पात्र-१ फेरि विउँझे,हिजो जस्तै मध्यरातमा।पोल्यो भतभति। छेउमा मामाको छोरो उँघ्दै थियो।मैले उसलाई हेरेँ।उसका आँखा वन्द थिए। थोरै हात उठाएर उसलाई झक्झक्याएँ। "हजुर?" झसंग हुँदै भन्यो "पोल्यो !" मैले सुस्तरी भनेँ। "पर्खिनुस्,नर्सलाई वोलाउँछु।" उ वाहिर निस्कियो।छेवैमा टोइलेट छ।गन्हाउँछ ह्वास्सै,ढोका खोल्ने वित्तिकै।सरकारी अस्पतालमा सफा गर्दैनन्। प्राइभेटमा सफा हुन्छ भन्ने सुनेकी छु। छेवैमा अर्कि विरामी छटपटाउँदै छे, शायद उसलाई पनि पोलेको छ।आज पनि डक्टर आएनन्।किन ? मैले वुझेकी छैन। ************* ************* *************** ************* ******************** ** मेरो गाउँ काठै काठले वनेका घरहरु। हाम्रो गाउँ भन्दा थोरै माथी लाग्ने वित्तिकै हिउँ पर्छ जाडोमा। झुरुप्प घर।म घरवाट खेत नियाल्छु । करिव विस मिनेट तल झरे पछि पुगिन्छ। तर मेरो घरवाटै देखिन्छ।खेत भख्खर हरियो हुन थालेको छ। अनि मेरो एस एल सी पनि नजिकिँदै छ। चिट चोर्न आरामले पाइन्छ भन्छन् एस एल सी मा । मैले जसरी भए पनि सेकेण्ड डिभिजन ल्याउनु छ। मेरो साथीहरुले भनेको एस एल सीमा सेकेण्ड डिभिजन नभएकालाई क्याम्पसमा इन्ट्रान्समा वस्न दिन्नन रे।मलाई तराइ झर्न मन छ। म नेपालमा एक दम कम डुलेकी छु । मलाई काठमाण्डौ पनि जान मन छ।नजिकैको जिल्लामा भने एस एल सी कडा हुने हल्ला छ। जिल्ला शिक्षाका हाकिम कडा छन् अरे।म राती नौ वजे सम्म पढ्छु। कहिलेकाहिँ त पढ्दा पढ्दै निदाउँछु। वुवा मलाई असाध्यै माया गर्नुहुन्छ।सानो भाइलाई भन्दा पनि।सानो भाइ हिजो मावल गयो आमा सँग।म एस एल सीले गर्दा जान पाइन। नत्र मावलमा अहिले भैँसी व्याको छ अरे। मलाई विगौति मन पर्छ। जाने वेलामा भाइले मलाई जिस्क्यायो। मलाई रिस उठ्यो। सवै किताव वाहिर निकालेर जलाइ दिउँ जस्तो। तर सोचेँ तिनै किताव धेरै पढ्यो भने जागिर पाइन्छ। विए पास गरे पछि जागिर पाउन सजिलो हुन्छ अरे। मैले सुनेको। एस एल सी पछि अरु पाँच वर्ष। म कहिले काहिँ सपना देख्छु । म अहिले पढ्दै गरेको स्कुलमा जनसंख्या तथा वातावरण पढाउँदै छु।आफ्नै स्कुलमा। मलाई सपनामैँ कहिलेकाहिँ हाम्रो हेड गुरु अंग्रेजी पढाउन पठाउँछन्। मलाई आउँदैन। म अलमलिन्छु। विउँझिन्छु। एक्लै हाँस्छु,अंग्रेजीका किताव हेर्दै। सोच्छु यो एउटा चिट चोरेर भए पनि पास गर्नुपर्छ। अरु कट्छ। अनि सेकेण्ड डिभीजन आउँछ। ******** ********** ************ ************** ************* ***************** अचानक कोहि चिच्याए जस्तै लाग्यो, वुवा हुनुपर्छ। म उठेँ, भीत्र हप्प वाफिए जस्तै भयो। ढोका खोलेँ। चुकुल खोल्ने वित्तिकै आगोको लप्को छिर्यो। घरमा आगो लागेछ।वाहिर निक्लिन सकिन। जिउ पोल्दै गयो। झ्याल कता हो पनि पत्ता लाउन सकिन। नत्र हाम फाल्थेँ होला। विस्तारै के भयो ज्यानले पत्तो पाउन छोड्यो।विउँझिदा पनि जिउ पोली रहेको थियो। फर्किएँ,फर्के तिर पोल्यो।