ओई सिंहदरबार, सुन्तली तामाङलाई न्याय दे !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ओई सिंहदरबार, सुन्तली तामाङलाई न्याय दे ! गाडीभाडा पाए सिंहदरबार गएर बेस्सरी रुन्छु : डिल्लीमाया २०७१ चैत ३ गते १२:०० मा प्रकाशि मात्रिका पौडेल ३ चैत, सिसन्धु (रामेछाप) । लिखु किनारामा अरुणोदय माविका छात्राहरु आइतबार दिउँसो जब स्वागत गीत गाउन थाले, मञ्चमा माला लगाएर अविभावकको कुर्सीमा बसेकी एक महिला छाती पिट्दै डाँको छाडेर क्वाँ क्वाँ रुन थालिन् । उनी रहिछन् डिल्लीमाया तामाङ । आफ्नी छोरीलाई ७ कक्षामा पढ्दापढ्दै बलात्कारीले नमारेको भए तिनले पनि यसैगरी गीत गाउँथिन् भन्ने सम्झेर उनी भक्कानिएकी रहिछन् । गीत गाइरहेका छात्राहरुको अनुहारमा डिल्लीमायाले आफ्नी छोरी सुन्तली तामाङ देखिन् र आफूलाई सम्हाल्न सकिनन् । उनी रोएपछि कार्यक्रममा सहभागी सबै स्तब्ध भए । यो कथा हो एक अभागी आमाको, जसले तामाको मुना जस्ती आफ्नी छोरीका बलात्कारी र हत्यारालाई कारवाही गराउन नसकी आँशुका बलिन्ध्र धारा झारेर रुँदै हिँड्नु परेको छ । उनी सिंहदरबार पनि नपसेकी होइनन्, तर न्याय पाइनन् । अहिले अरुका छोरीहरु देख्दा उनलाई रुन मन लाग्छ र झल्झली सम्झिन्छन् आफ्नी छोरी । मान्छेहरु भन्छन्, रुँदा रुँदा आँशु नै रितिन्छ । तर, यी अभागी आमा डिल्लीमाया तामाङले छोरी गुमाएको चार वर्ष भइसक्दा पनि उनका आँखामा आँशु रित्तिएका छैनन् । घरमुनि बग्ने लिखु नदीको पानी जस्तै डिल्लीमायाँका आँशु बगिरहेका छन् । ‘अंकल मेरी छोरी खोइ त ? मेरी छोरी सुन्तली पनि आज यस्तै गरी गीत गाउँथी, मेरी छोरीलाई किन मारे ?’ उनले सोधेका यी प्रश्नको जवाफ पूर्वमन्त्री माधव पौडेल र पूर्वसांसद देवशंकर पौडेलले दिन सकेनन् । गीत गाउने छात्राहरु सुन्तली तामाङका सहपाठी थिए । तर, त्यहाँ सुन्तली थिइनन् । किनकि ०६८ माघ ५ गते त्यहीँ नजिकै  सुन्तलीको बलात्कारपछि हत्या भयो । त्यसयता छोरीका हत्यारामाथि कारवाहीको माग गर्दै डिल्लीमाया आँशुका धारा बोकेर भौतारिइरहेकी छन् । तर, उनले न्याय पाइनन् । न्याय माग्न जाँदा उल्टै पीडक पक्षको धम्कीपछि ३ वर्ष गाउँ छाडेर विस्थापित भइन् र केही समयअघिमात्रै गाउँ फर्किएकी छिन् । सन्तान वियोगको दर्दनाक दृश्य डिल्लीमायाकी छोरी सन्तुली बाँचिरहेकी भए अहिले १७ वर्षकी हुने थिइन् । सुन्तलीका दाँवले साथीहरु हाँस्दै खेल्दै हिँडेको देख्दा उनको मन भाउन्न भएर आउँछ । अनि छाती पिटेर रुन थाल्छिन् । ‘उनी जहाँ पनि यस्ता छात्रालाई देखेपछि आफ्नी छोरी सम्झेर रुन थालि हाल्छिन्’ सैपू गाविसका पूर्वअध्यक्ष जामबहादुर कार्कीले भने ‘सन्तान वियोगको यस्तो दर्दनाक दृश्य हामीले टुलुटुल हेरेर बस्नुपरेको छ’ । बलात्कारपछि मारिइन् सुन्तली सुन्तली तामाङ ७ कक्षामा पढ्ने १४ वर्षकी छात्रा थिइन् त्यसबेला । बाबु बलवहादुर तामाङ मजदूरी गर्दै हिँड्थे । आमा डिल्लीमायाले घरमा बसेर ५ छोरी र २ छोराको पालनपोषण गर्थिन् । त्यसदिन, अर्थात ०६८ माघ ५ गते घर नजिकै सिरिसे बजारमा सामान किनमेल गरेर डिल्लीमायाका आमाछोरी नै सिसन्धुस्थित घरतर्फ लागेका थिए । छोरीलाई घर पठाएर उनी बस्तुभाउलाई घाँस हाल्न गोठतर्फ लागिन् । उनी घरमा पुग्दा छोरी सुन्तली थिइनन् । सोधखोज गर्दा सुन्तलीको पत्तो लागेन । ठूलो चिच्याहाट उनको कानमा गुन्जिएको थियो, जंगलतिरबाट । तर, उनले यति ठूलो विपत्ति आफैंमाथि आइपर्ला भन्ने सोचिनन् । हराएको १६ दिनपछि लिखु नदी किनारमा सुन्तलीको शव भेटियो । उनको बलात्कारपछि हत्या गरिएको पुष्टि भयो । कवैटार खुदुर्की भन्ने स्थानमा उनको बलात्कारपछि हत्या गरिएको रहेछ । ढुंगाको चेपमा भेटिएको शवको कम्मर मुनि कपडा थिएन । ‘सिंहदरबार पनि चढें’ डिल्लीमायाले सो घटनामा संलग्न रहेका व्यक्तिहरुका विरुद्ध किटानी जाहेरी दिन मन्थलीस्थित जिल्ला प्रहरी कार्यालय पुग्दा तत्कालीन प्रहरी प्रमुख डीएसपी सञ्जीव शर्मा दासले मुद्दा नै दर्ता गर्न मानेनन् । उल्टै अभियुक्त श्याम राउतका दाजु ज्ञानेन्द्र राउतले फोन गरेर तुरुन्त गाउँ छाडेर नभागे सबै परिवारलाई सिध्याइदिने धम्की दिएपछि डिल्लीमायाको परिवार सिन्धुलीको रानीबासतर्फ बसाइँ हिँड्न बाध्य भयो । डिल्लीमाया आफ्नी छोरीको हत्यारा, बलात्कारीमाथि कारवाहीको माग गर्दै अधिवक्ता नानीबाबु दाहालको सहयोगमा सिंहदरबार छिरिन् । उनको पीडा सुनेपछि मुख्य सचिव लीलामणि पौडेल र तत्कालीन गृहसचिव नविन घिमिरेले चासो दिए । किटानी जाहेरी दर्ता नगरी बलात्कारी र हत्यारालाई उम्काउन खोज्ने तत्कालीन डीएसपीलाई २४ घण्टे लगाएर गृहमा तानियो र उनका ठाउँमा पठाइएका डीएसपी गोपालचन्द्र भट्टराईले पुरानै मितिमा किटानी जाहेरी दर्ता गरे । जब कुकुर भुक्छ….. ‘अपराधीहरु खुलेआम हिँडिरहेका छन्, उनीहरुको परिवारलाई प्रहरीले अलि कडाइ गरेर सोध्ने हो भने सबै कुरा बक्छन्’ डिल्लीमाया भन्छिन् ‘तर उल्टै मेरो परिवारचाँहि उनीहरुबाट डराएर बस्नुपरेको छ, राति कुकुर भुक्दा पनि उनीहरु नै मार्न आएकी भन्ने त्रास हुन्छ, श्रीमान अहिले सोलु गएका छन् ।’ करिव पाँच महिनाको बीचमा अभियुक्त गाउँ छाडेर भागिसकेका थिए । अभियुक्त श्याम राउतको नाममा किटानी जाहेरी दर्ता भए पनि डिल्लीमायाले अरु दुई भाइ समेत संलग्न रहेको दाबी गर्दै आएकी छन् । उनीहरु सुन्तलीका छिमेकी हुन् । सँगै घाँस दाउरा मेलापात गर्नेहरुबाटै बलात्कृत भइन् उनी । सपनामा पनि न्याय माग्छिन् सुन्तली सुन्तलीको बलात्कार र हत्यापछि डिल्लीमायाको परिवारका सदस्य एक्लै कहिँ पनि हिँड्न छाडेका छन् । छोराछोरीलाई स्कूल पठाउँदा पनि एक्लै पठादिनन् उनी । ‘एक्लै पठाउँदा मेरी छोरीको इज्जत लुटेर मारे, फेरि अरु सन्तान गुमाउन चाहान्न’ उनी भन्छिन् । अहिले पनि डिल्लीमायालाई यो प्रकरण बिर्सिन अभियुक्तको पक्षबाट पटक-पटक धम्कीयुक्त सन्देश आउने गरेको छ । ‘तर मेरी छोरीले सपनामा पनि आएर आमा, तिनीहरुलाई नछाड भन्छे, म के गरुँ ?’ उनी फेरि डाँको छाडेर रुन थालिन् । न्याय माग्दा सम्पत्ति सकियो छोरीका हत्यारामाथि कारवाहीका लागि मन्थली र काठमाडौं घाउँदा धाउँदै उनको भएभरको सम्पत्तिसमेत सकियो । ‘गरीवका लागि न्याय पनि धेरै महंगो पर्दो रहेछ’ उनले भनिन् ‘अब त कतै न्याय माग्न जाउँ भने पनि गाडी भाडासमेत छैन’ । छोरीका हत्यारा पत्ता लगाउन र अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चासो नदिएपछि उनलाई एकपट फेरि सिंहदरबार पुग्न मन लागेको छ । तर, सिंहदरबार पुग्ने भाडा कहाँबाट ल्याउने ? डिल्लीमाया अब सुन्तलीका हत्यारा र बलात्कारीलाई सजायँ दिलाउन कतै जान नसक्ने भएपछि गाउँतिर कोही नेता गए भने उनीहरुलाई गुहार्छिन् । ‘अब सिंहदरबार गएर बेस्सरी रुन्छु’ शिरिसेे बजारमै भेटिएकी डिल्लीमायाले आफ्नो पीडा सुनाएपछि गणेश उज्जन भुवन स्मृति प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठले उनलाई गाडी भाडा दिएकी छन् । ‘छोरीको आत्मा र मेरो आँशुलाई सान्त्वना दिन एकपटक सिंहदरबार पुगेर बेस्सरी रुन्छु’ गाडी भाडा पाएपछि उनले भनिन् ‘बाँकी जे होला’ । नेताको छोरी परेका भए के गर्थे ? छोराछोरीको लालन-पालनको भारीले थिचिएकी डिल्लीमायाका श्रीमान मजदूरी गर्दै बिभिन्न ठाउँमा भौंतारिएका छन् । ‘नेताका छोरी बहिनी परेका भए आन्दोलन गर्थे होलान्, हामी गरीवका लागि यो मुलुकमा कोही रहेनछन्’ छोरीको फोटो छात्तीमा लपेट्दै डिल्लीमायाले भनिन् ‘छोरीलाई न्याय दिन पाइँन भनेर राति पनि निद्रा पर्दैन, अब म कहाँ जाउँ ?’ सपनामा पनि सुन्तलीले भनिरहेकी छन्- आमा मलाई न्याय देऊ गोहीका आँशु झार्ने कि डिल्लीमायाका आँशु पुछ्ने ? डिल्लीमाया नेपाली समाजकी यस्ती अभागी आमा हुन्, जसले आफ्नी छोरीको अस्मिता र सुन्दर जीवनसमेत लुटिँदा पनि आँशु झार्नु शिवाय केही गर्न सकिनन् । समाजमा अचेल दिनहुँ अवोध बालबालिकाहरु बलात्कार र हत्याको शिकार भइरहेका समाचार आउँछन् । तर, करीव चार वर्षअघि बलात्कारपछि हत्या गरिएकी सुन्तलीको फाइल किन खोलिँदैन ? अभियुक्त फरार हुन्जेल प्रहरीले जाहेरी नै दर्ता गरेन । यदि बेलैमा प्रहरी प्रशासनले शकांस्पद व्यक्ति र अभियुक्त भनिएकाहरुसँग केरकार गरेको भए सुन्तलीको बलात्कार र हत्याको घटनाका दोषी भेटिन सक्थे । सुन्तलीहरु दिनदिनै बलात्कृत हुन्छन् र मृत्युवरण गर्न पुग्छन् । तर, दूदराजका गरीबका छोरीहरुको जीवनको कुनै मूल्य छैन । अभागी आमा डिल्लीमायाहरुका आँशुको अर्थ छैन । त्यसैले अपराधीको मनोबल बढिरहेको छ । डिल्लीमायाहरु अरु छोरीहरुको आँखामा आफ्नी छोरी देखेर भक्कानिइरहेका छन् । सपनामा पनि सुन्तलीले भनिरहेकी छन्- आमा मलाई न्याय देऊ । बलात्कारका घटना बढे भनेर गोहीका आँशु चुहाउनु वा माइतीघर मण्डलामा मैनबत्ती बाल्नुको कुनै अर्थ छैन । सरकारले साँच्चै पाइला चाल्ने हो भने डिल्लीमायाँका आँशु पुछ्ने हिम्मत गरोस्, अपराधीहरु वरिपरि नै छन् । भिडियो हेर्नुहोस् अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ । - See more at: http://www.onlinekhabar.com/20...

_____ · Mar 17, 2015 6:58 AM · 1,696 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all