ढोगाउनुहोस् श्रीमतीलाई खुट्टा!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आजभोलि समसामयिक घटना र त्यसमा हुने बहसमा सहभागि हुन मन लाग्दैन। जीवन/जगतलाई हेर्ने मेरा दृष्टिकोण फरक छन्। धेरैलाई यो मन पर्दैन भन्ने बुझेको छु। अलि पर बसेर मानिसका टिप्पणी र जवाफ सुन्नमात्र मन लाग्छ।    तर, कुनै अनलाइन समाचारमा प्रकाशित श्रीमानले श्रीमतीका खुट्टा ढोगाएको तस्वीरका विषयमा भइरहेका टिप्पणी हेरेर यो संयम क़ायम  राख्न सकिन। कर्तव्यका रूपमा भएपनि केही लेख्न मन लाग्यो।   प्रसङ्ग यस्तो छ -कोही सज्जनले दसैँमा आफ्नी श्रीमतीलाई खुट्टा ढोगाए। त्यसको तस्वीर उनले फेसबुकमार्फत् सार्वजनिक गरे। एक अनलाइन समाचारको पोर्टलले त्यो तस्वीरलाई मुद्दा बनाएर फोटो प्रकाशित गर्‍यो। सोसल मिडियामा यसका पक्ष-विपक्षमा भव्य बहस भयो।   फेसबुकका तस्वीर समाचार पोर्टलमा आउनुहुन्छ कि हुन्न भन्ने अलग विषय होला जसमा म जान चाहान्न। यसको व्याख्या सोसल मिडियाका धुरन्धर विज्ञले गर्लान्। त्यसैले, तस्वीरले जन्माएको बहस र यसक्रममा देखिएका केही टिप्पणीमा मात्र लेखाइलाई सीमित गर्न चाहान्छु।    बहसका क्रममा "खुट्टा ढोगाउनु स्वभाविक हो" भन्नेहरूले प्रस्तुत गरेका तर्कलाई प्रश्न र मेरो बुझाइलाई जवाफका रूपमा प्रस्तुत गरेको छु।   १. घरभित्रको मामिलामा मिडिया र अरूलाई के चासो ?   मानिसले मानिसलाई गर्ने अधिकांश दुर्व्यवहार र थिचोमिचो घरभित्र नै हुन्छन्। घरेलु हिंसा घरभित्र हुनेभएर नै ‘घरेलु’ भनिएको हो। महिला, बालबालिका र बृद्धबृद्धाप्रति हुनेगरेका प्रतिकात्मक (symbolic), मनोवैज्ञानिक (psychological) र भौतिक (physical) हिंसा सामान्य अवस्थामा बाहिरका अरू मानिसलाई थाहा हुँदैन –तर यो हरेक समाज र विशेषगरि हाम्रोजस्तो समाजको गहिरो र intractable समस्या हो। एक अर्थमा लज्जा हो। तसर्थ ‘घरभित्र जे गर्न पनि छुट हुनुपर्छ’ भन्ने तर्कलाई म ‘लण्ठू कुरा’ मात्र भन्न सक्छु। कुनै पनि राज्य वा समाजको कानुन/मान्यताले घरभित्र हुने कुरालाई नछोऊँ, नचलाऊँ भनेर छुट दिँदैन।   तसर्थ, घरभित्र के हुन्छ भन्ने कुरा आम चासोको विषय हो  र हुनुपर्छ।   २. श्रीमानले श्रीमतीलाई खुट्टा ढोगाउनु कसरी हिंसा हुनसक्छ ?   खुट्टा ढोगाउने कर्म आफैँमा हिंसा होइन –तर श्रीमान र श्रीमतीको सम्बन्धभित्र रहेको विभेद र हिंसाको reflection (परावर्तन?) भने अवश्य हो। आफ्नी श्रीमतीलाई खुट्टा ढोगाएको तस्वीर फेसबुक र ट्विटरमा राख्ने र 'राख्नु ठीक हो' भन्नेहरूले आफ्नी श्रीमतीका खुट्टा ढोगेको तस्वीर त्यसैगरी राख्न सक्लान् ? यदि सक्दैनन् र यस्तो प्रस्ताव नै अनौठो सुनिन्छ भने महिला र पुरुषबीचको सम्बन्धमा कतै न कतै केही न केही अन्तर्विरोध रहेछ भन्ने त बुझ्नुपर्‍यो।   श्रीमतीलाई गाोडा ढोगाउने पुरुषलाई प्रहरीले थुन्दैन। समाजले पनि सामान्य मान्ला। तर, कानुनले दण्डनीय नठानेको र समाजले पनि गलत नठानेका धेरै विकृति हामीकहाँ छन्। यो प्रश्न कानुनको होइन -महिलाको आत्मसम्मान र समाजमा उनिहरूको स्तरको हो। महिलालाई हेर्ने पुरुषको दृष्टिकोणको हो।   ३. श्रीमतीलाई आपत्ती छैन भने अरूलाई के चासो ?   मैले यसअघि केही पटक भनिसकेको छु –अधिकांश विभेदका संरचनामा विभेद खप्ने व्यक्ति/समुदायको पनि compliance (स्वीकृति/सम्मति) हुन्छ। विभेदमा अभ्यस्त समाजमा विभेदलाई सामान्य ठानिन्छ। धेरै महिलाले महिलाविरुद्ध हुने विभेदलाई सही वा सामान्य ठान्छन्। दक्षिण अफ्रिकाको apartheid (रङ्गभेद) मा समेत यसलाई स्वभाविक मान्ने काला जातिका मानिसहरू थिए। विभेद खेपेकाहरूले विभेदलाई सही ठानेका छन् भनेर 'विभेद ठीकै हो' भन्ने तर्क गर्नु आफ्नो बेबकुफी प्रदर्शन गर्नुमात्र हो।   ४. माया र सम्मानले ढोग्ने कुराको किन विरोध ?   उक्त तस्वीरमा श्रीमानको खुट्टा ढोग्ने श्रीमतीले माया/सम्मानले नै ढोगेको हुनसक्छ। हाम्रो समाजमा छोराले बाबुआमाको वा अरूले छोरीको खुट्टा ढोग्ने परम्परा छ। तर, यी प्रत्येक सम्बन्ध र खुट्टा ढोगाइका पृथक अर्थ छन्। श्रीमतीले श्रीमानको खुट्टा ढोग्ने प्रवृतिको विशेष अर्थ छ जुन माया र सम्मानबाट मात्र आउँदैन। यसको उपस्थिति र निरन्तरतालाई नारी र पुरुषबीचको असमान शक्ति वितरण, सम्पत्तिमाथिको पहुँचमा विद्यमान असमानता र सांस्कृतिक मूल्यमान्यतामा रहेको विभेदका आधारमा पनि बुझ्ने प्रयास गर्नुपर्छ।    कतिपय मैले चिनेका वा आफन्त महिलाहरूले आफूमाथि सधैँ दुर्व्यवहार गर्ने आफ्ना लोग्नेको खुट्टा ढोगेको देखेको छु। आफ्नै श्रीमान प्रति सम्मान र श्रद्धा नहुने महिलालाई पनि 'लोग्नेका खुट्टा ढोग्ने' बाध्यताबाट उन्मुक्ति छैन। अधिकांश परिस्थितिमा महिलालाई आफ्ना श्रीमानको खुट्टा नढोग्ने छुट हुन्न। यो वाध्यतालाई सम्मान भनेर परिभाषित गर्ने प्रवृत्ति गलत छ। माया र सम्मान श्रीमतीले श्रीमानलाई मात्र होइन, श्रीमानले श्रीमतीलाई पनि गर्नुपर्छ। यसको प्रमाण खुट्टा ढोगाइमा खोज्नु मुर्खता हो।   ५. यो हाम्रो परम्परा हो नि !   आजभोलि हिन्दु उच्चजातका खस भनिने समुदायमाथि चौतर्फी आलोचना भइरहँदा यस समुदायका मानिसले आफ्नो परम्परा र पहिचानको बचाउ गर्नु स्वभाविक होला। खुट्टा ढोगाइको प्रसङ्गमा ट्विटरका धरै पढेलेखेका, सचेत र व्यवसायिक रूपमा सफल मानिसले पनि दिल खोलेर यो परम्पराको बचाउ गर्नुको अर्थ सम्भवत पहिचान रक्षाको प्रयत्न होला।   यद्दपि, समाज र संस्कृति तथा यससँग जोडिएको पहिचान बलियो हुने आफूभित्र भएका गलत प्रवृत्तिको ढाकछोप वा बचाउ गरेर होइन, तिनमा सुधार गरेर हो। श्रीमानलाई श्रीमतीको अभिभावक ठान्ने हाम्रो मान्यता र सोच गलत छ र यो सोचले महिला र पुरुषबिचको विभेदलाई समाजमा स्वीकृत गर्न सहयोग गरेको छ। महिला र पुरुषको समान अधिकार र सम्मान हुने समाज मात्र अरूको प्रशंसाको लायक हुन्छ। आज हामीले विकसित र समृद्ध भनेर मानेका मुलुकमा श्रीमान र श्रीमतीबीचको सम्बन्ध हाम्रोजस्तो विभेद र श्रेणीमा आधारित छैन -धेरै हदसम्म समतामूलक छ।   अन्त्यमा,   दुःखको कुरा हाम्रो देशमा शिक्षित र सचेत मानिसहरूमा पनि एकैछिन आफ्नो बुझाइ र मान्यताबाट माथि उठेर कुनै विषयलाई पृथक दृष्टिकोणबाट हेर्ने कुरामा चासो देखिँदैन। आफ्नो मान्यता र परम्परालाई नै महान, आदर्श र पूर्ण ठान्ने र यसको बचाउमा घुँडा धसेर ठसठस कन्दै आलुपाँडे तर्क गर्ने प्रवृत्ति नै बढी छ। महिलाको यथोचित सम्मान र सशक्तीकरण भएको समाज नै उन्नत समाज हो भन्ने मान्यता पढेलेखेका र जान्नेसुन्नेहरूमा पनि छैन।   देशको विकास भएन भनेर रोइकराइ गर्ने, ठूला बाटा, रेलवे र रोपवेको सपना देख्ने अनि आफ्नो समाज वा घरभित्रका विभेद, कुरिती र थिचोमिचोलाई भने 'सही र उचित' भनेर लगौँटी कसेर समर्थन गर्ने प्रवृत्तिलाई म आडम्बर मात्र भन्न सक्छु।   म आफ्नी श्रीमतीलाई खुट्टा ढोगाउने कुराको कल्पना पनि गर्न सक्दिन किनकि म उनको साथी हो। कसैले श्रीमतीलाई खुट्टा ढोगाएर आफू उनको भिभावक वा उनिभन्दा उच्चस्तरको महान मानिस भएको प्रमाणित गर्न चाहान्छ भने मेरो भन्नु केही छैन। सबै मुर्खता कानुनबाट दण्डनीय हुँदैनन् न त मैले समाजलाई राम्रो बनाउने ठेक्का नै लिएको छु।    माथि उल्लिखित सबै तर्क मेरा बुझाइ वा धारणामात्र हुन्।    पोखरेलको ब्लगबाट प्रकाशित मिति: बिहीबार, आश्विन २३, २०७१ १०:२७:२१ http://setopati.com/blog/18460...

cybernepali · Oct 9, 2014 8:07 AM · 1,612 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all