वीरेन्द्रको हातबाट ज्ञानेन्द्र झन्डै मारिएको खुलासा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

१९ जेठ ०५८ को दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नाश भयो। हत्याकाण्डका बेला पोखरामा थिए, उनका भाइ ज्ञानेन्द्र शाह। दाजुको वंश नाशमा हात रहेको आरोप अझै खेपिरहेका छन्, पूर्वराजा ज्ञानेन्द्र। तर, तिनै वीरेन्द्रको हातबाट भाइ ज्ञानेन्द्र झन्डै मारिएका रहेछन्। राजनीतिज्ञ स्वर्गीय हृषीकेश शाहको हालै प्रकाशित आत्मकथा प्रारब्ध र पुरुषार्थले यो तथ्यको खुलासा गरेको छ। आत्मकथामा मुमा बडामहारानी रत्नले भनेको कुराको हवाला दिँदै शाहले भनेका छन्, 'वीरेन्द्रले ज्ञानेन्द्रको घाँटी समातेर झन्डै मारेका थिए रे ! के फुर्ती गर्छौ, तिमीभन्दा म अगाडि राजा भएको भनेर ज्ञानेन्द्रले भनेपछि झगडा परेको रहेछ।' ०१७ सालको 'फौजी कू'बारे भारतलाई 'कन्भिन्स' गर्न शाह नै खटाइएका थिए। 'कू'अघि राजा महेन्द्रले सल्लाह लिएका थोरै विश्वस्त व्यक्तिमा उनी पनि पर्थे। महेन्द्रकै पालामा राजसभा स्थायी समितिका सभापति भए उनी। यसले देखाउँछ, राजदरबारसँग शाहको निकट सम्बन्ध । राजपरिवारसँग निकट हुँदा थाहा पाएका सूचना, आनीबानी आदिलाई आत्मकथामा समेटिएको छ। हृषीकेश शाह विचित्रका पात्र थिए। कहिले आफ्नै पिताविरुद्ध मुद्दा दायर गरेर चर्चित भए, कहिले पञ्चायती संविधान मस्यौदा समितिका अध्यक्ष बनेर राजा महेन्द्रलाई समर्थन गर्न पुगे भने कहिले तिनै महेन्द्रले थुनेका बीपी कोइरालाको रिहाइ माग गर्दा राजपरिषद् स्थायी समितिबाट निकालिए। यस्ता व्यक्तित्व शाहको अनुभव अन्य नेपालीले पढ्न नपाउने हुन् कि भनेर चिन्तित रहेछन्, विद्वान् हर्क गुरुङ। एक जमघटमा तिनै गुरुङले हिमाल किताबका वसन्त थापालाई शाहको आत्मकथा तयार गर्न सुझाव दिएछन्। त्यसपछि हिमाल किताबका लागि पत्रकार श्रीभक्त खनालले उनीकहाँ गएर कुराकानी रेकर्ड गर्न थाले। यसरी तयार भएको आत्मकथा शाहको निधनको झन्डै १३ वर्षपछि प्रकाशित भएको छ, जसले तत्कालीन राजा महेन्द्र र बीपीको सम्बन्धका साथै तत्कालीन राजनीति, कूटनीतिलगायत विषयमा थुपै्र नयाँ तथ्य बाहिर ल्याएको छ। आत्मकथामा राजा महेन्द्रको मुख कति छुच्चो थियो भन्ने कुरा शाहले बताएका छन्। उनी आफ्नै अर्धाङ्गिनी रत्नका अघिल्तिर समेत आफ्नी सासू (जनरल हरशिमशेरकी रानी)लाई 'हरशिमशेरकी स्वास्नी' भनिदिँदा रहेछन्। आफ्नी आमालाई सम्मानसूचक सम्बोधन गर्नुको साटो 'हरशिमशेरकी स्वास्नी' भनिदिँदा रत्न दुःखी हुनु स्वाभाविक हो। शाहले उल्लेख गरेका छन्, 'त्यसैले रत्न सधैँ रुने गर्थिन्।' अहिलेसम्म आएको तथ्य हो, ०१५ को निर्वाचनपछि मात्र महेन्द्रले बीपीलाई प्रधानमन्त्री बनाउन नचाहेका हुन्। तर, शाहका अनुसार राजा भएदेखि नै बीपीविरुद्ध रहेछन् महेन्द्र। सुवर्णशमशेर राणाप्रतिचाहिँ महेन्द्र सुरुदेखि नै सकारात्मक रहेछन्। पिठ्यूँपछाडि महेन्द्र बीपीलाई 'बनारसी गुन्डा' भन्दै कुनै हालतमा प्रधानमन्त्री बन्न नदिने भन्दा रहेछन्। खासमा शाहलाई अमेरिकाबाट बोलाएर कांग्रेसको महामन्त्री बनाएका थिए बीपीले। तर, बीपीलाई अघि बढ्न नदिन शाह महेन्द्रको गोटी बने। शाहले यो कुरा इमानदारीपूर्वक आत्मकथामा बताएका छन्। जस्तो, नेपाली कांग्रेसको वीरगन्ज महाधिवेशन (२०१२)बाट बीपी सभापति बन्न चाहँदा रहेछन्। बीपीको भनाइ रहेछ, 'सुवर्णशमशेर र गणेशमान सिंह मिल्नुहुन्छ भने म सभापति बन्छु। मिल्नुहुन्न भने सभापतिका लागि प्रतिस्पर्धा उहाँहरूबीच हुनेछ।' बीपीलाई किनारा र सुवर्णलाई अघि बढाउने महेन्द्रको योजना छँदै थियो। शाह कांग्रेसका महामन्त्री थिए। बीपीलाई फेरि सभापति हुन नदिन शाहले सुवर्णलाई प्रयोग गरेछन्। शाह आफैँले भनेका छन्, 'मैले सुवर्णशमशेरलाई गणेशमानको पारो चढाइदेऊ भनेँ। त्यसो गरेपछि गणेशमानले नामांकन फिर्ता गर्दैनथे। सुवर्णको घरमा तुलसी गिरीले गणेशमानलाई पारो चढाउने काम गरे। आधा घन्टा हुँदा गणेशमानलाई मनाउन बीपी जानुभयो। गणेशमानले भने कि यसपटक त म तपाईंले भनेको पनि मान्दिनँ।' महेन्द्रको योजनामा शाह र गिरीद्वारा सुर्‍याइएकाले सुवर्ण-गणेशमान सभापतिमा भिडे। त्यसैले बीपीको फेर िसभापति बन्ने योजना तुहिन पुग्यो। ०१८ सालमा राजा महेन्द्रमाथि बम प्रहारको योजनामा पक्राउ परेका सहिद दुर्गानन्द झाको मृत्युदण्डबारे पनि उनले नयाँ तथ्य सार्वजनिक गरेका छन्। झालाई दिलबहादुर (डीबी) लामाले 'केही गर्दिनँ' भन्दै भारतबाट सुटुक्क फकाएर ल्याएका रहेछन्। शाहले महेन्द्रलाई झाको ज्यान लिन नहुने सल्लाह दिएका रहेछन्। सुरुमा त राजाले सल्लाह मान्ने बताएछन्। तर, पछि उनलाई मृत्युदण्ड भयो। शाहले भनेका छन्, 'नमार्ने हो भने यसले आफँैलाई मार्छ भन्ने र झालाई नमार्ने हो भने यही कारण आफ्नो खिलाफमा पल्टन उत्रन्छ भन्ने डर महेन्द्रलाई थियो।' राष्ट्रियताका सवालमा नेपाली जति संवेदनशील छन्, अनावश्यक रूपमा त्यति नै शंकालु पनि। यो आत्मकथा पढ्दा यसबारे केही रोचक उदाहरण भेटाउन सकिन्छ। जस्तो, परराष्ट्रसचिव भइसकेका चूडाप्रसाद शर्माले धुरन्धर कूटनीतिज्ञ यदुनाथ खनाललाई 'इन्डियन एजेन्ट' भनेर आरोपित गरेका रहेछन्। कारण रहेछ, खनालले भारतीय राजदूत भगवान् सहायका छोरालाई अंग्रेजी पढाउनु। नेपाली राष्ट्रियताको इतिहासबारे सबैभन्दा बेजोड मानिन्छ, अमेरिकी विद्वान् लियो ई रोजद्वारा लिखित पुस्तक नेपाल ः स्ट्राटेजी फर सर्भाइबल। नेपालले आफ्नो सार्वभौमिकता र स्वतन्त्रता जोगाउन कस्ता कस्ता रणनीति कसरी अँगाल्यो र कस्ता कस्ता संघर्ष गर्‍यो भन्नेबारे ऐतिहासिक विवेचना गरेका छन् रोजले, यस पुस्तकमार्फत। तर, तिनै रोजलाई टंकप्रसाद आचार्यले अमेरिकी गुप्तचर संस्था 'सीआईए'का एजेन्ट भन्दै राजा महेन्द्रसँग देशबाटै निष्कासित गर्न भनेका रहेछन्। माओवादी नेता बाबुराम भट्टराई भारतमा अध्ययनरत छँदा आफूले बीपी कोइरालासँग भेट गराइदिएको रोचक वृत्तान्त पनि पुस्तकमा छ। बीपीसँगको भेटमा भट्टराईले भनेका रहेछन्, 'म पनि केही गरेर देखाउन चाहन्छु राजनीतिमा। त्यसैले तपाईंलाई भेट्न आएको हुँ। कतिसम्म भने संसद्को पुनःस्थापना होस् भनेर राजालाई चिट्ठी पठाउन तयार छु।' त्यसको एक साताभित्र भट्टराईले नयाँदिल्लीलगायत भारतमा अध्ययनरत केही विद्यार्थीलाई जम्मा गरी नेपाली राजदूतावास लगेछन्। केही विद्यार्थीको साथमा नक्कली पिस्तोलसमेत रहेछ। पिस्तोलसहितका विद्यार्थी देखेर राजदूत वेदानन्द झाको सातो गएछ। केही दिनपछि पाँच-सात हजारको जुलुस लिएर भट्टराईले मागपत्र पेस गरेका रहेछन्। भट्टराईको राजनीति प्रवेशबारे शाहले भनेका छन्, 'यसरी ठूलो आवाज गरेर धुमधामका साथ पसेका हुन्, यिनी राजनीतिमा।' एक विदेशी महिलासँगको आफ्नो यौनसम्बन्ध र त्यसले आफ्नो पारिवारकि जीवनमा पारेको खटपट पनि लुकाएका छैनन् शाहले। आफूलाई 'आइमाई फकाउन नसक्ने' व्यक्ति दाबी गर्ने शाहको बीबीसीमा कार्यरत मेग सेफिल्डसँग निधन हुनुअघिसम्म भित्री सम्बन्ध रहेछ। यसै क्रममा शाह सेफिल्डलाई लिएर तराईमा सिकार खेल्न झरेछन्। उनले भनेका छन्, 'मेग र म सिकार खेल्न तराईमा गयौँ एकपटक। राती एउटै क्याम्पमा सुत्यौँ। त्यही बेला सेक्सुअल सम्बन्ध भयो।' सेफिल्डसँग शाह पल्किएका छन् भन्ने थाहा पाइछन्, श्रीमतीले। त्यसबारेमा शाहको भनाइ छ, 'सम्बन्धका बारेमा मेरी पत्नीले अलिकति चाल पाई। तिमीलाई मेग नभई नहुने भयो होइन भनेर मसँग ठुस्किन्थी।' अस्ट्रेलियामा मोटर दुर्घटनामा परेर सेफिल्डको मृत्यु भएपछि शाह यति धेरै जँड्याहा भएछन् कि दिउँसै ह्वीस्की बोतल रित्याउन थालेछन्। नेपाली कूटनीतिका मूर्धन्य व्यक्तित्व हुन् शाह। संयुक्त राष्ट्र संघमा नेपालका पहिलो राजदूत (स्थायी प्रतिनिधि) बन्ने अवसर उनैलाई प्राप्त भयो। राष्ट्र संघका तत्कालीन महासचिव ड्याग ह्यामरसोल्डको विमान दुर्घटनामा परी मृत्यु भएपछि रोडेसिया (हाल जिम्बाब्बे)मा भएको सो दुर्घटनासम्बन्धी छानबिन आयोग शाहकै नेतृत्वमा बनेको थियो। त्यो जिम्मेवारीलगायत हंगेरीमा सोभियत हस्तक्षेप सम्बन्धमा निकिता खु्रस्चेभसँगको वादविवादको वृत्तान्त पनि पुस्तकमा समेटिएको छ। कुनै एक विषयमा केन्दि्रत भएर बोल्न सक्दैनथे शाह। हट्टाकट्टा र स्मरणशक्ति छँदासमेत उनी एउटा विषयमा कुराकानी सुरु गर्थे, एकैछिनमा रेडियोझैँ 'ट्युन चेन्ज' भएर उनी अर्कै विषयमा प्रवेश गरसिकेका हुन्थे। उनको यो स्वभावको असर आत्मकथामा पनि देखिन्छ। यसबारे प्रकाशकले पुस्तकको भूमिकामा समेत उल्लेख गरेका छन्। पुस्तकका कतिपय ठाउँमा सम्पादन राम्रो नभएकाले दिक्क लाग्छ। जेहोस्, पुस्तक एकपटक पढ्दा एउटा कालखण्डको इतिहासलाई प्रत्यक्ष अनुभूत गर्न सकिन्छ । प्रारब्ध र पुरुषार्थ   विधा    :    आत्मकथा स्रष्टा   :    हृषीकेश शाह सम्पादक   :    हरि अधिकारी प्रकाशक    :    हिमाल किताब प्रालि पृष्ठ    :   २३१ मूल्य   :    ३७५ रुपियाँ http://namastenepalidc.blogspo...

cybernepali · Jul 7, 2014 5:53 PM · 2,428 views

1 Reply

बिगतको बारेमा पुस्टि गर्ने कुरा केहि हुदैन , बरु २००१ भन्दा पहिले पनि ज्ञानेन्द्र ले कोसिस गरेका थिए भनेको भए पत्याउथौ होला ?पत्याऊं कि नपत्याउ ?

maGorkhe1 · Jul 8, 2014 6:24 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all