अनागरिक अमृतकुमार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अनागरिक अमृतकुमार घनश्याम खड्का चैत्र २७ -  उनी को हुन् ? उनको नाम के हो ? घर कहाँ हो ? कहिलेकाहीँ अमृतकुमारलाई लाग्दो रहेछ, उनलाई केही पनि थाहा छैन । अनि फेरि कहिलेकाहीँ लाग्दो रहेछ, उनलाई सबै थाहा छ ।  उनको यो दुविधा प्रजापति तिम्सिनाले देख्दै आएको १५ वर्ष लाग्यो यो हिउँदमा । तिनताक प्रजापति जनकपुर चुरोट कारखानाका प्रशासनिक कर्मचारी थिए । पुख्र्याैली घर पोखरा भए पनि कर्मथलो जनकपुरको नक्टाझिझमा उनले घरजग्गा जोडेका थिए र रैथानेझैं उतै बस्थे ।  एक दिन उनको जीवनमा एक अनौठो घटना जोडिन आइपुग्यो जसका कारण अमृतकुमार र उनको अलमलका साक्षी उनी नबनी धरै भएन ।  कुरो ५६ सालतिरको हो । प्रजापति खानपिन गरेर अड्डा निक्लन ठिक्क परेका थिए । एउटा अधबैंसे साइकल चढेर आयो र भन्यो, 'काम पाइन्छ कि हजुर !' 'ऊ पहाडतिरको मान्छे रहेछ, मलाई घरमा आफ्नै भाषा बुझ्ने कामदार चाहिएको थियो,' प्रजापति सम्झनाको त्यो अनौठो दिनमा पुगे, 'मैले हुन्छ भनेँ र काममा लागेँ ।' काम खोज्न आउनेको साथमा सानो एउटा बालक थियो । 'पर मेरो मालसामान छ, लिएर आउँछु है,' उसले प्रजापतिकी पत्नीलाई बच्चो सुम्पँदै भनेछ, 'काम दिनुभएकामा एकदम खुसी छु ।' बच्चो छाडेर गएको त्यो अधबैंसे फर्किएर आएन ।  'साँझ परेपछि बच्चो रुन थाल्यो, बा बा भनेर कराउन थाल्यो,' प्रजापति भन्छन्, 'त्यतिबेलासम्म पनि हामीलाई लागेको थियो, त्यो मान्छे छोरो लिन जरुर आउनेछ ।' तर धेरै दिन बिते ऊ आएन । प्रजापतिको सम्झनामा लमजुुङ घर हो भन्ने त्यो अधबैंसेको धमिलो तस्बिर अहिले पनि छ ।  क्षत्री ठकुरीजस्तो अनुहार भएको होचो कदको पातलो अधबैंसेलाई धेरै वर्ष उनका आँखाले खोजिरहे ।  त्यो बच्चोलाई कहाँ लगेर कसरी राख्ने भन्ने समस्याले उनलाई त्यस दिन निकै पिरोल्यो । उनले प्रहरीकोमा लगे । प्रहरीले बेवास्तापूर्वक भनेछ, 'हामीसँग बजेट छैन, पाले पाल्नुस् छाडे छाड्नुस् ।' बच्चाको खुट्टामा साइकलले बनाएको घाउमा सुन्निएको र पीप जमेको थियो । प्रजापतिले पहिले त्यसको उपचार गरिदिए ।  'त्यसपछि मैले स्कुलमा भर्ना गरिदिएँ,' प्रजापति भन्छन्, 'नाम के राख्ने के राख्ने भयो, अनि मैले अमृतकुमार राखिदिएँ ।' जनकपुरकै राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्न जान लागेका अमृतकुमारको थर चाहिँ उनले लेखाएनन् । प्रधान अध्यापकलाई उनले मनाए, 'उसको बाबु र्फकेर आयो भने वा कुन जातको रहेछ पत्ता लाग्यो भने पछि बदल्न पर्छ, त्यो झन्झट किन गरिरहनु !' यसरी स्कुलभरिमै थर नभएको विद्यार्थी एउटै मात्रै थिए अमृतकुमार ।  'ऊ टोलाइरहन्थ्यो, बाटो हेरिरहन्थ्यो,' प्रजापति भन्छन्, 'बाबु आउला कि भन्ने लाग्थ्यो होला, धेरै वर्षसम्म बाटोमा परपरसम्म आँखा डुलाएर बस्थ्यो ।' अमृतकुमारलाई अरू केटाकेटीहरू 'अनिरुवा' भनेर जिस्क्याउँथे । बाबु नभएको बच्चोलाई मैथली भाषामा अनिरुवा भनिँदो रहेछ । यसरी जिस्क्याइ खान परेपछि स्कुल जान उनले त्यति रुचि देखाएनन् । धेरैपटक प्रजापति आफैं पुर्‍याउन गए, बदमास केटाहरूलाई हप्काए । जसोतसो आठ कक्षासम्म पढे । त्यसपछि उनी स्कुल जान मानेनन् ।  अहिले अमृतकुमार १८ वर्षका भए । प्रजापतिले उनलाई छोराकै थन्कोमा राखेका छन् ।  'म पनि उहाँलाई बुबा नै भन्छु,' अमृतकुमार भन्छन्, 'मेरा लागि उहाँ नै सबथोक हो ।' अचेल उनीहरू जनकपुरबाट सरेर काठमाडौं, कोटेश्वरमा बस्छन् । काठमाडौं आएपछि अमृतकुमारले पढ्न नसके पनि सीपमूलक तालिम दिलाउन लागिपरे प्रजापति ।  त्यसका लागि सीटीईभीटी पनि उनी गए । सीटीईभीटीले भन्यो, 'नागरिकता खोइ ?' प्रजापति नागरिकता बनाउनतिर लागे । दुई वर्षसम्म वडादेखि सीडीओ कार्यालयसम्म उनी धाइरहेका छन् । 'तर नागरिकता बनेको छैन,' प्रजापति भन्छन्, 'सरकारले आफ्नै नागरिकलाई नागरिकता दिन पनि मुटुकलेजो नै दिएजस्तो गर्दाे रहेछ बा !' नागरिकता बनाउन प्रजापतिले आवश्यक कागजात नजुटाइदिएका होइनन् । 'बाउले छाडेको' भनेर प्रहरीको उपस्थितिमा सार्वजनिक मुचुल्का गाविसमै गएर उठाउन नलगाएका पनि होइनन् ।  प्रहरीले 'यो केटाको बाबुआमा भए दाबी गर्न आउनू' भनेर ३५ दिने सार्वजनिक सूचना नटाँसेको पनि होइन । दाबी गर्न कोही नआएपछि उनको जन्म दर्ता नभएको पनि होइन । नगरपालिकाले नागरिकता दिनू भनेर सिफारिस नगरेको पनि होइन ।  तर सीडीओ वसन्तराज गौतमले यी सारा प्रमाणलाई मानेनन् ।  'सीडीओले व्यक्तिले पालेको मान्छेलाई नागरिकता दिन्न भने,' प्रजापति भन्छन्, 'ए बाबा ! बाबु-आमाले छाडेका मान्छे अनागरिकै भएर बस्नुपर्ने त !' दिनहरू त्यसै चिप्लिएर बितिरहेका छन् । अमृतकुमार उदास मुख लगाएर धुमधुम्ती बसिरहन्छन् ।  नागरिकताको झन्झट नआएको भए यतिखेर उनी सीटीईभीटीबाट कुनै प्राविधिक विषयमा दक्ष भएर निस्किसक्थे होलान् । कतै जागिर खाएर आत्मनिर्भर हुने बाटोमा लम्किसक्थे होलान् ।  तर सारा कुरा यही एउटा नागरिकताले रोकिदियो । केही सीप नलागेपछि अमृतकुमारले सर्वाेच्च अदालतमा निवेदन पनि दिए, श्रीमान् नागरिकता पाउ“m ! तर २०७० भदौ २५ मा दर्ता भएको रिटको सुनुवाइ आजका मितिसम्म हुन सकेको छैन ।  'पालै आउँदो रहेनछ, आइहाल्यो भने सुनुवाइ नै हुन नपाई त्यो अर्काे मितिका लागि सरिरहन्छ,' प्रजापतिले टाउको कन्याए, 'मौलिक अधिकार पनि नपाइने यो देशमा अरू के पो पाइएला हौ !' अमृतकुमारको निवेदन सुनुवाइका लागि अर्काे पेसी वैशाख ३ गतेका लागि तोकेको छ अदालतले । अमृतकुमारलाई अझै पनि आशा छ, त्यस दिन सुनुवाइ होला र पछि लगत्तै उनले नागरिकता पाउलान् ।  अमृतकुमारलाई अब छाडेर जाने बाबु र्फकेलान् भन्ने आशा छैन । पहिलेजस्तो उति टोलाउन पनि छाडेका छन् ।  जन्म दर्ता गर्ने बेलामा वडा कार्याल्यले उनलाई सोधेछ, थर के राख्छौ ? कुन थर रोज्ने भन्ने सुविधा उनले पाए । अमृतकुमारले केही बेर सोचे । अनि भनिदिए, 'शर्मा ।' शर्मा आफैंमा थर होइन । नामका पछिल्तिर यो ढाई अक्षरको शब्द लेख्न कसैलाई बन्देज पनि छैन । त्यसैले हुनुपर्छ, अमृतकुमारले शर्मा रोजे ।  नाम उनका कर्मपिता प्रजापतिले राखिदिए, अनि थर अमृतकुमार आफैंले रोजे । तर नागरिकता ? 'योचाहिँ कसले रोज्ने रहेछ कुन्नि !' अमृतकुमार भन्छन्, 'यो छैन भने त मान्छे नै गन्दो रहेनछ देशले ।' वेशभूषा केही नमिल्ने यो देशसँग साइनो न सपनाका मुजाहिद्दिनका सदस्यहरूले नागरिकता पाउँछन् । तर यही माटोमा उम्रेका, हुर्किएका यही देशका छोरा अमृतकुमारहरूले नागरिकता पाउँदैनन् । जबकि नागरिकताका लागि चाहिने योग्यता, सिफारिस, भाषाको ज्ञान सबै सबै उनीसँग छ । छैन त छाडेर जाने बैगुनी पिता । जन्माएर साथ नदिएकी उनकी विवश आमा छैनन् ।  यतिका भरमा उनी अब नागरिक भएनन् ? उनी मान्छे भएनन् ? उनले पढ्नै नपाउने ? वृद्ध प्रजापतिको मनमा खालि यही प्रश्न खेलिरहन्छ ।  अमृतकुमारभन्दा जेठा उनका एक छोरा र दुई छोरीको चिन्ता प्रजापतिलाई खासै छैन । उनीहरू पढे-लेखेर आत्मनिर्भर छन् । 'तर अमृतकुमार अझै सानै छ, यसैले धेरै पढेको छैन,' प्रजापति भन्छन्, 'मेरा हातखुट्टा बस्नुअघि नै उसलाई आफ्ना खुट्टामा उभ्याइदिन पाए हुन्थ्यो । प्रकाशित मिति: २०७१ चैत्र २८ ११:१८

_____ · Apr 12, 2015 10:37 AM · 1,079 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all