तिम्रो नियत सधैँ राष्ट्रवादी र मेरो नियतचाहिँ विखण्डनवादी?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तिम्रो नियत सधैँ राष्ट्रवादी र मेरो नियतचाहिँ विखण्डनवादी? दीपक रौनियार print मधेसमा जन्मेका एक नेपाली फिल्मकर्मीको पहाडेहरुलाई प्रश्न 'आफ्नो भाषणमा मोदीले मधेश शब्द उच्चारण गरेनन्, उल्टो हिमाल, पहाड र तराई मिलेर जानुपर्ने तर्क राखे। उनले पहाडेलाई खुशी पार्ने खालका कुरा गरे। आजको दिनमा मधेशी नेपालबाट अलग हुन खोजेका हुन् भन्ने जो भावना पहाडे मूलका नेपालीमा थियो, त्यो निकै न्यून भएर गएको छ।'   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएलगत्तै सेतोपाटीमा छापिएको अजयभद्र खनालको लेखको अंश हो यो।   त्यसो त मोदीले नेपालमा भाषण गर्दा मधेश शब्द प्रयोग नगरेकोमा समाजिक सञ्जालमा निक्कैले 'खुशी' मनाएको देखेको थिएँ। केही पत्रपत्रिकाले पनि यस्तै आशयको समाचार छापे। कनकदाइ (हिमाल खबरपत्रिकाका प्रकाशक कनकमणि दीक्षित) ले त भारतीय प्रधानमन्त्रीको भ्रमणअघि नै हिन्दुस्तान टाइम्सबाट मधेशीलाई चूप लगाई दिन गुहार मागिसक्नु भएको थियो।   तर पनि अजयभद्र खनालका शब्दहरूले मलाई सोचमग्न बनाए। कस्तो समाजमा जन्मिएछ? मनै कुँढिएर आयो!   मैले अलिअलि जान्ने भएदेखि नै 'म पनि नेपाली नै हुँ' भनेर पटकपटक पुष्टि गर्नुपरेको छ। 'नेपाली मूलधारको समाज' मा घुलमिल हुन आवश्यक सबै कुरा सिकें, जानेँ र गरेँ पनि। तर छालाको रङ फेर्न सकिनँ।   म मेरो मातृभाषा अर्थात् मेरी आमाको भाषा मैथिलीभन्दा निकै राम्रो नेपाली बोल्छु। लेख्न त मैथिलीमा जान्दिन नै भने हुन्छ। नेपालीमा पत्रकारिता गरेको हुँ। नाटक, फिल्म र टिभी सिरिज बनाएको हुँ र बनाउँछु। तर, आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रको सामाजिक नवीकरण गरिरहनु पर्ने पीडाले अमेरिकामा पनि छोडेको छैन। कुनै पनि जमघटमा 'भाइको नेपाली त राम्रो रहेछ। छुट्याउनै सकेको थिइन मैले त' भन्ने प्रंशसा पाइएला भन्ने डर लागिरहन्छ। अस्ति भर्खरमात्रै हेटौडामा हुर्केकी, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी, एक जना मित्रकी श्रीमतीले 'मदिशेहरू पनि नेपाली नै हो र?' भन्ने प्रश्न गरिन्! 'म त नेपाल आएर बसेको इन्डियनहरू पो होला भन्ठानेको।' हेटौँडामा हुर्केको व्यक्तिको त्यस्तो ज्ञान देखेर म तीन छक्क परेँ। दोष उनको हो कि, 'नेपालीपन' पढाउने हाम्रो राष्ट्रिय नीतिको,गम्भीर किसिमले अल्मलिएको थिएँ।   दक्षिणी सिमाना पारिकाहरूसँग हाम्रो रूपरङ, रहनसहन, संस्कृति र भाषा मिलेकै कारण मधेशीहरूलाई 'भारतीय आप्रवासी' का रूपमा हेर्नेहरूलाई पहाडको सिमाना पारिको जनजीवन, रूपरङ, संस्कृति र भाषा पनि हेर न भन्न मन लाग्छ। मेरो मातृभाषा मैथिलीमात्र होइन, भारतमा नेपाली पनि बोलिन्छ। बोलिने मात्र होइन, नेपाली भाषा पनि भारतीय संविधानमा राष्ट्रभाषाको रूपमा सूचीकृत छ। मेची-महाकाली वारपारको रहनसहन र संस्कृति मधेशकै सीमा वारपार जत्तिकै साझा छ। बिहेको मौसममा सिमाना वारिपारि गर्ने जन्ती पनि उत्तिकै बाक्ला हन्छन्। उत्तरी सीमान्त क्षेत्रका नेपालीहरूको पनि तिब्बतीसँग रूपरङ,रहनसहन, भाषा, धर्ममिल्छ र विहेबारी पनि चल्छ। बसाइँसराइ त मधेशमा भन्दा पहाडमा धेरै होला, किनभने पहाडी सीमा पारकाहरूको अनुहार 'इण्डियनको जस्तो होइन, नेपालीको जस्तो हुन्छ।' यो नागरिकता बाँड्ने प्रशासकहरूको व्यवहारबाट पटकपटक देखिएको कुरा हो।   जान्ने-सुन्ने र सबैलाई समानताको आँखाले हेर्छौँ भन्ने पत्रकारहरूबाट पनि प्रसस्त भेदभाव हुन्छ। गीतान्जली थापाहरूले भारतीय राष्ट्रिय पुरस्कार पाउँदा किन पहाडका नेपालीले गर्व मान्नु परेको हो र किन ती कुरा नेपाली मूलधारका ठूला पत्रिकाका लागि महत्वपूर्ण समाचार बनेको हो। मैले कहिल्यै बुझिन। तर मैथिलीभाषी मनोज बाजपेयीले भारतीय राष्ट्रिय पुरस्कार पाउँदा कुनै पनि मधेशीले उसलाई आफ्नो ठानेर नाक फुलाउँछ भन्ने मलाई लाग्दैन। र, कदाचित उनीहरूले 'मैथिलबेटा मनोज बाजपेयी..(को विजयमा हामी समस्त मैथिलहरू गौरवान्वित छौँ)' भनेभने नेपाली सञ्चार माध्यमले कसरी हेर्छन्? म अनुमानसम्म गर्न सक्दिन। एकथरि नेपालीले करोडौँ खर्चेर प्रशान्त तामाङलाई “इण्डियन आइडल” बनाए। भाषाको साइनो उस्तै हो, तर मधेशीहरू अमित पाललाई भोट हाल्न गएनन्। यस्ता धेरै कुराका आधारमा हिसाब गरौँ न, को भारतसित बढी निकट र बढी आश्रित छ? को आफ्नै देशका मानिसहरूलाई भन्दा भारतीयहरूलाई काखी च्याप्छ? अनि यी सबैकुरा हिसाब गरेर कुनै मधेशीले “तिम्रो नियत सधैँ राष्ट्रवादी र मेरो नियतचाहिँ विखण्डनवादी कसरी हुन्छ? तिम्रो पहाड चाहिं तिब्बत या भारतमा गाभिने डर नहुने, मेरो मधेश मात्र भारतमा गाभिने डर भइरहने हुन्छ?” भन्यो भने त्यसको जवाफ कोसित हुन्छ?   अजयभद्र खनाल अगाडि लेख्छन्, 'माओवादीको बढ्दो प्रभाव रोक्न भारतले नेपालको मधेश क्षेत्रलाई बफरको रुपमा प्रयोग गर्ने नीति लियो। त्यसैले मधेशका माओवादीलाई फुटाउने, मधेशमा नयाँ शक्ति जन्माउने र एक मधेशको अवधारणा अघि बढाउने रणनीति अख्तियार गर्‍यो।'   २०६३ को मधेश आन्दोलन भलै लहानमा माओवादी कार्यकर्ताहरूले गरेको हत्या र दुर्व्यहारपछि चर्केको हो, तर त्यो आन्दोलन दिल्लीको डिजाइनमा माओवादीविरूद्ध भएको थिएन भन्ने कुरा खनालहरूलाई थाहा छैन? यदि खोजिनिति गर्ने जाँगर छैन भने, अरूले खोजेर लेखिदिएको किताब पढे राम्रो हो। भर्खरै प्रकाशित प्रशान्त झाको 'ब्याटल्स अफ न्यू रिपब्लिक'मा पनि त्यसको ईतिवृतान्त लगाइएको छ। मार्टिन चौतारीले त्यसअघि नै किताब छापिसकेको छ। पत्रकार सुधीर शर्माले समेत आफ्नो किताब प्रयोगशालामा मधेश आन्दोलनको बारेमा विस्तृतमा लेखेका छन्, 'काठमाडौंका शासकले भेदभावपूर्ण व्यवहार गर्ने गरेकाले मधेशमा दशकौंदेखि सुषुप्त असन्तुष्टि थियो। तराईवासीलाई विभेदमा पारिएको र अवसरबाट बन्चित गरिएको भन्दै आक्रोश व्यक्त गरिएको थियो।' मधेश आन्दोलन जसले 'मधेश' र 'मधेशी' शब्द स्थापित गरायो। र, सरकारलाई संविधानै संशोधन गर्न बाध्य पारेर संघीय शासन प्रणालीको वातावरण सुनिश्चित गर्यो, आन्दोलनपछि सबैभन्दा ठूलो शक्तिको रूपमा देखिएको मधेशी जनअधिकार फोरमकोसमेत योजनबद्धपहलमा भएको थिएन। पत्रकार शर्माले समेत आफ्नो किताबमा यसलाई पुष्टि गरेका छन्। फोरमका नेताहरूले समेतपछि मात्र उथलपुथललाई नेतृत्व दिएका हुन्। भारतीय प्रधानमन्त्रीले 'मधेश' उच्चारण गरे मधेश रहने, नगरे 'मधेश' बिलाएर जाने हुँदैन। न कि, अब कोही मधेशीले आफूलाई 'मड्स्या या मदिसे' भनेको सहने छन। मधेशीले जे मागे पनि, जे गरे पनि, भारतसँग जोडेर हेर्नु भनेको मधेशीहरूप्रतिको अपमान हो। खनालले 'भारतीय रणनीतिमा मधेशको औचित्य लगभग समाप्त भएको छ। त्यसैले उनीहरू अब नेपालबाट अगल हुने डर हरायो' भन्नुको अर्थ भनेको, मधेशी जनता भारतबाट सञ्चालित छन भन्नु हो।   मैले 'मधेशी शक्ति' लाई भारतले आफ्नो हितमा पर्‍योग गर्न खोजेकै थिएन भन्ने तर्क गर्न खोजेको कदापि होइन। नेपाली सत्ताको 'चाबी' दिल्लीले प्रयोग गर्दै आएको कुरा कत्तैबाट पनि लुकेको छैन। पत्रकारद्वय सुधीर शर्मा र प्रशान्त झाका किताबहरूले पनि यसमा बेलिविस्तार लगाइसकेका छन्। तर, हामीले बुझ्नुपर्ने के हो भने, त्यो नेपाली सत्ताको चाबी दिल्लीलाई सुम्पने काम मधेशीले गरेको होइन, वर्षौंअघि राणाहरूकै पालादेखि हुन थालेको हो। त्यसलाई शाहहरूले पनि निरन्तरता दिए। दिल्लीलाई 'मालिक'कै रूपमा व्यवहार गर्न थालेको भने कांग्रेस र एमालेका सत्ता लोभी नेताहरूले हो।   मधेश आन्दोलन, र लगत्तै पहिलो संविधान सभा चुनाबपछि 'अप्रत्यासित रूपमा' बलियो भएर आएको 'मधेशी शक्ति'लाई पनि दिल्लीले 'भाउ' दिएको र आफ्नो चाहना अनुरूप प्रयोग गर्न खोजेको हो। केही हदसम्म ऊ सफल पनि भयो होला। पत्रकार झाले किताब 'ब्याटल्स अफ न्यू रिपब्लिक'मा फोरम प्रजातान्त्रिकका विजय गच्छदारहरूलाई दिल्लीले लाखौं रूपैँया दिएको समेत उल्लेख गरेका छन। तर दिल्लीले खर्चेको त्यो रूपैंया, तागत र समय मधेशलाई सह्योग गर्नलाई होइन। खनालले भने जस्तै माओवादीलाई 'तह लाउन'लाई थियो। माओवादीका अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री पदको प्रतिष्पर्धामा रहेका काँग्रेसका नेता रामचन्द्र पौडेललाई भोट हाल्न दिल्लीले लाखौं रूपैंया गच्छेदारहरूलाई दिएर उपेन्द्र यादवको अध्यक्षतामा रहेको फोरम नेपालबाट फुटाएको हो भनेर झाले किटानी साथ नै लेखेका छन्। त्यतिबेला दिल्लीले मधेशको हित चाहन्थ्यो भने उसले मधेशी नेताहरूलाई प्रचण्डलाई भोट हाल्न उकास्थ्यो होला। मधेशी नेताहरूले मागे जस्तो संघीयतामा दिने कुरामा लिखित प्रतिवद्धता माओवादी नेतृत्वले बुझाएको थियो, न कि कांग्रेसीले! खनालले भने जस्तो दिल्लीले 'संविधान बनाउने क्रममा माओवादी र मधेशीबीच एकता' हुन दिएको भए, उनीहरूले संसदबाट जस्तो संविधान पनि पास गराउन सक्थे। संविधानसभामा दलित, मधेशी जनजाति र माओवादीको दुई तिहाई बहुमत थियो। यदि संविधान भोटिङमा गएको भए कांग्रेस र एमालेले हार्ने थिए!   त्यसैले मधेशीको सडकबाट उठेको पहिचान र संघीयताको मागलाई मधेशीको देश फुटाएर भारतमा गाभ्ने षड्यन्त्रको रूपमा खनालहरूले बुझ्नु र बुझाउन खोज्नु भनेको, सहनै नसकिने व्यवहार हो। मधेशी जनताले बर्षौंदेखि खेप्तै आएको विभेद र दुर्व्यवहारप्रतिको वेवास्ता हो।   खनालकै भाषामा 'चीनको विस्तार रोक्न भारतलाई नयाँ खालको बफर राज्य आवश्यक पर्न गएको छ। त्यसैले नेपालका पहाडे मूलका मानिसलाई खुशी पार्नु मोदीको रणनीतिक उद्देश्य हो।'   त्यसो भए अब, पहाडहरू नेपालबाट अलग हुन सक्छन भन्ने डर मधेशीहरूले पाल्ने त? प्रकाशित मिति: बिहीबार, भाद्र १२, २०७१ १५:१२:२१

_____ · Aug 28, 2014 5:29 AM · 1,392 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all