जातपातको एसिडले जन्माएका जीवन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जातपातको एसिडले जन्माएका जीवन गुणराज लुइँटेल काठमाडौँ, चैत ९ pri906  बसन्तपुर एसिड काण्डका अभियुक्त जीवनलाई सार्वजनिक गरेयताका तीन दिनदेखि पाको, न्युरोडमा सानो चियापसल चलाएर बसेको विश्वकर्मा परिवार विषादले घेरिएको छ।  जति ठूलो चोट परे पनि उनीहरू आइतबार आफ्नो पसलमा चिया पकाइरहेका भेटिए। तिनले चिया पकाइरहेको भन्नु मात्र हो, भित्रभित्रै आफैँ पाकिरहेका थिए। मन भने चिसो थियो।  ‘एसिड हान्ने जीवन भन्ने मान्छे समातियो रे,’ चिया पसलमै काम गरिरहेका बेला उनीहरूले सुने। सहरमा यस्ता जीवन कति छन् कति? उनीहरूलाई आफ्नै भाइ र छोरो जीवनले यस्तो गर्‍यो होला भन्ने कहिल्यै लागेन। दिनभरि चियापसलमा काम गरेपछि उनीहरूले राति मात्र टेलिभिजनमा जीवनलाई प्रहरीको पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको देखे। उनीहरूका आँखालाई विश्वास भएन। ‘त्यस्तो ज्ञानी छोरा कसरी त्यस्तो भयो, कसले त्यस्तो बनायो उसलाई?’ जीवनका ५२ वर्षीय पिता मानबहादुरले सेतोपाटीसँग भने, ‘मलाई तीन दिनदेखि भोक पनि लागेको छैन, निद्रा पनि लागेको छैन।’ एसएलसीको तयारीमा रहेका तीन छात्रामाथि एसिड प्रहार गरेको घटनाको अभियुक्तका रूपमा जीवनलाई सार्वजनिक गरिएयता उनीहरूको भविष्य पनि एसिडको दागजस्तै अँध्यारो भएको छ। जीवनले बसन्तपुरमा ट्युसन पढ्न गएकी संगीता पुलामीमगरमाथि एसिड छ्यापे। उनीसँगै रहेका अरु दुईजना सीमा बस्नेत र हिमु मुखर्जी पनि यसबाट घाइते भए। घरपरिवार, छिमेक र नातागोता सबैतिर राम्रो मान्छे भनेर चिनिएका जीवन कसरी कलिला छात्रामाथि एसिड छ्याप्न पुगे? कसरी त्यस्तो अपराध गर्न पुगे?  जुन परिस्थितिले त्यो अपराधको गर्भधारण गरायो, त्यो हाम्रो सामाजिक चेतलाई हल्लाउने प्रकृतिको छ। * * * रामेछापबाट विश्वकर्मा परिवार १३ वर्षअघि राजधानी आएको हो।  उनीहरूका निम्ति काठमाडौँ एउटा सपनाको सहर थियो। मुक्तिको सहर थियो। गरिबीबाट छुटकारा पाइन्छ, छोराछोरी पढाउन सकिन्छ भन्ने मानबहादुर र नुनुमायालाई लागेको थियो। राजधानीमा उनीहरू अर्को मुक्ति पनि चाहन्थे- गाउँमा भोगेको छुवाछुतको उत्पीडनबाट। त्यसैले यो परिवारले आफूलाई खड्का भनेर चिनाउन थाल्यो। तीन छोरा र दुई छोरीसहित सात जनाको परिवार लिएर आएका मानबहादुरले ज्यामी काम गरेर परिवार पाल्न थाले। उनलाई साथ दिन्थिन् पत्नीले। सबैभन्दा जेठी सन्तान मञ्जुले पनि अरुको पसलमा काम गरेर परिवारलाई भरथेग गर्न सघाइन्। जेनतेन जिन्दगी चल्न थाल्यो। परिवारको पेटमा माड पस्ने भयो। साना नानीहरू स्कुल जान थाले। ‘म त लाटो मान्छे हजुर,’ मानबहादुरले आफ्नो नाम पनि जेठी छोरी मञ्जुसँग सोधे, ‘के नागरिकताकै नाम भन्ने? छोरीले ‘होइन’ भनिसक्दा नसक्दै यी सोझा मानबहादुरले फुस्काइहाले- ‘काले।’ तीन वर्षअघि यो परिवारले न्युरोड पाकोमा आफ्नै चिया दोकान खोल्यो। अनि न्युरोडनजिकै झोछेँमा डेरा लिएर बस्न थाल्यो। अर्काको कपडा पसलमा काम गरेर परिवार र भाइबहिनीलाई सहयोग गर्दै आएकी मञ्जु अब आफ्नै चियापसलमा काम गर्न थालिन्। जीवन कलेज पढ्न थाले। सबैको आशाको किरण जीवनले सरकारी जागिर खाएपछि दुःखका दिन सकिने प्रतिक्षामा बाच्न थाल्यो विश्वकर्मा परिवार। संयोग कस्तो पर्‍यो भने पुलामीमगर परिवार पनि त्यही घरमा बस्थ्यो। सुरुमा दुई परिवारबीच हिमचिम राम्रै थियो। जीवनको पढाइ राम्रो भएका कारण संगीता र उनका भाइ सन्तोष उनीसँग सिकाइमाग्न आउँथे। जीवनले प्रहरीसमक्ष दिएको बयानमा संगीता र जीवन एकअर्का प्रति आकर्षित भएको र त्यो आकर्षण बिस्तारै प्रेममा बदलिएको बताएका छन्। यसको पुष्टि संगीताबाट भएको छैन। जीवनकै डेरामा संगीताले एकपटक उनको परिचयपत्र देखिन्, त्यसमा उनको थर बिक लेखिएको थियो।  प्रहरीका अनुसार सन्तोष जीवनसँग पैसा माग्थे, पैसा नदिए दिदीसँगको सम्बन्ध बा-आमालाई भनिदिन्छु भन्थे। जीवनले सधैँ पैसा दिन सक्ने कुरा थिएन। साँच्चै नै एकदिन सन्तोषले बा-आमासामु ‘राज’ खोलिदिए।    जीवन दलित भएको थाहा पाएपछि पुलामीमगर परिवार राँकियो। संगीता पनि परिवारतिरै लागिन्।   दुई परिवारबीच हिजोसम्मको सौहार्दता तुरुन्तै सत्रुतामा बदलियो। जीवनको परिवारले छुवाछुतबाट पाएको मुक्ति खोसियो। राजधानी पनि अब मुक्तिको सहर रहेन!    ‘तँ यस्तो जात, उस्तो जात भन्न थाले,’ मञ्जुले भनिन्, ‘हाम्रो ढोकामा ड्यांग हान्न थाले। हामीलाई देख्नै नहुने मनपरी बोल्न थाले।’ एकदिन समस्या यति उत्कर्षमा पुग्यो, चोकमा जीवनमाथि आक्रमण भयो। उनको सर्ट च्यातियो। कराँते सिकेकी संगीताले स्वयंले बाबु मानबहादुरमाथि पनि प्रहार गरिन्। ‘एउटा पढे-लेखेको त्यस्तो मानिसलाई जातकै आधारमा चोकमा कुटपिट गरे,’ मञ्जुले उनीहरूलाई उद्धृत गर्दै भनिन्, ‘तँ सानो जातको मान्छे, आफ्नो ठाउँमा बस्।’ कुटपिटको उजुरी प्रहरीमा पनि पुग्यो। ‘भाइ र बुवालाई पिटेपछि मैले केही गर्न सकिनँ, जिउ थर्रर काम्यो,’ मञ्जुले भनिन्, ‘बहिनीले प्रहरीलाई खबर गरेपछि उनीहरूलाई समातेर जनसेवा प्रहरीमा लगे।’ प्रहरीले पुलामीमगर परिवारलाई एकदिन थुनामा राखेपछि फेरि मिलौं भन्ने प्रस्ताव आयो। ‘४०/५० जना मानिस आएका थिए,’ मञ्जु सम्झिन्छिन्, ‘मिलेर बसौं भनेका थिए। मिलेपछि फेरि हामीलाई छि:छि: गर्ने, चोकमा पानी भर्न नदिने गर्न थाले।’ मञ्जुका अनुसार पुलामीमगर परिवारले जातकै आधारमा आफू र बाबुमाथि कुटपिट गरेपछि जीवनभित्र बदलाको भावना आउन थाल्यो। कुटपिटपछि उसलाई डिप्रेसन हुन थाल्यो। त्यो घटनाअघिसम्म जीवनमा जीवनप्रति प्रचुर उत्साह थियो।   कुपण्डोलको प्रगति शिक्षा सदनमा पढेका उनले एसएलसीमा ७०.७८ प्रतिशत ल्याएका थिए। सानैदेखि उनले अर्काको घरमा भाँडा माझेर पढेका थिए। ९ कक्षामा पुगेपछि मात्र उनी परिवारमा बस्न आए र आफ्नो शिक्षालाई निरन्तरता दिए। परिवारलाई जीवनले जहिल्यै आशा देखाउँथे। दाइको बिहे गर्ने बेलामा पनि उनैले सबै व्यवहार मिलाएका थिए। ‘ऊ मेरो भाइ भए पनि दाइजस्तो थियो,’ जीवनका दाइ सचिनले भने, ‘मेरो बिहेका लागि उसैले सबै काम गर्‍यो।’. जीवनलाई सरकारी सेवा गर्ने ठूलो रहर थियो। त्यही भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको असइको लिखित जाँच पनि दिएका छन्। दौड, अब्स्ट्याकल सबै पास भइसकेका उनी लिखितमा पनि पास हुन्छु भन्नेमा दृढ थिए। ‘भाइ लोकसेवा आयोग र नेपाली सेनासम्बन्धी ठुल्ठूला किताब पढिरहेको हुन्थ्यो,’ मञ्जुले भनिन्, ‘उसले एक जोर राम्रो चप्पल पनि लगाएन, राम्रो मोबाइल पनि थिएन। मैले जागिर खाएपछि तिमीहरू सबैलाई राम्रो गर्छु भन्थ्यो।’ दाइ बिहे भएर लाजिम्पाटमा बस्न थालिसकेका थिए। जीवनले दिदीलाई सधैं भन्ने गरेका थिए- पख, दिदी म जागिर खाएपछि तेरो बिहे गराइदिन्छु। मञ्जुले गहभरि आँसु पार्दै भनिन्, ‘परिवार राम्रो बनाउँछु भन्थ्यो। बालाई टिबी थियो, उसैले उपचार गरायो। आमाका खुट्टा मिचिदिन्थ्यो, हामीलाई टाउको दुख्दा उसैले सुम्सुम्याउथ्यो। बरु हामीलाई घिन लाग्थ्यो, तर उसैले बाको सेवा गर्थ्यो।’ टिभीमा आफ्नो भाइ देखेदेखि मञ्जुका सपनामा तुषारापात भएको छ। ‘मैले विष खानु पर्‍यो भन्ने पनि सोचेँ,’ उनले भनिन्, ‘फेरि बाआमाको बिजोग हुन्छ भनेर रोकिएँ।’ योबीच दुईपटक आत्महत्या गर्ने सोच बनाएकोसमेत मञ्जुले बताइन्। दलित परिवारमै जन्मिएका कारण आफूमाथि छुवाछुत र उत्पीडन भएपछि जीवन डिप्रेसनको सिकार भए। उनले शिक्षण अस्पतालका चिकित्सकलाई समेत भेटे। पढाइमा ध्यान जान छाड्यो। उनले परिवार र टोल छाडे र टोखामा बस्न थाले। उनीले देशै छोड्न पनि प्रयास गरे। भारतीय सेनामा जागिर लगाइदिन्छु भनी राजेश प्रधान नामका व्यक्तिले सिक्किम बोलाएर ५० हजार रुपैयाँ पनि ठगी गरेपछि उनलाई झनै चोट पर्‍यो।  गत वर्षदेखि टोखामा बस्न थालेका उनी दसैँ मान्न बुबाआमाकहाँ आएका थिए। तिहार मानेर फेरि उनी फर्के। विश्वकर्मा परिवारले जीवनलाई त्यसयता नभेटेको बतायो। उनीहरूलाई जीवन सिक्किमतिरै छ भन्ने थियो। जीवनले परिवार छोडे, टोल छोडे, देशै छोड्ने सोच बनाए। तर, उनलाई झोँछेको आफ्नो डेरामा घटेको घटनाको घाउले छोडेन। त्यो घटनाप्रति प्रतिशोधको भावनाले उसलाई छोडेन।    दलित भनेर हेप्न थालेपछि सुरुमै डेरा सर्न पाएको भए त्यो घटना हुँदैनथ्यो भन्ने अहिले यो परिवारलाई लाग्न थालेको छ।  ‘हामीले डेरा सर्न खोजेका थियौं,’ मञ्जुले भनिन्, ‘कोठा खोज्दा पाइएन। हामीलाई आफ्नै कामले फुर्सद पनि भएन। नबोली बसौं भनेका थियौं। तर, भाइलाई रातोदिनको हेपाइले यस्तो अवस्थामा पुर्‍याएछ।’ मञ्जुका अनुसार त्यही घरमा बस्दा मात्र जातपातको समस्या आएको हो। अन्यत्र त जातको त्यत्रो ठूलो समस्या थिएन। चिया पसल गरेका ठाउँमा पनि सबैले माया गर्छन्। ‘उसैले यसो गरायो भन्ने हामीलाई विश्वास हुँदैन,’ मञ्जुले भाइका बारेमा अगाडि भनिन्, ‘त्यो बिग्रेको मानिस होइन। मिहिनेती र बुद्धिमान मान्छे थियो। बूढापाकालाई समेत यसो गर्नू उसो गर्नू भनेर सम्झाउँथ्यो।’ जीवनले आफूलाई असह्य भएपछि बाध्य भएर यो बाटो लिनु परेको पनि प्रहरीलाई बताएका छन्। पहिले लट्ठीले मात्रै हान्ने सोचे पनि हात कामेको र पछि भारतीय टेलिभिजन हेरेर एसिड हान्ने तरिका सिकेकोसमेत उनले प्रहरीलाई बताएका छन्। असईका निम्ति जाँच दिएका जीवनलाई प्रहरीहरूले सोधे- के तिमीले दौड, अब्स्ट्याकल पनि पास गरेका थियौं? ‘सर, म अरु मान्छेभन्दा कुन अर्थमा कम छु र?’ उनको जवाफ थियो, ‘खेलकुदमा राम्रो छु। राम्रो पढे-लेखेको छु। जातका आधारमा हेय दृष्टिले हेरेपछि मात्रै मैले बदला लिन यसो गरेको हुँ।’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘मलाई पश्चाताप छैन, सर।’ उनलाई उद्धृत गर्दै अनुसन्धानमा संलग्न एक प्रहरीले सेतोपाटीसँग भने, ‘मलाई पीडा दिनेलाई पीडा दिन पाएँ, यसैमा आनन्द लाग्छ।’ यति भन्दाभन्दै पनि उनले आफ्नो भविष्यप्रति निराश हुँदै एक प्रहरी अधिकृतलाई भने, ‘मेरो भविष्य अब यत्तिकै सकिने भयो, सर!’  प्रकाशित मिति: सोमबार, चैत्र ९, २०७१ १४:३४:२१

_____ · Mar 23, 2015 5:18 AM · 16,071 views

14 Replies

kt pani kaam nalagni rahichan..aile ta maya lagera ayo yo bhai ko....

cybro · Mar 23, 2015 8:45 AM

साझाकै अर्को धागोमा पनि यहि लेखेको थिएँ | गल्ति त उसको हो नै, तर समाजमा जसरी मृत्युदण्ड भनेर सजायँको माग भै रछ, त्यो हुनु हुँदैन | उसलाई सजाय हुनु पर्छ तर कानुनले दिएको अधिकतम सजायं हुनु हुँदैन, न्युनतम हुनु पर्छ | म न त कानुन विद परें न त अनुसन्धान गर्ने प्रहरी, दुवै पक्षका समाचारहरुमा जे जे देखें, त्यसैका आधारमा भनेको हो | अनि फेरी अहिले नेपालमा जातीय मुद्दा यती सम्बेदनशील भएको छ कता दंगा फैलिएला भन्ने डर |

Fuel Tank · Mar 23, 2015 10:36 AM

"अनि फेरी अहिले नेपालमा जातीय मुद्दा यती सम्बेदनशील भएको छ कता दंगा फैलिएला भन्ने डर | " एसले केहि दंगा गर्दैन टंकी ब्रो, \ संगीता बाहुन वा छेत्री परिवारको केटि भएको भए चै , यो जिबन बिक लगाएतलाई उचाल्ने धेरै हुन्थे - कुरो बुज्नु भो होइन \ गुणराज लुइँटेल जस्तो पाकेको मान्छेले किन एस्तो अपुरो आलेख लेखेको होला , यो त एसिड काण्डलाई जबर्जस्ति जातीय रुप दिएको जस्तो देखियो \ संगीताको परिवारको एउटा मान्छेको पनि भनाई छैन \ महिला हिंसा र जातीय विभेद दुइतै महत्वोपुर्ना होइन र \ अनि जिबन बिक लाइ पहिला पनि ३ दिन पुलिसले थुनेको कुरा आएको थियो , जबकि एस लेखमा संगीताको परिवारलाई १ दिन पुलिस हिरासतमा राखेको भनिएको छ \ यो घटना हुनु अघि जिबन एकदम साधुराम थियो भन्ने चित्रण छ \ मलाईत त्यो संगीताको भाई सन्तोषलाई जीवनले गाजा खाएको आरोप लगाएको ले संगीताको परिवार भड्किएको जस्तो लग्यो - आखिर बाउ आमालाई आफ्नो छोरो जस्तै कुपुत भए पनि अर्काको अगाडी चै एकदम ज्ञानी छन् भन्न मन लाग्छ \

nepalilaure · Mar 23, 2015 11:09 AM

"पहिले लट्ठीले मात्रै हान्ने सोचे पनि हात कामेको र पछि भारतीय टेलिभिजन हेरेर एसिड हान्ने तरिका सिकेकोसमेत उनले प्रहरीलाई बताएका छन्।" यसमा जिबन बिक लाई साधुराम भनेर चित्रण गर्न खोजिएको छ | म पनि सहमत छु ब्रो | जस्तो पहिले नै भनेको थिएँ, दुवै पक्षको कथाहरु फलो गर्दै आएको छु | पहिले आएको समाचारमा रडले हान्ने सोच बनाएको थियो जीवनले | एसिड छ्याप्ने मान्छेले यत्यसको सट्टामा लट्ठीले हान्दैन , रडले हान्छ |  मैले आफ्नो सोच बनाएको उसको उमेर र परिस्थिलाई संगै राखेर हो | केटो २० बर्षको हो | उसको सोच्ने सक्तिलाई परिस्थिले जितेको हो | उसको अगाडी सिंगो जिन्दगी बाँकी छ | उसले (ति बहिनीहरु माथी ) गरेको  अपराधका लागी संजाएँ हुनुपर्छ  तर सजायं यस्तो होस् कि उसलाई परिवर्तन गरेर समाजमा पुनर्स्थापित गर्न सकियोस | मैले भन्न खोजेको मात्र "He is not a rotten seed".

Fuel Tank · Mar 23, 2015 11:30 AM

ब्रो संग सहमत हुदा हुदै अलिकति असहमत छु है म ;) अपराधसास्त्रीय हेर्नलाई आफ्नो तेस्तो आँखा छैन, तर कतिपय अवस्थामा पीडक वा अपराधी १८ वर्ष भन्दा कम वा नावालक भएपनि एस्तो क्रुर र premeditated अपराध गरेको हुन्छ कि तेस्लाई बयास्कलाई सरह सजायको फैसला हुन्छ \ अनि कतिपय अवस्थामा 'परिस्थितिको' बन्धक बनेर उमेरले बयस्क भएपनि ब्रोले भने जस्तै उमेरलाई परिस्थितिले थिचेर अपराध गरेको हुन्छ \ जातीय विभेद बाट पिडित अवस्थालाई लाइ मान्छेहरुले एकदम 'दिन दिने मारिएको/ दिन दिने acid को पिडा भोगेको ' जस्ता अतिसयोक्तिपूर्ण बिसेषण लगाएका हुन्छन - जसले गर्दा बास्तबमै -"बलात्कारी वा बलात्कार गर्न प्रयास गर्नेलाई आफ्नो ज्यान सुरक्ष्याको लागि मारेपनि पाप पनि लाग्दैन, सजाय पनि हुदैन "- भने जस्तै जातीय विभेदको प्रतिकारमा गरिने कामलाई क्रियाको स्वाभाविक प्रतिक्रिया भन्ने सम्म भनेका छन् \ कतिपय अवस्थामा जातीय विभेद तेस्तै भयानक पनि हुन्छ , तर मलाई यो केसमा चुरो कुरो तेही हो जस्तो लाग्दैन \ काठमाडौँमा एउतै घरमा डेरा गरेर बस्नेले पानीनै नचल्ने भनेर छोई छिटो गरे भन्ने तेती विश्वास लागेन \ बरु संगीतले जिबनको बाबुलाई (येसो फोटोमा हेर्दा चै बूढा साधु नै जस्तो लाग्यो, छोरो चै अल्लि ओजे जस्तो लाग्यो ) कराते kick हानेको चै होला - तेस्ले चै अलि trigger गर्यो होला \ भर्खर कराते सिकेर आएकी केटि आफ्नो परिवारको झगडा परेको भए बिक लाइ मात्र होइन बाहुन बाजेलाई पानी हान्थी होला \ तेसैले यो केसमा 'जातीय पेलानमा' परेर उब्जेको घटना भन्न चै मलाई तेती ठिक लागेन |

nepalilaure · Mar 23, 2015 11:59 AM

काम छैन बुहारी पाडाको चाक कन्याउन जा भन्ने उखान लागु हुन्छ यी मृत्यु दण्ड माग गर्ने हरु माथि ! हरेक अपराधमा संलग्न हुने हरुलाई कानुन बमोजिम सजाय हुनु र मृत्यु दण्ड माग गर्नु दुइ ध्रुबिय कुरा भए |

magorkhe1 · Mar 23, 2015 1:19 PM

The society is to blame and then jeevan And public of Nepal is a mix of too emotional and ignorant. सायद तापैहरुलाई ठहचैना होला तर kathmanduमा झनै जात पात को कुरा हुन्छ | specially among people who live in small dera houses. We just heard the news of one jeevan but htere are many jeevans who go through jaat paat bhedbhaav and do the same crimes but with diffeent tools.

tensed1 · Mar 23, 2015 2:00 PM

http://arko.asia/news/nepal/ac... nnocent bystander, Ram Bahadur Pariyar, lost an eye in an acid attack and now he is stranded in the capital, Kathmandu, due to lack of money. Jajarkot, July 30 – Pariyar was simply passing by Khalanga, when the acid attack took place. The unfortunate incident happened as Arjun Sunar of Khalanga-2, Jajajarkot threw acid at his uncle Jagat Sunar over a dispute between them. Some of the acid spilled on to Pariyar, damaging his eye. Pariyar was airlifted to the capital along with severely injured Jagat Sunar. He is currently undergoing treatment at the Kathmandu Medical College but he does not have the money to pay for his treatment. Pariyar comes from a very poor family from Tansi, Nayakbada VDC adjoining the border with the Jumla district. His family does not have food enough to feed the whole family even for three months, let alone pay for the treatment. He had come to the district headquarters to take a tailoring training provided by the West Hills Project and was unfortunately caught up in the acid attack. “Another injured Jagat Sunar has been admitted in the ICU at the Grande Hospital. His condition is said to be critical”, said Deputy Superintendent of Police Chakra Bahadur Singh. RSS

tensed1 · Mar 23, 2015 2:08 PM

जातीय भेदभाब नेपाली समाजको अति नै नराम्रो पक्ष हो | पशुपन्छीको अधिकारसमेत सुरिक्षित गर्नुपर्ने बहस चलेको बेला मानिस मानिस बिचमै, अझ 'कुन जातको हो?' भनेर भेदभाब गर्नु लज्जास्पद छ| जो सुकै भएपनि जातीयताका आधारमा भेदभाव गर्नेलाई कठोर सजायँ दिनै पर्छ, शायद यो कुरामा दुइ मत नहोला | तर एक युवतीलाई उनका बाउआमाले (अथवा उनैले) जातीय भेदभाब गरिन भनेर एसिड छ्याप्नु भनेको, जिबनले कानून आफ्नो हातमा लिन खोजेकै हो | अब की त हरेक जिबनहरु 'अदालत सरह हुन् ' भनेर उनलाई सजायँ दिने (एसिड छ्यापेर) छुट दिने भने अर्कै कुरा, नत्र जिबनले सजायँ पाउनु पर्ने देख्छु | "जातीय भेदभाब गरेका थिए, अहिले एसिडको फेला परे, ठिकै भयो" भन्नु भनेको अल्ली नमिल्ने कुरा भयो जस्तो लाग्छ| यो भन्दैमा जातीय भेदभाव गर्नेलाई खुलेआम छोड्नु पर्छ भन्ने हैन | जातीय भेदभाब गर्ने हरु जो सुकै हुन्, तिनलाई (युबती, उनका बाउ आमा समेत) कारवाही गर्नु पर्छ | यो प्रसंग मा न-आएका अरु सबै जो जतिले जातीय भेभाब गरेका छन, तिनलाई पनि सजायँ दिन पर्छ | बरु कानून छैन भने कडा भन्दा कडा कानून बनाएर भए पनि सजाय दिन पर्छ |

AdjunctProf · Mar 23, 2015 2:28 PM

This world will never be a better place because it's a relative world. Constant change is the law of Mrityu Loka. However, as an intellectual beings we must aspire to mitigate all levels of disharmony from the society and bring peace as much as possible. This can only be done though proper Vedic education. भद्रम कर्णेभि: स्रिणुयाम देवा: भद्रम पश्यमाक्षभिर्यजत्रा: Oh lord, may these ears hear what is auspicious, may these eyes see what is auspicious. Jivan should be punished according to the law. What happens to planet Earth if it disobeys gravitational law? It will be thrown out of solar system and all life will be doomed! Such is the consequences of not following the law. Laws are invisible but are extremely powerful. One must follow the laws of that country where he/she resides no matter what. There are two kinds of Shristis. One is Jiva-Shriti, the other is Isvara-Shriti. Caste system and acid-attack is Jiva-shristi (Human created). Therefore, you alone are responsible for what you have created. Jivan had no knowledge of Karma and he gave way to anger. Bhagavad Gita clearly states: When anger resides in the human mind, the mind is deluded. And you can imagine what a deluded mind can do. To maintain law and order, Jivan must me punished according to the law. Along with this, the hypocrite government of Nepal must be kicked out from Nepal. New young leaders who truly know how to rule a nation must be in. Caste system of Nepal can only be removed through grass root level. A holistic approach in education must be adopted by new government where they should bring 'Peace Class.' Under this class all Nepalese children should be given the true knowledge: सर्वम खलु इदम ब्रम्ह --- All this verily is Brahman. Last edited: 23-Mar-15 06:04 PM

ujl · Mar 23, 2015 6:00 PM

एस्तो सम्भव होला त ? सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया, सर्वे भद्रानी पश्यन्तु मा: कस्चित दु:ख भाग्जन .

Baneko chha paharale · Mar 23, 2015 9:14 PM

एस्तो सम्भव होला त ? सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया, सर्वे भद्रानी पश्यन्तु मा: कस्चित दु:ख भाग्जन .

Baneko chha paharale · Mar 23, 2015 9:14 PM

एस्तो सम्भव होला त ? सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया, सर्वे भद्रानी पश्यन्तु मा: कस्चित दु:ख भाग्जन .

Baneko chha paharale · Mar 23, 2015 9:17 PM

Don't nepal have hate crime law. Along with this boy, grils family should we charged for hate crime, if all these things that is coming in media is true. Some time society is too slow to change based on education and values. Strong laws and it's implementation is need to force society not to behave in certain way. Imagine if US would not have hate crime law, and leaders of this country thought slavery and hate will go away over time with education and moral values.

Yaaku · Mar 24, 2015 6:47 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all