताए। मैले तान्न खोज्दा कहाँ दुखेको छ भन्दा कम्मर मात्रै भने। तर, खुट्टा त बिमले थिचेको रहेछ। एक छिनमा निकाल्छु, नआत्तिनु भने। क्षतिबिनै बिम काट्यौं, सफलता मिल्यो। बिहीबार फेरिसँगैको हिल्टन होटलमा उद्धारका लागि गयौं। त्यहाँ पनि ६ घण्टाको प्रयासपछि १५ वर्षीय पेम्बा तामाङलाई जीवितै उद्धार गर्न सफल भयौं। हिल्टनका २५ कोठामध्ये १६ वटा बुक भएको, त्यसमा चार कोठाबाट ग्राहक बाहिरिएको र १२ कोठामा ग्राहक बसेको होटल कर्मचारीले जानकारी गराए। सोमबारदेखि उद्धार भइरहेको थियो। हामी टर्किस टोलीलाई जिम्मा लगाएर अन्यत्र गयांै। बिहीबार डोजरले खन्न लागिरहेको थियो। जीवित हुनसक्छ भनेर हामी सर्च गर्छौं भन्यौं। सात बजेबाट काम सुरु गर्यौं। सात तला माथिबाट खोज्दै बेसमेन्टमा पुग्यौं। ढकढक गर्यौं। कोही छ भने चिच्याउन भन्यौं। बचाऊ बचाऊ भन्दै आवाज आयो। कसैले 'दाइ, मलाई झिक्नुहोस्,' भन्यो। दबेको आवाज थियो। भित्र हेर्दा सटर चिरा भएको थियो। भित्र छिरेपछि एक्कासि निसासिएको अनुभव भयो। अँध्यारो कोठामा दुर्गन्ध फैलियो। सटर र फुटेको ढलानमा घिस्रेर जाँदा हेल्मेट अड्कियो। भित्र छिर्न कठिन भयो। गर्मी पनि भयो। उकुसमुकुस भयो। अगाडि बढ्न लाइट मगाएँ। अगाडि बढ्दा मोटरसाइकल पनि थियो। कलिलो अनुहारका बच्चा देखें। झिक्दिनुस् भन्दै थिएँ। पाँच मिनेटमा झिक्छु भनेर ढाडस दिए। आफ्नो नाम भन्यो। धैर्य गर भन्दै पानी दिए। अक्सिजन दियौं। छेउमा सटर र मोटरसाइकलको पछिल्लो टायरको छेउमा पासाङ थियो। म जाँदा मोटरसाइकल काटेर जानुपर्ने थियो। बाइक काट्दा सटर झर्ने अवस्था थियो। बाइक र सटरको ग्याप फट्याएँ। भुईंमा सुतेर मोटरसाइकलको पछिल्लो भाग काटें। हात बाउँडेर निकै गाह्रो भयो। मेरा पछाडि बत्ती बाल्ने टोली थियो। मेसिनको ब्लेड भाँचियो। पानी खुवाएपछि बच्चा बोलेन। डर लाग्यो। आईजी कोषराज पन्त साप पनि भित्रै छिर्नु भएको थियो। सक्छौ भन्नुभयो, मैले सक्छु भनें। उहाँले तिमीसँग हामी छौं अगाडि बढ्नु भन्नुभयो। यसले झन् हौसला भयो। पासाङलाई पानी खुवाएपछि बेहोस भएछ। म आफैं बोल्न नसक्ने जस्तै भएँ। उत्तानो परेर पानी खाएछ। सकस भयो विचरालाई। अगाडि बढें। फेरि पानी खुवाएँ। होसमा आयो। आँखा बन्द गर्दा बेहोस हुन्थ्यो। मोटरसाइकल काटेपछि सानो अनुहार देखियो, घिस्रिएर आउन सक्छौ भनेर सोध्दा सामान्य चोट लागेको छ आउनसक्छु भन्यो। तर, आउन सकेन। म तीन फिट जति टाढा थिएँ। म आफैं घिस्रिँदै अगाडि गएँ। घोप्टो परेर अगाडि बढे। कुमको भागको सर्ट समाएर तान्दै घिसारें। घिस्रँदै नजिकै आएपछि मोटरसाइकल काटेको भागमा उसको काँध अड्कियो। फेरि पहिलाको अवस्थामा धकेलें। म आफैं पनि बोल्न पनि नसक्ने भएको थिएँ। बाहिरबाट एआईजी साप सक्छौ भनेर सोध्दै हुनुहुन्थ्यो। म सक्छु भन्थें। फेरि घिस्रिएर बाइकको पछिल्लो भाग काटें। उसलाई उत्तानो पारेर फेरि तानें। उसले मुखबाट फिँज फ्याँकेको देखें। मेरो खुट्टा अरुले ताने र मैले उसलाई तानें। बाहिर निस्कँदा ऊ रुन थालेपछि मलाई नराम्रो लाग्यो। संगठनका सबै सिनियर सरहरूले अँगालो हाल्नुभयो। मेरो जीउ भिजेको थियो। आइजी साप अँगालो हाल्न आउनुभयो। सबै दु:ख बिर्सें। स्याबास भन्दै उचालेर 'हिरो' भन्दा मलाई गौरव अनुभव भयो। मेरो टिमले ऋषिभन्दा पहिले अर्का एकलाई पनि जीवित निकालेको थियो। (मकर श्रेष्ठसँग कुराकानीमा आधारित)
_____ · May 2, 2015 5:35 AM · 1,374 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion