बृत्तचित्र बनाउन गएका दुई नेपाली कतारमा बेपत्ता सुरक्षाकर्मीले नियन्त्रणमा राखेको आशंका लण्डन, भाद्र १९ - कतारमा कार्यरत नेपाली श्रमिकका बारेमा अनुसन्धान एवं वृत्तचित्र बनाउन बेलायतबाट त्यहाँ गएका दुई नेपाली वेपत्ता भएका छन् । मानवअधिकारकर्मी तथा गैरआवासीय नेपाली संघ, बेलायतका पूर्व राष्ट्रिय संयोजक कृष्णप्रसाद उपाध्याय एवं उनीसँगै रहेका टेलिभिजन पत्रकार गुणदेव घिमिरे कतारमा सम्पर्कविहीन भएका हुन् । उनीहरु दुवैलाई प्रहरी जस्ता देखिने सादा पोशाकका व्यक्तिले आफू बसिरहेको ग्रयाण्ड हायात होटल परिसरबाट कब्जामा लिएको पारिवारिक श्रोतले पुष्टि गरेको छ । उपाध्यायकी जीवनसंगिनी सरिता पौडेलले लन्डनमा जनाएअनुसार गत आइतबार उपाध्यायले पौडेलसँग आफूहरुलाई सादा पोशाकका सुरक्षाकर्मीले पिछा गरिरहेको र गिरफ्तार गर्नसक्ने डर रहेको बताएका थिए । उनीहरु २७ अगष्टमा दोहा गएका थिए । उपाध्याय ३१ अगष्ट आइतबार नर्वे फर्कने तयारी थियो तर त्यसयता कुनै अत्तोपत्तो नभएको पौडेलले बताइन् । घिमिरे त्यसै साँझ लन्डन फर्कदै थिए । उनीहरु नर्वेजियन च्यारिटी संस्था द ग्लोवल नेटवर्क फर राइटस् एण्ड डेभलपमेण्ट (जीएनआरडी) का तर्फबाट सन् २०२२ को फिफा वल्र्ड कपका लागि काम गरिरहेका नेपाली कामदारहरुको बसोबासको व्यवस्थालगायत विषयमा वृत्तचित्र बनाउन कतार पुगेका थिए । उपाध्यायले जीएनआरडीमा काम गरेको तीनमहिना मात्र भएको पौडेलले जनाइन् । यसअघि उनी सन् २००२ देखि २०१३ सम्म लन्डनस्थित एन्टी स्लेभरी ह्युमन राइट्स संस्थासँग आवद्ध थिए । उपाध्याय र घिमिरे सम्पर्कविहीन भएपछि दुवै परिवार चिन्तामा छ । उपाध्यायकी जीवनसंगिनी पौडेलले चिन्ता व्यक्त गर्दै मंगलबार घर नजिक वेम्लीस्थित प्रहरी कार्यालयमा उजुरी गर्न जाँदा प्रहरीले केही दिन कुरौं भनेर उजुरी दर्ता गर्न नमानेको जनाइन् । उता, घिमिरेकी जीवनसंगिनी बन्दना घिमिरेले पनि केही खवर नआउँदा चिन्ता भइरहेको जनाइन् । 'आज फ्लाइट छ, म हिथ्रो आइपुगेर फोन गर्छु भनेर म्यासेज गर्नुभएको थियो तर कता गायव पारे केही पत्तो छैन्', उनको रोदन थियो । साउथ इष्ट लन्डनस्थित वुलवीच बस्ने बन्दनाले मंगलबार स्थानीय प्रहरीसमक्ष घट्नाबारे जानकारी गराएको जनाइन् । जीएनआरडीका अनुसार विगत तीनदिनदेखि कतारी अधिकारीहरुसित पटकपटक अनुरोध गरे पनि उनीहरुका बारेमा केही जानकारी पाउन सकिएको छैन् । उनीहरुलाई कतारी प्रहरीले पक्राउ गरी यातना एवं दुव्र्यवहार गरेको हुनसक्ने जीएनआरडीको आशंका छ । जीएनआरडीले प्रकाशित गरेको विज्ञप्तिमा आफ्ना दुई कर्मचारी बेपत्ता पारिएको र उनीहरुलाई यातना दिइनसक्ने जोखिममा रहेको बताइएको छ । जीनआरडीले कतारमा नेपाली कामदारमाथि भएको दुव्र्यवहारविरुद्ध लडिरहेको उल्लेख गर्दै आफ्ना कर्मचारीको सुरक्षाप्रति कतारी अधिकारीहरु उत्तरदायी हुनुपर्ने बताएको छ । उनीहरुमाथि कुनै पनि शारीरिक वा मानसिक यातना दिइए त्यसविरुद्ध सबै खाले कानुनी कारवाही अगाडि बढाउने चेतावनी पनि उसले दिएको छ । ५० वर्षीय उपाध्याय लण्डनको स्कुल अफ ओरेण्टल एण्ड अफ्रिकन स्टडिज (सोआस) बाट नेपालको आन्तरिक द्वन्द्वमा थारु अनुभवका बारेमा विद्यावारिधि गर्दै छन् । उनले केही महिनाअघि कविता संग्रह पनि प्रकाशमा ल्याएका छन् । ३६ वर्षीय घिमिरे नेपाल पत्रकार महासंघ, यूके शाखामा आवद्ध छन् भने लण्डनबाट सञ्चालित नमस्ते युरोप कार्यक्रमका क्यामेरामेन हुन् । यसअघि उनी लन्डनस्थित नेपाली टिभीमा कार्यरत थिए । उनीहरु दुवैसित बेलायती राहदानी रहेको बताइएको छ । श्रमिकहरुसित क्याम्पमै गएर अन्तर्वार्ता लिन असम्भव हुने बताइएपछि नेपाली दूतावासमा भिसा लिन आएका कामदारहरुसित उनीहरुले अन्तर्वार्ता लिंदै आएका थिए । नेपाली कुटनीतिज्ञसित हुँदा नै गत सप्ताहन्तमा सादा पोशाकका कतारी सुरक्षाकर्मीले पिछा गरेको र कुटनीतिज्ञले सुरक्षाकर्मीलाई हस्तक्षेप गर्न वाध्य तुल्याएको उपाध्यायको भनाइ उल्लेख गर्दै जीएनआरडीले बताएको छ । उपाध्यायले सहकर्मी र साथीहरुलाई आफू निगरानीमा परिसकेको सन्देश पठाएका थिए । "मलाई पिछा गरिएजस्तो छ । उनीहरुले मलाई दुःख देलान् जस्तो छ", उपाध्यायले एक सन्देशमा भनेका छन् । उपाध्यायको सन्देश पाएका एक मित्रले जीएनआरडीलाई उपलब्ध गराएको जानकारीअनुसार सादा पोशाकका प्रहरीको बिगबिगीका कारण होटल परिसर छाड्न उपाध्यायले असुरक्षित महसुस गरेको बताइएको छ । सन्देशमा होटल छाडेपछि के हुने हो भन्नेमा उपाध्यायले चिन्ता व्यक्त गरेका थिए । लण्डनस्थित कतारी दूतावासले यसबारेमा प्रतिक्रिया दिन इन्कार गरेको दी इण्डिपेण्डेण्टले जनाएको छ भने ब्रिटिश फरेन अफिसका प्रवक्ताले कतारमा दुई ब्रिटिश नागरिक बेपत्ता भएको आफूहरुलाई जानकारी भएको र यसमा काम गरिरहेको जनाएका छन् । प्रकाशित मिति: २०७१ भाद्र १९ ०९:५० http://www.ekantipur.com/np/20...
cybernepali · Sep 4, 2014 7:22 AM · 1,536 views
MR. Cut and Paste; You should have added antother cut and paste stating that they are back to their station.
magorkhe1 · Sep 10, 2014 7:11 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion