मोदी भ्रमण र नेपाली हीन भावना मिति : २०७१ साउन, २१ बुधबार [2785 पटक पढिएको] युवराज घिमिरे | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउन १८ गते संसद भवन वानेश्वमा सम्बोधन गर्दै। (तस्बीर: अन्नपूर्ण) एउटा राजकीय भ्रमणको पोस्टमार्टम काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्कंदा नेपाली जनमानसमा 'हिरो' बनिसकेका थिए। उनको लामो चुनावी अभियान र त्यसपछिको सत्तारोहणले नेपालमा सम्भवत: उनी त्यत्तिकै परिचित छन् जति भारतमा। आम नेपालीभन्दा उनीहरूका प्रतिनिधि निकै नै लुटपुटिए मोदी जादुमा। अतिथि सत्कारमात्र थिएन त्यो। संसद्मा ४५ मिनेट लामो सम्बोधनमा सबैभन्दा बढी ताली तीनपटक बजे। करतलध्वनिबीच मोदीवाणीले विश्राम पायो त्यतिखेर। पहिलो उनले नेपालीमा बोल्दा सम्बोधनको प्रारम्भमा। दोस्रो गौतम बुद्ध नेपालमा जन्मिएको भनी बारम्बार उद्घोष गर्दा। र, तेस्रो नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको अभिव्यक्ति दिँदा। के मोदीले नै रहस्योद्घाटन गरेका हुन् र? 'अब नेपालीलाई तिमीहरू मान्छे हौ भनेर कसैले भनिदिए पनि हाम्रा सांसदहरूले ताली बजाउलान् जस्तो लाग्छ मलाई', एमाओवादीका केन्द्रीय सदस्य राम कार्कीले अन्नपूर्णसँग भने। 'नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको ६ दशक पूरा भयो, दुईपल्ट सुरक्षा परिषद्को सदस्यसमेत बनिसकेको मुलुकलाई सार्वभौम भनिरहँदा ताली बज्नुले संसद्मा अज्ञानता व्याप्त रहेको देखिन्छ', एकजना प्राध्यापकले भने, 'यो विषयमा मेरो नाम उल्लेख नगरिदिनुहोला तर संसद्मा पुगेका सांसदले बुझ्नुपर्यो, उनीहरूलाई सार्वभौम नेपालीले मत दिएर त्यहाँसम्म पुर्याएका हुन् र त्यो नै मुलुक सार्वभौमसत्ता सम्पन्न भएको सबैभन्दा ठूलो प्रमाण हो।' सत्यको उद्घोषसँग विमति राख्नु अपराध हो। नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएजस्तै बुद्धको जन्मस्थान लुम्बिनी भएको सत्य मोदीले बोल्दा यसले उनको कदलाई उचाइ दिन्छ। तर विश्वको सबैभन्दा 'ठूलो प्रजातन्त्र' को सरकार प्रमुखले प्रमाणित सत्य र अन्तर्राष्ट्रिय मान्यताविपरीत केही बोल्ला र सार्वभौम मुलुकको संसद्मा ? 'भारत सरकारको आधिकारिक धारणा फरक छैन लुम्बिनी नै बुद्धको जन्मस्थान भएकोबारे। दुईचारजनाले विवाद सिर्जना गर्न या अज्ञानतावश अन्यथा भन्ने गर्दा तथ्य बिटुलिँदैन। तर संसद्मा मोदीले लुम्बिनी बुद्धको जन्मथलो हो भन्दा ताली बज्नु सांसदहरूको हीनताबोध र अज्ञानता दुवै हो', संस्कृतिविद् तथा बौद्ध दर्शनका ज्ञाता डा. रमेश ढुंगेलले भने, 'यो सायद संस्थागत रूपमा हामीमा देखापरेको ज्ञान र विश्वासको संकटको प्रतीक हो।' ३० घन्टाको छोटो बसाइमा मोदीले सामान्य हिन्दु तीर्थालुदेखि भारतीय प्रधानमन्त्रीको शक्तिशाली स्वरूप प्रदर्शन गरेर सोमबार स्वदेश फर्के तर नेपालको संसद्ले आफ्नो अपेक्षित संस्थागत स्वरूप देखाउन सकेन। हीनभावनामा थिचिएर उसले विशिष्ट अतिथिको स्वागत गर्यो। संविधान लेखन र राजनीति कुनै पनि मुलुकको सार्वभौम क्षेत्राधिकारमा पर्ने गर्छन्। हाम्रा यी सार्वभौम प्रक्रियामा बाह्य हस्तक्षेपको निरन्तरताका कारण हामी सार्वभौम छैनौं भन्ने मानसिकताबाट सांसदहरू निर्देशित भएकाले यस्तो भएको त हैन? 'संसद् र सांसदलाई कसरी हेर्ने? यो बहस जनतामा जानुपर्छ', सर्वोच्च अदालतका एकजना वरिष्ठ अधिवक्ताले भने, 'तर नेपाली सांसदहरूका हीन भावनालाई त्यसले छोयो र स्वाधीन मुलुकको नागरिक जसरी आत्मा र विवेक जाग्यो सांसदहरूको भने यसको श्रेय भारतीय प्रधानमन्त्री मोदीलाई दिइनुपर्छ।' - See more at: http://annapurnapost.com/en/ne...
cybernepali · Aug 7, 2014 10:36 AM · 1,292 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion