चिनियाँ जहाज उडाऊँ कि थन्क्याऊँ निगमले सोध्यो सुरज कुँवर MA60-test-flight काठमाडौ, वैशाख ८ - बारम्बारको ग्राउन्डेड, मर्मत खर्च अत्यधिक, बिमा शुल्क अस्वभाविक र आम्दानीचाहिँ न्यून हुँदै गएपछि 'सेतो हात्ती' बनेको चिनियाँ जहाजबारे सोमबार निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले भने, 'अब जहाज उडाउने कि ग्राउन्डेड गर्नुपर्ने हो, मन्त्रालयले बाटो देखाइदिनुपर्यो।' पर्यटन मन्त्रालयले सोमबार दोस्राे चौमासिक समीक्षा बैठक डाकेको थियो। त्यही बेला शर्माले उच्च अधिकारहरूसमक्ष यो प्रश्न सोधेका हुन्। उनले चिनियाँ जहाज एमए ६० को बिमाको म्याद शनिबार सकिन लागेको जानकारीसमेत दिए। त्यसको बिमा पि्रमियम निगमले धान्न नसक्ने बताए। तर उनले जवाफ पाउन सकेनन्। पर्यटनमन्त्री दीपकचन्द अमात्य र सचिव सुरेशमान श्रेष्ठले चुपचाप सुनी मात्र रहे। केही बोलेनन्। निगमले जहाज बिक्री पछिका सेवाहरू बिमा, पाइलट तालिम, स्पेयरपार्टस लगायतमा बिक्रेता चिनियाँ पक्षले अत्यधिक महँगो दर लगाएको बताउँदै आएको छ। निगमले यसअघि पनि पटकपटक यही गुनासो गरेको थियो। तर सरकारी स्तरबाट सुनुवाइ भएको छैन। मन्त्रालयले अघिल्लो सोमबार चीनबाट आएको उच्चस्तरीय टोलीसँग निगमलाई राखेर बिमा लगायतका समस्याबारे छलफल गरेको थियो। तर लागतको चार प्रतिशत बिमा पि्रमियमबाट घटाएर एक प्रतिशत लिने चिनियाँ पक्षले आश्वासन दिएको थियो। तर निगमले एयरबसको पि्रमियम ० दशमलव ५ प्रतिशत मात्र तिरिरहेकाले त्योभन्दा बढी लिन नसक्ने जनाउँदै आएको छ। ५६ यात्रु क्षमताको एमए-६० (रारा) र यो जहाज पछि दुर्गम र उच्च हिमाली भेगको उडानका लागि कात्तिक १७ ल्याइएका १६ यात्रु क्षमताको वाई-१२-ई विमान (कोइली) जहाज चिनियाँ पक्षले भने अनुसार र सुरुमा बुझाएको प्रतिवेदनअनुरूप काम हुन सकेको छैन। दुवै जहाजको परफरमेन्स चार्ट (कार्यसूची) मा उल्लेख गरिए अनुसारको प्राविधिक क्षमता नदेखिएपछि निगमले अघिल्लो सोमाबार चिनियाँ पक्षसँग सोधेको थियो। तर वार्तामा चिनियाँ पक्ष गम्भीर नभएको निगम पदाधिकारीको गुनासो छ। उक्त छलफलमा निगमले दुवै जहाजले सिट क्षमताअनुसार यात्रु बोक्न नसक्ने, स्पेयर पार्टस उपलब्ध गराउन चिनियाँ पक्षले ढिलाइ गर्ने गरेको गुनासो गरेको थियो। 'चिनियाँ पक्ष गम्भीर देखिएन,' बैठकमा सहभागी एक निर्देशकले भने, 'हामीले सोमबार मन्त्रालयमा गरेको दुई पक्षीय वार्ता पहिलो पटक होइन, एक वर्ष हुन लाग्योतर केही भएको छैन।' उक्त बैठकमा जहाज बिक्री गर्ने चिनियाँ कम्पनी एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनका उपप्रमुख, चिनियाँ उड्डयनका निमित्त प्रमुखसहित १० जना सहभागी थिए। नेपाली टोलीमा निगम सञ्चालक समितिका अध्यक्ष, निर्देशकहरू, नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयका अधिकारीहरू थिए। मन्त्रालयका एक अधिकारीका अनुसार निगमले एमए-६० मा काठमाडौंबाट ५६ यात्रु बोकेर बाहिर लैजान सकिने तर तराईबाट फर्किंदा उडान तौलका कारण १० सिट खाली राखेर आउनुपर्ने समस्यालाई प्राथमिकताका साथ राखेको थियो। चिनियाँ टोलीले भने, 'तराईका सबै विमानस्थलमा रहेको धावनमार्गको दूरी एमए-६० का लागि कम भएको र पूरा सिट भरेर उड्न कम्तीमा एक सय मिटर धावनमार्ग विस्तार गर्नुपर्ने सुझाव' दिएका थिए। 'एमए-६० लाई पूरा यात्रु राखेर दौडिन तराईका विमानस्थल छोटो भए,' चिनियाँ टोलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'सय मिटर रनवे बढाउनुपर्छ।' निगमले एमए-६० मात्रै होइन दुर्गम उडानका लागि ल्याएको वाई-१२ ई जहाजमा पनि तौलमा समस्या आएको सुनाएको थियो। चिनियाँ पक्षको यो भनाइलाई नेपाली प्राविधिकले हाँसोको विषय बनाएका छन्। ७२ सिट क्षमताको बुद्ध एयरको जहाज आधा धावनमार्गबाट उड्ने र अवतरण गर्ने गरेको उनीहरूको भनाइ छ। 'वाई-१२ ई को यात्रु क्षमता १६ हो तर १३ जना बोकेर पोखराबाट फर्किनुपरेको छ,' निगमका एक अधिकारीले भने। यो जहाजमा यात्रुको तौलका साथसाथै मनाङ, मुस्ताङ, लुक्लालगायतका उच्च वायु चाप भएका हिमाली भेकमा लैजान नसकिने समस्या पनि छ। अनुदानमा ल्याइएका यी दुवै जहाजबाट निगमले व्यापार सुधार्न नसकेपछि थुप्रैपटक विक्रेता एभिकलाई चेतावनी दिइसकेको छ। निगमले एभिकलाई पे-लोड (उडान तौल), उच्च बिमादर, पाइलट र इन्जिनियरको तालिम, सिमुलेटर शुल्क आदि महँगो भएको, प्रपोजलमा भनिएअनुसार दुवै जहाजको पर्फर्मेन्स चार्टमा धेरै विषय सुधार्नुपर्ने लिखित प्रतिवेदन नै मन्त्रालयमार्फत चिनियाँ पक्षलाई बुझाइसकेको छ। निगमले चीनबाट थप एक एमए-६० र तीनवटा वाई-१२ ल्याउन लागेको छ। चीनमा तयार भइसकेका छन्। यी चारवटा जहाज सहुलियत दरको ऋणमा निगमले खरिद गर्ने सम्झौता छ। नेपाल र चीनबीच ०७० मंसिर १३ मा भएको दुईपक्षीय सम्झौताअनुसार जहाज खरिद भएका हुन्। त्यसबेला ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। यो रकममध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान हो। ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। निगमले ऋणको वाषिर्क ब्याज १ दशमलव ५ प्रतिशत तिर्नुपर्छ। गत वैशाख १२ गते ल्याइएको एमए-६० र कात्तिक ११ गते ल्याइएको सानो जहाज वाई-१२ ई (कोइली) अनुदानमा ल्याइएका जहाज हुन्। प्रकाशित मिति: २०७२ वैशाख ८ ०८:१४
ujl · Apr 21, 2015 11:21 AM · 2,876 views
खान पाए पछि टट्टि पनि टिपेर ल्याउछौ अनि त्यो फाल्नलाइ अर्को ढुकुटी फ़ोड्छौ | यही हिसाबमा त हाम्रो देश हुनु पर्ने हैन सबै भन्दा बढी भ्रस्टाचार हुने देशमा ?
magorkhe1 · Apr 21, 2015 12:03 PM
‘चिनियाँ जहाज नउड्ने निश्चित' 22 Apr 2015 | 10:31am बुधबार ९ बैशाख, २०७२ ‘चिनियाँ जहाज नउड्ने निश्चित; काठमाडौं-नेपाल वायुसेवा निगमले अनुदानमा प्राप्त गरेका दुईमध्ये एउटा ठूलो चिनियाँ जहाजको बिमा नवीकरण गर्ने कि नगर्ने स्पष्ट हुन नसक्दा जहाज थन्किने निश्चित भएको छ। तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन एकातिर तथा निगम व्यवस्थापन र सञ्चालक समितिबीच अर्कोतिर द्विपक्षीय ‘विवाद' सुरु भएपछि ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क' (एमए–६०) जहाजको नउड्ने निश्चित भएको हो। एमए–६० को बिमा नवीकरण गरिसक्नुपर्ने अन्तिम मिति आगामी शनिबार (वैशाख १२) सम्म छ। बेलायतस्थित बिमा कम्पनीमा आइतबार बिदा भएका कारण यो जहाज थप एक दिन आइतबारसम्म उडाउन पाइने छ। बिमा नवीकरण नगरी जहाज उडाउन पाइँदैन। निगम सञ्चालक समितिले २०७१ माघ दोस्रो साता बिमा शुल्क उच्च हुनुका साथै चिनियाँ जहाजको उडान क्षमता कम भएको भन्दै पर्यटन मन्त्रालयलाई पत्राचार गरी समस्या समाधानका लागि चीनसँग वार्ता गरिदिन आग्रह गरेको थियो। निगमले गत चैत ११ को समयसीमा तोक्दै चिनियाँ जहाजका समस्या समाधान नभए चीनबाट ल्याउन बाँकी चार जहाज नल्याउने र यहाँ सञ्चालनमा रहेका दुई जहाज फिर्ता पठाउने निर्णय गरेको थियो। त्यसको करिब दुई महिनापछि मन्त्रालयले चिनियाँ पक्षसँग वार्ता गरे पनि ठोस काम भने हुन सकेको छैन। जहाजको बिमा रकम उच्च भएको भन्ने निगमको भनाइलाई चिनियाँ पक्षले ‘यसमा आफ्नो चासो नभएको' र मन्त्रालयले पनि बिमाको समस्या निगम आफैंले समाधान गर्नुपर्ने धारणा राखेपछि निगममा थप अन्योल भएको छ। मन्त्रालय र चिनियाँ दुवै पक्षबाट स्पष्ट कुरा नआएपछि निगम व्यवस्थापनले मंगलबार पुनः मन्त्रालयलाई पत्र पठाएको छ। ‘एमए–६० जहाजको बिमा नवीकरण गर्ने कि नगर्ने भन्ने प्रमुख विषयसहित अन्य समस्या समाधान गर्न निर्देशनका लागि पर्यटन मन्त्रालयलाई अनुरोध गर्दै पत्राचार गरेका छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, ‘केही हुने आशा छ।' उनका अनुसार एमए–६० को बिमा शुल्क जहाजको कुल मूल्यको ४ दशमलव ७ प्रतिशत रहेको छ। यो हिसाबले दैनिक २ लाख ४८ हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ। एक वर्षमा एमए–६० को बिमा शुल्कमात्र ९ करोड ५ लाख २० हजार रुपैयाँ तिर्नुपर्छ। ‘यो असाध्यै महँगो हो,' उनले भने, ‘हामी एक प्रतिशतभन्दा बढी तिर्नसक्ने अवस्थामा छैनौं। यति ठूलो परिमाणमा बिमा शुल्क तिरेर जहाज उडानको लागत पनि उठाउन सकिँदैन त्यसमाथि चिनियाँ जहाजको उडान क्षमता पनि उल्लेख गरिएभन्दा कम छ।' निगमले बिमा रकम उच्च भएका कारण जहाज सञ्चालन गर्न अप्ठेरो भएको बताउँदै आएको छ। यसको बिमा शुल्क पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा तीन गुणा बढी छ। त्यसमाथि अमेरिका र युरोपले यो जहाजलाई हालसम्म मान्यता दिएका छैनन्। यसले पनि बिमा रकम महँगो भएको हो। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ‘ए३२०–२००' सिरिजका जहाज र अमेरिकी कम्पनी बोइङले उत्पादन गरी निगमले करिब तीन दशकदेखि सञ्चालन गरिरहेका ‘बि७५७' सिरिजका जहाजको वार्षिक बिमा शुल्क जहाजको कुल मूल्यको डेढ प्रतिशतमात्र तिर्नुपर्ने भए पनि ५६ सिटे चिनियाँ ‘मोडर्न आर्क' (एमए–६०) को बिमा शुल्क चार गुणा बढी रहेको सम्बद्ध अधिकारीले बताए। पर्यटन मन्त्रालयले पनि एमए–६० को बिमा शुल्क महँगो वा नवीकरण के गर्ने भन्ने विषयबारे निगम आफैंले निर्णय गर्नुपर्ने जनाएको छ। निगमले राष्ट्रिय बिमा संस्थानमार्फत बेलायतको एक कम्पनीसँग चिनियाँ जहाजको बिमा गरेको छ। ‘कुन कम्पनीसँग कति रुपैयाँको बिमा गर्ने भन्ने निर्णय निगम व्यवस्थापनको हो, हाम्रो होेइन,' मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने,' ‘चिनियाँ जहाज कम्तिमा चार/पाँच थान आरामसँग न्यूनतम एक वर्ष सफल तरिकाले उड्यो भने यसको बिमा शुल्क आधाभन्दा कममा झर्ने छ। अन्य प्राविधिक समस्या समाधानका लागि हामीले पहिलेदेखि नै पहल गर्दै आएका छौं।' निगमले एमए–६० २०७१ वैशाख १४ मा काठमाडौं ल्याएको थियो। यसले असार ११ बाट नियमित उडान सुरु गरेको थियो। त्यसपछि माघसम्ममा प्राविधिक समस्याका कारण करिब एक दर्जन पटक यो जहाज ‘ग्राउन्डेड' भएको थियो, जसबाट ८० दिन सेवा अवरुद्ध भएको थियो। ‘ब्रान्ड न्यु' जहाजबाट बजार हिस्सा बढ्ने र प्रशस्त नाफा गर्ने निगमको योजना अहिले पूरै असफल भएको छ। निगमले गत माघ दोस्रो साता मन्त्रालयमा पठाएको पत्रमा एमए–६० सञ्चालनमा आएको सात महिनामा ८० दिन ग्राउन्डेड, स्पेयर पार्ट्स (जगेडा पुर्जा) असाध्यै महँगो, ल्याउन परे सामान आइपुग्न धेरै दिन लगाइदिने, पाइलट, इन्जिनियर, क्याबिन त्रु्कलगायतको तालिम खर्च निगमसँगै रहेका बोइङ ७५७ (ठूला जहाज) को दाँजोमा एमए–६० मा तीनदेखि चार गुणा महँगो र बिमा शुल्क पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा तीन गुणा बढी रहेको उल्ल्ेख छ। त्यसैगरी चीनले जहाज पठाउनुअघि दिएको विवरण (स्पेसिफिकेसन) अहिले जहाजमा नमिलेको पनि पत्रमा उल्लेख छ। जहाज आउनुअघि जति भारवहन क्षमता भनिएको थियो, त्यो अहिले नमिलेको पत्ता लागेको थियो। पत्रका अनुसार काठमाडौंबाट ५६ सिट क्षमताको एमए–६० उड्दा ५४ यात्रुमात्र राख्न मिल्छ। तापक्रम र धावनमार्ग लम्बाइका आधारमा काठमाडौं फर्किंदा यो जहाजले न्यूनतम ३६ (भद्रपुरबाट फर्कंदा) र बढीमा ४८ (धनगढीबाट फर्कंदा) जना यात्रुमात्र ल्याउन सक्छ। अघिल्लो सोमबार चिनियाँ उच्च अधिकारी, पर्यटन मन्त्रालय, निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको वार्तामा बिमाबाहेक अन्य विषयमा आफ्नो तर्फबाट केही कमजोरी भएको चिनियाँले स्वीकारेका थिए। आफ्ना जहाजको उडान क्षमता पुष्टि गर्न चीनले ती जहाज उड्ने नेपालका सबै विमानस्थल गएर अध्ययन गरी प्रतिवेदन तयार गर्ने र चिनियाँ उड्डयन प्राधिकरणबाट अनुमोदन गराई नेपाली उड्डयन प्राधिकरणलाई बुझाउने प्रतिबद्धता जनाएका थिए। जगेडा पुर्जा पनि समयमै आपूर्ति गर्ने बताएका थिए। Source: Nagarik News
ujl · Apr 22, 2015 6:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion