न श्रीमती, न सम्पत्ति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

न श्रीमती, न सम्पत्ति वैदेशिक रोजगार शिव शर्मा कास्की, चैत्र ९ - 'यतिका वर्ष खाडी बसेर कमाउँदै घरमा पैसा पठाएँ, फर्केर आउँदा सम्पत्तिसँगै श्रीमती पनि लापता,' एक युवकले भने, 'सबै लटीपटी पारेर अर्कैसँग गइछ ।' १२ वर्षदेखि खाडी मुलुकमा रोजगारी गर्दै आएका कास्कीका उनी बिचल्ली भएपछि गत बुधबार जिल्ला प्रहरीमा निवेदन दिन आएका थिए । उनको निवेदनको बेहोरा छ, श्रीमती हराइन्, खोजी पाउँ । नगद, गहना र जग्गाको लालपुर्जासमेत लिएर श्रीमती बेपत्ता भएपछि आफू आश्चर्यमा परेको उनले बताएका छन् । पोखराकै एक युवक दुबईबाट फर्किएकै दिन श्रीमती घर छाडेर हिंडिन् । श्रीमतीसहित सर्वस्व गुमेपछि निवेदन दर्ता गर्न आउँदा भेटिएका उनले भने, 'खाई नखाई कमाएको सम्पत्ति सबै लिएर हिँडी । मेरो त बिचल्ली नै भो ।' वैदेशिक रोजगारमा जानेले आफ्नो परिवारभन्दा पर श्रीमती र बालबच्चा सहरमा ल्याई डेरामा राख्दा वा भरपर्दो आफन्तको साथमा राख्न नसक्दा भएका यस्ता घटना कास्की प्रहरीमा धेरै आएका छन् । 'वैदेशिक रोजगारबाट फर्केपछि श्रीमती हराएको उजुरी धेरै आएको छ,' जिल्ला प्रहरी उजुरी शाखाका असई टंकप्रसाद पौडेलले भने, 'श्रीमान् विदेश फर्कियो, यता श्रमिती कुलेलम ! हामीले कताकता खोजिदिनु ?' अधिकांश घटना खाडी मुलुकमा कमाउन जानेका परिवारको रहेको पाइएको प्रहरीले जनाएको छ । केही युरोप र एसियाली मुलुक गएकाको परिवारका पनि उजुरी छन् । श्रीमान् कमाउन विदेश गएपछि छोराछोरी पढाउन सहरमा डेरा लिएर बसेका परिवारमा यस्तो समस्या देखिएको छ । महिलालाई फुर्सद हुने भएकाले तिनलाई प्रभावमा पारेर घर बिगार्न सक्रिय हुँदा यस्तो भएको हो । कतिपय त छोराछोरी अलपत्र छाडेर पनि हिंडेका छन् । 'हामीकहाँ एकाध यस्ता घटना आएका छन्,' महिला मानव अधिकारी रक्षक सञ्जाल कास्की अध्यक्ष सरलाकुमारी पाण्डेले भनिन्, 'केहीले गर्दा धेरै वैदेशिक रोजगारमा गएका श्रीमानका श्रीमतीले लाञ्छना खेप्नुपरेको छ ।' उनले अधिकांश महिला पुरुषबाट पीडित हुनुपरेको बताउँदै अधिकार छ भन्दैमा महिलाले पनि जे पायो त्यही गर्न नपाउने बताइन् । हेटौंडा घर भएका ४० वषर्ीय युवकले १३ वर्षअघि चितवनकी एक युवतीसँग प्रेमविवाह गरेका थिए । बिहेको केही वर्षपछि श्रीमान् साउदी अरब पुगे । छोराछोरी पनि ११ र १३ वर्षका थिए । विदेशबाट आउजाउ गर्ने उनको परिवार सुरुमा राम्रैसँग चलेको थियो । तीन महिनाअघि बिरामी भएर फर्केको भोलिपल्टै श्रीमतीले छाडेर हिँडिन् । १० वर्षदेखि मासिक ४० देखि ५० हजार रुपैयाँ पठाउँदै आएका उनले अहिले त्यसको हिसाबकिताब त पाएनन् नै । श्रीमतीको नाममा रहेको चार कठ्ठा जग्गा, साढे दुई तोला सुन र केही रकम लिएर हिंडेपछि प्रहरीमा उजुरी गर्न आएका भेटिए । 'अहिलेसम्म कमाएको सबै बेकामी भयो,' पीडा पोख्दै उनले भने, 'कता गइन् अत्तोपत्तो छैन ।' श्रीमानबाट पीडित महिलाका उजुरी बढी आउने प्रहरीमा पछिल्लो समय श्रीमती पीडितका घटना पनि आउने गरेको प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलले जनाएको छ । कतिपयले सामाजिक मूल्य र मान्यताका कारण उजुरी दिन मान्दैनन् । उजुरीका आधारमा फेला परेका थोरैले मात्र मिलापत्र गरेका छन् । प्रहरीमा यस्ता प्रकृतिका घटनालाई महिला हराएको विवरणमा समावेश गरेको पाइन्छ । ०६९/७० मा १ सय १९, ०७०/७१ मा ११४ र साउनदेखि फागुन मसान्तसम्म ८४ महिला हराएको विवरण प्रहरीमा आएको छ । 'यी विवरणमा ५० प्रतिशतभन्दा बढी वैदेशिक रोजगारमा गएका श्रीमान् छाडेर हिँड्ने छन्,' महिला सेलकी प्रहरी सहायक निरीक्षक गीता रानाभाटले भनिन्, 'विदेशबाट फर्केपछि धेरैजसो यस्तै प्रकृतिका उजुरी दिन आइपुग्छन् ।' पछिल्लो समय विपन्न आर्थिक अवस्थाका कारण खाडी मुलुक पुग्नेक्रम बढेसँगै पारिवारिक विचलन आउने क्रम पनि त्यही रूपमा बढेको छ । डेरा लिएर बजारमा बस्ने, मोबाइल चलाउने र सिनेमा हेरेर फुर्सदमा दिन बिताउनेहरू विदेशमा रहेका श्रीमान् छाडेर हिंड्नेको संख्या बढिरहेको प्रहरीले जनाएको छ ।   प्रकाशित मिति: २०७१ चैत्र ९ ०९:५१ 

_____ · Mar 23, 2015 6:24 AM · 1,652 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all