आज घरमा कुरा गर्दै थिए, मेरी बुढि हुनुभएकी आमाले आँखाभरी आँशु लिएर बाबु यो पाली दशैँमा पनि आउदैनस है, भनेर भन्नु भयो, म केहि बोल्न सकिन, मेरो घाँटी एक्कासी सुके जस्तो भो, के बोलुम के नबोलुम, वाक्य नै फुटेन, त्यसै त कान कम सुन्न थाल्नु भएकी आमालाई बिस्तारै बोलेर सुन्नु हुन्न आजभोली, म यसै नाजवाफ भए। परदेशी भईएछ, भविष्य सुनौलो बनाउने भनेर बर्तमानमा हास्न भुलिसकियो, न त आफु दिल खोलेर हास्न सकिन्छ, न त उता नेपालमा कोहि हाँस्न सकेका छन झै लाग्छ। पैसा ठुलो कुरा हैन, ठाम ठुलो कुरा हैन, आफ्नो खुसी ठुलो हो भन्ने था’ह छ, यि कुरा सुन्दा रक्सी चुरोटले हानी गर्ने था’ह हुदाँ हुदैँ पनि रक्सि चुरोटको अम्मलको दलदलमा फसेकाहरुको याद आउँछ। घरि घरि त सोच्न बाध्य हुन्छु, म यहाँ कस्को खुसीको लागी छु, यि कुईरेले खाएका धोतीहरुका जुठाँ भाडाँ कस्का खुसीका लागी धस्काईरहेको छु? न त म यहाँ खुसी छु, न त नेपालमा परिवार खुसी छ, मैले कस्का र केका लागी यो गरिरहेको छु था’ह पाउन सकिरहेको छैन, धेरै सोच्न थालेमा पागल हुन्छु झै लाग्छ, चिसो बियरले पोलेको मनलाई सितल बनाउन थाल्छु। यसै बस्दा सोच्न थाले, दशैमा बुढा भएका आमा बाउको हातले सँस्कृतका श्लोकहरु जानी नजानी हात कमाउदै मेरो निधार नरङ्गाएको कति भयो भनेर गन्न थालेको, एउटा हातका औलाँ पनि कम भईसक्या रै’छन, दुई हातका औँलाहरुले भ्याई नभ्याई बर्षहरु गनिने भईसक्या रै’छ, छोरो भएर रुन हुन्न भनेर के भन्नु, यो दुःखी मन बिझाउन थाल्छ, आँखा त्यसै टल्पलाउछन। दशै आउने बेला घरघरमा पिङ्ग बनाउन बाबियो उठाउदै हिड्या याद आउँछ, तल फेदीमा बुवाले लगाउने रङ्गको स्वीटर देखेर बुवा आउनु भयो भन्दै दुकुर्दै बत्तिदै बुवालाई भेट्टाउन पुगेको याद आउँछ, ति बालापनका यादहरु न त चिसो बियरले मेटाउछ, न नै चुरोटको तातो धुवाँले जलाएर, तुवाँलो लगाएर हराउन सक्छ, मन यसै यसै सुन्य हुन्छ। बुवा काकाहरु भएर नयाँ कपडा किन्नको लागी हामी भुराभुरीको खुट्टा र जिउ कति बित्ताका भए नापेको याद आयो यो लेख्दा लेख्दै, भोली पल्ट नयाँ कपडाहरु बोकेर बुवा आउनु भएको बढेमानको सिङ्ग भएको च्याङ्ग्रा बोकेर काका आउनु भएको याद झल्झली आँखामा नाच्न थाली सक्या छ। कहिले काँहि त मेरै भिषा किन लाग्नु पर्थ्यो जस्तो लाग्छ, यहाँ आएर कागजको लागी बेलिएका पापड सम्झिदाँ जन्मभुमीलाई गरिएको गद्दारी सम्झिदाँ यो दशैमा परिवारको यादले सताएर रुन पर्या जन्मभुमीमाथी गरिएको गद्दारीको सजाय त हैन भनेर घरी घरी सोच्न बाध्य हुन्छु। हर पाईलामा कुईरे र कालाहरु हेर्ने भेदभावरुपी नजर सम्झिदाँ, दुःख पाईस मङ्गले आफ्नै ढङ्गले भन्ने कुरा दिमागमा आँउछ। न खुसीमा रमाउने परिवार छ, न दुःखमा नआत्ति बाबु भनेर भन्ने आफन्त छन, जिन्दगी पुरै एकलकाटे पाराको छ, यस्तो ठाममा बसेर के नै पाईएको छ र जस्तो लाग्छ। यसो मन बुझाउन सोसियल मिडियामा गयो, देशमा गतिला भनिएका मान्छेहरुले यस्तरी हेप्छन धुरुधुरु रुन मन लाग्छ, शरणार्थीहरु, धोतीका भाँडा माझ्नेहरु भनेर हेलत्व गरेर गाली गर्छन, त्यहाँ जति नै हाँसेर उडाए पनि ति भनाईले मनलाई भित्र भित्र उजाड बनाएको हुन्छ, रुन मन लाग्छ, हुन त नचिनेकाहरुले भनेर के नै हुन्छ भनेर मन बुझाउन खोज्छु, त्यहि त आफ्नै नेपाली दाजुभाईले छोडेका बचन रुपीवाणहरुले आँखा छेडेर मुटु र मस्तिष्क घाईते बनाउछन। यो पलायनवादी परदेशिलाई केहि गरे पनि सुख छैन, झुक्कीएर हाँसेको देखे भने रुवाउन खोज्नेहरुको ताँती लाग्छ, अनि म फिक्का हाँसो देखाउदै ड्वाँ ड्वाँ रुन्छु, त्यतिले मन नमानेमा चिसो बियरले अर्धबेहोस बनाउछु, अनि मुडो ढले झै लिभिङ्ग रुममा टीभि खुल्लै छोडेर ढल्छु। हो परेदेशीलाई दशै नि यहि लिभीङ्ग रुम, त्यार नि यहि लिभीङ्ग रुम !! यो कथा पाठकलाई धुरु धुरु रुवाउने उद्धेश्यले लेखिएको हो, यो पढ्दा पनि हजुर रुनु भएन भने हजुरलाई ढुङ्गाको मुटु भएको अमानविय प्राणि भनेर आरोप लगाउन लेखक बाध्य हुनेछ। कृपया कथाले रुवाएन भने पनि प्याजको राग आँखामा छरेर भए नि रोईदिनु होला, लेखकको प्रयासलाई सम्मान गरिदिनु होला। धन्यवाद !! http://nutbyad.tumblr.com/post...
aaitey · Sep 25, 2014 9:49 AM · 10,869 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion