Nepali Banker Lady to participate in Asiad marathon in Korea

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://setopati.com/khel/17927... इन्चोन एशियाडको म्याराथनमा नेपालको आशा– स्वरुपा खड्कादक्षिण कोरियाको इन्चोनमा जारी एशियाली खेलकुदमा सहभागी नेपाली खेलाडीमा केहीलाई छोड्ने हो भने प्रायको एउटै लक्ष्य छ, व्यक्तिगत प्रदर्शनमा सुधार ल्याउनु। सीमित स्रोत र साधनबाट गुज्रँदै आएका हाम्रा खेलाडीले एशियाली खेलकुदको महाकुम्भमा त्योभन्दा ठूलो लक्ष्य बनाउन पनि सक्दैनन्। एशियाडमा अनुभव हासिल गर्दै त्यसको सदुपयोग दक्षिण एशियली खेलकुद सागमा गर्ने भनाइ खेलाडीको हुन्छ। कोरिया भ्रमणमा रहेका २ सयभन्दा बढी नेपाली खेलाडीबीच एउटी यस्ती खेलाडी पनि छिन्, जसको लक्ष्य व्यक्तिगत प्रदर्शनमा सुधार ल्याउनु त छ नै, विश्वभर छरिएका नेपालीलाई सम्भावनाको सन्देश पनि दिनु छ। दोहोरो लक्ष्यसहित कोरिया भ्रमण गर्ने खेलाडी हुन्– धाविका स्वरुपा खड्का।खेलकुदका लागि नौलो नाम हो स्वरुपा। स्वरुपाका लागि पनि नेपाली खेलकुद नौलो क्षेत्र हो। अहिलेसम्म उनले नेपालमा न त कुनै प्रशिक्षण गरेकी छिन्, न राष्ट्रिय प्रतियोगितामा नै भाग लिएकी छिन्। हजारौँ खेलाडीको सपना बनेको एशियाडमा सोझै मुलुकको प्रतिनिधित्व गर्ने अवसर उनलाई परदेशबाटै मिलेको हो। ३७ वर्षअघि काठमाडौको चाबहिलमा जन्मिएकी स्वरुपा पछिल्लो १७ वर्षदेखि अमेरिकामा बस्दै आएकी छिन्। नेपालमा रहँदा सेन्ट मेरिज स्कुलको आन्तरिक प्रतिस्पर्धाबाहेक अरु अनुभव उनीसँग छैन। प्रवेशिका परीक्षापछि उच्चशिक्षा हासिलका लागि परिवारसहित उनी अमेरिका आएकी हुन्।व्यवस्थापनमा उच्च शिक्षा हाशिल गरेकी स्वरुपा न्युयोर्कमा फाइनान्स कम्पनीमा कार्यरत छिन्। जागिरे जीवन शुरु भएपछि नै उनको खेलकुदसँग साइनो गाँसिएको हो। त्यो पनि कठिन विधा म्याराथन उनको रोजाइमा पर्‍यो। कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलौँला, पदक जितौँला भन्ने उद्देश्यले उनी खेलकुदमा लागेकी होइनन्। ‘नेपालमा स्कूल पढ्दा मैले धेरै दौडिएको भनेकै चार सय मिटर हो, अमेरिकामा जागिर खान थालेपछि फिजिकल फिट्नेसको महशुश भयो, मलाई जिम मन पर्दैनथ्यो। अफिसमा पनि च्यारिटी दौड हुने भयो, अनि शुरुमा ५ किलोमिटर दौडिएँ,’ उनी खेलकुदमा लाग्दाको स्मरण सुनाउँछिन्। कामको थकान मेट्न न्युयोर्कका पार्कमा दौडिँदै गर्दा सन् २००६ मा फिलाडेल्फिया म्याराथनमा उनी सहभागि भइन्। सामाजिक कार्यको फन्ट रेजिङका लागि भएको सो म्याराथन उनले तीन घण्टा पाँच मिनेट चार सेकेण्डमा पूरा गरिन्। २९ बर्षको उमेरमा पहिलो पटक म्याराथनमा भाग लिएकी स्वरुपालाई त्यसपछि भने झनै ऊर्जा थपियो। त्यसपछि सन् २०१० मा डिसी म्याराथनमा उनी सहभागि भइन्।म्याराथनमा भाग लिन थालेपछि उनको गुरु इन्टरनेट बन्यो। म्याराथनका लागि कसरी प्रशिक्षण गर्ने, के खाने के नखाने सबै कुरा उनले त्यहीँबाट पाउँथिन्। ‘अफिसमा १०–१२ घण्टा काम गरे पछि म सेन्ट्रल पार्कमा दौड्न जान्थेँ। विदाको दिन पनि म त्यही हुन्थेँ। अरु साथीहरु फुर्सदको समय टिभी हेर्ने, घुम्न जाने, भेटघाट गर्थे, म भने दौडिएकै हुन्थेँ। कतिपय अवस्थामा साथीहरुले यसलाई दौडिएपछि कोहि चाहिँदैन भनेर ब्यंग्य पनि गर्ने तर पनि म दौडिन छाडिन। इन्टरनेटमा हेरको कुरा आफैँ ब्यवहारमा लागू गर्थेँ,’ उनले भनिन्। यसै क्रममा मरिन कोर्प म्याराथन उनका लागि झनै विषेश बन्यो कारण सो म्याराथन बोस्टन म्याराथनका लागि छनोटको आधार पनि थियो। बोस्टन म्याराथनका लागि छनोट भएपछि उनी नाइकी कम्पनीको न्युयोर्क सिटी रन क्लबमा आवद्ध हुन पुगिन्। न्युयोर्कको सेन्ट्रल पार्कमा एक्लै दौड्ने स्वरुपालाई सो क्लबको आवद्धताको फाइदा भनेको समूहमा प्रशिक्षण गर्न पाउनु थियो। सन् २०११ मा न्युयोर्क सिटी म्याराथन पूरा गरेकी स्वरुपा २०१३ मा बोस्टन म्याराथनमा सहभागी भएरै छाडिन्। बोस्टन म्याराथनको सोही संस्करणमा विस्फोट भएको थियो। बोस्टनपछि स्वरुपाको यात्रा सिकागोमा पुग्यो। अन्ततः सोही बैँक अफ अमेरिका सिकागो म्याराथन अहिले नेपाली झण्डा बोकेर कोरिया यात्रा तय गर्ने आधार बन्यो। कारण उनले सिकागो म्याराथनमा निकालेको समय नेपाली महिला म्याराथनको कीर्तिमान बन्यो। सिकागो म्याराथन स्वरुपाले दुई घण्टा ५७ मिनेट १० सेकेण्डमा पुरा गरेकी थिइन्। त्यसअघि निर्मला भारतीको नाममा दुई घण्टा ५९ मिनेटको राष्ट्रिय कीर्तिमान थियो। निर्मलाले सन् २००६ मा जर्मनीको बर्लिन म्याराथनमा राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन्।सिकागो म्याराथन पुरा गरे पनि त्यो ‘टाइमिङ’ नेपाली महिला म्याराथनको राष्ट्रिय कीर्तिमान हो भन्ने न त स्वरुपालाई थाहा थियो, न त त्यस बारे नेपाल एम्योचर एथलेटिक्स संघ लाई नै। सामाजिक सञ्जालले यी दुई निकाय बीचमा भेट गराउने काम ग¥यो। ‘म अमेरिकामा हुने विभिन्न म्याराथनमा भाग लिने कुरा नेपाली समाजलाई थाहा थियो। बोस्टनमा विस्फोट भए पछि म पनि त्यहाँ दौडिएको मेरो अवस्था के छ भनेर खोजी भएछ, पछि सिकागोमा मैले निकालेको समय नेपाली राष्ट्रिय कीर्तिमान हो भन्ने पनि सामाजिक सञ्जालबाटै थाहा पाएँ,’ उनले भनिन्। सिकागोमा दौडिए पछि स्वरुपा नेपाल गएकी थिइन्। साथीहरुकै सल्लाहमा उनी नेपाली एथलेटिक्स पदाधिकारी र प्रशिक्षकलाई भेट्न दशरथ रंगशाला गएकी थिइन्। त्यही भेट पछि उनको ‘टाइमिङ’ औपचारिक रुपमा नेपाली महिला म्याराथनको कीर्तिमानमा कायम भएको हो।त्यसो त नेपाल ओलम्पिक कमिटिका अध्यक्ष ध्रुबबहादुर प्रधानको गत बर्ष भएको अमेरिका भ्रमणले पनि स्वरुपाको कोरिया यात्रालाई अझ सजिलो बनायो। युएस नेपाल खेलकुद तथा सांस्कृतिक समितिले आयोजना गरेको कार्यक्रममा स्वरुपासहित नेपाली खेलाडीलाई सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रधानले सम्भावना भएका खेलाडीलाई सोझै अन्तर्राष्ट्रिय स्पर्धामा सहभागि गराउन पहल गर्ने आश्वासन दिएका थिए। ओलम्पिक कमिटिको अध्यक्षको आश्वासन पाएपछि स्वरुपाले आफ्नो सफलताका रेकर्डहरु सहित ओलम्पिक कमिटिमा पत्रचार गरेकी थिइन्। नेपाली खेल निकायले ढिलै भए पनि स्वरुपाका लागि सपनामा पनि न सोचेको अवसर जुराइदियो। ‘मैले आफ्नो रेकर्डहरु त पठाएँ तर एशियाडमा भाग लिन पाउने हो होइन भन्ने अन्यौल धेरै समय रह्यो। कहिले नेपालमा नै गएर छनौट खेल्नुपर्छ भनियो, कहिले पर्दैन सोझै खेल्न पाउने भनियो। छनोट नै खेल्ने भए त्यो कहिले हुन्छ भन्ने समय पनि बताइएन, यहाँको जागिर नै छोडेर नेपालमा गएर प्रशिक्षण गर्ने सम्भावना पनि थिएन, तर जे भयो राम्रै भयो। अलि चाँडै नै खबर पाएको भए अझ राम्रो तयारी गर्ने थिएँ।’अब कोरियामा आफ्नो व्यक्तिगत समय सुधार गर्ने उनको पहिलो लक्ष्य रहनेछ। त्यसका साथसाथै परदेशमा रहेका नेपाली मूलका खेलाडीलाई सकारात्मक सन्देश दिने पनि उनको अर्को ठूलो लक्ष्य हो। ‘कोरिया यात्रा बारे समयमा नै टुंगो लागेको भए योजनावद्ध रुपमा नै तयारी गर्ने सोचमा थिएँ, प्रशिक्षक नै राख्ने योजना पनि बनाएको थिएँ, तर के हो के हो भन्ने भयो, तर पनि पछिल्लो तीन महिना देखि सिटी कोर्स भन्ने ग्रुपसँगै प्रशिक्षण गरेको छु। त्यस कारण सकेको राम्रो गछुर्, अर्कोतर्फ अमेरिकामा बसेको लामो समय भयो, मजस्तै विदेशमा रहेर पनि खेलकुदमा लाग्ने थुप्रै छन्। म उनीहरुको प्रतिनिधित्व गर्दैछु, मेरो यात्राले भोलि उनीहरुलाई पनि बाटो देखाउने छ।’ बदलिँदो परिवेशसँगै विभिन्न कारणले नेपालबाहिर रहेका खेलाडीलाई पनि आफ्नो मुलुकको राष्ट्रिय झण्डा बोकेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउनुपर्ने तर्क स्वरुपाको छ। ‘विश्वका कयौँ देशमा यस्तो प्रयोग भएको छ, अन्य समय जो जहाँ भए पनि मुलुकलाइ चाहिएको बेला पसिना बगाउनु पर्छ भन्ने हो, त्यो हाम्रो देशमा राम्रोसँग लागू हुन सकेको छैन।’ नेपालमा जन्मिएर विदेशिएका हुन् वा विदेशमा जन्मिएका हुन्, नेपाली मूलका खेलाडीलाई आफ्नो सहभागिताले प्रोत्साहन र बाटो प्रसस्त गर्ने स्वरुपाको दाबी छ।हाल आफ्नै खर्चमा कोरिया यात्रा तय गरेकी स्वरुपा भन्छिन्, ‘अबको युगमा सदैव नेपालमा नै बसेर प्रशिक्षण गर्नु पर्छ भन्ने छैन, जो जहाँ रहे पनि नेपाललाई चाहिएको बेलामा खेल्न पर्छ भन्ने हो।’ बुधबार अमेरिकाबाट दक्षिण कोरिया प्रस्थान गरेकी स्वरुपाले अक्टोवर दुई तारिखमा प्रतिस्पर्धा गर्ने छिन्। एशियाडको इतिहासमा नेपालबाट महिला म्याराथनमा भाग लिने स्वरुपा पहिलो खेलाडी हुन्। एशियाडपछि पनि उनले आफ्नो खेल यात्रालाई निरन्तरता दिने बताएकी छिन्। ‘अमेरिकामा हुने म्याराथनमा त भाग लिन्छु नै, अब एक पटक लण्डन म्याराथनमा दौड्ने योजना बनाएको छु। त्यो भन्दा पनि काठमाडौँमा हुने म्याराथनमा भाग लिने ठूलो धोको छ।’प्रकाशित मिति: बुधबार, आश्विन ८, २०७१ १३:४९:१३

cybernepali · Sep 24, 2014 7:51 AM · 1,331 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all