मारी युहाल्सी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझामा कथाको खडेरी लाग्यो ... लेख्नेहरु आधि मात्रै लेखेर छाड्न थाले .. आफुले लेखु भने आफुलाई लेख्न थोप्पो आउने हैन... त्यै भएर एउटा मन परेको कथा यहाँ share गर्दै छु लेखकको अनुमति लिएर ....  Source: http://www.bhoowan.com.np/2013... मारी युहाल्सी "सरले क्लासमा पढाईरहेको हुन्थ्यो, मन चाहिँ बिरामी आमाको बेड वरिपरी घुम्थ्यो | कति दिन काममा पनि जान मन लागेन | साथीभाईसंगको हल्लाखल्ला त मलाई उहिले देखि मन पर्दैनथ्यो | भुवन, तँ यो कुरा महसुष गर्न सक्छस ? मेरै फिनिश साथीहरुले त बुझ्दैनन, तँ फरक 'कल्चर' बाट आएकोले के महसुश गर्थिस | डाक्टरले आमाको मिति तोकिसकेको छ | अब धेरै बाँच्नु भयो भने ३/४ महिना मात्र रे | गएको २ महिनादेखि हस्पिटलमा हुनुहुन्छ, कहिलेकाहिँ फरक छुट्याउन सक्दिन, क्यान्सर आमालाई भएको हो कि मलाई | घरमा अलि धेरै पढेको छोरी मै हो | अँ .... भयो छोड सब कुरा, बेकारमा मेरो टेन्सनको कुरा तलाईं सुनाएर किन तेरो उदास बनाउनु | यतिबेरसम्म मेरो कुरा सुनिदिइस, खुशी लाग्यो |" हेल्सिन्की सेन्ट्रल नजिकै भेट हुँदा करिब ३ महिना अघिको कुरा थियो यो | सबैको आ-आफ्नै काम, तनाव, दैनिकी | गफगाफको मेसो महिनौंसम्म जुरेन | फेसबुकमा म कहिले 'अनलाइन' मा बस्थिन | हामीसंग एकअर्काको फोन नम्बर त थियो, तर किन थियो, थाहा थिएन | कहिल्यै सिधै म्यासेज वा फोन गरिएन |  मारी युहाल्सीसंग मेरो भेट २०१२ को मार्चमा भएको थियो | यूनिभर्सिटीको एउटा तालिममा कसो कसो गरि मसंगै परेकी थिई | कार्यक्रमपछि बेलुका सानो भोजमा एउटै टेबलमा भई | 'सबैको हातमा बियरको गिलाँस हुँदा तेरो चाहिँ 'साईडर' मात्रै ?', मैले बोलि फोरें | 'अँ, मलाई यहि ठिक छ, म अल्कोहल लिन्न' | उ अलि फरक थिई, आम फिनिश केटीहरुभन्दा | रुपरंगले होइन, बोल्ने शैली र अनुहारको भावले | कताकता केहि लुके जस्तो | आँखामा कुनै तेज नभएको, गालामा लाज र उत्तेजना होइन, निरस भोगाई थिग्रीए जस्तो | मेरो नराम्रो बानी भनौं, किताब भन्दा 'मान्छे' छिटो पढ्न मन लाग्ने | त्यो साँझ, अरु साथीहरुसंग जस्तै उसंग पनि फेसबुक र फोन नम्बर आदानप्रदान भयो | 'मैले तलाईं दिउँसोदेखि नै 'नोटिस' गरेको थिएँ, तँ बाहिरबाट आउने अरु बिद्यार्थीजस्तो छैनस, तेरो भाषण 'इम्प्रेसिभ' थियो ', जाने बेलामा उसले एकै सासमा भनि |                                                                         * * * अस्ति भर्खरको एउटा अल्छिलाग्दो आईतबार, उसले म्यासेज गरि -"के गर्दै छस ? कृपया मिल्छ भने एकछिनलाई भेटौँ न"| मैले किन/कसरि केहि प्रश्न गरिन | 'हस हुन्छ, सेन्टरमा आउनु' भनेर म्यासेज फर्काएँ | मलाई लगभग अन्दाज थियो, उ के कुरा सुनाउन चाहन्छे |  "बुबाको एउटा फार्म-हाउस छ | दाई धेरै अघिनै बिहे गरेर यतै हेल्सिन्की तिरै बस्छ, के छ कस्तो छ, थाहा छैन, परिवारको सम्पर्कमा बस्दैन | बुबाले आमालाई माया नगर्ने त होइन, तर म महसुश गर्न सक्थें, सम्बन्ध त्यति गाढा थिएन | तर आमा बिते पश्चात बुबा अर्कै हुनुभएको छ | उहाँको जीवनबाट सबै कुरा गुमे जस्तो | टोलाउनु हुन्छ, निराश देखिनुहुन्छ, शिकार खेल्ने बन्दुक पनि फालिदिनु भयो | बाँचुन्जेल आमालाई अलिकति ध्यान दिनुभएको भए, सायद ब्लड-क्यान्सरलाई पनि उहाँले जित्नुहुन्थ्यो होला | अहिले सोच्छु, आमालाई कसले बढी पेल्यो, क्यान्सर कि बुबाको उपेक्षाले |  हामी दाजुबहिनि कसरि जन्मियौं , सायद संयोग होला | मेरी आमा हेर्दा राम्री देखिनुहुन्थ्यो | एउटा नारीमा हुनुपर्ने सबै गुण उहाँसंग थियो सायद | तैपनि बुबाको जहिले असन्तुष्टि रहन्थ्यो आमासंग | सानो छंदा यो किन होला भन्ने सोचि रहन्थें, मेसो पाउँदिनथें | आजकल सम्झिन्छु, बुबा धेरै जसो जांड खाएर किन घर बाहिरको गोठमै सुतिदिन्थे | अरु घरायसी ब्यबहार सबै ठिकठाक नै चलिरहँदा, उहाँहरुलाई एउटै ओछ्यान 'सेयर' गर्न चाहिँ किन समस्या थियो | बेला बेलामा जिल्ल पर्थें | आमाले एउटा रुखो-सुखो लोग्ने त पाउनुभयो, तर माया गर्ने श्रीमान पाउनुभएन "|  "धत्, म कस्तो छोरी, यो सब तलाईं किन सुनाईरहेको होला" | म अलिकति हासें मात्र, त्यस्तो बेला कसरि 'रियाक्ट' गर्ने मेसो नै पाईन | मैले कफी सुरुप सुरुप सकें, मारीले कप छोएकी समेत छैन | थाहा छ, उसको मन भन्दा पनि ज्यादा चिसो भईसकेको छ कफी | तर उसलाई म बिचमा अल्झाउँदिन | उ एकोहोरो मेरो आँखामा हेरेर बोलिरहेकी छ, मानौं क्यामरा अघि कुनै बयान दिदै छे |                                                                      * * * "म बेला बेलामा फर्म-हाउसमा जान्छु | धेरै कुखुराहरु छन् जसमा मलाई मन पर्ने एउटा ठुलो पोथी छ, जसका धेरै रंगीबिरंगी चल्ला छन् | बेला बेलामा कुनै अनौठो आवाज आउँदा आफ्नो पंखेटा मिलेजति फुकाएर चल्लाहरु छोप्छे | म त्यो बेला यस्तो महसुश गर्छु मानौं म पनि तिनै चल्लाहरु मध्य एक हुँ | फुर्रफुर्र गर्दै त्यहि पंखेटाभित्र पसूँ | आमा नहुँदाको घर, के घर |  मेरो गाउँ 'सालो' छोडेर हेल्सिन्की झर्न मलाई अत्यास लाग्थ्यो | यहाँको 'कस्मेटिक' रहनसहनमा म पटक्कै फिट हुन सक्दिन | तलाई लाग्दो होला, यहाँका तन्नेरीको कुनै 'फिलिंग्स'  हुँदैन, सम्बन्धहरु भनेको म्याक डोनाल्डस् को बर्गर झैँ हुन् | हेर न, दुखको कुरो, मलाई पनि त्यस्तै लाग्छ भन्या ! मेरा साथीहरुको ब्यबहारनै त्यस्तै छ | सबैले सबैलाई मुखले ठिक्क मात्रै पार्न आउँछ | मनमा कुनै गहिरो भाव नै रहँदैन | तलाईं थाहा छ ? अस्ति क्लासमा एक्लै बसिरहँदा केहि साथीहरु हल्ला गर्दै, हाँस्दै भित्र पसे | एकछिनलाई जबरजस्ती हाँसो थामेर शान्त भएझैँ गरे, अनि म नजिक आएर भने - 'के यो कुरा साँचो हो ? ओहो... तिम्रो आमा बित्नु भएकोमा दुख छ, उहाँको पक्कै स्वर्गबास हुनेछ, आफुलाई सम्हाल्नु !'  मैले 'सहनाभूतीको लागि धन्यबाद' भनें | उनीहरुले सोधे - 'साँच्ची के भएको थियो रे तिम्रो आमालाई ?' | मैले निहुरिएको टाउको बिस्तारै उठाएर 'आमा अस्तिनै देखि बिरामी हुनुहुन्थ्यो, अनि  ....' भन्दै गर्दा उनीहरु हिंडीसकेका थिए | म बोल्दाबोल्दै रोकिएँ | वाक्य बिचमै मधुरो हुँदै गयो, म उनीहरु गए तिर हेर्दै बसें, एक्लै | मनभित्रबाट जान्न मन छैन भने किन सोध्नु | त्यहि पनि पिकनिकको कुरो गरेको हो र, मेरो आमाको मृत्युको प्रक्रिया बताईरहेको थिएँ म | कसरि टुहुरो भएँ भन्ने सुनाईरहेको थिएँ | फार्मका चल्लाहरुलाई आहारा दिने मान्छे कसरि बिलायो भन्ने सुनाईरहेको थिएँ | मलाई सहानभूति दर्शाउन खोज्ने साथीहरु भन्दा त ति कुखुराका चल्लाले बुझ्छन मेरो आमाको रंग, उहाँको हिडाई | त्यो खैरो, लामो र थोत्रो ज्याकेट लगाएर आउने आईमाईको ममता कस्तो छ भनेर | उनीहरु जान्दछन, वात्सल्य कस्तो हुन्छ |"  मारीको आवाज मसिनो हुँदै गयो | उसको पावरवाला चस्मा भित्र के बग्दै छ, मलाई नियाल्न मन लागेन | "म अर्को कफी लिएर आउँछु ल !", उसलाई बिस्तारै धाप मारें, सकेजति बिस्तारै, बस् हावाले मात्र छोयो होला | उसले टाउको हल्लाएर 'हस' भन्ने संकेत गरि | दुखसुख त जीवन सापेक्ष हुँदो रहेछ, ठाउँ सापेक्ष होइन | एउटा गोलार्दको लागि जहाँ जसरि बिझाउँछ, अर्को गोलार्दका लागि पनि त्यसरी नै बिझाउँदो रहेछ |  अबको कफी तातो थियो, मिठो बासना सहित बाफ उड्दै गरेको | "ठाउँ जतिसुकै बिकट होस्, संस्कारका हिसाबले तिमीहरु कति सुगम छौ है !", उसको स्वर अलि बलियो सुनियो | "अँ.. हाम्रोमा जन्म, मृत्यु, बिबाह अनि अरु थुप्रै कुराहरुमा अलि बढी नै 'ड्रामा' हुन्छ, धेरै जसो चै लम्बेतान | एक हिसाबले ठिकै पनि हो, कुनै कुनै चलन चाहिँ झन्झटिलो छन् | तर राम्रो पक्ष भनेको, कुनै पनि कुरा कोहि एक्लैले व्यहोर्न पर्दैन "| मैले धेरै तन्काउन चाहिन | मलाई राम्रो ब्याख्या गर्न पनि आउँदैन | खासमा मेरो बिश्लेषणले उसलाई केहि फरक पार्नेवाला पनि थिएन | मानिस सधै आफ्नो जीवनमा एउटा असल श्रोताको खोजीमा रहँदो रहेछ, मन हल्का पार्नको लागि | ७ जुनीसम्म संगै हुन्छु भन्ने ग्यारेन्टी किन चाहियो |  "तँ नेपालमा जन्मिनु पर्ने मान्छे रहिछस, यहाँ फिनल्याण्डमा के गरि बस्छेस त खै !", मैले अड्कलेर जिस्क्याएँ | मारी मलाई हेरी मात्र रहन्छे, ओठलाई थोरै तन्काएर, आँखा अलि कम झिम्क्याएर |

Aakinchan · Apr 15, 2015 1:33 AM · 12,703 views

2 Replies

Nice read. Thank you for sharing.

KaliKoPoi · Apr 15, 2015 8:23 AM

राम्रो लाग्यो यो कथा भूवन-जी को . अकिञ्चन जी, मेरो विचारमा पाठकको व्यग्रतालाइ हिसाबमा राखेर कुनै पनि लेखकले आफ्नो लेखको प्रवाह र श्रीजन्शिलतालाइ बगाउन सक्दैन . पाठकको कथा/रचना पढ्न उग्र प्रतिक्ष्या र उत्सुकता नै शयेद लेखकको सफलताको मापन हो . अब साझाका लेखकहरु जति थिए पहिले तेती अहिले छैनन् ; सबैलाइ जीवनको परिबन्दहरुले र बदलिँदो समयले जकडेको छ . साझामा लेख्ने हरुका कि त आफ्ना ब्लग छन् हैन भने फेसबुकमै लेखेर रमाईरहेका छन् . र केहि सेतोपाटिमा नि रमिरहेकाछन् , छन त . तेसैले अब लेखकलाइ झक्झकाउने हो पाठकले लौन लेख्नुस भनेर अरु खासै केहि गर्न सकिन्छा जस्तो लाग्दैन प्रभु मलाई त . हुन त यहाँ गुरुहरुको भरमार भण्डार छ , म नाथे लाइ त थाहा छैन है . - थाहा छैन

ThahaChaena · Apr 15, 2015 8:56 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all