धर्मनिरपेक्षताको पक्षमा एक पत्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

metta · Jan 24, 2015 8:02 AM · 1,413 views

1 Reply

माघ ९ - आदरणीय प्रश्रतिज्यू,कुनै बेला प्रगतिशील साहित्य लेखेर नेपाली समाजको राजनीतिक साक्षरता बढाउने तपाईं हिजोआज दुई कारणले चर्चामा हुनुहुन्छ । एक, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको महिमागान । दुई, धर्मनिरपेक्षताको विरोध गर्दै नेपाललाई पुन: हिन्दुराज्य बनाउनुपर्ने माग ।'मानव' महाकाव्यबाट राष्ट्रिय चर्चा बटुल्नुभएका तपाईंको नामसँग 'देवासुर संग्राम,' 'गोलघरको सन्देश', नारी बन्धन र मुक्ति, आस्था र प्रथा एक विवेचना, भूतप्रेतका कथा, 'जीवनको बाटोमा' जस्ता लोकपि्रय पुस्तक जोडिन्थे । पञ्चायतका आँधीमय दिनहरूमा प्रशासनको आँखा छलेर तपाईंका कृति ओसारपसार गर्नुमा मेरो अग्रज पुस्ता गौरवबोध गथ्र्यो । आज पनि मानिसहरू भन्छन्, पुस्तक लेखेर तपाईंले नेपालमा जति कम्युनिस्ट जन्माउनुभयो, त्यति कार्यकर्ता आजसम्म कसैले जन्माउनसकेका छैनन् । पाँच वर्षअघि हेटौंडा जाँदा तपाईंलिखित पुस्तकका पंक्तिहरू नहेरी खरर्र भन्दिनसक्ने एक आमालाई भेटेको थिएँ । तपाईंको 'जीवनको बाटोमा' र 'भूतप्रेतका कथा' पुस्तकका धेरैजसो रचना म आफैं शीर्षक र सन्दर्भसहित सम्झन सक्छु । 'गोलघरको सन्देश' भित्रका थुप्रै पंक्ति त म नहेरी भन्दिन सक्छु । भूतप्रेत हुँदैन, डराउनु बेकार छ भन्ने गहिरोगरी पसेको तपाईंकै पुस्तकका कारण हो । तपाईंको मनोहारी लेखनको चमत्कारले वशिभूत हुने ममात्रै होइन, अरू थुप्रै छन् । पञ्चायती बन्द समाजको उत्कर्षका बेला वामपन्थी वृत्तमा जबर्जस्त 'मिथ' निर्माण भएको थियो, सीपी मैनाली र तपाईंबारे । मिथ यस्तोसम्म थियो- लामो समयदेखि भूमिगत सीपी एक ठाउँमा बस्दाबस्दै लुप्त भएर अर्को ठाउँ देखापर्न सक्छन्, पुलिसले कहिल्यै समात्न सक्दैन । प्रश्रति जस्तोसुकै बेला पनि लेख्न सक्छन्, दोहोर्‍याएर हेर्नु पर्दैन । कथा सुनेर बाँच्न मनपराउने त्यो समय त्यस्तो थियो । यो बीचमा वागमतीमा धेरै फोहोर पानी बगिसकेको छ । समयक्रमसँगै मानिसहरूको मनमा निर्माण भएको 'प्रश्रति' विम्ब दुर्भाग्यवश ढल्दैछ । हिजो तपाईंलाई परिवर्तनको सन्देश ल्याउने हल्कारा भनी प्रशंसा गर्नेहरू अहिले कर्मकाण्डी हुँदै गएको आरोप लगाउँछन् । पृथ्वीनारायण शाहको उच्च सम्मान गरिनुपर्ने, उनलाई खलनायक भनेर आजका मितिमा अथ्र्याउनुको कुनै अर्थ नहुने पक्षमा धेरै नागरिक छन् । राजतन्त्र र हिन्दु परम्परासँग जोडेर उनलाई उभ्याउन खोज्नेहरूको उनीहरू विरोध गर्छन् । शाह त बितेर गए । उनका शाखासन्तानले थोपरेको निरंकुशता विरुद्ध हाम्रो पुस्ताले लडेको छ । तपाईर्ं त्यही राजतन्त्रलाई प्रत्यक्ष/अप्रत्यक्ष सघाउने कुरा गर्दै हुनुहुन्छ । प्रश्रतिज्यू, आफ्नै इतिहासतिर फर्केर थुक्नु जायज हुन्छ ? जुन घोषणामा आज यो पुस्ता गौरव गर्दैछ, त्यही घोषणाप्रति तपाईं आज ग्लानि महसुस गर्नुहुन्छ ?यो लेखको सन्दर्भ भने दोस्रो बुँदामा केन्दि्रत छ । २०६२/६३ को जनआन्दोलनपछि संसदले धर्मनिरपेक्षता घोषणा गरेकामा तपाईं हदैसम्म दु:खी हुनुभएको छ । ०६५ सालमा सक्रिय राजनीतिबाट अवकाश लिनुभएका तपाईको दु:ख कतिसम्म दु:खी छ भने पार्टी नेतृत्व छाडेको सात वर्षपछि तपाईंले अध्यक्ष ओलीसमक्ष प्रस्ताव नै राख्नुभयो- स्थायी कमिटीे बैठकमा आएर आफ्ना कुरा राख्ने मौका पाऊँ । तपाईंले स्थायी कमिटी बैठकमा भन्नुभएछ- नेपाल धर्मनिरपेक्ष हुनै सक्दैन । यहाँ हिन्दुहरूको प्राग्ऐतिहासिक कालदेखिको विरासत छ । अझ वैष्णव, बुद्धधर्म यहीँ विकास भएका हुन् । त्यसैले धर्मनिरपेक्ष घोषणा गरी धर्म परिवर्तन गराउनेहरूको खेलमा कोही फँस्नु हुँदैन ।प्रश्रतिज्यू, पुराण, इतिहास र धर्म संस्कृतिसम्बन्धी खोजबिन गर्न मनपराउने तपाईंजस्तो प्राज्ञसँग म धेरै तर्क गर्न नसकुँला । तर मेरो अध्ययन र जानकारीले के भन्छ भने नेपालमा एक भाषा, धर्म र संस्कृतिको बर्चस्व पहिलेदेखि रहँदै आए पनि हिन्दुराज्य घोषणा भने राजा महेन्द्रले 'कू' गरेर प्रजातन्त्र मासेपछि २०१९ सालमा गरेका थिए, छिमेकी मुलुकको धार्मिक-राजनीतिक शक्तिको समर्थन हासिल गर्न र निरंकुशतालाई टेवा दिनेगरी धार्मिक एकाधिकार लाद्न ।महेन्द्रले सैन्यबलमा च्युत गरेका प्रधानमन्त्री बीपी कोइरालाले प्रजातान्त्रिक राज्यले धर्म, जात, क्षेत्र, लिंग, वर्ण आदिका आधारमा राज्यले विभेद गर्न नपाउने भन्दै धर्मनिरपेक्षताको वकालत गरेका थिए । उनी आफैं पनि व्यक्तिगत रूपमा धर्मका मामिलामा उदार थिए । हिन्दु धर्म र संस्कारलाई छुटयाएर हेर्न सक्थे । राज्यको कुनै धर्म हुँदैन, यो त व्यक्तिगत छनोटको विषय हो भन्ठान्थे । यी तिनै बीपी हुन्, जसले नेपाल अझै राष्ट्र बनिनसकेको, एउटा प्रशासनिक इकाइजस्तो मात्रै हुनगएको भन्ने विचार व्यक्त गर्दा तपाईं र तपाईंको दलले भारतपरस्त, बुर्जुवा, आत्मसमर्पणवादी करार गरेको थियो । बीपीको दृष्टि धर्म, सेना, कूटनीति, राष्ट्रियता आदिलाई हेर्नेबारे तपाईं लगायत थुप्रै 'प्रगतिशील, जनवादी'हरूको भन्दा फराकिलो थियो भन्ने हामी उनका विचार पढ्दा थाहा पाउँछौं । तपाईं आज भन्दै हुनुहुन्छ, हाम्रो पहिचान नष्ट गरिँदैछ । नेपाल धर्मनिरपेक्ष हुनै सक्दैन । प्रश्रतिज्यू, अब तपाईं नै भन्नुस्, को प्रगतिशील हो, बीपी कि तपाईं ?सही हो, नेपालमा पुरानो धार्मिक विरासत छ, जसको निषेध गर्नुपर्ने कुनै कारण छैन । त्यसलाई तपाईंले भनेझैं धार्मिक पर्यटन विकास गरेर आर्थिक फाइदा लिन सकिन्छ । तर के त्यसका लागि राज्यले आफ्नो धर्मका रूपमा अपनाउनैपर्छ ? धर्मनिरपेक्ष कायम राखेरै धार्मिक पर्यटन गर्न सकिँदैन ? जस्तो कि धर्मनिरपेक्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरै पशुपतिनाथ दर्शन गरे । श्रीलंकाका निवर्तमान राष्ट्रपति महिन्दा राजपाक्षे लुम्बिनी दर्शन गर्न गए । अर्को तर्क के गरिन्छ भने धर्मनिरपेक्षता पश्चिमा देशबाट आयातित मुद्दा हो । ती राज्यहरूको भने धर्म छ । त्यसैले हामी धर्मनिरपेक्ष हुनु भनेको धर्मपरिवर्तन गराउनु हो । यो तर्क त झनै कारुणिक छ । षडयन्त्र सिद्धान्तहरूमा कति प्रतिशत सत्यता छ, इतिहासले अध्ययन गर्ने विषय हो । तर आधुनिक लोकतन्त्रको आधारभूत मान्यताभित्र धर्मनिरपेक्षता पर्छ भनेर तपाईंजस्तो विद्वानलाई सम्झाइरहनु पर्दैन । सकारात्मक कुरा जसले जुन दिशाबाट ल्याए पनि ग्रहणयोग्य हुन्छ । जस्तो, तपाईंको माक्र्सवाददेखि कांग्रेसको प्रजातान्त्रिक समाजवाद दुवै नेपाली माटोका उत्पादन होइनन् । हामीले आदर्श मान्ने गरेका गान्धी, मन्डेला, माओ, चे, लिंकन सबै विदेशी हुन् । विचारदेखि भौतिक उत्पादनका विषय उपयोग गर्नेमा आजको विश्व उदार छ । भलै शक्तिराष्ट्रले बर्चस्व राखेका हुनसक्छन् । यो अर्कै बहसको कुरा हो । हिजो एक भाषा, भेष र धर्मको सहारामा नेपाली नागरिकमाथि उत्पीडन लाद्ने विरुद्ध चुइँक्क नबोल्नु, आज समाजमा स्वीकृत हुँदैगरेका लोकतान्त्रिक मान्यताहरू विदेशीले लादेको भन्नु आफ्नो शक्तिमाथिको ठूलो अविश्वास हो । के हामी नेपाली त्यति कमजोर भइसक्यौं, जसको राष्ट्रवादी बिरुवा धर्मनिरपेक्षताको सानै हुरीले भाँचिदिन सक्छ ? हाम्रो राष्ट्रवाद चन्द्रसूर्य झण्डा र हिमाल रहेसम्म अटल रहनेछ भनेर पढाइएको होइन र ? रह्यो, विदेशी राजदूतले नेपालमा धर्मपरिवर्तन गराउन पाउनुपर्छ भनी बोलेको कुरो । त्यसमा हाम्रो सरकारले खरो प्रतिवाद गरेको छ । उनले उचित कारबाही भोगिसकेका छन् । हाम्रो राज्यले लाचारी देखाएको भए दादागिरी अरू बढ्न सक्थ्यो । हाम्रो राज्यले आफ्नो चासो देखाएकैले अब अरू देशका प्रतिनिधिले नेपालबारे बोल्दा पाँच मिनेट नसोची धरै छैन । जबर्जस्ती धर्मान्तरणलाई हाम्रो कानुनले निषेध गरेको छ । राज्यको प्रतिबद्धता झल्किएकै छ । प्रश्रतिज्यू, हामी आफैंले बनाएको राज्यमाथि किन यत्रो अविश्वास ?धर्म, अध्यात्म, संस्कारलाई हेर्नेबारे धेरै अलमल छ, नेपाली माक्र्सवादीहरूमा । आजसम्म उनीहरू पूर्वाग्रह र बनिबनाउ मान्यताको कुहिरोबीच आफ्नो पाखण्ड छिपाउने चेष्टा गर्दैछन् । के प्रचण्ड, के झलनाथ, के बाबुराम, के नेपाल यसमा कोही अलग छैनन् । कहिले धार्मिक आस्थामाथि प्रहार गर्ने त कहिले साधुसन्त महाराजकहाँ लम्पसार पर्ने प्रवृत्तिबाट हाम्रो वामपन्थी वृत्तको छिपछिपेपना र दोहोरो चरित्र झल्किन्छ ।तपाईंजस्तो सम्मानित बौद्धिकले चाहेको भए यसबारे प्रगतिशील र समाज सुहाउँदो विचार दिन सक्नुहुन्थ्यो । व्यक्तिको निर्माणमा धर्म, संस्कारको भूमिका कस्तो होला भन्नेमा बहस चलाउन सक्नुहुन्थ्यो । तर तपाईं आफैं आफ्ना संकुचनहरूको बन्दी हुनुभयो । अर्को शब्दमा तपाईं जसका विरुद्ध लड्दै हुनुहुन्थ्यो, उसैको माइक पो बन्न पुग्नुभयो । कत्रो दुर्भाग्य !प्रश्रतिज्यू, वास्तवमा कमल थापाको दललाई समेत वास्तविक अर्थमा हिन्दुराज्य र राजतन्त्र चाहिएको छैन । उनीहरूसँग योभन्दा अर्को कुनै त्यस्तो एजेन्डा बाँकी छैन, जसबाट गुमेको स्वर्ग फर्काउन सकियोस् । त्यसैले उनीहरू यही न्ाारा दिन बाध्य छन् । तपाईं भने जानेर वा नजानेर थापाको शक्ति विस्तार गर्न सघाउँदै हुनुहुन्छ । यी तिनै थापा हुन्, जसको रजगज हुँदा तपाईं पञ्चायतका अराष्ट्रिय तत्त्वका रूपमा भूमिगत हुनुहुन्थ्यो । यी तिनै थापा हुन्, जसको सरकारले ९ वर्षअघि तपाईं स्थायी कमिटी सदस्य रहनुभएको पार्टी एमालेका महासचिव माधवकुमार नेपाल र अहिलेका अध्यक्ष केपी ओलीलाई घरैमा नजरबन्द गरेको थियो । तपाईंको पार्टीसमेत रहेको देउवा सरकारलाई बर्खास्त गर्दै उनीहरू स्थापित भएका थिए । आज तपाईं उनै थापासँग मुद्दाहरूका कारण एकठाउँ उभिनुभएको छ ।र आज तपाईं जाति, भाषा, संस्कृति, इतिहास आदि पहिचानको विरोध गर्दै हुनुहुन्छ । सट्टामा हिन्दु धर्मको पहिचानचाहिँ चाहिने तर्क गर्दै हुनुहुन्छ । यो परस्परमा मेल नखाने कुरा हो । कि तपाईंले भन्न सक्नुपथ्र्यो, पहिचान मान्ने हो भने जातीय पनि मानौं, धार्मिक पनि मानौं । नमान्ने भए कुनै पनि नमानौं । तर तपाईं अरूको पहिचान निल्ने कुरा गर्दै हुनुहुन्छ, आफू आबद्ध रहेको धर्मको पहिचानचाहिँ सहीसलामत रहनुपर्ने तर्क गर्दै हुनुहुन्छ । कमरेड प्रश्रति, यो त ढाँटेको कुरा काटे मिल्दैन भनेझैं भयो । हिजो तपाईं जुन परिवर्तनको सपना देख्नुहुन्थ्यो, पुस्तक लेख्नुहुन्थ्यो, त्यही सपनाको, पुस्तकको परिवर्तनलाई संस्थागत गर्न राजनीतिक शक्तिहरू लागिरहेको बेला तपाईं 'नन-इस्यु'लाई केन्द्रमा ल्याएर मुख्य विषयहरू छाया पार्न खोजिरहनुभएको छ । यसमा जानाजानी प्रतिगमनको गन्ध आउँछ । तपाईंलाई थाहै हुनुपर्छ, हिन्दुराज्य बनाउने नियतसँग शाहतन्त्र फर्काउने योजना मिसिएको छ । प्रश्रतिज्यू, भुइँका मानिसहरूको हृदयमा फ्रेम हालेर सजाइएको तपाईंको तस्वीर क्रमश: बासी परम्पराको धुलोले छोपिँदैछ । अब हामीले कुन प्रश्रति रोज्ने ? समान, न्यायिक समाज आहान गर्न हिँडेको हिजोको भर्भराउँदो गतिशील प्रश्रति कि इतिहासको प्रवाह रोक्न खोज्ने आजको शुष्क, दिग्भ्रान्त र गतिहीन प्रश्रति ? सामन्तले असूर ठहराएका तल्ला, निमुखा जातिका पक्षमा 'देवासुर संग्राम' लेख्ने हिजोको प्रश्रति कि हिन्दु राष्ट्र फर्काउन उद्यत आजको प्रश्रति ?प्रकाशित मिति: २०७१ माघ १० ०९:५७

metta · Jan 24, 2015 8:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all