अस्पतालमा गुन गुन हुँदै थियो। आमा वोले जस्तो लाग्यो "वुवाको खुट्टो भाँच्चिएको छ,अव कस्ले लग्छ?" "तँपाइको कोही छैन ,काठमाण्डौमा?" "मामाको छोरो त छ !" "त्यसो भए उतै लानु !" ************ ****************** ***************** ************** **************** वुवाको खुट्टो झ्यालवाट हाम फाल्दा भाँच्चिएछ।अहिले जिल्लाले राहत वाँड्दै छ अरे। घरको मात्रै राहत दिन्छ अरे। त्यो पनि विस हजार मात्र। वुवाको खुट्टा ठिक पार्न पनि पुग्दैन अरे। अरु पनि राहत नपाएकाहरु जिल्ला प्रशासन घेर्न गए अरे। आमा पनि जानु भएछ। सिडिओ ले ग्यापन पत्र मन्त्रालय पठाउने भनेछन्। त्यसपछि राहत पाइन्छ अरे। म आफ्नो अनुहार छाम्छु, देव्रे भाग डढेको छ। मलाई थाहा छ, सरकारले मेरो अनुहार फर्काउन सक्दैन। ******* ************* ************** ************** ************************ **** पात्र २ शुरुमा खासै पोले जस्तो लाग्दैन थियो। अहिले डढे जत्तिकै पोल्छ।लगातार घटनाहरु वढ्दैछन्।नपरुन्जेल कथा जस्तो लाग्छ।जसमा एउटा केटा गुण्डा जस्तो आउँछ हावाको वेगमा,नायिकाको अनुहारमा एसिड फ्याँक्छ।भाग्छ। पत्रिका पछि लाग्छन्,पुलिस पछि लाग्छन्। केटो पक्राउ पर्छ।केटो पक्राउ परेपछि सवै ठिक भए जस्तो लाग्छ। केटीको कथा सेलाउँछ,केटाको कथाको अघी।केटीको जीवन अन्यौलमा पर्छ! तर मेरो जीवनमा त्यस्तो भएन।वाहिर आन्दोलन भएन।घटनाहरु वढ्दैछन्,त्यसैले सवैलाई सामान्य लाग्न थालेको छ।पत्रिकाको एउटा पानो भएको छु म पनि। साथीहरु आए ,मलाई हेरे रोए गए। पुलिस आयो ,मलाइ सोध्यो अनि गयो।छेवैको वेडमा एउटा वहिनी छे।घर आगलागी भयो अरे,अनुहार डढेको छ।पोल्यो भनेर चिच्याउँछे।मलाई पनि पोल्छ। उसलाई हेर्छु अनि चित्त वुझाउँछु। डक्टर भने आएको छैन , किन थाहा छैन। **************** ************* ************ ************ ********************* श्याम सर मलाई टिउसन पढाउँथे। कस्तो मिठो मुस्कान थियो उनको, म हेरी रहन्थे। उनलाई म्याथम्याटिक्स फरर आउँथ्यो।स्टेप स्टेप याद हुन्थ्यो। कम्प्युटरको मेमोरीमा वसे जस्तो। श्याम सर सँग म र संग्या टिउसन पढ्थ्यौँ।एक दिन म टिउसन गइन। त्यो दिनको भोलीपल्ट देखी संग्या टिउसन आउन छोडी। श्याम सरको मुस्कान पनि संग्या सँगै हरायो। एक दिन मैले संग्यालाई पशुपतिमा भेटेँ। सोधेँ "टिउसन किन नआकी ?" उ केहि वोलिन।मलिन भई! "के भयो भन न ?" मैले फेरि सोधेँ। "त्यत्तिकै ,आजकल घरमैँ पढ्छु। कसले खर्च गर्ने टिउसनमा ?" उ अर्को तिर फर्किई। पशुपतिमा सोमवारले होला भिँड थियो।छेवैमा वाँदर मकैका दाना टिप्दै थियो। त्यो परेवालाई छरेको होला,वाँदर टिप्दै थियो। "तेरो म्याथ राम्रो छैन, टिउसन पढेकै राम्रो नि हैन र?" मैले उसलाई फेरि सोधेँ। "मैले भनेको मान्छेस भने तँ पनि नजा !" उसले सुस्तरी भनी।म एक छिन मौन वनेँ। किन नजाउँ म त्यहाँ? "के भयो भन त ? त्यो दिन म थिइन !" "पात्तिएको मोरो, आइ लव यु भन्यो मलाई !" ************** ************* **************** *************** ***************** * घरमा सुनाएपछि आमाले मलाई पनि टिउसन जान दिनु भएन। हामी एक अर्कालाई नै सिकाउन थाल्यौँ। एक दिन संग्याको झ्याल खूल्लै थियो। पढ्दा पढ्दै पानी ह्वात्त छिर्यो झ्यालवाट। कोही गडड कुदेर सिँढि उत्रे जस्तो लाग्यो। ओहो होइन, एसिड जस्तो छ ।