आमाबाबु निष्ठुरी बनिदिए' सुदीप कैनी गोरखा, चैत्र २९ - स्कुलमा साथीहरूले आमाबाबुको नाम सोधे भने निशासँग उत्तर छैन। जंगलमा भेटेर पालनपोषण गर्ने तान्द्राङ १ टारीफाँटकी ७० वर्षीया आइतमाया नेपालीलाई उनले आमा ठानेकी छन्। आमाको नाम सम्झना र बाबुको थर अछामी हो भन्ने याद छ। ठ्याक्कै वर्ष दिन बित्यो, उनलाई आमा सम्झनाले सम्झिएकी छैनन्। जन्मघर र मितिबारे पनि उनी बेखबर छिन्। आमाबाबुको माया नपाएकी उनी एक साताअघि आगोमा जलेपछि झन् पीडा थपिएको छ। पोलेको घाउ बिसेक हुँदैछ, अभिभावकले छाडेको मनको घाउ निको हुने/नहुने निधो छैन। उनकै भनाइमा रक्सी पिएकी आमाले जंगलमा ल्याएर छाडेकी थिइन्। तान्द्राङको रानीवनमा घाँसदाउरा लिन गएकी आइतमायाले रोइरहेकी निशालाई भेटेकी हुन्। 'पोहोर चैत २० गते जंगलमा भेटें। आफ्नै छोरी सम्झेर पालेकी छु,' उनले भनिन्। निशा ७ वर्षकी भएको अनुमान छ। आइतमायाले निशालाई स्थानीय नवज्योति माविमा भर्ना गरेर पढाउन थालेकी छन्। उनी शिशु स्याहार कक्षामा प्रथम हुने गरेको शिक्षक बालकृष्ण लामिछानेले बताए। आइतमाया घरमा नभएका बेला उनलाई आगोले पोल्यो। उनको ढाड र छाती जलेको छ। आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उनको उपचार भइरहेको छ। यति दुःखमा पर्दा पनि उनका आमाबाबुको अत्तोपत्तो छैन। केन्द्रका कर्मचारीले बालिकाको निःशुल्क उपचार गराएको स्वास्थ्यकर्मी प्रसिद्ध ढकालले बताए। 'उपचार खर्च नभएपछि हामीले संकलन गरेर औषधि किनिदियौं,' उनले भने। उनको दैनिकी यस्तै सहयोगहरूबाट चलेको छ। विद्यालयले निशाका लागि छात्रवृत्तिको व्यवस्था गरिदिएको लामिछानेले बताए। उनी जंगलमा भेटिएपछि प्रहरीले समेत सोधीखोजी गरेको थियो। तर आमाबाबुबारे केही पत्तो लागेन। उनको घर धादिङ हुन सक्ने आशंका स्थानीयवासीले गरेका छन्। उनकी आमाले तान्द्राङमा नातेदार भएका गोरखाका युवकसँग अर्को विवाह गरेको हुन सक्ने शंका गाउँलेको छ। आफन्तको घर आउँदा बालिकालाई अलपत्र पारेर हिँडेको हुन सक्ने लामिछानेले बताए। बेसहारा बनेकी छोरीलाई खोज्दै बाबु कहिल्यै आएनन्। जन्मदर्ता प्रमाणपत्र नहुँदा उनको पढाइमा समेत असर पर्ने शिक्षकको भनाइ छ। प्रकाशित मिति: २०७१ चैत्र २९ ११:०३
_____ · Apr 12, 2015 10:27 AM · 1,365 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion