पहिचानवादीहरूको जमानत जफत--दिलनिशानी मगर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बागलुङ उपनिर्वाचन : पहिचानवादीहरूको जमानत जफत r4383 *चैत्र २८ गते  साँझ बागलुङ क्षेत्र नम्बर १मा संविधानसभाको उपनिर्वाचन सफलतापूर्वक सकियो। कुनै धाँधली र ठूलो क्षति हुने गरी झडपका घटना हुन पाएनन्। यसपालि मोटरसाइकलको हावा खुस्काइदिएको घटना सुन्नु परेन। मतपेटिका साटिएको विषयमा पनि दलहरूबीच आरोप-प्रत्यारोप भएको छैन। मतपेटिका नै साटन त मतपेटिकाभित्र एकछापे मतपत्र हुनु पर्थ्यो। यसपालि विद्युतीय भोटिङ मेसिनमार्फत् मातादेश संकलन गरिएकाले मतपेटिका साटिने सवालै भएन। तर, दुर्भाग्य भनौँ- कांग्रेसी गीत गाएर हिँडेका गायक रामजी नेपाली कुटिए। कुटपिटमा संलग्न भन्दै जिल्ला प्रहरीले नेकपा एमालेका केही युवा कार्यकर्तालाई पक्राउसमेत गर्‍यो। त्यसकै विरोधमा नेकपा एमाले सडकमा उत्रियो र मतगणना निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भयो। ढिलो भए पनि एमाले मतगणनामा समाहित हुन पुगेका थिए। कुटपिटमा संलग्न दोषीलाई छुटाउने कुरासँग एमालेको स्वाभिमान गाँसिएको छ भने घाइते कलाकारको उपचार कांग्रेसले गरिरहेको छ। खासमा हामीले बुझ्नुपर्ने कुरा के हो भने निर्वाचनको समयमा गाउँघरतिर छिमेकीहरूबीच भनाभन हुने, बुथनजिक तानातान गर्दा कमिज च्यातिने, भागडौड गर्दा घुँडा फुक्लिने तथा जोशमा हात हालाहाल गर्दा अनुहारमा गहिरो चोटपटक लाग्ने कुरा त सामान्य नियमितताजस्तै हुन गयो। अझ बागलुङ वामपन्थीको पुरानो गढका रूपमा चिनिन्छ, यस्ता घटना चुनावका बेला भएनन् भने यहाँका युवालाई राजनीतिको मजा नै आउँदैन जस्तो छ। धन्न यसपालि विद्युतीय भोटिङ मेसिनको उपयोगका कारण बुथ कब्जा भन्ने कुरै उठेन। यसलाई प्रविधिको जित भएको पनि भन्छु म त। मतदान स्थन तोकिएका सबै गाविसका मतदान केन्द्रमा कच्ची सडकको पहुँच भएकाले २७ गते शनिबार राति नै जिल्लाको १९ गाविस र १ नगरपलिकामा रहेका ७० मतदान केन्द्रबाट विद्युतीय भोटिङ मेसिन सदरमुकाम ल्याई निर्वाचनको निर्वाचन अधिकृतको कार्यालयमा राखिएको थियो। जम्मा एक निर्वाचन क्षेत्रमा निर्वाचन गराउने जनशक्ति र सुरक्षाको कमी भएन। निर्वाचन कार्यालय बागलुङका अनुसार कुल मतदाता संख्याको ७३.