‘सीएनएन पत्रकारले शल्यक्रिया गरेका छैनन्’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘सीएनएन पत्रकारले शल्यक्रिया गरेका छैनन्’ अतुल मिश्र काठमाडौ, वैशाख १९ - वीर अस्पतालका स्नायु शल्य चिकित्सकहरूले सीएनएनका स्वास्थ्य पत्रकार डा. सञ्जय गुप्ताले एक बालिकाको मस्तिष्कको आफैंले शल्यक्रिया गरेर ज्यान जोगाएको समाचार गलत रहेको बताएका छन् । भारतीयलगायत विभिन्न सञ्चार माध्यमहरूमा न्युरो सर्जनसमेत रहेका गुप्ताले वीर अस्पतालमा समाचार संकलन गर्न जाँदा त्यहाँ सेलीना नाम भएकी घाइते बालिकालाई देखेको, त्यहाँ त्यतिखेर कुनै डाक्टर नभएको र आफैंले केही घण्टाको शल्यक्रिया गरेको समाचारहरूमा दाबी गरिएको थियो ।  शल्यक्रिया कक्षमा गाउन लगाएर डा. गुप्तासमेत रहेका फोटो भारतीय समाचार संस्थाहरूले सार्वजनिक गरेका थिए । सीएनएन स्वयम्ले पनि डा. गुप्ताले बालिकाको मस्तिष्कको शल्यक्रिया गरेको भिडियो प्रसारण गरेको थियो । उक्त तस्बिरमा शल्यक्रियाको नेतृत्व गरिरहेका वीर अस्पतालका स्नायु शल्यचिकित्सक डा. राजीव झा आफ्नो टोली नै रहेको बताउँछन् । ‘उनले आफैंले कुनै शल्यक्रिया गरेका होइनन्, मैले शल्यक्रिया गर्दाताका सेकेन्ड असिस्टेन्टको रूपमा सघाएका हुन्,’ डा. झाले कान्तिपुरसँग भने । वीर अस्पतालमा बिहानदेखि शल्यक्रिया गरिरहेका डा.झालाई कुनै व्यक्तिले गुप्तासँग भेट्टाएका थिए । सञ्जयले आफू सीएनएनको पत्रकार र ट्रमा न्युरो सर्जन रहेको भन्दै शल्यक्रियामा सघाउन अनुमति चाहेका थिए । ‘हामीसँग पर्याप्त जनशक्ति रहेकाले उनले आफू सघाउनेभन्दा पनि आवश्यकता नरहेको जवाफ फर्काएका थियौं’, डा.झाले भने, ‘एउटा शल्यक्रियामा उपस्थितिवाहेक हालसम्म उनी फेरि वीरमा अर्को पटक देखिएका छैनन् ।’ अत्यन्त आग्रह गरेपछि वीरका स्नायु शल्यचिकित्सकको टोलीले उनलाई एउटा शल्यक्रियामा दोस्रो सहायकका रूपमा राखेको थियो । डा. झाका अनुसार दोस्रो सहायकले शल्यक्रियामा कुनै काम गर्दैन । भइरहेको शल्यक्रियालाई प्रशिक्षार्थीको हैसियतमा नजिकबाट हेर्छ ।  वीर अस्पताल स्रोतका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति डा.गणेश गुरुङले समेत स्नायु विभागलाई पत्रकार सञ्जयलाई शल्यक्रिया कक्षमा बस्न अनुमति दिएकामा आपत्ति प्रकट गरेका थिए । ‘यो पत्रकारको बदमासीको पराकाष्ठा हो’, डा.गुरुङले कान्तिपुरसँग भने– ‘आफूले नै शल्यक्रिया गरेजस्तो नक्कल गरेको भिडियो तयार पारेर उनी हिरो बन्न खोजेका हुन् । मैले उनलाई चेतावनी दिएको छु । उनले माफी मागिसकेका छन् ।’ त्रिवि शिक्षण अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख डा. सुशील शिल्पकारले पनि आफ्नो अस्पतालमा कुनै पत्रकारले शल्यक्रिया नगरेको बताए ।  प्रकाशित मिति: २०७२ वैशाख १९ १०:५१ 

_____ · May 2, 2015 4:53 AM · 1,380 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all