नेपाली नजान्ने नेपाली हुन सक्छ कि सक्दैन?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली नजान्ने नेपाली हुन सक्छ कि सक्दैन? दीपक रौनियार print  एकादेशमा एउटा केटो थियो। उसको जन्म भदौ महिनाको कुनै मंगलबार भएको थियो। पंडितले उसको नाम 'ह' बाट राख्न सुझाए। 'ह'बाट हरि हुन्थ्यो। तर, मावली हजुरबुवाको नाम पनि हरि नै थियो। हजुरबुवा र नातिको नाम एउटै राख्नु त भएन! हरिको पछाडि नारायण थपिदिउँ, उसका बुवाआमाले जुक्ति निकाले! यसरी उसको नाम हरिनारायण रहन गयो।हरिनारायणका बुवा दुखी साँच्चैकै 'दुखी' नै थिए! ६ महिनाको हुँदै बाउ स्वर्गे भको। आमाले अर्कै बिहे गरेको। ४ कक्षाभन्दा बढी पढ्न नपाएको। आफ्नै भन्ने सडक छेउको ऐलानी जग्गामा फुसको घरबाहेक केही थिएन। छोरो जन्मिएपछि उनी झन् आत्तिए। अवसरको खोजीमा भौँतारिन थाले। उदयपुरको पहाडमा पुगेपछि मात्र उनले सम्भावना भेटे। र, हरिनारायणहरूलाई लिएर पूरै परिवार उतै बसाईं सरे! हरिनारायणलाई यो नयाँ गाउँ साह्रै मन पर्‍यो। ऊ निक्कै खुशी भयो। यहाँ उसको घर दुईतल्ले थियो। सप्तरीको घरभन्दा कता हो कता ठूलो। स्कुल त झनै ठूलो। चिटिक्कको, काठैकाठले बनेको। खेल्ने ठूलो मैदान। कतैबाट गाडी आएर किच्ने डर पनि नभएको। सबैभन्दा गज्जब त के थियो भने, अब उसले स्कुल जाँदा बस्नका लागि जुटको बोरा बोकेर जानु नपर्ने भयो। स्कुलमा काठका रराम्रा डेक्स बेन्चहरू थिए। जब हरिनारायण कपिकिताब बोकेर स्कुल गयो, अनि भने ऊ अल्लमल्ल पर्‍यो। नेपालीका पाठ मैथिलीमा बुझाइदिने उस्का सरहरू त्यहाँ थिएनन। न त उसको भाषा 'बुझ्ने' र ऊसँग खेल्ने सहपाठीहरू नै! हाफटाइममा पनि ऊ धुमधुम्ती बेन्चमै बसिरह्यो। केही बेरपछि, ऊभन्दा पछाडिको बेन्चमा बसेका केही केटा साथीले उसको एक बित्ता लामो टुप्पीमा रूचि देखाए। हरिनारायणले खुशी हुँदै उसकी आमाले उसलाई बाबाधामबाट 'मागेर' ल्याएकाले ठूलो भएर भाकल पूरा गर्न बाबाधाम नजाउन्जेल टुप्पी नकाट्ने कुरो सुनायो। तर पनि उनीहरूले टुप्पी तानीरहे!सहपाठीहरूको चाख टुप्पीको इतिहासमा थिएन, तन्काइमा थियो। त्यस दिनदेखि, उनीहरू हरेक दिन हरिनारायणको पछाडि बस्ने र टुप्पी तान्ने गर्न थाले। हरिनारायणले मैथिली नेपाली मिसाएर धेरैपटक 'भैया, टुप्पी नतान्नुस, दुखै छ' जस्तो केही भन्यो। तर उनीहरू 'भैया' भन्दै झन् हाँसे। दुखाइले ऊ रोयो। तर टुप्पी तान्ने क्रम रोकिएन। सरले पढाएको पनि नबुझिने। सहपाठीहरूको त्यस्तो व्यवहार। हरिनारायणले स्कुल जानै छोडिदियो। यो थाहा पाएर बुवा दुखी सारै रिसाए। आफू पढ्न नपाएकोमा दुखी साह्रै दुखित थिए। उनी छोराछोरीलाई धेरै पढाएर डाक्टर इन्जिनियर बनाउन चाहन्थे। त्यसैले नातागोता छरछिमेक सब छोडेर यो 'पहाड'मा पसिना बगाउन आएका थिए। उनले हरिनारायणलाई आफैं स्कुल पुर्‍याउन गए। सहपाठीहरूले हरिनारायणको बाउलाई पनि देखेपछि भने कुरो झन बिग्रियो! उनीहरूले हरिनारायण 'मदिसे' भएको थाहा पाइहाले! त्यसपछि त झन के थियो र! यदि समयमै ईश्वरा कट्वाल 'उद्दार' गर्न नआएको भए हरिनारायणको जीवन 'हरिबिजोक' नै हुन्थ्यो र हरिनारायणले सुनाउने कथा आज अर्कै हुन्थ्यो। ऊ 'दीपक रौनियार' भनेर चिनिने थिएन। हरिनारायण भन्ने केटो मै हो। तर यो मेरोमात्र कथा भने होइन। हामी ०४२/०४३ सालतिर उदयपुर बसाइँ सरेका हौँ। तर शाह राजाहरूले नेपाली मातृभाषा नभएको समाजलाई त्यसको बर्षौंअघि 'बसाइँ' सारिदिएका थिए। महेन्द्रको पञ्चायतले घोषणा गरेरै, 'एक राष्ट्र, एक भाषा र एक संस्कृति' को नीति जबर्जस्ती लाद्यो। परिणाम, हामी (नेपाली मातृभाषा नभएकाहरू) आफ्नै देशमा 'बिराना' भयौं। बकुल्लाको बथानमा कागजस्तै। हाम्रो भाषा अरूले बुझेनन्। त्यसैले सायद हाम्रो पहिरन र संस्कृतिका बारेमा पनि हामीले नेपाली भाषीहरूलाई 'बुझाउन' सकेनौ। 'भेले'को अर्थ मैथिलीमा, 'भयो?' हो। 'भैया'को अर्थ, 'दाइ।' मधेसमा धेरै गर्मी हुन्छ। त्यसैले यहाँ परम्परादेखि नै धोती र लुँगी लाउने चलन छ। तर यिनै धोती, भेले, भैयाजस्ता भाषा र पहिरनका सामान्य शब्दहरू हामीलाई 'होच्याउने' आम माध्यम बन्दै आएका छन्, बर्षौंदेखि! परिवर्तन नभएको होइन। स्थिति पहिलाभन्दा निक्कै राम्रो भएको छ। तर पनि एकथरि नेपालीको अवचेतन मनमा बसिसकेका ती शब्दहरू, तुरून्तै हटिहाल्नेवाला छैन भन्ने त तपाईंहरूबाट पनि लुकेको छैन। सेतोपाटीको मेरो अघिल्लो लेखमा (तिम्रो नियत सधैँ राष्ट्रवादी र मेरो नियतचाहिँ विखण्डनवादी?http://setopati.com/bichar/166... धेरै प्रतिक्रियाहरू आए। सयौंजना छलफलमा सहभागी हुनुभयो। कत्तिले मेरो लेखमा आधारित रहेर अर्को लेख नै लेख्नु भो। म सार्‍है दंग परेको छु। तपाईंहरूले अरू कुनै उदाहरण दिनै पर्दैन। स्थिति 'पहिलाको जस्तो' छैन भन्ने कुराको यो नै ठूलो उदाहरण हो। मेरो लेखको प्रतिकृयामा बिहारीकृष्ण श्रेष्ठले अंग्रेजी सेतोपाटीमा प्रकाशन गर्नुभएको आलेखमा पनि (Building Hill Madhesh harmony http://setopati.net/opinion/29... स्थिति पहिलाको जस्तो नभएको ठोकुवा गर्नुभएको छ जुन कुरासँग म असहमत छैन। तर भाषा विज्ञानको विद्यार्थी बिहारीजी आफ्नो तर्कलाई पुष्टि गर्ने क्रममा उदाहरण दिँदै भन्नु हुन्छ, 'तीन दशकअघि मधेशतिर जाँदा अलिअलि पनि हिन्दी नजानेकोले दोहोरो संवाद गर्न असम्भव नै हुन्थ्यो। तर अहिले स्थितिमा आकाश जमिनको परिवर्तन आइसकेको छ। कुनै पनि मधेशी गाउँमा सहज रूपमा नेपाली भाषामा दोहोरो संवाद गर्न सकिन्छ।' हामीले खोजेको परिवर्तन यही हो त? नेपाली राम्रो बोल्न सक्ने हुनु नै हो त हामीले खोजेको नयाँ नेपालमा परिवर्तन 'शुद्ध नेपाली' हुनका लागि मजस्तै, अरू धेरै मधेशीले पनि आ-आफ्नो मातृभाषा मैथिली, भोजपुरी, अवधी बिर्सनुपर्ने हो? म सानो छँदै बसाइँ सरेर पहाड पुगेकोले व्यक्तिगतरूपमा मलाई धेरै 'फाइदा' पुग्यो। मेरो भाइबहिनीलाई पनि त्यो 'फाइदा' भयो। घर, स्कुल, सबैतिर जबर्जस्ती नेपाली बोल्नुपरेकोले मेरो नेपाली 'राम्रो' भयो। नेपालीमै पत्रकारिता गर्न सक्ने भएँ। नेपालीमै नाटक र सिनेमा लेख्न सक्ने भएँ। आज नेपालीमै यो लेख पनि लेख्दैछु। तर मेरो मैथिली मर्‍यो। आफ्नै बाउआमासँग पनि मातृभाषामा बोल्न मलाई 'लाज' लाग्ने भयो! अचेल बुवाले पनि जिस्काउन थाल्नुभएको छ। साह्रै ग्लानि हुन्छ सोच्दा पनि! राज्यको दोष देखाएर म आफ्नो कमजोरीबाट भाग्न खोजेको होइन। पक्कै पनि मेरो दोष हो। तर हुर्काइले व्यक्तिको ज्ञानमा निक्कै ठूलो असर पार्दो रहेछ। मेरो बुवा दुई भाइ हुनुहुन्थ्यो। उहाँको दाइ, मेरो बडाबाउको तीन भाइ छोरा छन्। उहाँहरू सप्तरी बदगामाबाट हामीसँग उदयपुर सर्नु भएन। तीनमध्ये पहिलो दुई (सुकिन्दर र लक्ष्मण) भाइले ५/६ कक्षासम्म पनि पढ्न सकेनन्। कान्छोले बल्लबल्ल निक्कै वर्ष लगाएर एसएलसी त पास गर्‍यो। त्योभन्दा माथिको पढाइ गर्न सकेन। उनीहरू अझै पनि नेपालीमा आफूलाई 'व्यक्त' गर्न त परको कुरा राम्रोसँग बोल्न पनि सक्दैनन्। त्यसैपनि बोल्नु र व्यक्त गर्न सक्नु दुई फरक कुरा हुन्। केही दिनअघि सेतोपाटीमा अर्को लेख छापिएको छ, न्याय खोज्दै खालि खुट्टै सर्वोच्च आइपुगेकी देहाती महिला (http://setopati.com/samaj/1706... शोभा शर्माले लेखेको त्यो लेख रौतहटकी फतमा खातुनको बारेमा छ। फतहा न्याय खोज्न काठमाडौं आइन्, तर उनलाई नेपाली भाषा आउँदैन। अहिले पनि १ सय २५ वटाभन्दा बढी मातृभाषा जिउँदो भएको हाम्रो जस्तो देशमा अरू कत्तिको समस्या होला यस्तो? तपाईं आफैं अनुमान लगाउनुस्! स्कुल पढ्न छोड्ने दर हेर्नुस्। नेपाली मातृभाषा भएकाहरू भन्दा, नेपाली मातृभाषा नभएकाहरूको स्कुल छोड्ने प्रतिशत धेरै माथि छ। बिहारीकृष्ण श्रेष्ठले भन्नु भएजस्तो, अवश्य पनि नेपाली बोल्नसक्ने मधेशीको संख्या पहिलाभन्दा धेरै बढेको छ। काठमाडौं, ललितपुर, भक्तपुरका नेवारहरूमा पनि नेपाली बोल्न जान्नेको संख्या बढ्दो होला। तर मेरो मैथिली कमजोर भएजस्तै सुविना श्रेष्ठहरू (सहकर्मी सञ्चारकर्मी) को पनि नेवारी (नेपाल भाषा) कमजोर छ। उनलाई पनि त्यसमा ग्लानि हुँदो हो। त्यही चाहेको हो त हामीले नयाँ नेपालमा? आ-आफ्नो मातृभाषामा पढ्न पाउने वातावरण बनाउनु हाम्रो जिम्मेवारी होइन? आ-आफ्नो मातृभाषामा सरकारी सेवा पाउने वातावरण बनाउनु हाम्रो जिम्मेवारी होइन? नेपाली मातृभाषा भएको बाहुनक्षेत्रीको छोराछोरी र फताह खान जस्तो कसैलाई एउटै जागिरको परीक्षामा राख्यो भने को पास हुन्छ? त्यस्तो वातावरणमा प्रतिस्पर्धा गराउनु अन्याय होइन? राज्यले बर्षौंदेखि गरेको यो भेदभाव होइन? 'महेन्द्रमाला'ले हामीलाई एक अर्काको भाषा, पहिरन र संस्कृतिको सम्मान गर्न सिकाएन भन्ने कुरा अब पनि स्वीकार नगर्ने? ७ बर्षकी ईश्वरा कट्वालले मेरो हविगतको बारेमा आफ्नो बुबालाई नभनिदिएकी भए। उनको बुवाले बिष्ट सरलाई नझपारेको भए। बिष्ट सरले ती केटाहरूलाई सबैको अगाडि मारसँग नकुटेको भए। इश्वरासहितका सहपाठीहरूले नेपाली बुझ्न र बोल्नका लागि मलाई मद्दत नगेको भए। मेरो कथा आज बेग्लै हुने थियो! स्कुल र देशको लागि त म फेल हुने कयौंमध्यको एक मात्र हुने थिएँ। तर मेरो बाउआमाको लागि सर्वस्व! मेरो आफ्नै भविष्यको कुरा त गर्नै परेन। विगतका गल्ती सच्याउने संविधानसभा हाम्रो लागि एउटा अवसर हो। र, यतिखेर इश्वराहरूको खाँचो छ। 'बिष्ट सर'को कानसम्म 'आवाज' पुर्याउनु अहिलेको आवश्यकता हो। नेपालको शासन प्रणाली संघीय हुनेमा अब कुनै दुविधा भएन। तर कस्तो संघीयता भन्नेमा अझै पनि विवाद छ। कतिवटा संघ भन्नेमा पनि अझै विवाद छ। मधेशी जनजातिहरूले मागिरहेको पहिचानसहितको संघियता अरू केहीले बुझाउन खोजेजस्तो 'जातीय संघीयता' होइन। यसबारे धेरै बहस भइसकेको छ। म संघीयताको विशेषज्ञ पनि होइन। त्यसैले आजको यो मेरो लेख भाषाको कुरामा केन्द्रित गर्न चाहन्छु। हुन त भाषाकै बारेमा पनि भाषा विज्ञहरूले समेत थुप्रै आलेखहरू लेखिसक्नुभएको छ। हाम्रै संविधानको प्रावधानमा पनि ०४६ मा प्रजातन्त्रको पुनर्बहालीपछि धेरै सुखद परिवर्तनहरू आइसकेको छ। मातृभाषामै शिक्षाको अधिकार पनि व्यवस्था गरिएको छ। विद्वान सभासदहरूले प्रदेशहरूमा कस्तो भाषा नीति लगाउने भन्नेबारे पनि छलफल गरिरहुनु भएको होला। तर मैले पढ्न छुटाएँ कि थाहा छैन, नेपाली भाषाको एकाधिकार तोड्ने कुरा चाहिँ मैले कहिँ कतै पढेजस्तो लाग्दैन। मेरो विचारमा, हाम्रो जस्तै बहुभाषिक मुलुक छिमेकी भारतको संविधानमा जस्तै, कम्तीमा अर्को एउटा थप भाषालाई पनि संघीय सरकारको कामकाजी भाषाको रूपमा मान्यता दिन सक्यो भने, नेपाली बोल्ने मात्र 'नेपाली' हुन भन्ने मिथ्यावोध कम गर्न मद्दत गर्न सक्छ। केही समययता, सामाजिक संजालका भित्ताहरूमा 'म नेपालको नाम परिवर्तनको पक्षमा छु' भन्ने अभियान देखिएको छ। म नाम परिवर्तनका पक्षधरहरूले गरिरहेको 'नेपाली एउटा जातीय पहिचान हो, राष्ट्रियता होइन' तर्कसँग सहमत छैन। तर यस्तो 'भ्रम' किन परेको छ भन्ने बुझ्न पनि हामीले जरूरी छ। बर्षौंदेखि राष्ट्रिय भाषा (नेपाली) र राष्ट्रियता (नेपाली) लाई राज्य, पत्रपत्रिका र एकथरि नेपालीहरूले मिसाएर बुझ्नु र बुझाउँदै आउनु एउटा प्रमुख कारण हो धेरैलाई नेपाली राष्ट्रियताले सबैलाई साँचो अर्थमा बोकेको छैन भन्ने