पिएचडी : मिसन कि फेसन?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://nagariknews.com/opinion... 07 Nov 2014 शुक्रबार २१ कार्तिक, २०७१ अतीन्द्र दाहाल पिएचडी अथवा विद्यावारिधि शैक्षिक योग्यताको सबैभन्दा उपल्लो उपाधि हो। उक्त उपाधि प्राप्त मानिस देश र समाजलाई विशेष श्रेयस्कर बन्ने विश्वास गरिन्छ। ज्ञान, सचेतनाको विचरणदेखि समाज परिवर्तनका विभिन्न आयामलाई सघाउन उनीहरुको अध्ययन/अनुसन्धान तथा निष्कर्ष एवं सुझावको ठूलो योगदान रहन्छ। तसर्थ आमविश्वभर यो उपाधि निकै सम्मानित छ।  यस्तो अति सम्मानित उपाधि प्राप्त गर्ने पहिलो सौभाग्य लिएका नेपालीचाहिँ मोहन झा हुन्। उनीपछि अहिलेसम्म कति नेपाली नागरिक उक्त उपाधिबाट विभूषित छन् ्भन्ने प्रस्ट आँकडा सार्वजनिक छैन। यद्यपि यो संख्या मननयोग्यरूपमा उच्च रहेको अनुमान गर्न सहजै सकिन्छ। अहिले पनि नेपालका चारवटा विश्वविद्यालयले पिएचडी उपाधि प्रदान गर्छन्। प्राविधिक तथा चिकित्सा अध्ययनसम्बन्धी अन्य निकायबाट पनि केही मानिसले उपाधि पाउँछन्। विदेश गएर उपाधि लिनेहरुको संख्या पनि बढ्दो छ। सम्बन्धित विषयमा ज्ञान तथा दर्शनको राजा बराबर मानिने गरी अर्थ लगाइएको यो उपाधि प्राप्त मानिसले के त्यही आदर्श बराबरको योगदान समाजलाई पुर्यााएका छन् त? अथवा उनीहरुले त्यो योगदान पुर्यािउने क्षमता राख्छन् त? अब विचार पुर्यााउनुपर्ने पक्ष बन्दैछ। जे होस्, पिएचडी मोह भने धेरैको आकांक्षा बन्दैछ, त्यसलाई पाउन दौडनेको संख्या उच्च छ। पछिल्लो समय उक्त उपाधि हासिल गर्न विदेश जानेहरुको संख्या पनि निकै छ। जहाँ सामान्य हिसाबले विद्वत्वृत्तिबेगर पढ्न जान सकिँदैन त्यहाँ गएर उहीँ बसी पिएचडी गर्नेहरुको बारेमा आलोचना नगराँै। तर विदेश गएको औपचारिकता देखाउनमात्रै यहीँ बसेर छिमेकका विभिन्न विश्वविद्यालयमा शोध प्रस्ताव दर्ता गर्नेहरु अझ धेरै छन्। ती उपाधि प्राप्तहरुमाथि बाँकी समाज विश्वस्त बन्न सकिरहेको छैन। केही अपवादबाहेक ती विश्वविद्यालयबाट उपाधि प्राप्त गरेकाहरुले समेत उपाधिको मानमर्यादा कायम राख्न देखाउनुपर्ने कार्यसम्पादन गर्न सकेका छैनन्। सायद त्यही भएर हुन सक्छ विद्यावारिधि गर्ने शोधार्थीलाई विश्वविद्यालय अनुदान आयोगले दिने विद्वत्वृत्तिमा निवेदन दिन पनि अहिले अनिवार्यरूपमा स्वदेशकै विश्वविद्यालयमा शोध प्रस्ताव दर्ता भएको हुनुपर्ने प्रावधान थप गरिएको छ। विदेशका विश्वविद्यालयमा दर्ता गर्नेलाई उक्त अनुदान दिनसमेत रोकिएको छ। अनुदान आयोगको यस्तो कदमसँगै बजारमा 'यहाँ एमफिल तथा पिएचडीका थेसिस लेखिन्छ' भन्ने ब्यानरहरु देखिनुले पनि उपाधिमाथि शंकास्पद बन्नेहरुको नजरलाई अझ सहयोग पुग्दैछ। यसरी हेर्दा अहिले बजारमा सामन्यतया तीन प्रकारका पिएचडी देखिन्छन्। पहिलो, निकै परिश्रमसाथ अध्ययन/अनुसन्धान तथा आवश्यक शोध सम्पन्न गरेर विभूषित हुन्छन्। त्यसपछि पनि समाजलाई आफ्ना खोज, अनुसन्धान र ज्ञानमार्फत निरन्तर सुसूचित गराउने पवित्र कार्यमा दत्तचित्त रहन्छन्। स्वदेश तथा विदेशमा प्रख्याति र प्रशस्तिसाथ जिएका छन्। दोस्रो, केही मानिस बजारमा मःमः पसल खुलेजस्तै खुलेका थेसिस लेखिन्छ भन्ने पसलबाट थेसिस किनेर उपाधि हात पार्छन् र जागिरको बढुवामा यसलाई प्रयोग गर्छन्। अनि उपाधि प्राप्त गरेको केही समयपछि आफ्नो शोधको निष्कर्ष के थियो भन्नेमात्र हैन, कतिले त शोधको विषयसमेत बिर्सन्छन्। तेस्रो प्रकारका चाहिँ छिमेकबाट आमन्त्रित उपाधि लिन्छन्। देशको सबैभन्दा बढी पढिने भनेर आत्मप्रशंसाको पुलिन्दा बोक्ने र सबैभन्दा व्यावसायिक पत्रकारिता गर्ने भनेर स्वःउद्घोष गर्ने सञ्चार माध्यमचाहिँ कोटेश्वरमा, डिल्लीबजारमा पिएचडी भनेर विज्ञापन छापिदिन्छ। त्यो अखडा तेस्रो प्रकारका उपाधि लिनेलाई भगवानको दर्शन गर्ने मन्दिरजत्तिकै पवित्र बन्न पुग्छन्। के पिएचडी कुनै सांगीतिक अथवा सांस्कृतिक कार्यक्रम हो, ठाउँविशेषमा आयोजना हुने? दोस्रो र तेस्रोखालका उपाधि पैसा तिरेर किनिएका छन्। देशभित्रका विश्वविद्यालयले केही शोध लेख माग्छन्। बेलाबेलामा प्रगतिको प्रतिवेदन बुझाउँदै त्यसको मौखिक परीक्षा सामना गर्नुपर्छ। तर तेस्रो प्रकारका उपाधि लिनेहरुले यस्ता कुनै चरण अवलम्बन गरेको देखिँदैन। तसर्थ देश बाहिर गएर पनि राम्रा विश्वविद्यालयबाट उपाधि लिएका केही संख्या छाड्ने हो भने नेपालमा नै बसी विदेशको कुनै विश्वविद्यालयमा दर्ता भई यहीँबाट उपाधि लिएकाहरुप्रति निकै शंका हुनु स्वाभाविक देखिन्छ।सहरका मुख्य भागमा निजी शैक्षिक संस्थाका प्रमुख भएका अधिकांश मानिस त्रिभुवन विश्वविद्यालयका स्थायी वेतनधारी विभिन्न तहका प्राध्यापक छन्। पछिल्ल्ाो समय ती शिक्षकले छिमेकी भारतका विभिन्न नामधारी विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिने प्रचलन सामन्य फेसनजस्तै भएको छ। केही अलिक नाम चलेका संस्थाका पदाधिकारीचाहिँ सेनेगन भनेर चिनिने नर्वे, पोल्यान्ड, डेनमार्क जस्ता देशमा पिएचडी दौडाहामा देखिन्छन्। नेपालमा कार्यक्षेत्र भएर यहीँ निरन्तर बसिरहँदा यहीँबाट उपाधिका लागि प्रयत्न किन नगरेको भनेर सोधियो भनेचाहिँ उनीहरु यहाँ विभिन्न बहानामा दुख दिने, दर्ता गर्नुपहिले नै शोध लेखहरु प्रकाशित भइसकेको हुनुपर्ने जस्ता अप्ठ्यारा बताउँछन्। उनीहरुको नजरमा यहाँका भन्दा विदेशका विश्वविद्यालय ग्ुाणस्तरीय लाग्छन्। तर उनीहरुले नै कम गुणस्तरीय भनेकामा समेत उपाधिका लागि दर्ता नै गर्न योग्यता नपुगेका वा उक्त प्रक्रियालाई अवलम्बन गर्ने साहस नभएकाहरु राम्रा भनिएका ती विश्वविद्यालयबाट कसरी उपाधियोग्य बन्छन्? कि उनीहरु रातारात सुधारिएका हुनुपर्योप कि भने उनीहरुले गुणस्तरीय भनेका ती विश्वविद्यालयचाहिँ जसो/जसो शोधार्थी उसो/उसो स्वाहाः प्रकारका हुनुपर्यो। यसमा अनुसन्धान र अनुगमन दुवै आवश्यक छन्। अन्यथा मैले समाजमा ज्ञानको कस्तो नयाँ आयाम स्थापित गर्न सक्छु, मेरो अनुसन्धानले देशको विकासमा कसरी सहयोग पुग्न सक्छ भन्ने बुझाउन नसक्ने अनि मेरो अनुसन्धानबाट यस्तो निचोड निस्क्यो जसलाई देश र आमनागरिकको प्रगतिको खातिर यसरी सदुपयोग गर्न सकिन्छ भनेर अरुलाई सुसूचित पनि नगराउने विद्वता मिसन नभएर फेसनमात्र हुँदैन र? नेपाल पिएचडी संघ पछिल्लो समय विद्यावारिधि उपाधि लिनेहरुको संख्या ज्यामितीय हिसाबमा बढेको बताउँछ। तर किन ती अधिकांशचाहिँ उपाधि लिन्छन् अनि हराउँछन्? आफूले ज्ञान लिएका छैनन् कि लिएको ज्ञान सार्वजनिक गर्न र समाज सुधारमा त्यसको उपयोग दर्ज गराउन चाहँदैनन्, प्रश्न पेचिलो बन्दैछ।

metta · Nov 9, 2014 9:41 AM · 1,690 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all