८४ प्रतिशत मत खसेको थियो, जसमा ५२ हजार २ सय मतदातामध्ये ३८ हजार २१ जनाले मतदान गरेका थिए। उपनिर्वाचनमा पनि प्रतिशतको आधारमा यति मत खस्नु अस्वाभाविक होइन। मतगणना सम्पन्न भएको छ। कांग्रेसकी चम्पादेवी खड्का १७१५४ प्राप्त गरी विजयी भएकी छिन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेद्‌वार मना केसीले १५०६८ मत पाएकी छिन्। एमाओवादी र अन्य साना दलहरूको प्राप्त मत नगन्य मात्रामा छ । एमाओवादीले जम्मा २ हजार पाँच यसय २५०५ प्राप्त गरेको छ। यसलाई जिल्लावासीहरूले लज्जास्पद हार भन्दै सामाजिक सञ्जालमा आफ्ना विचार पखिरहेका छन्। राजनीतिक पृष्ठभूमि नभएकी चम्पादेवीलाई स्वर्गीय पतिको योगदानका कारण जनताको मत खसेको हो। यहाँ ‘जीवित’हरूले चुनाव हारेका छन् । निधन भइसकेका व्यक्तिको छविका आधारमा तिनको परिवारको सदस्यले चुनाव जित्नु चानचुने कुरा होइन। यो उपनिर्वाचनमा एमाओवादीको प्रतिस्पर्धा त राष्ट्रिय जनमोर्चासँग पो भयो। अर्को कुरा संघीय समाजवादी पार्टीलाई राष्ट्रिय जनमोर्चाले उछिन्यो। यो पनि काइदाकै भयो। यसको प्रत्यक्ष फाइदा चम्पादेवी खड्कालाई भयो। कमरेड दिनानाथको बुद्धिलाई तारिफ गर्नैपर्छ, यी सब कुराको पूर्व अनुमान गरेरै उनी बिरामी भइदिएछन्। आखिरीमा जित कसको? रुखको पो भयो। बाबुराम घुमेर गएको पनि कामै लागेन। जब विचार, नीति, आन्दोलन काम लाग्नै छैन भने नेता मात्रै काम लाग्दैन। यसपालिको निर्वाचनमा नेकपा एमालेले बाहुबल देखाउँदै हिँड्यो। जितको मात लाग्यो र एमाले पराजित भयो। मिडियाहरूले आफ्ना सञ्चार सामग्रीको दुरूपयोग गरे। राष्ट्रिय जनमोर्चाले एमालेलाई मतदानमा सघाउने भनेर हुँदै नभएको भ्रमलाई व्यापक रूपमा मिडियाकरण गरे। एमालेले यसपालि जताबाट सोच्दा पनि विजय जुलुसको भिड देखेको थियो। शुभकामना आदान-प्रदानको कल्पना गरिसकेको थियो। तर, चम्पादेवीको आँसु जनतालाई मुटु बिझाउने गरी भार पर्‍यो।  उनले हार्दाहार्दै पनि जितिन्, मना केसीले जित्दाजित्दै पनि हारिन्। कृष्ण केसीलगायत अन्य उम्मेद्‌वारलाई मनमा जित्ने कुनै अपेक्षा थिएन। जनजातिको बाहुल्य रहेको निर्वाचन क्षेत्रमा धेरै प्रतिशत मत खसेको छ। रायडाँडा, अमरभूमि, भीमपोखरा जस्ता जनजातिको बाक्लो बस्ती रहेको गाविसमा पहिचानवादी शक्तिलाई बडो हाँस्यास्पद ढंगको मत खसेको छ। जनजातिको पहिचानको मुद्दा बोकेर उठेका केही राजनीतिक दलहरूले यी गाबिसबाट निराशाजनक मत पाएका छन्। अशोक राईको संघीय समाजवादी पार्टीका उम्मेदवारले त शून्यप्राय मत प्राप्त गरेभन्दा पनि फरक पर्दैन। एमाओवादीले मुस्किलसँग सान्त्वना मत पाएको छ । यहाँ केही उदाहरण पेस गर्नु उपयुक्त हुनेछ- तारा र अर्गल गाविस जनजाति समुदायको गढ नै हो। यी गाविस जनयुद्धका आधरभूमि पनि हुन। यिनै ठाउँबाट एमाओवादीलाई मत खसेन। राजनीतिक दृष्टिकोण अनेक भए पनि जनजाति अधिकारको मान्यता, पहिचानको आवश्यकता समान हुनपर्ने थियो। कम्तीमा जनयुद्ध लडेको पार्टीलाई सबैभन्दा धेरै सहिद भएका गाविसबाट मत आउनुपर्ने थियो, दु:खको कुरा एमाओवादीलाई कुनै पनि गाविसबाट चोखो मत पाँच सय नाघेन। जनताको मतादेशलाई मान्ने हो भने संघीय समाजवादी पार्टीलाई शून्य मत प्राप्त भयो। एमाओवादीलाई झिनो मत प्राप्त भयो। रायडाँडा गाविसको मतकेन्द्रबाट एमाओवादीलाई जम्मा तीन मत प्राप्त भएको छ। यसको मतलब खुद पार्टीको गाउँ कमिटीले पनि मतदान गरेनन्। जनयुद्धको पृष्ठभूमि र जनजाति समुदायको बस्ती बाक्लो भएको तथा मतदाताको जनसंख्या पनि राम्रो भएको गाविसको मतकेन्द्रबाटै मत नखस्नु भनेको एमाओवादी तथा पहिचानको नारा बोकेका समूहहरूलाई ठूलो धक्का हुनेछ। तिनले महसुस गर्नैपर्छ। माओवादीको राम्रै पकड भएको गाविस अमरभूमिबाट जम्मा ८ मत प्राप्त भयो, अनि भीमपोखरामा कुल ५ मत परेको छ। जबकि अमरभूमि गाविसको मतकेन्द्रमा मत १०२३ खसेको छ। अर्को जनजातिको बसोबास रहेको गाविस रायडाँडा मतकेन्द्रमा १०३६ मतमध्ये माओवादीलाई जम्मा ३ मत खसेको छ भने भीमपोखरा गाविसको मतकेन्द्रमा १६०० मत खसेकोमध्ये ७ मत मात्र माओवादीलाई गएको छ। यसैलाई होला पत्तासाफ भनिने पनि। यो शून्य मत जस्तो हो। संघीय समाजवादीको त नामोनिसान नै देखिँदैन। यी मुख्य गाविसका मतकेन्द्रले दिएको मुख्य मतादेशले राष्ट्रिय राजनीति र मुद्दाहरूमा असर गर्छ, गर्छ। जे होस्, अब दलहरू सच्चिन जरुरी छ। जनताको नाडी छामिसकेपछि अब पनि धेरै बिच्किएर फेरि असहमतिको दिशातर्फ धकेलिनु हुँदैन, ती पहिचानवादी हुन् या यथास्थितिवादी जनताको सपना पूरा गर्न अब चुक्नु हुँदैन। ‘गिभ एन्ड टेक’को रणनीतिमार्फत मिलेर जानु पर्दछ। अन्यथा कांग्रेले मेरो गोरुको बाह्रै टक्का भन्यो भने बर्बाद हुन्छ। जातीय पहिचानको कुरा मुख्य होइन, जनजातिलाई साम्प्रदायिकता मन परेको छैन। मिसनरीको गतिविधि सही छैन । एमाओवादी हार्नुमा एउटा महत्त्वपूर्ण कारण छ। तर, संघीय सामाजवादी जस्ता दलहरूको धरौटी जफत हुनुमा कुनै पनि कारण छैन। एमाओवादीका उम्मेद्वार कृष्णबहादुर केसीलाई अन्य दुई किरण र विप्लव गुटका माओवादीले नैतिक रूपमा भए पनि मतदान गर्दै गरेनन्। राजनीतिक रूपले एमाओवादीभित्रैका सबै मतदाताले पनि मतदान गरे कि गरेनन् भन्ने ठूलो शंका छ। माओवादी आन्दोलनको मुख्य बाधक नै यही हो। एमाओवादीकै पूर्ण गाउँ कमिटीका मानिसले मत खसालेनन् भनेपछि अरुको कुरा नगरौँ। व्यक्ति-व्यक्तिमा