पोल्दै छ। संग्याको हातमा परे जस्तो छ। रुँदै छे।म पानी खनाउन कुँदे। "गुहार गुहार कोही एसिड फ्याँकेर फेरि भाग्यो!" ******************** ************ *************** ************* ***************** संग्या हातमा व्याण्डेज वानेर घर फर्की। इमरजेन्सीमा नर्सहरु मेरो मलमपट्टि गर्छन्। तर केस क्रिटिकल छ अरे डक्टर नआइ हुँदैन।पुलिस आउँछ,फर्किन्छ।समाचारकर्मीहरु आउँछन्,फर्किन्छन्।मेरो राम्रो अनुहार? शायद फर्किदैँन। शंका श्याम सरमा नै छ। पुलिस खोज्दै छ। डक्टर आउँदैन,किन थाहा छैन? **************** ***************** ****************** ***************** ********* पात्र ३ देशको वेथितिले म दंग पर्छु। हाम्रा गुरु हफ्ता दिन देखी अनसनमा छन्। अहिले शैयाँमा छन्, सरकारलाई मतलव छैन। आज विहानै समचारपत्रहरु हेरेँ सरकार झन कठोर वन्दै छ। हाम्रो आन्दोलन चुलिँदै छ। शिक्षामा माफिया घुसेका छन् हामीले तिनलाई धपाउनै पर्छ। म सम्झिन्छु मैले मेडिकल पढ्दा औँलामा गनिने कलेजहरु थिए। हाम्रो पेशाको सम्मान थियो। हामी भगवान मानिन्थ्यौँ।हाम्रो उपचारले मान्छेमा आश्वासन जगाएको थियो। आजकल त डक्टरी पनि व्यापार भएको छ। तरकारी किने जस्तो। भाटभटेनीमा दाम वढी, चिल्लो तरकारी। वाटोमा दाम कम कुहिएको तरकारी। आफ्नो क्वार्टर वाट निस्केर गुरुवालाई हेरेँ। उनी सुक्दै छन्। छेवैमा गएर उनलाई जाँचे।उनको हर्टरेट पनि घटे जस्तो लाग्यो। हाम्रा यी गुरुको सम्मान किन हुन्न ? आज तेश्रो दिन भयो ओपिडी नचलेको , तर यो त युद्द हो ,हामीले केहि न केहि त माया मार्नै पर्छ। सरकारलाई घुँडा टेकाउनलाई।डक्टर जव सम्म आन्दोलन सफल हुन्न हस्पिटल छिर्ने छैनन्। **************** ****************** **************** **************** *********** पात्र ४ "होइन ! भनेकै हो त ?" मैले फोनमा झसंग हुँदै सोधेँ "हो भनेकै हो!" "कसले सुनेको?" "मै थिएँ भित्र!" पत्रिकामा आयो " मरे मरुन वाँचे वाँचुन" "हैन अरे त भनेको !" मैले फेरि फोन गरेँ। "अँ खोइ प्रेस विग्यप्ति त त्यस्तै आयो !" "त्यो पनि छाप्दिम् त?" "हट टपिक्स हो, कभर गरौँ !" पत्रिकामा आयो "प्रेस विग्यप्ति सरकार सम्वेदनशिल छ।"
fucheketo · Mar 28, 2015 10:25 AM · 20,157 views
सरकार सम्वेदनशिल छ ! बिज्ञप्ति जाहेर गरे पछि सरकार पानीमाथिको ओबानो हुन्छ |
magorkhe1 · Mar 28, 2015 12:05 PM
Contemporary issues so well covered dai...Hats off!!! Beautiful story
ilam2008 · Mar 31, 2015 2:21 AM
बर्ड फ्लु र यो कथा सहि मानेमा समय सापेक्ष्य रह्यो . भनिन्छ नि साहित्य यस्तो ऐना हो जसले आफ्नो युग र समयलाइ परावर्तित गर्छ रे . राम्रो लाग्यो
ThahaChaena · Mar 31, 2015 10:11 AM
समाजका घटनाबाट कलम अछुतो रहन कसरी सक्छ र । लेख फुच्चे भाई, अझ लेख!
somewhereondearth · Mar 31, 2015 12:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion