अमेरिकामा नेपाली महिला माथि हुने घरेलु हिँसा र कानुनि उपचार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

            यी घटनाहरू नेपाली महिलामाथि भएका घरेलु हिंसाको केही उदाहरण मात्र हुन् । यस्ताखाले घटनाहरू न्यूयोर्कमा दैनिकरुपमा घटिरहेका छन् तर महिलाहरू आफुमाथि परेको अन्याय बताउन चाहँदैनन् । अंग्रेजी भाषाको अज्ञानता र वैधानिक कागजपत्र नभएकै कारण पीडित नेपाली महिलाहरूले प्रहरी प्रशासनमा उजुरी नगर्ने गरिएको भेटिएको छ । न्यूयोर्कमा आज धेरै कागजपत्र बिहिन नेपाली महिलाहरू अत्याचारपूर्ण परिवेशमा काम गर्न विवश छन् ।       - पवनकुमारी श्रेष्ठ          इतिहासको कालखण्डदेखिनै नेपाली महिलाहरू पुरातनवादी लैङ्गिक विभेदका कारण पीडित हुँदै आईरहेका छन् । नेपाली महिलाहरू घरभित्र तथा बाहिर पुरूषहरूबाट विभिन्न प्रकारको हिंसा र अत्याचारको शिकार बन्दै आएका छन् । अमेरिकाको न्यूयोर्कमा बसोवास गर्ने नेपाली महिलाहरू पनि घरेलु हिंसाको शिकार भैरहेको खबरहरू सुन्नमा आइरहेको छ । न्यूयोर्कमा काम गर्ने धेरैजसो नेपाली महिलाहरू खासगरी रोजगारदाताबाट पीडित भएको भेटिएको छ । अमेरिकाजस्तो विकसित एवं मानव अधिकारको प्रत्याभूति भएको देशमा आएर पनि नेपाली महिलाहरू पीडितहुनुको मुख्यकारणमा उनीहरूमा अंग्रेजी भाषाको अज्ञानता, बसोबास सम्बन्धी कानुनी कागजपत्र नहुनु, घर परिवारबाट धेरै टाढा आई बसोबास गर्नु र अमेरिकाको नियम कानुनकोबारेमा ज्ञान नहुनाले पनि नेपाली महिलाहरू घरेलु हिंसाको शिकार बन्न बाध्य छन् ।          घरेलु हिंसा भन्नाले घरपरिवार भित्र वा बाहिर दिइएको शारीरिक, मानसिक, आर्थिक, तथा यौनजन्य क्रियाकलापलाई बुझाउँछ । कसैलाई अपमानजनक ढंगले गाली गर्नु र भावनामा चोट पु¥याउनु पनि घरेलु हिंसा हो । घरेलु हिंसा भित्र एकले अर्कोलाई धम्क्याउनु वा अनुचित व्यवहार गर्नु, शारिरिक नोक्सानी पु¥याउनु, कुटपिट, शारिरिक शोषण, जवरजस्ती यौन सम्पर्क, मानसिक एवं भावनात्मक दुरूपयोग, एक्लो पार्ने चालबाजी वा अन्य व्यक्तिसंगको सम्पर्कबाट बञ्चित राख्नु, बाहिर जानबाट थुनछेक गर्नु, धम्कीपूर्ण गाली गर्नु, आर्थिक शोषण (खर्च नदिनु), इमिग्रेशन तथा कानुनी दर्जा पाउने कागजातबाट बञ्चित राख्नु र आवेदन गर्न नदिनु, पुलिस बोलाएर अमेरिकाबाट डिपोर्ट गरिदिन्छु भनि धम्की दिनु समेत पर्दछन् । घरेलु हिंसा भित्र यौन उत्पीडन (सहमतिबेगर हुने यौनजन्य क्रियाकलाप) पनि पर्दछ । यौन उत्पीडन अन्तर्गत महिलाहरूको संवेदनशिल अंग तथा भागमा अनावश्यक रूपमा छुनु, थपथपाउन, छाम्नु, चिमोट्नु, सुम्सुम्याउनु, चुम्बन लिनु, बलात्कारको प्रयास वा बलात्कार समेत पर्दछ । यसैगरी अश्लिल वा अपमानजनक टिप्पणीहरू, यौनजन्य ठट्टाहरू, इच्छा विरूद्धको यौनकार्य गर्ने दवावहरू आदि समेत यौन उत्पीडन अन्तर्गत पर्दछन् ।        काठमाडौं मनमैजु निवासी सिर्जना थापा (नाम परिवर्तन) ले न्यूजर्सीमा भारतीय मुलका स्टोरका मालिक कहाँ बेबिसिटरको गर्थिन । दुई–तीन महिनासम्म सबै सामान्य रूपमा चल्यो । त्यसपछि अनेक बहानामा घरमालिक सिर्जनाको नजिक आउन थाले । घरमालिकनी नभएकोबेलामा सिर्जनाको हात समाउने, गाला मुसार्ने, कपाल तान्ने आदि गर्नथाले । एकदिन दिउँसो बच्चाहरूलाई सुताएर सिर्जना कोठामा आराम गरिरहेकी थिईन । घरमालिकनीलाई स्टोरमा राखेर घरमालिक दिउँसै घर आए सिर्जनालाई च्याप्प समाते र जबरजस्ती गर्ने प्रयास गरे । सिर्जना बेलैमा सम्हालिइन र घरमालिकलाई एक झटका दिएर फुत्किइन र त्यहाँबाट तत्कालै भाग्न सफल भईन र त्यहाँफेरी फर्केर पनि गईनन् ।        यसैगरी सिन्धुपाल्चोककी कर्मो तामाङ (नाम परिवर्तन) बेबीसिटरको काम खोज्न ज्याक्सनहाईटस्थित नेपाली इम्प्लोईमेण्ट एजेन्सीमा गईन । एजेन्सीले शुरूमै एकसय तीस डलर धरौटी माग्यो । उनले तिरिन । काम पाउने आशामा झण्डै एक महिना नेपाली एजेन्सीको चक्कर काटिन । अहिले राम्रो काम आएको छैन् पख्नुस् भन्दै एजेन्सीले एक महिना झुलाए । बल्लतल्ल एकदिन कामको अन्तरवार्ता दिन पठाए । त्यहि एउटै काममा एजेन्सीबाट अरू पाँच जना पनि आएका रहेछन् । अन्तरवार्ता दिएपनि उनी छनौटमा परिनन् । फर्केर एजेन्सीलाई बताउँदा पैसा फिर्ता पाईन्न अर्को काममा पठाउँला भन्यो । फेरी अर्को महिना दिनसम्म धाउँदा पनि काम र पैसा दुवै नपाएपछि उनी त्यहाँ जानै छाडिन् ।       काभ्रेकी सुधा गिरी (नाम परिवर्तन) पनि म्यानहाटनमा भारतीय मुलको अमेरिकन कहाँ बेबीसिटरको काम गर्थिन । मालिक्नी असाध्यै छुच्चि । सानो कुरामा पनि कराउने, झम्टने बानी । एकदिन बच्चाको खेलौना सुधाको हातबाट खसेर फुट्यो र बच्चा रून थाल्यो । मालिक्नी आएर सुधालाई झम्टिन र तथानाम गाली गर्दै उनको हातमा बेसरी चिमोटि दिईन । बिचरी सुधा दुखाईले केही भन्न सकिनन र उल्टै कोठामा गएर रून थालिन र भोलिपल्टै काम छाडेर फर्किइन् ।      माथिका घटनाहरू नेपाली महिलामाथि भएका घरेलु हिंसाको केही उदाहरण मात्र हुन् । यस्ताखाले घटनाहरू न्यूयोर्कमा दैनिकरुपमा घटिरहेका छन् तर महिलाहरू आफुमाथि परेको अन्याय बताउन चाहँदैनन् । अंग्रेजी भाषाको अज्ञानता र वैधानिक कागजपत्र नभएकै कारण पीडित नेपाली महिलाहरूले प्रहरी प्रशासनमा उजुरी नगर्ने गरिएको भेटिएको छ । न्यूयोर्कमा आज धेरै कागजपत्र बिहिन नेपाली महिलाहरू अत्याचारपूर्ण परिवेशमा काम गर्न विवश छन् ।       यदि तपाईं घरेलु हिंसाबाट पीडित हुनुहुन्छ तर के गर्ने, कसलाई भन्ने केही पनि थाहा छैन भने तत्कालै नजिकैको वकिल वा अधिकारकर्मीसंग सल्लाह लिनुस् वा आफु पीडित भएको ठाउँबाटै हटलाईन नं. ९११ मा फोनकल गरी सबैकुरा बताउनुस् । ९११ मा फोनगर्दा पहिले आफु बसेको ठेगाना बताउनुस् अनि जे घटना भएको थियो त्यसबारेमा बताउनुस् । तपाईंले ९११ मा फोन गरेको केहीबेरमा नै त्यस ठाउँमा प्रहरीहरू आईपुग्नेछन् । प्रहरी आएपछि तपाईंले कसरी घरेलु हिंसाबाट शोषणमा पर्नुभयो सबै सत्यतथ्य बताउनुस । तपाईंको शरिरमा कुनै घाउचोट लागेको छ भने त्यो पनि प्रहरीलाई देखाउनुस् । यदि प्रहरीले तपाईंको भाषा बुझेनन् भने प्रहरीलाई नै नेपाली दोभाषे बोलाउन लगाउनुुस् । प्रहरीलाई बोलाई सबैकुृरा जानकारी गराएपछि प्रहरी एक्सनमा जान्छ र पीडकलाई तत्कालै पक्राउ पनि गर्नसक्छ । तपाईंले प्रहरीलाई घटनाकोबारेमा सबैकुरा बताएपछि अन्त्यमा प्रहरीसंग घरेलु हिंसाबाट पीडित भएको प्रमाणित कागजात माग्नुुस् ।      तपाईं घरेलु हिंसाको शिकार हुनु भएको छ सिधै अदालत गई प्रोटेक्शन अर्डरको लागि निवेदन पनि गर्न सक्नुहुन्छ । अदालतको प्रोटेक्सन अर्डरमार्फत प्रहरीले पीडकलाई तपाईंसंग सम्पर्क तथा भेटघाट गर्न, तपाईंको परिवार र छोराछोरीलाई नोक्सानी पु¥याउने कुनैपनि कार्यमा बन्देज लगाउन सक्छ । पीडकले प्रोटेक्सन अर्डरको उलंघन गरेमा तपाईंले तत्कालै प्रहरी बोलाउन सक्नुहुन्छ । प्रोटेक्सन अर्डर पाउनको लागि चाहिन आवेदन फाराम अदालतमा, अधिकारकर्मी कार्यालयमा, वकिल तथा प्रहरी कार्यालयमा निःशुल्क पाईन्छ । तर प्रोटेक्सन अर्डरले मात्रै तपाईंको सुरक्षा हुँदैन । किनभने पीडकको विरूद्धमा कानुनी कारबाहीमा जानु भनेको पीडकलाई झनै रिस उठाई अर्को खतरा निम्त्याउनु हो । त्यसैले पीडकको विरूद्धमा जानुअघि तपाईंले पहिला आफ्नो सुरक्षा योजना बनाउनु पर्ने हुन्छ । आपतकालीन अवस्थामा घरबाट कसरी लुसुक्क भाग्ने, आपद पर्दा कोसंग सहायता माग्ने, घरबाट निस्कँदा आफुले लैजाने सामानहरू (नगद, गरगहना, मोबाईल फोन, सम्पर्क ठेगानाहरू), महत्वपूर्ण कागजातहरू, पासपोर्ट आदि तयारी हालतमा राख्नुपर्छ । पीडक विरुद्ध कानुनी कारवाहीमा जाँदा उल्टै तपाईंलाई नै अपराधीको आरोप लगाई पक्राउ गराउन खोजेमा तपाईंले मेरो वकिल नआएसम्म म कुनै प्रश्नको जवाफ दिन्न भन्नुपर्छ । यदि तपाईंसंग वकिल राख्ने क्षमता छैन भने अमेरिकी सरकारले नै वकिलसंग सल्लाह गर्ने ब्यवस्था मिलाइ दिनेछ ।       घरेलु हिंसाबाट पीडित महिला अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेको भएतापनि उनले वैधानिक हैसियत पाउनको लागि निवेदन दिन सक्छिन् । तर कानुनी हैसियत पाउन घरेलु हिंसाबाट पीडित भएको हो भनि प्रहरीले दिएको प्रमाणित कागजात पेश गर्नुपर्छ । त्यसपछि उक्त प्रमाण सहित अस्थाई अध्यागमन सुविधा पाउँ भनि यू–भिसाको लागि आवेदन दिनुपर्छ । त्यसको लागि पीडितले फाराम आई–९१८ फाराम भरेर यू.एस.सि.आई.एस. भेर्मोण्ट सर्भिस सेन्टरमा पठाउनु पर्नेछ । यू–भिसा आवेदनको लागि शुल्क लाग्दैन् । यदि पीडितको आवेदन स्वीकृत भएमा बढिमा उनले चारवर्षको लागि यू–भिसा पाउँछिन् । यू भिसा पाएको तीन वर्ष पुगेपछि ग्रीनकार्डको लागि आवेदन गर्न पाईन्छ । तर ग्रीनकार्ड पाउन पीडित व्यक्ति अमेरिकामा लगातार तीन वर्ष यू–भिसामा बसेकै हुनुपर्छ । (लेखिका पत्रकार तथा मानव अधिकारकर्मी हुन् ।) Published on : January 25, 2015 - See more at: http://khasokhas.com/news/751#...

cybernepali · Jan 28, 2015 9:56 AM · 2,353 views

1 Reply

ठग्न लाइ नेपाली किन पछि पर्थे | ग्यास स्टेसनमा काम गर्नेहरुको नेपाली मेनेजर छ भने हरेक महिना जस्तो पैसा पुगेन भन्दै ५०-६० व्यक्तिगत नाममा चेक काट्न लगाएको कुरा नजिकि आफन्त बात सुनेको छौ | अनि यिनी हरु BMW जस्ता कार चढेर हिड्छन | बाध्यताको लुटको खेति गर्न हामि सिपालु छौ |

magorkhe1 · Jan 28, 2015 10:35 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all