समस्या, गुट-गुटमा समस्या। यही माओवादीको अन्तरविरोधको फाइदा उठाउँदै कांग्रेसले चुनाव जितेको हो। धेरै दोधारे जनता र माओवादीका अनेक समूहले चम्पादेवीलाई मतदान गरेका हुन्। मर्नभन्दा बहुलाउन निको भनेजस्तो आफ्नो पार्टी बहुलाएपछि माओवादीका सामान्य कार्यकर्तासँग कुनै विकल्प थिएन। कतिपय चैते माओवादीसँग चिया पिउने पैसा पनि थिएन होला, ती बिके। दिवंगत सभासद हरि खड्कासँग सुमधुर सम्बन्ध हुनेहरू सबैले चम्पादेवीलाई भोट हालेका हुन्। माओवादी मिल्न नसक्नुको फाइदा कांग्रेसलाई भयो। कांग्रेस आफैँमा पनि कमजोर शक्ति भने होइन। बाग्लुङमा एमाओवादीको साथमा ३० दल मिलेर चुनाव लडेका थिए। त्यो समर्थन भनेको पहिचानवादी शक्तिहरूको बीचमा थियो। हुन त ३० ओटै दलको अस्तित्व बाग्लुङमा देखिँदैन, यद्यपि छिटपुटरूपमा मतदाता त हुने नै भए। अशोक राईको संघीय सामाजवादीले त झन् जनताको मतादेशबाट शून्य मत नै प्राप्त गर्‍यो भन्दा दुई मत नहोला। यो पार्टी अब काठमाडौँमा ‘टाइम पास’ गरेर बस्ने झुन्डको मागी खाने भाँडोजस्तै बन्यो। करिब एक दर्जनजति तिनका नातागोता र समर्थकबाहेकले संघीय सामाजवादीका उम्मेद्‌वार रेशम थापालाई कसैले मतदान गरेनन्। प्रस्तावित मगराँत प्रदेशमा धरौटी गुम्नुको सन्देश व्यापक हुन्छ र यसको अर्थ ठूलो लाग्ने गर्छ। हामीले व्यापकता र अर्थ बुझेर यिनको राजनीतिक मुद्दा बुझिने न हो। पुराना माओवादी, जो हिजो युद्धमा दु:ख पाए, तिनले यी जापानिज लाहुरे एमाओवादी उम्मेद्‌वारलाई मतदान गरेनन्। प्रस्तावित मगरात प्रदेश र जनजातिको बाहुल्य रहेको जिल्लामा यस्तो बदनाम? म केबल बदनामको रूपमा मात्र देख्दिनँ, यो त पहिचानवादीहरूको लज्जास्पद हारको नयाँ पहिचान बन्यो। अब जनताको माझमा उसको योभन्दा ठूलो पहिचान अरु हुनै सक्दैन। राजनीतिक पृष्ठभूमि नभएकी चम्पादेवीले चुनाब जित्छिन् तर यिनीहरू राजनीति गरेर पनि चुनाव हार्छन्। नरमाइलो लागेर हुन्छ र? चोट र पीडालाई सहन सक्नु पर्दछ। अब माओवादी जनतामा फर्केर नसच्चिने हो भने उसको आधारभूत संरचना जनतासँग हुँदैन। दस्तावेजका पानामा मात्र पार्टी सीमित हुनेछ। पार्टी भताभुंग हुनुमा जनताको दोष छैन, न हिजो युद्धमा होमिएका कार्यकर्ताहरूको दोष छ। दोष मुख्य नेतृत्वको नै देखिन्छ। पद, पैसा र प्रतिष्ठाका निम्ति जनताको भूमि, झुपडी र तिनको महान् सपनालाई निर्मम हत्या गरिदिनेहरूको कहिल्यै हात माथि हुने छैन। राजनीतिक दलहरूको मुख्य पहिचान उसको विचार अनि सिद्धान्तमा हुन्छ। दोश्रो पहिचान, जनताको मातदेशमा हुन्छ। मतादेशमा कुनै पनि पार्टीको विचार स्थापित हुन सक्दैन। लोकतन्त्र, प्रजातन्त्र अनि गणतन्त्रलाई जनताको मतादेशबाट स्थापित गरेको हो। अब जातीय पहिचानमा जनता विभाजित बने। राष्ट्रको पहिचानका खातिर जनता एकजुट बने। यो कुरा पहिचानको नारा बोकेर देशलाई बन्धक बनाउनेहरूले बुझ्न आवश्यक छ। त्यसै दिनमा सयचोटि जनताको नाम जपेर केही हुँदैन रहेछ भन्ने पाठ सिक्नुहोस्। परिचय खुल्न नसकेर यो लोकमा गुमनाम बनेका अशोक राई काठमाडौँमा पहिचानको मादल घन्काउँदै बसेका छन्। उता बागलुङका जनजातिले यिनका उम्मेद्‌वारको डम्फू बजाइदिएका छन्। मादल घन्काउन जति सजिलो छ, त्योभन्दा बढी सजिलो गरी जनताको मनमा बास बस्न सकिँदैन। जनजाति भनेका जनता हुन्, जनता भनेका आम मानिसको रूप धारण गरेका नेपाली नागरिक हुन्। मुलुकको फैसला नेताले होइन, नागरिकले गर्छन्। आफ्नो दुनो सोझ्याउन राजनीति गर्ने नेताहरूलाई यस्ता निर्वजाचनहरूले झस्काउने गर्छ। हो, आजको दिनमा अशोक राई र उनका भरियाहरू झस्किन जरुरी छ। यति मात्र होइन, जनजातिको नाम बेचेर हरियो डलरमा आफ्नो पहिचानको बिम्ब पाउनेहरूले अब जनजातिको बिम्ब बुझ्नु पर्दछ। पहिचानको मुद्दा सुन्दा प्यारो लाग्छ तर नेताहरूको विचार, शैली, तरिका प्यारो छैन। आज उपनिर्वाचनले यही देखाइरहेको छ। पहिचानविरोधी भनेर नाक किटान गरिएका दलले भारी मतका साथ चुनाव जितेका छन। पहिचानवादी दलहरूले भारी मतका साथ चुनाव हारेका छन्। यो दलहरूको मात्र हार होइन। राजनीतिक मुद्दा, सिद्धान्त, नेताहरूमा देखा परेको विचलन र अराकताको समेत हार हो। राजनीतिक अधिकार प्राप्तिको नाममा जनतालाई दु:ख दिने काम गर्नु हुँदैनथ्यो किनभने जनता उच्च राजनीतिक चेतनाका साथ मतदान गर्दैनन्। राजनीतिक खेलाडीहरूका लागि जनता भनेका एक निर्दोष बच्चा जस्ता हुन्। पहिचानवादी दलहरूले जनतामा पहिचानको मुद्दाबारे कति बुझाउन सके वा खुद आफूले कति बुझे। यो निकै महत्त्वपूर्ण प्रश्न बनेर खडा भएको छ । जनजातिको बाहुल्य भएको निर्वाचन क्षेत्रमा जनजातिलाई अधिकार र पहिचान दिन तयार रहेका पार्टीहरू नराम्रोसँग हार खानु भनेको कि त नेताको राजनीति गर्ने तरिका ठिक भएन कि जनजातिलाई कुरा बुझाउन सकेनन् । अथवा जनजातिहरूले पनि आफ्नो भविष्य आफैँ निर्माणका लागि राजनीतिक अधिकारको भरपुर प्रयोग गरे। दसपटक सोची हेरौँ त ! *सच्याइएको प्रकाशित मिति: आइतबार, चैत्र २९, २०७१ १९:२०:१६

_____ · Apr 12, 2015 10:51 AM · 1,947 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all