ग्यास अभाव: राष्ट्रपतिकहाँ भात पाकेन, प्रधानमन्त्रीकहाँ पानी तातेन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द्र घिमिरेलाई प्रधानमन्त्री निवासबाट फोन आयो। प्रधानमन्त्री निवासबाटै फोन आएकाले घिमिरेले सोचे – ठूलै महत्वको काम परेछ क्यार। मुलुकको कार्यकारी प्रमुखको निवासबाट त्यसै फोन आउने कुरै थिएन। भयो त्यस्तै। कुनै ठूलो विषयमा फोन आएको थिएन। 'ग्यास नभएर प्रधानमन्त्रीले तातोपानी खानसमेत नपाएकाले तत्काल व्यवस्था मिलाउनु पर्‍यो।' पुस १७ गते। राष्ट्रपति कार्यालयले एचपी ग्यास कम्पनीको नाममा पत्र लेख्यो। उप सचिव हरिप्रसाद दवाडीले लेखेको पत्रमा भनिएको छ : सम्माननीय राष्ट्रपतिज्यूको निवासमा दुई सिलिन्डर खाना पकाउने ग्यास आवश्यक भएकाले पत्रबाहकलाई हस्ते लाग्ने मूल्य लिइ ग्यास उपलव्ध गराइ सहयोग गरिदिनुहुन अनुरोध छ। (हेर्नुस् पत्र) सत्ता प्रमुख सुशील कोइराला र राष्ट्र प्रमुख डा. रामवरण यादव दुवै ग्यास पीडित भएका छन्। ग्यासको अभावले उनीहरु तातो पानीसमेत पिउन र चुल्हो सल्काउनसमेत संकट भोगिरहेका छन्। देशका दुई प्रमुख ग्यास अभावले यति प्रभावित छन् भने निरीह जनता के बेहोरिरहेका छन् कसैसँग छिप्ने कुरै भएन। प्रधानमन्त्री कार्यालयबाट आयल निगममा ग्यास चाहियो भनेर माग हुनुअघि नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेलाई पनि फोन गएको रहेछ। 'ग्यास नभएर प्रधानमन्त्रीले तातोपानीसमेत खान पाउनु भएन।' मुलुकका दुई शीर्ष पदमा रहेका कार्यालयसमेत निरीह भएर 'ग्यास देउ' भनेर गुहारिरहँदा ग्यास डिपोहरु भने रित्तै देखिन्छन्। कथम् ग्यास बोकेको गाडी देखियो भने भिड त्यतै हुनिन्छ। राज्य र सत्ता दुवै लाचर छन् यतिखेर। 'यो भन्दा ठूलो लाचारीपन अरु के होला ?,' उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानिया भन्छन्, 'सत्तादेखि ब्यापारी सबैको उत्तिकै दोषी छन् यो अभावमा।' आयल निगमले ग्यास किन्ने इन्डियन आयल कर्पोरेसन(आइओसी)को बरौनी रिफाइनरी मर्मतका लागि एक महिना बन्द भयो। त्यसको असर साधारण जनतामात्र होइन राष्ट्रपतिको चुल्होसम्मै पुगिसक्यो। बरौनीबाट निगमले मासिक १२ हजार टन ग्यास ल्याउथ्यो। एक महिना ग्यास ल्याउन रोकिएकाले अहिले अभाव नखेप्ने कमै होलान्। त्यसमाथि थपिएका छन् कालोबजारीहरु। सिलिन्डरको कालो कारोबार उत्तिकै चम्केको छ। निरीह सरकार मुक दर्शकभन्दा फरक देखिएको छैन। ‘बरौनीबाट सबैभन्दा बढी ग्यास आउँछ । त्यो मर्मतका लागि एक महिना बन्द हुँदा आपूर्ति प्रभावित भएको हो,’ निगमका प्रवक्ता घिमिरेले भने, ‘यसले प्रधानमन्त्रीलाई समेत प्रभावित बनाएछ।’ बरौनी रिफाइनरी बन्द हुँदा डिसेम्बर महिनामा १६ हजार टन ग्यास आएको थियो। डिसेम्बर महिनामा जाडो भएकोले बढी माग हुन्छ। डिसेम्बर महिनामा २३ हजार टन ग्यास आवश्यक पर्छ। सात हजार टन ग्यास कम भएकोले उपत्यकामा अभाव चर्कियो। त्यसो त आइओसीले पहिले नै बरौनी रिफाइनरी मर्मत गर्ने भन्दै चिठी नपठाएको होइन। समयमै बरौनी बन्द हुँदा आपूर्तिमा पार्ने प्रभावको आंकलन निगमले गरेन। ‘बरौनी रिफाइनरी बन्द हुनु पहिल्यै थाहा नभएको होइन। हामीले मथुराबाट ल्याउने प्रयास समेत गरेका थियौ,’ प्रवक्ता घिमिरेले भने, ‘जति गरे पनि व्यवस्थापन गर्न सकिएन।’ नेपालबाट बरौनी सबैभन्दा नजिक पर्छ ग्यास ल्याउन। मथुराको दूरी टाढा पर्ने भएका ग्यास ढुवानी व्यवसायीले सहयोग गरेनन्। बरौनी बन्द भएको मौका छोपेर नयाँ सिलिन्डर किनेमात्र ग्यास बेच्नेहरु यही समय सक्रिय भए। उपभोक्त चिसो चुल्हो भोग्नुभन्दा महँगै ग्यास किन्न बाध्य भए। http://www.pahilopost.com/cont...

itroll · Jan 6, 2015 7:51 PM · 1,439 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all