लागेको। राज्यले एउटा भाषामा मात्र जोड दिएर जुन किसिमको भेदभावहरू सिर्जना गर्‍यो, त्यसले त्यस्तो अनुभव गराएको। नयाँ संविधानमा देशको नामै परिवर्तन गरिनुपर्छ भन्ने तर्क नेपाल सद्भावना पार्टीकी सरिता गिरीले संविधानसभाको पहिलो श्रृङ्खलामै उठाएकी रहिछिन् भन्ने हामीले थाह पाइसकेका छौं। यतिबेला उनको विरोध गर्ने या विवाद गरेर बस्ने भन्दा पनि, विगतको गल्ती 'सच्याउने' बेला हो। धेरैलाई लाग्दो हो, भारतको राष्ट्र भषा हिन्दी हो। अष्ट्रेलियाको राष्ट्र भाषा अंग्रेजी। र, अमेरिकाको त झनै भन्नै परेन, अंग्रेजी नै हो भन्ने लाग्दो हो। तर सत्य त्यस्तो होइन। यो कुनै पनि मुलुकमा राष्ट्र भाषा छैन। भने हामीलाई मात्र किन चाहिन्छ राष्ट्र भाषा? १ सय २५ मध्य एउटालाई मात्र किन काखी च्याप्ने? एउटा देशको लागि त सबै छोराछोरी समान हो, होइन र? भारतको 'वेस्ट बंगाल'को औपचारिक भाष बंगाली हो। तर बंगालले अंग्रेजी, नेपाली र उर्दुलाई पनि मान्यता दिएको छ। त्यस्तै आसाममा आसामिज औपचारिक भाषा हो। तर त्यहाँ बंगाली र बोडोलाई पनि मान्यता दिइएको छ। झारखण्डमा हिन्दीसँगै सन्थली र बंगालीलाई मान्यता दिइएको छ। यस्तो कुनै राज्य छैन होला, जहाँ एउटा भाषालाई मात्र मान्यता दिइएको होस्। त्यस्तै खालको केही गर्न हाम्रो पनि सम्भव हुन्छ होला नि? भाषाको संरक्षण गर्ने कानुनमात्र बनाएर पुग्दैन, भाषाको प्रयोग बाध्यताकारी भएन र भाषाको ज्ञानले रोजगारीको अवसर देखिएन भने कसैले पनि थप भाषा सिक्ने छैनन्। कानुन बनाउँदा यो कुराको ध्यान राख्न जरूरी छ। अबको बेलामा पश्चिम तराईमा काम गर्न जाने कर्मचारी, शिक्षक, सुरक्षाकर्मीहरूले नेपालीसँगै भोजपुरी, अवधि र थारू भाषा जान्न जरूरी छ। पूर्वी पहाडमा जानेहरूले लिम्बु र राईको प्रतिनिधि भाषाहरू जान्न एकदमै जरूरी छ। अनि मात्र उसले साँचो अर्थमा सेवा पुर्‍याउन सक्छ। परिवर्तनको आभास हुन सक्छ। भाषा सिक्दा, संस्कृति र मूल्यमान्यता पनि सिकिन्छ। नेपाल भाषा र नेवारको मूल्यमान्यता नै नसिकी कसरी काठमाडौंमा साँचो अर्थमा सेवा गर्न सकिन्छ? यो सुन्दा सानो लाग्छ। तर ठूलो महत्त्वको कुरा हो। यसले भाषा त मर्नबाट जोगिन्छ नै, आफ्नो भाषाले मान्यता पाउँदा अपनत्व बढाउँछ। समानताको अनुभूति हुन्छ। शिक्षा, सेवा, प्रतिष्पर्धा, सौहार्दता सबैमा मद्दत गर्छ नै। भारतको संघीय सरकारको कामकाजी भाषा हिन्दी र अंग्रेजी छ। हाम्रो नेपाली र अर्को कुनै एउटा छान्न सकिन्न? पक्कै सकिन्छ।सकियो भने, नेपाली बोल्नेको मात्र नेपाल होइन। हामी सबैको हो भन्ने भावानामा बल पुर्‍याउने छ। विविधताबीचको एकता बलियो हुन्छ र सौहार्दपुर्ण हुन्छ।

_____ · Sep 13, 2014 6:46 PM · 1,610 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all