डिभी परेर अमेरिका गएको मान्छे देशको चिन्ता गर्न लाज लाग्दैन?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हो, म डिभी परेरै अमेरिका आएको हुँ ज्योति देवकोटा print फेसवुकको इनवक्समा धेरै मित्रहरुको मेसेज आयो ‘डिभी परेर अमेरिका गएको मान्छे देशको चिन्ता गर्न लाज लाग्दैन।’ र, मैले सोचेँ, न्युनतम इमान्दारिता देखाउने हो भने म कसरी अमेरिका आएँ भन्नै पर्छ। मेरी श्रीमतीलाई परेको डिभी चिट्ठाले मैले अमेरिका पुग्ने सौभाग्य पाएको हुँ। अन्यथा अमेरिका घुम्न आउन सक्ने मेरो हैसियत होइन। खल्तीको पैसा हालेर अमेरिका त के म भारतको दिल्लीसम्म घुम्न सक्ने क्षमताको होइन। डिभी नपरेको भए, सायद आजका मितीसम्म म पत्रकारिता छाडेर खाडी मुलुकतिर पसेको हुन्थेँ होला। अथवा वर्षभरी काम गरेर ४ महिना मुस्किलले खान पुग्ने जुम्लातिरै बसाइ सरिसकेको हुन्थ्येँ। तर, जे होस् म अमेरिका पुगेँ। यसर्थमा म आफूलाई भाग्यमानी ठान्छु। म डिभी परेरै अमेरिका आएको हुँ। यो कुरा भन्न मलाई कुनै आपत्ती र सरम लाग्दैन। बरू मैले अमेरिका पसेपछि जन्मेको माटो सम्झिन भने, देशको माया र चिन्ता गरिन भने त्यो मेरा लागि लाज र सरमको विषय हुन्छ। तेस्रो मुलुक हुँदै ज्यानलाई हत्केलामा राखेर अमेरिका पुगेका मेरा हजारौं दाजुभाई तथा दिदीबहिनीले जस्तो मैले अमेरिका पुग्न दुःख पाइन। प्रत्येक वर्ष करिब ८० लाखभन्दा बढी नेपालीले डिभी भर्छन्। त्यही मध्येको एक मेरो परिवारलाई पनि डिभी पर्‍यो। अमेरिका भ्रमणका लागि ‘भिजीटिङ भिसा' पाउन सक्ने औकात र क्षमता भएको मान्छे होइन म। तर, डिभीका कारण मैले सजिलै अमेरिका प्रवेश पाएँ। यसै कारण मैले नेपालको चिन्ता गर्न नपाउने हो भने यसमा मेरो अस्वीकारोक्ति छ।  नेपालमा २६ वर्षसम्म गर्न नसकेको काम र सफलता मैले ५ वर्षमा गर्न सकेँ। ‘ह्याग्रसटाउन स्कुल अफ एभियसन’ मा सँगै पढने मित्र एड्रीन भन्थ्यो, ‘दीस कन्ट्री इज ल्याण्ड अफ अपरच्युनिटी।’ ल्याटिन कन्ट्रीबाट आमाको पछि लागेर आएको एड्रिन वर्गरमा काम गर्दै हवाइ इन्जिनियर बन्यो। एड्रीनले अमेरिका सारा अवसर भएको मुलुक हो भन्दा सबैलाई थाहा भएको कुरा उसले बिथ्थामा सुनाइरहेका छ जस्तो लाग्थ्यो। तर, होइन रहेछ। यो देशमा दौडन चाहन्छु भन्नेहरुका लागि असिमित सम्भावनाहरु देखेँको छु। भारतीय मुलका नागरिकहरु अमेरिकन भन्दा बढी सफल भएका छन्। नेपाली मुलका नागरिकहरु पनि सफल हुने अथाह सम्भावना छन्। अमेरिकाको राजनीतिमा नेपाली प्रतिनिधिहरु हरि भण्डारी, दर्शन रौनीयार, अम्रीता रेग्मीहरु सम्भावना बोकेको नेपालीहरु हुन्। डिभी मार्फत अमेरिका आएकै कारण मेरा भाइ र भतीजालाई राम्रो कलेजमा पढाउन सकेको छु। मलाई लाग्छ अमेरिकामा बगेको अधिकांश नेपालीको पसिना नेपालमै पुगेको छ। हरेक घर शिक्षित हुँदै गयो भने देश शिक्षित हुने हो। म शिक्षामा अलि बढ्ता नै विश्वास गर्छु। ३ अनाथ बच्चाहरु अहिले पनि पढाइरहेको छु। आफ्नै वलवुतोले जुम्लाको सिँजामा स्कुल भवन बनाउन सकेँ। अहिलेको वर्ष किशोर रिमालको सहयोगमा श्री मन प्राविको प्रांगढमा पुस्तकालय भवन बनेको छ। म, डिभी परेर अमेरिका नपुगेको भए मेरा यी सारा कर्म केवल सपनामै सिमित हुने थिए। मैले देशप्रति गरेको चिन्तासँग मेरो सेवा जोडिएको छ। अबका केही वर्षमा म अमेरिकन नागरीक बनेछु भने, इमान्दारीपूर्वक नेपाली दूतावासमा गएर नेपाली नागरीकता र पासपोर्ट बुझाउने छु, यो मेरो कर्तब्य हो। त्यसपछि पनि मैले नेपाल र नेपालीको भलो चिताउन पाउनुपर्छ। नेपाल सभ्य र सक्षम मुलुक बनोस् भन्ने इच्छा जाहेर गर्न पाउनुपर्छ। यो मेरो अधिकार हो। म डिभी परेर अमेरिका पुगेकै नाताले नेपालप्रति चिन्ता गर्न डराउनु पर्ने अथवा लजाउनु पर्ने कुनै कारण देख्दिनँ। मेरो जन्मभूमिको चिन्ता गर्न मलाई कसैले रोक्न पनि सक्दैन।   मैले देश छाडे पनि मेरो आफन्त, नातागोता र परिवार नेपालमा छन्। देशको उन्नती अवनतीसँग उनीहरुको भविश्य जोडिएको छ। र, उनीहरुको भविश्यसँग मेरो चिन्ता जोडिएको छ। गाउँमा पहिरो गयो भने, मेरो कोहि त परेन भनेर समाचार हेर्छु। गाडी पल्टीयो भने मेरो आफन्त कोहि परेकि भनेर समाचारमै डौडिन्छु। नेपालप्रतिको मेरो चिन्ता भनेको मेरो परिवार, आफन्त र छिमेकीसँग जोडिएको चिन्ता हो। यदी मेरा आफन्ती, छिमेकी र नातागोतासँग देशको कुनै साइनो छैन भन्ने हो भने डिभी परेर म अमेरिका पुगेको मान्छेले देशको चिन्ता गरेकोमा मैले लज्जा बोध गर्नै पर्छ। डिभीमार्फत अमेरिका पुगेको कुरा, राजनीतिक कारण देखाएर अमेरिकामा शरण लिएको, विद्यार्थी भिसामा अमेरिका पुगेको वा दलाललाई पैसा पोसेर मेक्सिको हुँदै अमेरिका भासिएको कुराभन्दा बढी महत्वपूर्ण कुरा हो। यसरी अमेरिका पुगेका सारा नेपालीहरुले नेपालको चिन्ता गरेका छन् कि छैनन्? मध्यम र निम्न परिवारको लागि डिभी अमेरिका आउने एउटै मात्र माध्यम हो। सन १९९७ अघि मैले कुनै सामान्य परिवारको मान्छे अमेरिका पुगेको सुनेको थिइनँ। तर, डिभी खुलेपछि करिब ४४ हजार सामान्य नेपाली अमेरिका पुगेका छन्। उनीहरुमाथि आश्रित लाखौं नेपालीहरुको जीवनस्तर परिवर्तन भएको छ। जुनसुकै बाटोहुँदै अमेरिका पुगेको भएपनि त्यसको प्रत्यक्ष फाइदा मुलुकलाई भएको छ। त्यसैले म, डिभी परेर आएको नेपालीले मात्र होइन, देश बाहिर रहेका सारा नेपालीहरुले देशको चिन्ता गर्न पाउनुपर्छ। देश खत्तम भयो, त्यसैले छोडेको हुँ भन्ने अभिब्यक्ति मलाई आधारहिन जस्तो लाग्छ। अवसर पाएका खण्डमा नेपाली मात्र होइन अमेरिकनहरु पनि इथियोपिया, सोमालियातिर पुगेकै छन्। टेक्नोलोजीको अद्भुत सफलताले संसार ‘ब्याकयार्ड' जस्तो भइसक्यो। त्यसैले जसले जहाँ अवसर पाउँछ त्यहाँ जान्छ, जानुपर्छ। तर, देश छाडेर बाहिर गएकै कारण देशप्रतिको चिन्ता ब्यक्त गर्न नपाउने हो भने मलाई माफ गर्नुहोला मित्रहरु म तपाइहरुसँग सहमत छैन! प्रकाशित मिति: बिहिबार, चैत्र ५, २०७१ ०९:१९:०० http://global.setopati.com/opi... Last edited: 19-Mar-15 09:33 AM

cybernepali · Mar 19, 2015 9:26 AM · 2,960 views

2 Replies

dv parera aawos, college ko lagi awos, bihe garera awos, arulai keko tension. na kehi dinu chha na linu chha

triptee · Mar 19, 2015 12:47 PM

कामै नलाग्ने नेता हरुलाई भोट दिने, कि त नेपाल बन्ध गर्ने- की त चुप लागेर बस्ने हरुले नेपालको चिन्ता गर्छु भन्न लाज लाग्दैन?

BadhiJanne · Mar 19, 2015 1:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all