“साझामा १० बर्ष “ हालै सान दाइले साझाको १५औं ह्यापी बर्थ डे मनाएको खबर साझाकै भित्तामा फित्ता कसेर टाँसेको देखेको थिएँ | अनि झल्याँस सम्झे आफु पनि साझाको लैलैमा लागेको नि पुग न पुग १० बर्ष भयो जस्तो लाग्यो र सान दाई लाई मेरो पहिलो पोस्ट कहिले भनेर सुटुक्क सोधें | संयोगबस साझामा औपचारिक रुपमा पोस्तेर सहभागी भएको आजले १० बर्ष भयो गाँठे | समय घडी पला मिनेट सेकेन्द भन्दा नि फास्ट रहेछ | १० बर्ष आँखा झिमिक्क नगर्दै बित्यो ( यो चाहि अलि बढी नै जस्तो छ )| साझा भर्ना हुनुको कारण सरकारी कर्मचारी थिएँ | कम्प्युटर, इन्टरनेट र इमेल भन्ने दुर्लभ सुबिधा कुनै कुनै सरकारी अफिसमा मात्र हुन्थ्यो सन् २००० ताका | तै पनि Y2K को नाम मा लुट को धन फुफुको श्राद्ध गरि हाले | त्यस्तै सुबिधा सम्पन्न सरकारी अफिसमा पोस्तिंग भाथ्यो | तै पनि इमेल र इन्टरनेट भनेको बिरलै दर्शन पाइन्थ्यो | संयोग मास्टर्स गर्न युरोपीय देश पुगेपछि बल्ल कम्प्युटर, इमेल र इन्टरनेट सुलभ भयो | अपार्टमेन्ट मै इन्टरनेट, कम्प्युटर फ्री| तै पनि साझा बारे भनक मिलेको थिएन | आज्ञाकारी सरकारी मुलाजिम न ठहरियो, पढाइ सक्यो , मास्टर्स डिग्री हातमा बोकी गजधम्म फुलेर स्वदेश फिर्ती भएँ | पुन: अफिस ज्वाइन गर्न ३ महिना लाग्यो | नेपाल फिरेको २-३ दिन मै हाजिर हुन पाउँ भनी दिएको निबेदन माथि टिप्पणीका पाना थपिदै फाइल इधर उधर किधर भने जस्तै कता कता | आफुलाई बालै हो| निर्णय गर्ने डुकुलंठुक हाकिमहरुले अलमल गर्छ भने मलाइ के को मतलब | निबेदन दिएको दिन देखि हाजिर नगराई सुख छैन , तलब न दिई सुख छैन | ३ महिना जति अलमल गरेर अर्कै शाखामा खटाइए | संयोग बस फेरी कम्प्युटर र इन्टरनेट भएको एक मात्र कोठामा ड्युटी | के खोज्छस् पुन्तर , कम्प्युटर भने जस्तै | युरोपको प्राय जस्तो देश घुमिवरी आएको, त्यताको काम गर्ने प्रबिधी र सीप सिकेर आएको नेपाल आए पछी टाइपिस्ट भैयो | हाकिम साहेबको अमेरिकामा रहेकी छोरीलाई इमेल संदेश पठाउने काम गरेर बसियो | थुक्क ! इन्जिनियरिंगमा त्यो पनि युरोपको अति बिकशित राष्ट्रको प्रतिष्ठित संस्थाबाट डिग्री लिएको त केहि काममा आएन | अब भएन, अमेरिका एक फेर घुमघाम गरेर आउनु पर्यो भन्ने दिब्य ज्ञान फुर्यो| अमेरिका त जाने कसरी जाने ? डिभी जिन्दगीमा परेको हैन , भरेको भरेई मात्र | आफन्त कोइ छैन स्पोन्सर गरेर बोलाउला भनेर बसुँ भने | आफ्नो योग्यता भनेको अलि अलि घोक्न सक्ने र खोक्न सक्ने हो | त्यसैमा भाग्य आजमाउनु पर्यो भन्ने लाग्यो | अखबारमा “हर्बर्ट हम्फ्री फेलोशिप “ भन्ने युसेफको बिज्ञापनमा आखा गयो | अब भने के खोज्छस डाका , अमेरिका ......... जस्तो भयो | मध्यम लेभलको सरकारी तथा गैर सरकारी अधिकृत /म्यानेजरको लागी १० महिने अध्ययन भ्रमण | टिकेट देखि लिएर सबै फ्री | खान बस्न महिनाको दुइ हजार डलर | फाराम सारांम आराम संग भरि, चाहिने ३ ओटा अंग्रेजी निबन्ध कनिकुथी लेखि बुझाइयो| युरोप बस्दा नै एक पल्ट ट्राइ मारौं भनेर जर्मनीमा गैर टोफल भनाउँदा जांच दिएको थिएँ | त्यसको काम आयो | पहिलो राउण्डको अंग्रेजी टेस्ट ( सबै भन्दा कठिन स्टेज ) जम्प गरी सेकेन्ड राउण्ड पुगियो | १ हजार को हाराहारीको आबेदन १०० मा झारियो | त्यहाँबाट स्टेज २, ३ हुँदै फाइनल १० सम्म पुग्न सफल भैयो | सपनामा पनि अमेरिका घुमेको दृश्य देखन थालेको थिएँ | सेतो दर्बार ( व्हाइट हाउस ) को बारमा फोटो खिचनै लाग्दा आर्को मान्छेले छेक्दा निद्रा खुलेको | अलिकति अलिछिनी त भएको रहेछ नि , फाइनल २ मा नाम निस्केन | थुक्क, फेरी एकपल्ट नराम्रो संग पछारिएँ | क्रमश: (साझामा पहिलो पोस्ट सानो कबिता थियो - http://sajha.com/sajha/html/in...
rahulvai · Mar 27, 2015 8:37 AM · 20,606 views
पढ्न नपुग्दै सक्कि सकेछ | अरु भाग छिट्टो पस्किनुहोला !
funtush · Mar 27, 2015 9:06 AM
लौ न त्यसपछि के भयो छिट्टो भन्न पर्यो ? अनि स्वास्थ्य कस्तो छ ठुल्दाई ?
Fuel Tank · Mar 27, 2015 9:33 AM
फ़नटुस्ले भने झैँ : चाडै सिद्धियो |
magorkhe1 · Mar 27, 2015 9:36 AM
क्या छोटो लेख्सेको ठुल्दाई ? हुन त थोरै थोरै मात्रामा खाना खाँदा स्वस्थाबर्धक मानिन्छा भनेर थोरै पस्किईयेको भन्ने माने है मैले त ....... आज सम्म साझामा टाँसिएका हजुरका सप्पै कथा , संस्मरण , गित , गजल , मुक्तक अनि छोक को एउटा किताबै बनाएर पठाएको थिए नि हजुर लाइ - तेस्मा त्यो पहिलो टाँसो पनि छ नि हैन र ? लु बाँकी सुन्न आतुर छु हजुरका भोगाइहरु ....
ThahaChaena · Mar 27, 2015 10:49 AM
शिर्षक चाहिं "साझामा १० बर्ष " लेखमा साझाको नाम नै नआइ पहिलो भाग टुंगाउन त नपाउनु पर्ने ! ....कुरो !! अरु पनि थप्नु पर्यो ठुल्दाइ !
Bhaktey · Mar 27, 2015 1:35 PM
बधाई छ दाइ सफल १० बर्षको लागि!
*~Spring~* · Mar 27, 2015 2:51 PM
राहुल ब्रो , तपाई को नाम राहुल भाई होइन आज बाट राहुल दाई हो !!! दाई लै म पुन्टर को तरफ बाट एकदम बधाई छ !!! १० साल धेरै ठुलो समय हो दाई
Punter · Mar 27, 2015 3:56 PM
फन्टुस ब्रो, फ़्युएल टंकी बोरो , गोर्खे ब्रो , थाने ब्रो , भक्ते दाइ , पिया जी तथा पुन्तर ब्रो लगायत अन्य सबैमा आभार प्रकट गर्दै दोस्रो भाग कहन्छु | साझामा १० बर्ष भाग २ यता हर्बर्ट हम्फ्रीले दिक्क उता ज्ञानेन्द्र झनझन निरङ्कुश हुँदै जानु र सात दलको कहिलेइ न टुंगिने आन्दोलन | प्रजातन्त्रमा बिश्वास राख्ने भए पनि कर्मचारी परियो, बाहिर बोल्न लेखन नमिल्ने | ज्ञानेन्द्रले भ्रष्टाचारीले कार्यबाही गर्छु भनी एउटा शाही आयोग गठन गर्यो | जसको काम कसै बिरुद्ध उजुरी आफै हाल्नु आफै गएर समाएर ल्याउनु अनि आफै सजाय तोक्नु थियो | पुलिस, प्रोसिक्यूटर, न्यायाधिश कोइ नचाहने संसारकै नमूना शाही आयोग गठन गरी बिरोधी तह लगाउने काम गर्न थाले| यही शाही आयोगले पूर्ब प्रधान मन्त्री देउबा , हालका उप प्रधान मन्त्री प्रकाश मान , लगायत खाने पानी सेक्टर कै सबै भन्दा योग्य र इमान्दार मानिने ध्रुब बहादुर श्रेष्ठ ( कार्यकारी निर्देशक, मेलम्ची खानेपानी ) आदि लाई मध्यरातमा छापामार शैलीमा गिरफतार गरी जेल चलान गरियो | मेलम्ची सम्बन्धी जुन आरोप जडियो त्यो अलिकति टेन्डर सम्बधी हिसाब किताब जान्ने जो कहिलाई पनि हास्यास्पद लाग्थ्यो भने , म आफै त्यो संस्थामा काम गरेर आएकोले यथार्थ थाहा थियो | त्यसपछि म मा बिद्रोह जाग्यो, कर्मचारी हुँदैमा अन्यायलाई टुलुटुलु हेरेर बस्न मेरो नैतिकताले दिएन| तै पनि ब्यबहारिक कारण अझ भनुं दाल भात खानु पर्ने, बाच्नु पर्ने यथास्थितिबाट भाग्न मिल्दैन थियो | आन्दोलनमा अनैतिक मात्र हैन अब बौद्धिक सहयोग पनि गर्नु पर्छा भन्ने लाग्यो | तत्कालिन परिस्थितिमा सबैभन्दा सहयोगी माध्यम देखें , इन्टरनेटको भरपुर उपयोग | आन्दोलन चर्किंदै गए पछि देश भित्रको मेडिया माथि नेपाली सेनाको सेन्सरसिप लागु भयो | बिदेशी अनलाइन न्यूज पाउन सकिने वेब साइटहरु ब्लक हुँदै थियो | यसै क्रममा नेपाल जापान डट कम , Nepalipost.com ब्लक भैसकेको थियो | विदेशमा रहेका नेपालीहरुको धारणा बुझ्न गुगलमा अनेक साँचो शब्द ( की वर्ड क्या ) घुसाउदै खोज्ने क्रममा साझा डट कम देखें | आन्दोलन सम्बधी बहस नि देखें | आन्दोलन सम्बन्धी केहि पोस्ट गर्न अघि टेस्ट हान्न मन लाग्यो | यसो पोस्ट गर्न खोज्या सान दाइको द्वार पालले रोकी हाल्यो | रजिस्टर्ड नगरी , आइ डी न बनाई , लग इन नगरी सानदाइका द्वारेहरुले पोस्ट गर्न नदिने भए पछी , रजिस्टर्ड गर्न कर नै लाग्यो | फेरी इमेल आड्रेस माग्यो , लौ बर्बाद | ज्ञानेले सरकारी कर्मचारीहरुको फेरिहस्त शरद चन्द्र शाह मार्फत कम्प्युतराइज्द अभिलेखमा बन्द गरिसकेको अवस्था थियो | कांग्रेस र कम्युनिस्ट समर्थक कर्मचारीहरु माथि हनुमान हाकिमहरुको वार्निग आइसकेको थियो| त्यो अवस्थामा असली इमेल र असली आइ डी को आइडिया ठिक लागेन| अमेरिकामा रहेका एक मित्रलाई एउटा इमेल आईडी बनाइ दिने आग्रह गरें, क्यालिफोर्नियाको ठेगाना राखेर ( जिप कोड) | इमेल त भयो अब , साझाको आइ डी के राख्ने ?? परेन फसाद ? यस्तो आइ डी होस् कि जुन आइ डीले ठुल्दाईको असली परिचयको छेउ छौ समेत पुग्न नसकोस भनेर घोत्लिएँ| ज्यान जाला आइडीको आइडिया फुरेको होइन| ३ दिन पछी बल्ल एउटा आइडी जुर्र्यो “ राहुल भाइ “ | अनि टेस्ट पोस्ट गरें एउटा कबिता | क्रमश: Last edited: 30-Mar-15 09:36 AM
rahulvai · Mar 30, 2015 9:31 AM
ThahaChaena · Mar 30, 2015 9:56 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion