कसकाे धन सुमार्गीको मंगलबार , १२ फागुन २०७१ ४:२५ पम - रमेश कुमार एक दशकमा अथाह सम्पत्तिको मालिक बनेका अजेयराज सुमार्गी पराजुलीको नाममा शंकास्पद तरीकाले अर्बौं रुपैयाँ आइरहेको छ। त्यसको स्रोत के हो? को छ, सुमार्गीको पछाडि? अजेयराज सुमार्गी पराजुली सधैं केही हजार रुपैयाँ रहने शिशु अर्याल भण्डारीको ब्यांक खातामा एकाएक रु.६ करोड ५५ लाख भेटिएपछि राष्ट्र ब्यांकको वित्तीय जानकारी इकाइले २०६८ साउनमा अनुसन्धान थाल्यो। त्यो खातामा रकम पठाउनेमा गैर–आवासीय नेपाली संघका संस्थापक अध्यक्ष रहेका उपेन्द्र महतोदेखि सम्झ्ना अर्यालसम्मका नाम थिए। महतोले उक्त खातामा रु.२० लाख पठाएका थिए। आयस्रोत नखुलेको उक्त रकममध्ये रु.६ करोड ५२ लाखबाट शिशु अर्याल भण्डारीको नाममा लाजिम्पाटमा घर किनेको भेट्यो– इकाइले। नवलकिशोर अग्रवालबाट खरीद गरिएको त्यही घरमा अहिले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बसिरहेका छन्। स्वामी कमलनयनाचार्य सम्बन्धित कार्यक्रम उद्घाटनमा प्रधानमन्त्री सुशील कोइरालासाथ सुमार्गी। खोज्दै जाँदा पत्ता लाग्यो– शिशु अर्याल भण्डारी पछिल्लो दशकमा चर्चित नवधनाढ्य अजेयराज सुमार्गीकी श्रीमती सम्झना अर्याल (अस्मिता सुमार्गी) की ठूलोबुवाकी छोरी हुन्। हेटौंडाका सामान्य आर्थिक पृष्ठभूमिका अजेयराज सुमार्गीको आर्जनको स्रोत नखुल्ने सम्पत्ति व्यवस्थापनका लागि आफन्त प्रयोग भएको छनक दियो, यो घटनाले। त्यसपछि वित्तीय जानकारी इकाइले शिशु अर्यालमाथि छानबीन अघि बढाउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई औपचारिक अनुरोध गर्यो, जसलाई एमाओवादी निकट डा. मुक्तिनारायण पौडेललाई विभागको महानिर्देशक बनाएर अनुसन्धानलाई तुहाइयो। शक्तिशाली नेता निकटका व्यवसायी जोडिएको यो केसमा अनुसन्धान गरिहाल्ने आँट सरकारी निकायलाई नभएको बताउने वित्तीय जानकारी इकाइ सम्बद्ध एक अधिकारी यो घटनालाई त्यसै सेलाइएको बताउँछन्। तर, सुमार्गीले गैर–कानूनी रूपमा रु.८ अर्ब ७० करोड हाराहारीको थप रकम देश भित्र्याउन लागेको भेटेपछि राष्ट्र ब्यांकले त्यसलाई एक वर्षदेखि रोकिदिएको छ। अजेयराज सुमार्गीले पछिल्लो दशकमा त्यो आर्थिक ‘उन्नति’ गरेका छन्, जुन ठूल्ठूला व्यवसाय गर्नेहरूका लागि समेत दुरुह छ। उनी एक दशकमा एक दर्जन कम्पनी सञ्चालक र अर्बौंका मालिक बनेका छन्। भेटिएका प्रमाणहरूले भने उनको सम्पत्तिको स्रोत सफा नभएको देखाउँछन्।अथाह सम्पत्ति रेडियो थाहा सञ्चारको उद्घाटन क्रममा पुष्पकमल दाहालका साथमा सुमार्गी पत्नी सम्झना। ३४ वर्षदेखि फ्रान्सेली राजदूतको निजी निवास बसेको काठमाडौं, विशालनगरको १९ रोपनी १२ आना जग्गा सहितको घर रु.६३ करोडमा खरीद गरेर यसै वर्ष बानेश्वरबाट सपरिवार सरे सुमार्गी। सुमार्गीले पछिल्ला सात वर्षमा काठमाडौंका करीब एक दर्जन ‘प्राइम लोकेसन’ मा अर्बौंको स्थिर सम्पत्ति जोडेका छन्। हेटौंडा, दाङ, चितवन लगायतका ठाउँमा पनि उनले उत्ति नै सम्पत्ति जोडेका छन्। उनको बढी जसो सम्पत्ति श्रीमती सम्झना अर्याल र जेठीसासू शिशु अर्यालको नाममा छ। यी सम्पत्ति २०६४ पछि खरीद गरिएको सम्बन्धित जिल्लाका मालपोत कार्यालयहरूको अभिलेखले पुष्टि गर्छन्। रसुवाको हिमालयाज् स्प्रीङ वाटर उद्योगको भ्रमण क्रममा दाहाल र सुमार्गी। एमाओवादी अध्यक्ष बसेको लाजिम्पाटस्थित कम्पाउण्ड सहितको भवन, फ्रान्सेली दूतावासले बेचेको विशालनगरको घरजग्गा, बबरमहलको सुमार्गी बी कम्प्लेक्स, बानेश्वरको कृष्णटावर अघिल्तिरको घरजग्गा (जसमा केही महीना अघिसम्म उनी बसेका थिए), बानेश्वर चोकको मुक्तिश्री टावर, मीनभवनको नेपाल इन्फ्राको सुपरस्टोर, तीनकुनेस्थित खाली जग्गा सुमार्गीका ‘प्राइम लोकेसन’ का स्थिर पूँजी हुन्, जसको चलनचल्तीको मूल्य प्रति आना रु.१ करोडसम्म छ। तीनकुनेको ८ रोपनी जग्गा उनले रु.७० करोडमा चार वर्षअघि कान्तिपुर पब्लिकेसनका प्रकाशक कैलाश सिरोहियासँग किनेका हुन्। बानेश्वर, विशालनगर र लाजिम्पाटका मुख्य सडक जोडिएका स्थानमा उनको करीब ४० रोपनी जग्गा रहेको मालपोत कार्यालयका अभिलेखहरूले देखाउँछन्। एमाओवादी अध्यक्ष दाहाल ‘मासिक रु.१ लाख भाडामा’ बसेको लाजिम्पाटको घरजग्गा १३ साउन २०६८ मा नवलकिशोर अग्रवालबाट शिशु अर्याल भण्डारीले लिएको देखिन्छ। ३४, ११९ र १२० कित्तानम्बर भएको यो जग्गा क्रमशः ४४२, १५१ र ९३५ वर्गफिटको छ। काठमाडौं महानगरपालिका–१० (मीनभवन) को कित्तानम्बर ६३ र ८४ को क्रमशः ५ रोपनी २ आना ३ दाम र १ आना २ दाम जग्गा पनि शिशु अर्याल भण्डारीकै नाममा छ, जहाँ अहिले ‘नेपाल इन्फ्रा’को नाममा सुपरस्टोर बन्दैछ। सुमार्गी पत्नी सम्झना अर्याल स्वामित्वको नयाँबानेश्वरस्थित घरजग्गाको धनी दर्ता श्रेस्ता। रजिष्ट्रेसन नम्बर ८९४१ को यो जग्गा २८ वैशाख २०६६ मा शिशुको नाममा पास भएको हो। ललितपुरबाट १२३०/३३/३४ नम्बरको नागरिकता लिएकी शिशुका श्रीमान् गृष्मराम भण्डारी नेपाल एयरलाइन्सका पूर्व कर्मचारी हुन्। चार्टर्ड एकाउन्टेन्ट रहेका भण्डारीका छोरा सुमार्गीकै कम्पनी हेर्छन्। पारिवारिक स्रोतहरूका अनुसार, शिशु अर्यालसँग यतिको सम्पत्ति हुनु कसैगरी पनि सम्भव छैन। सुमार्गीले आफ्नो अवैध सम्पत्ति लुकाउन जेठीसासूलाई प्रयोग गरेकोमा कुनै शंका नभएको ती स्रोतहरूको ठोकुवा छ। लाजिम्पाट सर्नु अघि सुमार्गी परिवार बसेको बानेश्वरको ३ रोपनी ८ आना २ पैसा ३ दाम (कित्ता नम्बर ९२) जग्गा पत्नी सम्झ्ना अर्यालको नाममा छ। (हे. तस्वीर) यो घरजग्गा २३ भदौ २०६४ मा सम्झ्नाको नाममा पास भएको देखिन्छ। सुमार्गी स्वयंको नाममा भने बानेश्वरमा ३ आना १ पैसा (कित्ता नम्बर १९०) जमीनमा बनेको घर छ। २८१३ ‘क’ रजिष्टे्रसन नम्बरको यो जग्गा उनले २६ कात्तिक २०६५ मा साहिल अग्रवालबाट किनेका हुन्। सुमार्गीले २६ कात्तिक २०६५ मा बानेश्वरकै कित्ता नम्बर २६९, १९२ र २१४ का क्रमशः १ रोपनी २ पैसा ३ दाम, ८ आना र १ दाम जग्गा खरीद गरेको मालपोतको अभिलेखबाट खुल्छ। यो जग्गामा बनेको मुक्तिश्री टावरमा सुमार्गीको निजी र कर्पोरेट कार्यालयका साथै हेलो मोबाइलको अफिस छ। सुमार्गीले ५ माघ २०६८ मा पनि रमादेवी रेग्मी भट्टराईबाट बानेश्वरकै कित्ता नम्बर १७ को ६ आना ३ पैसा १ दाम र २ आना १ दाम किनेको देखिन्छ। उनले २० वैशाख २०६४ मा ४९२९ को रजिष्टे्रसन पास मार्फत कित्ता नम्बर १७६२, १७५८ र १७६० को क्रमशः ३ आना १ दाम, ३ आना २ दाम र १ आना २ पैसा २ दाम जमीन जोडेको देखिन्छ। सुमार्गी पत्नी सम्झना र भाइ अरुणका साथ पुष्पकमल दाहाल र कांग्रेस नेता अमरेशकुमार सिंह । यसबाहेक रविभवनमा पनि जग्गा किनेका सुमार्गीले केही साताअघि सीतापाइलामा बिजनेस कम्प्लेक्स सहितको जग्गा किनेको स्रोत बताउँछ। स्रोतका अनुसार, ललितपुरको ठेचोमा पनि उनले ठूलो परिमाणमा जमीन किनेका छन्। दाङ र हेटौंडामा त उनका बिजनेस कम्प्लेक्स नै छन्। हेटौंडा– ११ नवलपुरको करीब तीन बिघा जग्गामा रहेको हेटौंडा एकेडेमी आवासीय स्कूल सुमार्गीकै हो। सुमार्गीको कम्पनीले सिमेन्ट कारखाना चलाउन सुर्खेतमा १३०० रोपनी जग्गा किन्दैछ। आश्चर्यलाग्दो विस्तार ७ पुस २०७० मा मुक्ति टावरमा पत्रकार सम्मेलन गरेका सुमार्गीले रु.२३ अर्ब ५० करोड थप लगानीको घोषणा गरेका थिए। ८ फागुनमा हिमाल सँगको टेलिफोन अन्तर्वार्तामा उनले रसुवाको हिमालयाज् स्प्रीङ वाटरमा रु.३ अर्ब लगानी गर्न लागेको बताए। कारोबारका विषयमा औपचारिक रूपमा नखुल्ने सुमार्गीले पहिलो पटक आयोजना गरेको पत्रकार सम्मेलनमा घोषणा गरेको लगानीको रकम देशका ठूला व्यावसायिक घरानाहरूलाई समेत छक्क पार्ने खालको थियो– उनले व्यवसाय थालेको समयलाई हेर्दा। “जम्मा ६–७ वर्षमा यति ठूलो लगानी गर्ने आँट आउनु अचम्मको कुरा हो”, राष्ट्र ब्यांकका एक अधिकारी भन्छन्। सुमार्गीले छोटो अवधिमै ठूलो लगानी गर्ने गरी कम्पनीहरू खडा गरे पनि त्यस पछाडिको आर्थिक स्रोत खुल्दैन। तीन दशकअघि एउटा सामान्य चून उद्योग र काठको व्यापार चलाएका सुमार्गी अहिले अर्बौंको कारोबार योजना सहितका करीब एक दर्जन कम्पनीका मालिक छन्। ७ पुस २०७० को पत्रकार सम्मेलनमा प्रस्तुत सुमार्गीको प्रेस वक्तव्यमा ‘२०२९ देखि सञ्चालित चून उद्योग, कलात्मक काठ उद्योग सञ्चालन गरिराखिएकोमा २०६० वैशाखदेखि दूरसञ्चार, खनिज, मिनरल, पूर्वाधार विकास, जलविद्युत्, सञ्चार, शिक्षा जस्ता क्षेत्रमा लगानी थपिएको’ उल्लेख छ। सुमार्गीका पिता माधवराजले २०२९ सालमा मकवानपुरको भैंसेमा चून उद्योग खोलेर व्यवसाय थालेका थिए। २०३४ सालमा कलात्मक काठ उद्योग र २०५५ मा एभरेष्ट मिनरल प्रालि स्थापना भए पनि २०५९ सम्म तत्कालीन नेपाल घरेलु तथा साना उद्योग विकास ब्यांकमा सुमार्गी परिवारको ऋण नगन्य थियो। यसले उनीहरूको कारोबारको सीमितता पुष्टि गर्छ। ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्पाइस नेपाल प्रालिको लाइसेन्स हत्याएका सुमार्गीको व्यावसायिक फड्को माओवादी शान्ति प्रक्रियामा आएसँगै शुरू भएको देखिन्छ। अहिले सुमार्गीको मुक्तिश्री ग्रुप अन्तर्गत मुक्तिश्री टेलिकम, नेपाल स्याटेलाइट टेलिकम, हिमालयाज् स्प्रीङ वाटर, नेपाल इन्फ्रा, दुर्गा कोल्ड स्टोरेज, इन्को प्यानल इन्ड्रस्ट्रिज, हेटौंडा एजुकेशन फाउण्डेसन, नेशनल कलेज सहितका व्यावसायिक संस्था सञ्चालनमा छन्। यती विकास ब्यांक र मनकामना विकास ब्यांकमा लगानी गरेका उनले नेपाल इन्फ्रा प्रालि मार्फत शुरू गरेको सुपरस्टोरलाई काठमाडौंको मीनभवनदेखि नारायणघाट र हेटौंडामा पनि विस्तार गर्दैछन्। धादिङमा ३५ मेगावाटको धादिङ–आँखुखोला जलविद्युत् आयोजना निर्माणका लागि पीपीए पहल गरिरहेका उनले थाहा सञ्चार अन्तर्गत विन्ध्यवासिनी मिडिया पनि चलाएका छन्। उपराष्ट्रपति परमानन्द झाका साथ सुमार्गी दम्पती। मुक्तिश्री ग्रुपअन्तर्गत रु.७ अर्ब लगानी भइसकेको नेपाल स्याटेलाइट टेलिकममा रु.६ अर्ब ५० करोड लगानीको तयारी गरेको कम्पनीले बताएको छ। त्यस्तै, धादिङ–आँखुखोला जलविद्युत्मा रु.५ अर्ब ५० करोड लगानीको योजना सार्वजनिक गरेको छ। काठमाडौंमा २२० कोठाको पाँचतारे होटल खोल्न रु.५ अर्ब लगानी गर्ने पनि कम्पनीको योजना छ। कम्पनीले सुर्खेतको दैनिक १२ सय टन उत्पादन गर्ने क्लिङ्करसहितको मुक्तिश्री सिमेन्ट इन्ड्रस्ट्रिज प्रालि नामको उद्योगमा रु.४ अर्ब लगानीको प्रस्ताव गरेको छ। मुक्तिश्री अन्तर्गत माधवराज सुमार्गी स्मृति कोष मार्फत हेटौंडामा रु.१ करोडको वैकल्पिक सडक र पशुपतिनाथमा रु.७ करोडमा प्रसादगृह एवं सभाहल बनाउने हैसियतमा पुगेको छ, कम्पनी। सुमार्गीले भरतपुरमा गुणचन्द्र विष्टसँग मिलेर ह्याचरी र दाना उद्योगमा समेत लगानी गरेको स्रोत बताउँछ। एबीसी टेलिभिजनमा पनि उनले ५० प्रतिशत शेयर स्वामित्व लिएर आफ्ना नातेदार श्यामसुन्दर शर्मालाई अध्यक्ष बनाए। लगानीका हिसाबले ठूलो बढोत्तरी देखिए पनि राजस्व तिर्नमा सुमार्गीका कम्पनीहरू अगाडि छैनन्। अर्बौं लगानीका यी कम्पनीहरूले वर्षमा मुश्किलले रु.५–६ करोड तिर्ने आन्तरिक राजस्व विभागका एक जना पूर्व महानिर्देशक बताउँछन्। पेश गरेको कारोबार र करको विवरण चित्तबुझदो नभएपछि आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्बर ३ ले गत साता मात्र सुमार्गीका कम्पनीहरूसँग कर अडिट पुनः परीक्षणका लागि सोधेको छ। उनका कम्पनीहरू हालसम्म ठूला करदाता कार्यालयमा दर्ता पनि भएका छैनन्। ४० करोडभन्दा बढी कारोबार गर्ने कम्पनी ठूला करदाताभित्र पर्छन्। सुमार्गीका कम्पनीहरू रु.५ करोडदेखि रु.४० करोडसम्मको कारोबार गर्ने कम्पनी हेर्ने ३ नम्बर कर कार्यालयमा समेटिएका छन्। शक्तिका लगानीकर्ता सुमार्गीले सन् २००४ मा तत्कालीन स्पाइस नेपाल प्रालि (मेरो मोबाइल) स्थापनासँगै व्यवसाय विस्तार गरेका हुन्। त्यसको तीन वर्षअघि नेपालमा निजी कम्पनीलाई दूरसञ्चार सेवा सञ्चालन अनुमति दिने तयारी थालिएपछि स्पाइस नेपालले दूरसञ्चार प्राधिकरणबाट ‘लेटर अफ इन्टेन्ट’ पाएको थियो। स्पाइस नेपालमा भारतको मोदी ग्रुप र नेपालको खेतान समूहले लगानी गरेका थिए। तर, शाही शासनकालमा उक्त अनुमतिपत्र राजाका ज्वाइँ राजबहादुर सिंह र सुमार्गीले हत्याएपछि भारतीय लगानीकर्ता फर्के। दूरसञ्चार प्राधिकरण स्रोत भन्छ, “भारतीय लगानीकर्तालाई धम्क्याएर अनुमतिपत्र खोसिएको थियो।” २० प्रतिशत स्वामित्व राखेका नेपाली लगानीकर्ता राजेन्द्र खेतानले पनि अनौपचारिक कुराकानीमा अपहरणसम्मको धम्की दिएर लाइसेन्स खोसिएकाले आफूहरू टेलिकममा प्रवेश गर्न नपाएको बताउने गरेका छन्। रसुवाको धुन्चेस्थित हिमालयाज् स्प्रीङ वाटर। सुमार्गीको उत्थान तत्कालीन राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहसँगको हिमचिमबाटै शुरू भएको हो। बाजुराका पदमबहादुर शाहीले सिंहसँग बनाइदिएको सम्बन्धबाट अगाडि बढेका सुमार्गी तत्कालीन मेरो मोबाइलको ६ प्रतिशत शेयरको साझेदार हुँदै नेपाल स्याटेलाइट टेलिकम मार्फत एनसेलको सीमकार्ड बिक्री गर्ने आधिकारिक डिष्ट्रिब्युटर बने। मेरो मोबाइलमा रकम संकट हुँदा गैर–आवासीय नेपाली उपेन्द्र महतो साझेदारका रूपमा भित्रिएका थिए, जसमा सुमार्गी निर्देशकसम्म बने। आश्चर्यलाग्दो के भने, सन् २००१ देखि २००५ सम्म तत्कालीन मेरो मोबाइलमा पटक–पटक स्वामित्व किनबेच भए पनि त्यसको विवरण न कम्पनी रजिष्टारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई दिइयो न त किनबेच बापतको कर नै तिरियो। एमाओवादीका कृष्णबहादुर महरा संचारमन्त्री हुँदा २०६४ फागुनमा नेपाल स्याटेलाइट टेलिकमले अनुमति पाएपछि सुमार्गीको थप उत्थान भयो। उनी स्पाइसबाट रु.३५ करोड लिएर निस्किएको जानकारहरू बताउँछन्। नेपाल टेलिकमबाहेक अन्य सेवा प्रदायकलाई जीएसएम, ग्रामीण दूरसञ्चार र सीडीएमए सेवा मात्र सञ्चालनको अनुमति दिइएकोमा नेपाल स्याटेलाइटले आधारभूत दूरसञ्चार सेवा सञ्चालन गर्न पायो, त्यो पनि कौडी बराबरको फ्रिक्वेन्सी शुल्कमा। सञ्चार मन्त्रालयले छुट्टै कार्यदल बनाएर यो कम्पनीलाई अनुमति सिफारिश गराएको थियो। स्पाइस नेपाल र नेपाल टेलिकमले क्रमशः रु.२१ करोड अनुमतिपत्र शुल्क र रु.२० अर्ब नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था भए पनि यो कम्पनीलाई विशेष व्यवस्था मार्फत रु.२५ लाख अनुमतिपत्र र रु.२२ लाख ५० हजार मात्र नवीकरण शुल्क तोकियो। मोबाइल फ्रिक्वेन्सीका विषयमा अध्ययन गर्न डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा गठित संसद्को लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनमा आधारभूत दूरसञ्चार सेवाको परिभाषा नै बदलेर यो कम्पनीलाई लाइसेन्स दिइँदा शुरूमै रु.२ करोड ४५ लाख गुमेको उल्लेख छ। कम्पनीलाई जीएसएम ९०० मेगाहर्जमा ४.४ र जीएसएम १८०० मा ९ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराइएको थियो, जुन शुरूमै २८ लाख उपभोक्तालाई सेवा दिन पर्याप्त थियो। जबकि, गत मंसीरसम्ममा कम्पनीले जम्मा दुई लाख ७३ हजार वटा सीमकार्ड वितरण गर्न सकेको छ। १२ लाख ८१ हजार सीम वितरण गरेको स्मार्ट टेलिकमसँग ३ मेगाहर्ज मात्र फ्रिक्वेन्सी छ। मध्यपश्चिममा मात्र सेवा थालेको कम्पनीलाई यो परिमाणमा फ्रिक्वेन्सी उपलब्ध गराउनु र कम्पनीले ओगटेर बस्नु मनोमानी भएको छानबीन प्रतिवेदनको ठहर छ। मन्त्रीको दबाबमा फ्रिक्वेन्सी ओगटिएको प्रतिवेदनले औंल्याएको छ। राजनीतिक शक्तिको आडमा स्थापित यो कम्पनीले अै पनि विभिन्न शुल्कबापतको रकम बक्यौता राखेको दूरसञ्चार प्राधिकरण स्रोत बताउँछ। नेपाल स्याटेलाइट टेलिकमलाई तीन चरणमा सेवा विस्तार अनुमति दिइएको थियो, जसअन्तर्गत पहिलो चरणमा १५ महीनाभित्र मध्यपश्चिमका २७३ गाविसमा सेवा विस्तार गर्नुपर्ने शर्त थियो। त्यस्तै, अनुमति पाएको मितिले ३० महीनाभित्र दोस्रो चरणमा पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका ५० प्रतिशत क्षेत्रमा सेवा शुरू गर्नुपर्ने शर्त थियो। तर, कम्पनीले ७ वर्षमा भर्खर दोस्रो चरणको काम अघि बढाएको छ। सुमार्गीले रसुवाको धुन्चेस्थित हिमालयाज् स्प्रीङ
_____ · Feb 24, 2015 8:15 AM · 3,319 views
मित्र येसो श्रोत पनि च्वास्स राख्म न है \ पैसो त निकै रैछ, पैसा कमाउनु , सान सौकत ले बस्नु , सामाजिक कामका येसो ८/१० करोड दिनु रमाइलो हुन्छ होला \ तर हिसाबकिताब चै गोलमाल छ जस्तो लग्यो सोल्टीको \ आखिर कमलनयनाचार्य दाया, प्रचण्ड सहित नेता गण बाया , अनि लोकमान सिंह शिरमा राखेपछि केको सुर्ता \
nepalilaure · Feb 24, 2015 9:44 AM
हत्तेरिका कस्तो बिर्सेको श्रोत खुलाउन , कुन दिन मुद्दा हल्चन मलाई , तेहित त हेर्नोस न , तेत्रो पैसा आको छ कोम्पन्य खोल्य छ , अब ६५ करोड पने घर मा बसेको को कम्पनि नाफा मा गरे त होला , तर कर भन सङ कम्पनि ले तिर्ने सरह , सिलिङ्ग भन्दा जहिले पनि तल देखाउने होला आम्दानी फेरी त्यो पैसा पनि विदेश का साना साना कम्पनि हरु बाट आको रेछ, पछि लैजाने गरेर नेपाल जस्तो राजनैतिक अन्योल भाको देश मा साना साना कम्पनि ले के लगानी गर्थे ? त्यो त नेपाल बाट गको पैसा नै हो जस्तो लग्छ , कसरि जम्मा पारे होलान तेत्रो पैसा नेपाल मा , बजेट चोरेर त होला, हुण्डी ब्यापारी , सरकारी कर्मचारी र नेता हरु को मिलोमतो बिना तेत्रो पैसा बाहिर जना सक्दैन. नाम चाहि सुमार्गी काम चाहि कुमार्गी जस्तो लग्यो मलाई त
_____ · Feb 25, 2015 8:21 AM
-------मित्र, ल मैले नै राखिदिए है श्रोत : http://www.himalkhabar.com/?p=... मित्र ले चुरो कुरो छुटाउनु भयो कि जस्तो लाग्यो| यहाँ सुद्द ब्यापारी ले १०/१५ करोड यता उता गरेको कुरो होइन नि , ५/७ जना कर्मचारीले मिलोमतो गरेको पनि ठुलो होइन | लोकतन्त्रमा त आवधिक निर्बाचन मा जितेका नेताहरुले सत्ता चलाउछन् - कर्मचारी फेर बदल गर्न गारो पनि छैन - आखिर कारिन्दा त हुन् नि \ serious कुरो त ठुला नेताको दरो सम्रक्श्यन लिएर गलत काम गर्नु हो \ ठुला नेता पनि कस्ता - स्थाई सक्ति केन्द्र \ जस्तो गिरिजा जीवित हुदा स्थाई सक्ति केन्द्र थिए - सरकारमा भएपनि नभएपनि \ अहिले प्रचण्ड को तेही भूमिका छ \ ओलीको पनि तेही हुने चाहना छ \
nepalilaure · Feb 25, 2015 9:29 AM
श्रोत राखी दिनु भएको मा धन्येबाद नेता त नेता भै हाले नि , हरेक काम मा (राम्रो काम बाहेक ) नेत्रुत्वो उनीहरु कै, मैले उल्लेख गर्न मात्र बिर्सेको समय भन्दा अगाडी नै अल्झहाइमेर भाको संका गर्नी बेला भई सक्यो बिदेशी को कालो धन नेपाल लेराएर सेतो बनाइ फिर्ता लैजाने ग्रान्ड डिजाइन पनि हुन सक्छ तर जे भएपनि त्यो कुमार्गी चाहि निकै चलाख हुन पर्छ येस्ता मान्छे हरु क लागि देश मा जाति समस्या बल्झियो तेती फाइदा ,तेसकारण राजनीतिक पार्टी लै ३० करोड लगानी गरेर १०० करोड कमाउन सकिन्छ भने किन नगर्ने ? तेसकारण कहिले जात को नाम राजनीति भादिन्छ ,कहिले संस्कृति को नाम मा, कहिले धर्मा को नाम मा अनी कहिले नागरिकता को नाम मा येस्ता समस्या हारु सबै देश मा छन्, अमेरिका मा पानि छ , कानुन बनाएर येस्ता समस्या को सत प्रतिसत समाधान हुने भए अमेरिका मा गरि हाल्थे नि तर कुमार्गी जस्ता का मालिक ले पचाड़ी बाट कहिले कुन समस्या उचाल्छान कहिले कुन
_____ · Feb 26, 2015 4:44 PM
सोझो र परिश्रम गरेर राता रात धनि हुन् को सक्छ र ? फ़्याउरा हरुको झुण्डमा भेडाहरु का हा टिक्छन ?कन्टकेन कन्ट कैब भने संक्रित्को श्लोक सुन्नु भएको छैन ? परिश्रम बिस्वास गर्ने हरु बिदेशेका छन् रे ? के यो सत्य हो ?
magorkhe1 · Feb 26, 2015 5:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion