अमेरिका बसेकी छोरीको चिट्ठी नेपाली आमालाई - आमा मेरो पिर नगर्नू

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकाबाट नेपालमा आमालाई चिट्ठीस्मृति अर्याल  प्यारी आमा, आज छुट्टीको दिन। अमेरिकाको मध्य दिउसो यो चिट्ठी युनिकोर्डमा टाइप गर्दैछु। यतिबेला नेपालमा मध्यराति भएको छ। तिम्री छोरी कत्ति टाढा छ भन्ने प्रमाण योभन्दा अरु के हुन सक्ला र? मेरी छोरी अब्बल छे, होटल म्यानेज्मेन्ट पढ्न पर्छ भनेकी थियौ। बाबाको पनि सोही इच्छा थियो। त्यसैले भारतको बैंलोरबाट बिबिए सकेर एमबिए गर्न अमेरिका आएकी हुँ। यता पुगेपछि थाहा पाएँ- आमा, योभन्दा सजिलै काम पाउने विषय कम्प्युटर साइन्स रहेछ। त्यसैले मैले मेजर चेन्ज गरेकी छु। दुई वर्षको कोर्ष हो। पढाइ महँगो छ। तीन महिनाको ४ हजार डलरका दरले कलेजमा फी तिरिरहेकी छु। पहिलो वर्ष त, नेपालबाट ल्याएको पैसाले पुग्यो। यो वर्षबाट बाहिर काम नगरी सुख छैन। त्यसैले मैले काम पनि गर्न थालेकी छु। सानी छोरी कसरी काम गरेर खाली भन्ने नसोच्नु आमा। अमेरिकामा १८ वर्ष पुगेका छोराछोरी काम नगरी बसेको अहिलेसम्म कोही भेटेकी छैन। आमा, अमेरिकाको पढाइ भारतको बैंलोरको भन्दा फरक छ। भारतमा रहँदा आफ्नै देशमा बसेजस्तो लाग्थ्यो, यहाँ त्यति आफ्नो केही चाहिन्नजस्तो लाग्छ। भारतमा भाषा संस्कृति सबै मिलेजस्तो लाग्थ्यो तर, अमेरिकामा केही मिलेजस्तो लाग्दैन। कलेजले गएको महिनाबाट २० घन्टा काम दिएको छ। लाइब्रेरीमा बस्ने काम हो। तीन दिन बिहान ७ बजे लाइब्रेरी खोल्न जान्छु। म एक्लै हुँदिन आमा, त्यसैले छोरीले एक्दै कसरी सिंगो लाइब्रेरी खोल्न जाँदी हो नसोच्नू। अन्य साथीहरू पनि छन् काममा सघाउने। लाइब्रेरीमा काम गरेबापत् कलेजले ९ डलर प्रतिघन्टा दिन्छ। तर, त्यो पैसाले मुस्किलले मेरो घरखर्च चल्ने गरेको छ। कोठा सेयर गरेर बसेकी छु। नेपाली दिदी हुनुहुन्छ। पाँच सय डलर कोठाभाडा छ। फोनको ४५ डलर तिर्ने गरेकी छु। लाइब्रेरीमा काम गरेको पैसाले यो सबै खर्च धान्छ। बाँकी दिन तीन दिन बाहिर रेस्टुरेन्टमा काम गर्ने गर्छु। घरमा कहिल्यै काम नगरेकी छोरी कसरी रेस्टुरेन्टमा काम गरिरहेकी होली भनेर चिन्ता नलिनू आमा। मेरो उमेरमा तिमीले दिदीलाई जन्माइसकेकी थियौ, मैलै जाबो काम गर्न किन नसक्ने? बेलुका रेस्टुरेन्टबाटै खाएर आउँछु। बिहान कहिले घरमै बनाएर खान्छौं, कहिले बाहिरै खान्छु। मेरो धेरै चिन्ता लिनु पर्दैन, समयमै खाना खाने गरेकी छु। रोड आयल्यान्ड अमेरिकामध्येको गरिब राज्यमा पर्छ रे। पहिले-पहिले बाटोमा माग्नेहरू देख्दा अचम्म लाग्ने गरेको थियो। आजकाल बानी परेको छ आमा। तर, पनि सुरक्षाका हिसाबले अमेरिकामा बसेकी छोरीको मान्छेले चिन्ता लिनु पर्दैन। ९११ मा फोन गर्‍यो भने तत्काल प्रहरी सुरक्षा आइपुगिहाल्छ। त्यसैले मेरोबारेमा चिन्ता धेरै नगर्नू। जन्सन्स एन्ड वेलमा आइटीमा एमबिए गर्न थालेको एक वर्ष बितिसक्यो। अब एक वर्ष बाँकी छ। म दुःखसुख पैसा पुर्‍याएर पढिहाल्छु। बाबालाई ह्वील चेयरमा उठाएर राखेको मैले स्काइपमा हेरेकी हुँ। अब बाबा रहनु भएन। पाँच महिनामा कत्ति धेरै परिवर्तन हुँदो रहेछ, आमा। तर, पनि कुनै गुनासो छैन। म सँगै छैन त के भयो, छोरोको भूमिकामा रहेकी जेठी छोरी छँदैछ तिमीसँग। भारतमा भन्दा अमेरिमा पढाइ राम्रो हुन्छ छोरी भनेकी थियौ। तिम्रो र बाबाको सपना थियो- छोरीलाई अमेरिका पढ्न पठाउने। म अमेरिका त पढ्न पुगिसकेकी छु, फरक यत्ति हो, अब बाबा रहनु भएन। साथीहरू नभएर छोरी एक्लो परिहोला नसोच्नु, मेरो कलेजमा २२ जना अरु नेपाली पनि छन्। नेपालमा बस्दा कहिल्यै नभेटेका हामी यहाँ परिवारजस्तै बनेका छौं। मलाई थाहा छ- बाबाको मृत्युपछि तिमी थोरै गलेकी छौं। धापासीभन्दा धेरै टाढा बाहिर ननिस्कनू। म रेस्टुरेन्टमा काम गरिरहेका वेला व्यस्त नै हुन्छु। तर, लाइब्रेरीमा काम गरिरहेका बेला त्यति व्यस्त हुँदिन, त्यो बेला तिमी आँखामा दौडिन्छौ। बैंगलोरमा फेसिलिटी डिमार्टमेन्टमा काम गरेजस्तो सहज त छैन तर, अमेरिकामा सबैले कामलाई बढो महत्त्व दिन्छन्। त्यसैले मैले पनि कामलाई सहजरूपमा लिने गरेकी छु। कलेजले दिएको २० घन्टाबाहेक अरु ४० घन्टा कम्तीमा पनि काम गर्नुपर्छ मेरो खर्च धान्नलाई। आजकल रेस्टुरेन्टमा त्यति व्यापार छैन, त्यसैले अलिकति काम घटेको छ। तर, पिर नगर्नू आमा मेरी रुममेट दिदी सहयोगी छिन्। साथीहरूले पनि चिन्ता गर्नु पर्दैन भनेका छन्। सुरुका महिनामा बस चढन अलि अप्ठेरो लाग्थ्यो। बाटोमा एक्लै हिँड्न डर लाग्थ्यो। अब मनोबल बढेको छ। तिम्री सानी छोरी अब सानी छैन आमा। तिमीले भनेकी थियौ- एमबिए पढ्यो भने भोलिपर्सि आफ्नो व्यापार गर्न काम लाग्छ। आमा मलाई माफ गर्नू मैले त्यो विषय भने परिवर्तन गरेकी छु। तिमीले सिकाएकी हो क्यारे, कोलम्बसले अमेरिका पत्ता लगाएको भनेर। यो मुलुकमा आजकल धेरै नेपाली जम्मा भइसकेका रहेछन्। मिनी नेपाल बनिसकेको छ। दाल, चामल, तरकारी सबै पाउने रहेछ। छोरीले भात खान पाएकी छ-छैन भनेर चिन्ता नलिनू। गुन्द्रुकदेखि मस्यौरासम्म बजारमा देखेकी छु। फरक यत्ति हो आमा, तिमीले पकाएको मात्र खान पाएकी छैन।  अब कहिले आउने भनेर नसोध्नू । अमेरिका दलदल हो भनेको सुनेकी छु। सबैले भन्छन्- अमेरिका पस्न गाह्रो, पसेपछि निस्कन गाह्रो। बाबाको निधनपछि पढाइमा त्यतिधेरै ध्यान जान सकेको थिएन। तर, पास भएँ। आमा जन्म, कर्म र मृत्यु मान्छेको हातको कुरो होइन रहेछ। काम गरेपछि कुनै गाह्रो छैन यहाँ। बरु उतै आफ्नो राम्रो ख्याल गर्नू आमा। समयमा खाना खानू। काठमाडौं फोहोरले झन् बिरामी बनाउँछ त्यसैले आफ्नो ख्याल गर्नू  है आमा। अमेरिकामा बसेकी तिम्री प्यारी छोरी  http://global.setopati.com/ame... Last edited: 25-Mar-15 08:01 AM

cybernepali · Mar 25, 2015 8:01 AM · 1,811 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all