मधेसीले विखण्डन चाहेका छैनन् लालबाबु यादव, राजनीतिशास्त्री - रौतहट स्थायी घर भएका लालबाबु यादव त्रिभुवन विश्वविद्यालयअन्तर्गतको राजनीतिशास्त्र विभागका सहप्राध्यापक हुन् । सुरक्षा, विदेशनीति र राज्य–पुनर्संरचनासम्बन्धी विषयमा अध्ययन–अनुसन्धान गर्दैै आएका उनले नयाँ पत्रिकासँगको कुराकानीमा मधेस राजनीतिको चिरफार यसरी गरेका छन् : नेपाली राजनीतिमा मधेस ठूलो चासोको विषय बन्न पुगेको छ । वेला–वेलाका मधेसबाट विखण्डनको कुरा उठ्ने गरेकाले मधेसलाई सन्दिग्ध रूपमा हेर्ने पनि गरिन्छ । तर, मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने कुरा मधेसी समुदायले अहिलेसम्म गरेको छैन । केही व्यक्तिले मनोगत आकांक्षाबाट प्रेरित भएर यदाकदा यस्तो बताउने गरे पनि मधेसका जनताले विखण्डन चाहेका छैनन् । सिके राउतले मधेस टुक्रयाउने अभियान सुरु गरेपछि उनलाई पक्राउ गरिएको छ । मधेसलाई अलग राष्ट्र बनाउने उनको व्यक्तिगत आकांक्षा होला । समग्र मधेसी जनताको चाहना उनको आकांक्षामा प्रतिबिम्बित भएको छैन । यदि उनले जस्तै मधेसका मानिसले पनि नेपालबाट अलग हुने आकांक्षा राखेको भए उनी पक्राउ पर्नासाथ मधेसमा ठूलै उथलपुथल भइसक्ने थियो । तर, राउतले मधेस र मधेसीको सेन्टिमेन्टलाई बुझ्न सकेनन्, जसकारण उनी एक्लिन पुगेका छन् । ००० मधेसबारे टिप्पणी गर्नुअघि मधेस भनेको के हो र मधेसी को हुन् भन्नेमा प्रस्ट हुन जरुरी छ । अहिले चर्चामा रहेको मधेसको परिभाषासँग म सहमत छैन । सदीयौँदेखि मधेसमा बसेर त्यहाँको हावापानी र माटोसँग भिजेका पहाडका मानिसलाई पहाडे भनिँदै छ । नेपालको संविधानले पनि गलत ढंगले व्याख्या गरेर जनतामाझ फुट ल्याउने काम गरेको छ । मधेसमा बस्दै आएका सबै मानिस मधेसी हुन् । मधेसमै जन्मेहुर्केको र मधेसी समुदायबारे विभिन्न अध्ययन–अनुसन्धान गरेकाले मैले मधेसी मनोविज्ञानलाई गहिरोसँग बुझ्ने मौका पाएको छु । मधेसमा कहिलेकाहीँ क्षणिक उत्तेजना र भावुकता सिर्जना हुने नगरेको होइन । तर, सहिष्णुताको हाम्रो लामो परम्परा बिथोलिने स्केलमा तिक्तता उत्पन्न भएको छैन । नेपालको गौरवशाली इतिहास छ । यो विश्वकै १७औँ पुरानो देश हो । नेपाल अमेरिकाभन्दा आठ वर्ष जेठो हो, भारतभन्दा त धेरै गुणा जेठो हो । यदि लामो ऐतिहासिक प्रक्रियाले नेपाली भूगोलमा एकखालको साझा मनोविज्ञान विकसित गराएको छ । यो मनोविज्ञानले नेपालका सबै समुदायलाई एकअर्कासँग बाँधेको छ । ००० मैले आदर्शका कुरा गरिरहेको छैन । मिहिन अवलोकन, अध्ययन–अनुसन्धान र मधेसी जनतासँगको अन्तरक्रियाका आधारमा म यो सब भनिरहेको छु । दोस्रो जनआन्दोलनपछि मधेसमा चलेको आन्दोलनको लहरका कारण त्यहाँ एक किसिमको उत्तेजना छाएको थियो । संविधानसभाको पहिलो निर्वाचनपछि म एउटा कार्यक्रमलाई सम्बोधन गर्न जनकपुर पुगेको थिएँ । त्यहाँ मलाई मधेसी पार्टीका नेता–कार्यकर्ताले मैथिलीमा सम्बोधन गर्न भने । मैले मानिनँ । उनीहरूले कर गरे । मैले प्रस्टसँग भनेँ, ‘म मातृभाषामा बोल्छु, या त राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय भाषामा । मैथिली मेरो मातृभाषा होइन । मेरो मातृभाषा बजिका हो । बजिकामा बोलेँ भने तपाईंहरू कसैले बुझ्नुहुन्न । त्यही भएर म नेपालीमा बोल्छु ।’