म एक साधारण मानिस, एक आम नागरिक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म एक साधारण मानिस, एक आम नागरिक By Pradip Gautam, on March 19th, 2015 -प्रदीप गौतम- म एक नेपाली । एक साधारण मानिस । एक आम नागरिक । कुनै नेताको, कार्यकर्ताको परिवारभित्र म पर्दिन न कसैलाई चिनेको नै छु । तँ कुन पार्टीको भनेर कसैले सोध्यो भने स्पष्ट जवाफ मसँग छैन । जीवनभरमा २ पटक मतदान दिने मौका मिलेकोमा दुबै पटक फरक फरक पार्टीमा मतदान गरेको छु । क्याम्पसमा पनि एक पटक भोट हालेको थिएँ । एकजना मित्रले भोट खाजा खुवाउनुभयो, मेरै क्लासमा मेरै सेक्सनमा पढ्ने मित्र, खाजा खाएँ तर भोट अरु कसैलाई हालें । खाजाभन्दा अघि नै भोट खसाइसकेको थिएँ । मित्रलाई बिश्वास रहेछ मैले उनलाई नै हालें भनेर, मैले उनको विश्वास तोड्न चाहिन र नैतिकता बिरुद्र खाजा पनि खाएँ । कुनै सरकारी उच्चपदस्थ कर्मचारीसँग पनि मेरो कुनै लिंक छैन । शहरका डन भनिने ब्यक्तिहरुको त झन् नाम पनि थाह छैन । समाचारहरुमा डनहरुको खबर आएको पढे पनि पछि सम्झना रहँदैन । कसैसँग कुनै लिंक नभएको कारणले एक नागरिकले सरकारबाट पाउने जति सेवा छन् ती सबै एक साधारण मानिसको हैसियतले पाएको छु । कसैको लिंकबाट कुनै काम गराएको छुइन र त्यसैले सास्ती पनि पाएको छुु । बिद्युतको महसुल तिर्दा होस् वा मोबाइलको सिम कार्ड लिंदा, बैकमा खाता खोल्दा होस् वा यातायातमा लाइसेन्स बनाउँदा, नागरिकता लिंदा पासपोर्ट बनाउँदा, लोक सेवा वा अन्य संस्थामा दरखास्त फाराम बुझाउँदा सधै एक आम साधारण मानिस भएर, लाइनमा बसेर, कहिलेकाही कर्मचारीको रुखो बचन सुनेर, कहिलेकाही एक मिनेटको काम लागि एक साता धाएर सेवा पाएको छु । सुन्दा कति मिठो लाग्छ यो ’सेवा’ भन्ने शब्द, तर पाउँदा भने … । कतिपय ठाउँमा निशुल्क पनि हुन्छ यो सेवा, तर सम्झन्छु मेरो आम्दानीको १ देखि २५ प्रतिशत सम्म तिर्ने कर यही सेवाको लागि त हो । अघोषित स–शुल्क सेवा पनि लिंदै आएको छु । सरकारले भ्रष्टाचारमा जति कडाइ गर्छ, अघोषित स–शुल्क रकम पनि बढ्दै जान्छ । ‘ के गर्नु हजूर अचेल त हामीलाई कडा छ ‘ भन्दै सेवा पनि कडै हुँदै जान्छ । अफिसको सहकर्मीले एकपटक मलाई एउटा प्रश्न गर्नुभयो ‘तपाइँ कस्तो जीवन जीउन चाहनुहुन्छ‘ एउटा साधारण जीवन जिउन चाहने मेरो उत्तर थियो ‘एउटा easy life‘ । हो म एउटा smooth , easy जीवन जिउन चाहन्थे र अहिले पनि त्यही चाहन्छु । मेरो साधन र श्रोतले भ्याएसम्मको सजिलो जीवन । म दैनिक काममा जान पाउँ, मेरो श्रमको राम्रो मूल्याङ्कन होओस्, जीवनका आधारभुत आवश्यकताहरु सरकारले तोकेको मूल्यमा सजिलो सँग पाइयोस्, मैले १०० रुपिंयाको सामान किन्दा मेरो हातमा १०० रुपिंयाकै पाइयोस् । चाहे त्यो सामान होस् वा सेवामा, १ रुपिंया पनि ब्यापारीले अनावश्यक कालो नाफा खान नपाओस् । मेरो परिवारका सदस्य बिरामी पर्दा स–शुल्क नै भएपनि उचित स्वास्थ्य सुविधा पाइयोस् । तर अनावश्यक रुपमा पैसा झार्न विवश बनाउने परिपाटी अन्त्य गराइयोस् । स्वास्थ्य सेवामा सबै संवेदनशिल हुन्छन् र त्यसको फाइदा कसैले नउठाओस् । मेरा बच्चाहरु राम्रो सँग पढ्न पाउन् । उनीहरु पढ्ने स्कुलमा बम नपड्कियोस् ,मेरो छोरा अपहरणमा नपरोस् मेरी छोरी बलात्कृत नभइउन् । मेरी बहिनीको अनुहारमा तेजाब नपरोस्, मेरो भाइले लार्खौ खर्च गरेर पढेर exam दिन नपाउने नहोस् । मेरो आगामी पुस्ताले मात्र भएपनि अन्धकारमा बाँच्न नपरोस् । मेरो मामाको छोराले खाडी मुलुकमा आफ्नो श्रम बेच्न नपरोस्, मेरो अंकलको छोराले लाखौं खर्च गरेर उच्च अध्ययन को लागि अमेरिका जान नपरोस् । मेरो घर अगाडिको खाल्डा खुल्डी पुरियोस् र पटक पटक खन्ने जोत्ने नगरियोस् । फोहोरको दुर्गन्धमा रात बिताउन नपरोस् । यो देशका सबै नेताहरु सधैं ठूलो कुरा मात्र गर्नुहुन्छ । तर मलाई ठूलो कुरो चाहिएकै छैन । हामी सबैलाई साधारण कुरा चाहिएको छ । नयाँ नेपाल नयाँ नेपाल भन्नुहुन्छ र पुरानो नेपालको शान्ति हराइदिनुभएको छ । पुरानो नेपालको मिठो अस्तित्व विर्साइदिनुभएको छ । मलाई त माथि भनेको सानो सानो कुरा दिलाइदिनुभए पुग्छ । मलाई दुख दिने खालको बन्द हड्ताल गरेर वहाँहरु गर्व अनुभव गर्नुहुन्छ । मलाई त्यति नगरिदिए पुग्छ । मेरो हक अधिकारको नाममा मलाई दुःख दिने यो कस्तो नियति भोग्नुपर्ने मैले । २५०० मेगावाट बिद्युत उत्पादन गर्ने खोक्रो आश्वासन मलाई चाहिएको छैन, मलाई त बस आधा मात्र भएपनि लोडसेडिङ्ग हटाइदिए पुग्छ । मेटे रेल पनि चाहिएको छैन बसकै भरपर्दो यात्रा पाए पुग्छ । मेलम्चीको सपना होइन शुद्ध पानी पिउन पाए पुग्छ । बैचारिक क्रान्ती दिनोस् मानसिक शान्ति दिनोस् । … आदि इत्यादि केही होइन एउटा पूर्ण नागरिक भएर बाँच्न दिनोस् । एउटा पूर्ण नागरिक जसको सम्पूर्ण अस्तित्वको (लिङ्ग, वर्ण, जात, धर्म, भाषा)को राज्यले सम्मान गरोस् । यसतर्फ सबैको ध्यान जाओस् । यो असम्भव पनि छैन । जसरी मैले आफ्नो ठाउँबाट आफ्नो कर्तब्य पुरा गर्दै आएको छु, तपाई हरु सबै पनि आ–आफ्नो ठाउँबाट आफ्नो कर्तब्य पुरा गरिदिनोस् । हरेकले आफ्नो कामप्रति इमान्दारी र पूर्ण जवाफदेहिताका साथ गरे म र म जस्तै हरेक नेपालीले मैले चाहेको जस्तै सरल जीवन बिताउन सक्थे कि । म एक साधारण मानिस । म एक आम नागरिक । http://www.mysansar.com/2015/0...

_____ · Mar 20, 2015 8:59 AM · 1,152 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all