मैले यसो भन्नासाथ ठूलै विरोध भयो ।केही वर्षपछि म त्यही ठाउँमा फेरि गएँ, अर्कै कार्यक्रमलाई सम्बोधन गर्न । त्यतिवेला जनकपुर अर्कै भइसकेको रहेछ । मैले फेरि नेपालीमा सम्बोधन गर्ने मनसाय बनाएँ र सोधेँ, ‘म नेपालीमा आफ्नो कुरा राख्छु, हुन्छ ?’सबैले भने, ‘राष्ट्रिय भाषामा कुरा राख्न पनि सोधिरहनुपर्छ ? मजासँग आफ्नो कुरा राख्नुहोस्, हामी सुन्छौँ ।’ मैले ४० मिनेट बोल्ने तय भए पनि करिब डेढ घन्टा बोलँेछु । पहिलो संविधानसभाताकाको उत्तेजना र पहाडविरोधी मानसिकता त्यसबखत थिएन । विभिन्न समयमा भारत भ्रमण गर्दा मैले ‘मेरा युपी महान्’, ‘मेरा बिहार महान्’ लेखिएको कतै नदेखेको भाषणका क्रममा बताएको थिएँ । मेरो कुरालाई धेरैले रुचाएका थिए । नेपाली अर्थतन्त्रले धान्न सक्दैन भने नेताहरूको मात्रै स्वार्थ पूरा गर्ने संघीयता किन चाहियो भन्ने कुरा पनि प्रबल रूपमा उठेको थियो । ००० म यादव हुँ । तर, म आफूलाई नेपाली यादव भनेर चिनाउने गर्छु । किनकि, यादव भारतमा पनि हुन्छन् । मुलायमसिंह र लालुप्रसाद पनि यादव नै हुन् । तेस्रो देशमा गएर मैले ‘म यादव हुँ’ भनेँ भने लालुप्रसाद र मुलायम सिंहभन्दा मेरो पहिचान फरक हुँदैन । मैले आफूलाई नेपाली यादव बताएँ भने मात्रै नेपाली माटो र मेरो आफ्नो समुदायसँग जोडिएको मेरो पहिचान खुल्छ । एकपटक काठमाडौंको एउटा कार्यक्रममा जातीयतासम्बन्धी चर्को बहस चलेको थियो । त्यसमा मैले पनि बोल्नुपर्ने थियो । बोल्ने पालो आएपछि मैले माक्र्स र ब्रुनोबीचको एउटा प्रसंग उठाएँ । माक्र्स र ब्रुनो दुवै जर्मनीका यहुदी थिए । माक्र्स आफूलाई जर्मन मान्ने गर्थे । ब्रुनोचाहिँ आफूलाई यहुदी भनी चिनाउने गर्थे । ब्रुनोसँग एकदिन माक्र्सले भने, ‘तिमी आफूलाई यहुदी भन्छौ भने जर्मनीका मानिसले मलाई जर्मन मानेनन् भनेर किन मन दु:खाउँछौ ?’जवाफमा ब्रुनोले भने, ‘म यहुदी जर्मन हुँ ।’ ‘तिमीले जर्मन पहिचानलाई आफैं दोस्रो प्राथमिकतामा राखेका छौ । यस्तोमा जर्मनका मानिसले तिमीलाई दोस्रो दर्जाको नागरिक सम्झिँदा तिमीलाई केको टाउको दुखाइ ?’ माक्र्सको कुराबाट ब्रुनो कन्भिन्स भए र आफूलाई जर्मन यहुदी बताउन थाले । त्यस्तै म पनि आफूलाई नेपाली यादव भन्न रुचाउँछु । भाषणका क्रममा मैले यस्तो बताउँदा नेवार समुदायका एक कहलिएका नेता प्रभावित हुनुभएछ । उहाँले भन्नुभयो, ‘यादवजी, आजदेखि मैले आफूलाई नेपाली नेवार भनी चिनाउने भएँ । अब तपाईंले यस्ता कुरा गरेर ललितपुर, भक्तपुर र काठमाडौंका सबै नेवारलाई नेपाली बनाइदिनुपर्यो ।’ ००० भारतसँगको मधेसीको सम्बन्धलाई सधैँ सन्दिग्ध रूपमा हेर्ने गरिएको छ । नेपालमा उनीहरूलाई भारतीय भनिन्छ । जनगणना गर्दा मधेसका जनतालाई भारतीय मूलको भनिन्छ । तर, मधेसी जनतालाई आफूहरूलाई भारतसँग जोडेको मन पर्दैन । यदि उनीहरू भारतप्रति लोयल हुन्थे भने भारतीय भन्दा उनीहरूको चित्त किन दुख्थ्यो ? भारतले उल्टो नेपालका समुदायमध्ये सबैभन्दा बढी दु:ख मधेसी समुदायलाई दिएको छ । सीमामा रहेका मधेसीहरूकै जमिन अतिक्रमणमा पर्ने गर्छ जहाँ भारतीय कृषकले रजाइँ गर्ने गर्छन् । अनाधिकृत रूपमा भारतले बाँधेका बाँधबाट डुबानमा पर्ने जमिन मधेसी कृषककै हुन्छ । भारतीय सीमाबाट आश्रय लिने सशस्त्र समूहले चन्दा असुल्ने पनि मधेसीहरूसँगै हो । त्यस्ता झुन्डले दुव्र्यवहार गर्ने भनेको मधेसका छोरीचेलीसँगै हो । पारिपट्टिबाट केही सामान किनेर ल्याउँदा अनेक बखेडा झिकेर सीमामा खटिने भारतीय सुरक्षाकर्मीले घुँडा फुस्किने गरी कुटेका अधिकांश नेपाली मधेसी छन् । भारतको यत्रो थिचोमिचो सहनुपरेका उनीहरू आशाको नजरले काठमाडौंलाई हेर्छन् ।००० मधेसी जनताले नेपालबाट अलग हुन खोजेका छैनन् । उनीहरूले पहिचान र स्वाभिमान खोजेका छन् । खासगरी काठमाडौंमा मधेसीले स्वामिभान गिरेको महसुस गर्ने गरेका छन् । मधेसको मनलाई काठमाडौंबाहेक नेपालका अन्य स्थानले कुँडाएको छैन । काठमाडौंको रैथाने समुदायले मधेसीलाई हेप्ने गर्छ । उनीहरूलाई मस्र्या, भैया, खाली सिसी भन्ने गर्छन् । मधेस आन्दोलनमा चर्कोसँग लागेका मेरा केही विद्यार्थी छन् । म उनीहरूलाई सोध्ने गर्छु, ‘तिमीहरूले किन साँघुरो सोच बनाएको ? संसार ग्लोबल बन्दै गएका वेला उल्टो बाटोमा किन लागेको ?’ यसरी मधेस आन्दोलनमा लागेर चर्का कुरा गर्नेहरू कुनै न कुनै समय काठमाडौं बसेमा हुन्छन् । र, काठमाडौं बस्दा उनीहरूले ठूलो अपमान भोगेका हुन्छन् । दिनभरि सामान बेचेर फर्किएका फलफूल तथा तरकारी व्यापारीको पैसा र ढक–तराजु लुटिएका घटना प्रशस्त छन् । मधेसीलाई सबैले हप्की–दप्की गर्न खोज्छन् । हेपेर ‘तँ’ भन्छन् । राज्यले पनि उनीहरूलाई भारतीय मूलको भनेर अपमान गर्छ । काठमाडौंको यस्तो व्यवहारका कारण कतिपय मधेसी युवक फ्रस्ट्रेड भएर गलत बाटोतिर उन्मुख भएका छन् । यसलाई रोक्न खासगरी काठमाडौंमा सुधार ल्याउन आवश्यक छ । यस्तो हुन नदिन मैले काठमाडौंका केही रैथाने नेताहरूसँग सचेतना र्याली निकाल्न अनुरोध गरेको छु । ‘मधेसीलाई मस्र्या, भैया, भारतीय नभनौँ, नहेपौँ’ भन्ने सचेतना फैलाउँदै गए मधेसमा व्याप्त फ्रस्ट्रेसन हट्दै जान्छ । मधेसी जनतामाझ रहेको यस्तो हेपिएको मनोविज्ञानका कारण पहिलो संविधानसभाको निर्वाचनमा मधेसी दलहरूले निकै राम्रो नतिजा ल्याए । पहिलो संविधानसभा निर्वाचनताका मधेसवादी पार्टीले मधेसी जनताका सवाल चर्को रूपमा उठाएका थिए । तर, दोस्रो संविधानसभाको निर्वाचनमा मधेसी जनताले पुन: राष्ट्रिय पार्टीलाई रोजे । मधेसका एक सय १६ निर्वाचन क्षेत्रमध्ये ५१ क्षेत्रमा कांग्रेस विजयी भयो । एमाले मधेसमा कांग्रेसपछिको दोस्रो ठूलो दल बन्यो । मधेसी जनतामाझ छाएको क्षेत्रीय आवेग शान्त हुँदै गएको र उनीहरू राष्ट्रिय मनोविज्ञानको हिस्सा बन्दै गएको प्रमाण हो, यो । ००० मधेसीमा नेपालबाट अलग हुनुपर्छ भन्ने भावना छैन । ०६३/६४ तिर मैले जनकपुरमा अध्ययन गर्दा मधेसीले स्वतन्त्रता खोजेको पाइनँ । मधेसलाई तीनवटा कुरा चाहिएको छ– पहिचान, साधनस्रोतमा पहुँच र सहभागिता । साधनस्रोतमा पहुँच र सहभागिता क्रमिक रूपमा सुनिश्चित हुँदै जाने कुरा हो । मधेसीलाई नेपाली पहिचान दिने र काठमाडौंमा उनीहरूलाई नहेप्ने माहोल बनाए सबै कुरा सामान्य बन्दै जान्छ । सिके राउतले जसरी मधेसलाई अलग बनाउने कुरा गरे, त्यो मधेसको सामाजिक–सांस्कृतिक तथा ऐतिहासिक दुवै दृष्टिकोणले असम्भव छ । इतिहासमा के भएको थियो भन्ने कुरा कोट्याउनुको अब कुनै तुक छैन । पृथ्वीनारायण शाहले बलपूर्वक हाम्रो राज्य हडपे भन्दै चित्त दुखाउनु भनेको इतिहासको प्रवाह र गतिलाई नबुझ्नु हो । राज्य भनेको सामथ्र्यकै आधारमा निर्माण हुने चिज हो । बल प्रयोगविना दुनियाँमा कुनै राज्य खडा भएको छैन । नेपालमा पनि त्यही सार्वभौम नियम लागू भएको हो । पृथ्वीनारायण शाहले कसलाई के गरे, सुगौली सन्धिमा के भयो, जंगबहादुरले कुन सन्धिअन्तर्गत नयाँ मुलुकलाई नेपालमा गाभे र त्यो सन्धिमा कस्तो त्रुटि थियो भन्ने कुरा केलाउनुको अब कुनै तुक छैन । इतिहासलाई बिर्सिएर समृद्ध भविष्यका निम्ति क्रियाशील हुने वेला हो, यो । नेपालमा कुनै समय यादववंशले शासन गरेको थियो भनेर मैले अहिले राजा बन्ने आकांक्षा राख्न मिल्छ ? मधेसमा दुई–तीन वर्षअघिको कुरा त सबैले बिर्सिन थाले र त्यतिवेला गरेको गल्ती महसुस गर्न थाले भने सयौँ वर्ष पुरानो कुराले मन अमिलो किन बनाउने ? मधेस आन्दोलनताका मधेसमा उग्र पहाडीविरोधी नारा लागेकै हो । त्यतिवेला पहाडी समुदायका मानिसले आफूलाई ज्यादै असुक्षित महसुस गरेका थिए । आन्दोलनलाई केही मानिसले व्यक्तिगत स्वार्थसिद्ध गर्न प्रयोग गरे । छिमेकमा पहाडी समुदायको घर छ भने ती घरमा आक्रमण गराएर सस्तोमा जमिन खरिद गर्ने प्रपञ्च प्रशस्तै रचियो । तर, सिके राउतले चाहेको भन्दा नितान्त भिन्न अवस्था मधेसमा विकसित हुँदै छ । मधेसी आफूलाई बाँकी नेपालसँग अझ गहिरोसँग जोड्न खोज्दै छ । हिजो मधेस आन्दोलनका क्रममा भत्काइएका पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, बिपी कोइरालालगायतको मूर्ति पुनर्निर्माण गर्ने काम धमाधम भइरहेको छ । हिजो मूर्ति भत्काएर गल्ती गरिएछ भन्ने महसुस गरिँदै छ । जनकपुरमा भत्काइएको भानुभक्तको सालिक पुन: बनाइँदै छ । नेपालगन्जमा बिपी चौक, गणेशमानसिंह चोक र पुष्पलाल चौकको नामलाई पुन: कायम गरिएको छ । काठमाडौंमा घर बनाएर यतैका महँगा स्कुलमा छोराछोरीलाई पढाउने र मधेसमा आन्दोलन उठाएर स्वार्थसिद्ध गर्न खोज्नेहरूको खेल अब सम्भव छैन । राजनीति गर्नेहरूले मधेसीलाई सधैं मधेसी बनाइरहन चाहन्छन्, नेपाली बनाउन चाहँदैनन् । मधेसी, दलित, जनजातिलाई नेपाली बन्न दिए भोट बैंक ध्वस्त हुन्छ भन्ने उनीहरूलाई लागेको छ । ००० भारतसँगको खुला सिमानाका कारण भारत र नेपाल दुवैले अनेक समस्या भोग्दै आएका छन् । खुला सीमाका कारण पारिपट्टि आश्रय लिएर नेपाली जनतालाई अनेकन दु:ख दिन सशस्त्र समूहलाई सजिलो भएको छ । खुला सीमाकै कारण नेपाल हुँदै भारतको सुरक्षामा तेस्रो मुलुकले खेल्न खोजेको पनि केही हदसम्म सत्य हो । त्यसैले दुवै देशको भलाइका लागि नेपाल–भारत सीमालाई रे[Disallowed String for - inappropriate]ट गरिनुपर्छ । खुला सीमामार्फत वेला–वेलामा नेपालको साम्प्रदायिक सद्भाव बिथोल्ने हर्कत हुँदै आएको छ । ०६३/६४ तिर रौतहटमा पहाडी र मधेसी समुदायबीच दंगा भड्कियो । पहाडे समुदायका धेरै परिवार भागेर हेटौंडा पुगे । पछि हेटौंडा र बारादेखि मानिस जम्मा गरेर बदला लिन रौतहट पुगे । आफूहरूलाई खेद्ने केहीलाई पक्राउ गरे । तर, यसरी पक्राउ पर्नेमध्ये कोही पनि नेपाली थिएनन् । खुला सीमाकै कारण पारिपट्टिबाट मानिसले नेपाल आएर दोहोरो नागरिकता लिन पाएका छन् । भारतीयहरूले नेपाली नागरिकता लिएका कारण मधेसी जनताले अवसरहरूबाट हात धुनुपरेको छ । मधेसीका लागि छुट्याएका सुविधामा पारिका मानिसले दाइँ गरिरहेका छन् । नेतृत्व तहमा पनि पारिपट्टिकै मानिसले माथि उक्लिने मौका पाउने गरेको गुनासो सुनिन्छ । त्यसैले भारतबाट भएको जानसांख्यिक घुसपैठ रोक्न राज्य क्रियाशील भए हुन्थ्यो भन्ने मधेसी जनताको आकांक्षा छ । एउटा आयोग गठन गरी दोहोरो नागरिकता लिनेहरूको पहिचान गरी उनीहरूलाई कारबाही गरी पारि पठाउनुपर्छ । मसँगको कुराकानीमा धेरै मधेसीहरूले ‘हिन्दुस्तानीहरू आएर हाम्रो भाग खोसिदिए’ भन्ने गुनासो गर्ने गरेका छन् । खुला सीमाका कारण नेपालको समग्र सुरक्षामा गम्भीर असर पर्ने गरेको छ । माओवादीसहित नेपाली राज्यविरुद्ध सशस्त्र द्वन्द्व गर्ने सबैले भारतीय भूमि प्रयोग गर्ने गरेका छन् । त्यस्तै मधेसमा क्रियाशील धेरै सशस्त्र समूहको आश्रयस्थल भारत नै हो । मधेसमा हतियार उठाउने समूहलाई क्रिमिनल, रिबेलियन, इन्सर्जेन्ट र टेरोरिस्ट गरी चार भागमा विभाजन गरी उनीहरूलाई योग्य ट्रिट गरी समाधान गरिनुपर्छ । सुजित मैनाली
_____ · Sep 19, 2014 4:03 PM · 1,838 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion