मायाको धुन -फियुल ट्यांक अहिले हप्ताभरी गोरु झैँ जोतींदा पो बल्ल शुक्रबारको महत्व थाह पाईयो | त्यो बेला थियो शुक्रबार कत्ति मन नपर्नी| शुक्रबार स्कुल हाफ-टिफिनमै बिदा हुन्थ्यो , त्यसपछी पढ्न पर्थेन, आफ्नै गुणहरु थिए शुक्रबारको | तर मलाई चै चम्पा-काली खेल्न खुब मन पर्थ्यो अनि शुक्रबारले मेरो त्यो इच्छा सधै मार्थ्यो, त्यसैले मन पर्थेन | हाम्रो कक्षामा निशा भन्ने केटि थिई | छुची थिई , अनि काली पनि थिई | अनि चम्पा-काली खेल्ने बेलामा “चम्पा-काली” भनेर चिच्याउन पर्थ्यो अनि भाग्नु पर्थ्यो | हामी चै “निशा-काली” भनेर चिच्याउंथेम् अनि भाग्थेम | त्यै भएर पनि होला, मलाई चम्पाकाली सार्है मनपर्थ्यो | त्यो शुक्रबार पनि बिदा भयो | म र साथीहरु स्कुलबस रोक्ने ठाउँ तिर गयौं | बस बिग्रेर बनाउन लागेको रैछ, अझै आईपुग्न केहि घण्टा लाग्ने थियो | अनि हामीहरु चम्पा-काली खेल्न थाल्यौं | पिच नगरेको, गिट्टी फुटेर धुलै भएको, त्यसमाथी स्कुलका सबै बिद्यार्थी हिड्ने त्यहि बाटो | एउटा मोटरसाईकल मात्र चल्यो भने पनि नजिकैका सबै घरहरुले झ्याल बन्द गर्नुपर्ने जस्तो धुलाम्य बाटो थियो | अनि त्यहि बाटोमा चम्पाकाली खेल्दै दुगुर्दै गरेका हामी भुरा-भुरीहरु अनि हाम्रो शुक्रबारको सेतो ड्रेस | अरु भन्दा छिटो छरितो थिएँ | बेतोडले दौडिन सक्थें | अनि खेल्दा झ्याल्ली गर्नुहुन्न, तर जित्नै पर्छ भन्ने सोच्थें | मलाई हार्नु मन पर्थेन त्यसैले चिप्लिनु परे चिप्लिन्थें, लड्नु परे लड्थें, तार-तार बाट छिरेर नजिकैको जोतेको बारी बारी पनि दुगुर्थें अनि संधै जस्तो जित्थें | कपडाको सेतो जुत्ता हेर्न नहुनी हुन्थ्यो | मेरो सेतो लुगाको कुईनामा र घुंडामा गाढा-पहेंलो देखि कालो सम्मको टाटो बस्थ्यो | त्यो दिन ढिलो घर पुगें | आमा कामबाट अझै आउनुभको रैन्छ | आमा नभएपछी मलाई हात-गोडा धो, खाजा खा, पढ्न बस् भन्ने मान्छे पनि हुँदैनथ्यो | मलाई आमा सधैं काममा मात्र गैदिएनि हुन्थ्यो अनि म चै जतिबेला पनि खेलेर बस्न पाउथें जस्तो लाग्थ्यो | स्कुलबाट आएर दैलोमा झोला फुत्त मिल्काएं | अनि गुच्चा राखेको गिलास लिन भित्र गएँ | आमाले सबै गुच्चा मिल्काईदिनुभैसकेछ | बुढीमाउ | मन मनै गाली गरें | अनि घर नजिकैको चौरमा खेल्न गएँ | म सबै खेलमा अब्बल थिएँ | सिप चाहिने गुच्चा, घुरुंग, ढलाई-बल, खोप्पी जस्ता खेलहरुमा पनि , अनि दौडिन पर्ने छोई डुम, चम्पाकाली,लहरे खेल, फुटबल जस्ता खेलहरुमा पनि | चौरमा पुगेको, डल्ले आनन्दले फुटबल ल्याएको रैछ त्यो दिन | दुईटिम बनाएर खेल्न रेडी भैसकेका रैछन सबैजना | म बेस्कन दुगुरेर एक सासमा त्यहाँ पुगें | एकै छिन् खैलाबैला भयो | खेलाउँ भने मेरो अर्को जोडी छैन, बिजोरी हुन्छ , नखेलाउँ भने भोली देखि ढलाईबल खेल्न मेरो मोजाको बल नभई हुन्न | केहि खेलाडीहरु एता-उता गर्यौं , हाम्रो टिममा ४ जना, उनीहरुको टिममा पांच जना भएर खेल्यौं | उनीहरुको गोल्की एकदम लुते थियो | मैले बल लिएर गए पछि सेकाउँछ भनेर डराउँथ्यो अनि पोस्ट छोडेर भाग्थ्यो |मैले गोल गर्ने लागेथें आमाले “तिखे, छिटो घर आईज” भनेर चौरको छेउबाट बोलाउनु भयो | त्यो बल तेतिकै छोडेर फिलिली दुगुर्दै घर पुगें , आमा पछि पछि लठ्ठी लिएर आउनुभयो | घर नजिकै आएपछी किन हो लठ्ठी उता फाल्नुभयो अनि हात गोडा धो भनेर भान्सा तिर लाग्नुभयो | आमाले त्यति मात्रै भने पनि आमाको अर्थ चाहिं “हात गोडा धोएर पढ्न बस्” भन्ने हुन्थ्यो | हात गोडा पानीले खलल पखालें | मलाई मिचेर गोडा धुन आउंदैनथ्यो, अनि अल्छी पनि लाग्थ्यो | मेरो गोली-गाँठोको मुन्तिर र कुईनोमा कालो –मैलो कलेटी परेको हुन्थ्यो | झन् पानीले पखालेपछी त्यो लेसिन्थ्यो |मेरो आखाँ त्यहाँ कहिल्यै पर्थेन, अनि मलाई मतलब पनि लाग्थेन| मेरो हिसाबले हातगोडा धोएँ | अनि दैलोको झोला भित्र ल्याएँ , नेपाली किताब खोलें अनि पढ्न बसें | मलाई अंग्रेजी पढ्न मन पर्थेन| हिसाब झन् केहि आउंदैनथ्यो | नेपाली सजिलो लाग्थ्यो अनि पढ भन्यो कि त्यहि निकालेर बस्थें | एकै छिन् पढेको जस्तो गरेपछी आमाले भान्सामा खाना खान बोलाउनुभयो | खाना कति चाँडै पाकीसकेछ | ढोकाबाट मगमग गुन्द्रुकको बासना आईरहेथ्यो | आमालाई थाहा थियो मलाई मासु भन्दा धेरै गुन्द्रुक मनपर्छ भनेर| आज गुन्द्रुक किन होला? के को उपलक्ष्य रैछ | आजको पौरखको पुरस्कार त होलानी यस्तो मिठो भात | दिन भरी दौडेको दौड्यै थिएँ | सबैखेलमा जितेको थिएँ , फुटबलमा पनि हाम्रो टिमले जित्यो होला खाली पोस्ट थियो आनन्दले भएपनि, सरोजले भए पनि टुच्च छोए गोल हुन्थ्यो , गोल भयो त होला नि, मन मनै सोचें | मेरो मन फेरी गुन्द्रुकमा गयो | खुशी हुँदै चकटीमा पलेटी कसेर बसें| आमाले एकथाल भात माथी चुर्लुम्मै भात डुब्ने गरेर गुन्द्रुक हाल्दिनुभायो | मलाई मनपर्छ भनेर होला | मैले खुशी भएर थाल स्याहारे | गुन्द्रुकको झोल हातका औंलाबाट चुहिएर कुईनोमा पुग्थ्यो | सुकेर कट-कटीसकेको त्यो कलेटीपरेको मैलो फेरी भिजेर लेसिन्थ्यो तर मैले एकनासले खाईरहें| त्यो दिन अरुदिनको भन्दा धेरै भोक लागेको थियो | “आमा भात थप्दिनु न”, मेरो भोकले अझै माग्यो | आमाले फेरी एकथाल भात थप्दिनुभयो | अनि गुन्द्रुकको झोलले भातलाई चुर्लुम्मै डुबाईदिनु भयो | मेरो थालको ओरिपोरी भातको गोलो घेरा लागेको थियो अनि कुईनो बाट चुईएको गुन्द्रुकको झोलले मेरो दाहिने कट्टु भिजेको थियो | “राम्रो संग खान पनि आउंदैन , खै यता आईज”, आमाले मुछेर खुवाईदिनुभयो | मैले सन्चो मानेर खाएँ | “जा गएर चुठ”| आमाले “जा गएर चुठ” भने पनि अर्थ चाहिं “जा गएर चुठ, अनि पढ्न बस्” हुन्थ्यो | तर आमाले भान्सामा जुठो लोटाएर सक्दा सुत्ने बेला भैसक्थ्यो | पैतालाको मैलोले ओच्छ्यानमा छाप लगाउंदै खाटमाथी उक्लें | धेरै भात खाएको भएर हो कि धेरै थाकेको भएर हो, सार्है निन्द्रा लागेको थियो | तर भान्साकोठा बाट आएको कोतर-कोतर आवाजले मलाई सुत्न दिएको थिएन | भात पकाएको कसौंडीमा पन्यूँले कोतार्दै हुनुहुन्थ्यो आमाले | कोतर-कोतर | म चाहिं त्यहि कोतर-कोतर आवाज सुन्दा सुन्दै कुन बेला भुसुक्कै निदाएछु | आज पनि सम्झिन्छु म, त्यो आवाज, जस्ताको तस्तै, कोतर-कोतर | त्यो आवाज हैन, धुन थियो, मायाको धुन | अनि त्यो मायाको धुन सुन्दै सुन्दै निदाएको त्यो दिन |
fuel tank · Jul 3, 2014 9:17 PM · 32,630 views
lovely.....
fucheketo · Jul 4, 2014 8:50 AM
हृदयस्पर्शी!!!
yotabhayananisom · Jul 4, 2014 12:03 PM
फील टंकी ब्रो , यो कथा पढेर मलाई त रुन मन लाग्यो ब्रो, साची आमाको माया भनेको संसारमा सब भन्दा ठुलो कुरा हो , त्यो पाउन एकदम गर्यो छ ब्रो, मा आमाको माया लाइ सैलुत गर्छु ब्रो, """मात्री देव भब """
Punter · Jul 4, 2014 5:26 PM
Wonderful... Ekdami man paryo.. Bachpan ko yaad aayo Thankyou for this wonderful article fuel tank:)
Pyaaronepal · Jul 4, 2014 5:59 PM
साझा छोडेर सथिहरुसंग केहि हप्ता घुम्न गको थिएँ | मजाले घुमियो, अनि फर्केर आएपछी साझा सम्झिएँ | मलाई त साथीहरुले बिर्सीसके होलान भन्ने ठानेको फेरी पनि तेस्तै माया पाउँदा सार्है खुशी लाग्यो | कथा पढीदिने अनि अझै मनपराएर कमेन्ट गरिदिने सबै साथीभाईलाई धेरै धेरै धन्यबाद छ है | म लेख्दै गर्नेछु, मन पराईदिदै जानुहोला :) - फिउल ट्यांक
Fuel Tank · Jul 5, 2014 12:24 PM
टंके ब्रो , कथा मापनको सिमा बाहिर असिमित मातृ ममताको दुनियाको रहेछ .... सोमे दाइले भनेसरी साह्रै "हृदयस्पर्शी" कथा ... पढेको अस्तिन हो तर लेख्छु भन्दा भन्दै मिलेन ..... ल है अरु पनि कथा पस्किन पर्यो झट्ट .... - थाहा छैन
ThahaChaena · Jul 7, 2014 9:26 AM
yesko arko bhaag pani lekhnu paryo hai...
herealone · Jul 7, 2014 8:32 PM
फिउल टंकीको यो कथा अर्कै धारको (पहिलेको भन्दा) र हृदयस्पर्शी रे'छ !! अरु पनि पढ्न पाइयोस !!
Bhaktey · Jul 18, 2014 6:57 PM
Fuel Tank साथि, अगाडी नै पढेको थिए मैले पनि, बल्ल कमेन्ट गर्न भ्याए , उति नै मिठो कथा छ पहिलेको भन्दा फरक भए पनि, आमाको माया अनि बाल्यकाल को सम्झना सार्है आयो मलाइ पनि , अरु पनि लेख्नुहोला है
Aamalaa · Jul 18, 2014 7:17 PM
टंके काईला, असाध्यै राम्रो लग्यो तिम्रो प्रस्तुति / राम्रो भन्दा माथि कुनै शब्द भईदिएको भए त्यो पनि भनिदिने थिए / धेरै धेरै धन्यवाद छ है फेरी पनि , मैले यो कथा देखेको थियिन पहिले / आमा नभएको टुहुरो मान्छे परे म, त्येसैले अनि सार्है नै मर्मस्पर्सी लग्यो / कति राम्रो अनि स्वछ छ है यो आमा भन्ने शब्द पनि, जति गाली गरे पनि, पिटे पनि, खाने नदिए पनि तेइ आमा को माया लाग्छ अनि हामीले जति नै चकचक गरे पनि, नपढे पनि, जाचमा फेल भए पनि , गोडामा घाउ बनाएर आए पनि तेइ आमा ले हामीलाई कति माया गर्छे है / धन्य छौ आमा तिमि / संसारका सबै आमाहरु लै सलाम /
karnali blues · Feb 4, 2015 6:24 PM
कर्णाली ब्रो ले खुलस्त भएर पोख्नु भयो भने मैले अर्को कथामा बङ्याएर लेखे: यिन्का कथा पढे का कही क्षण चै के के कमी भएको महसुस हुन्छ भने कहिले काही श्रीमतीजिको टोकसो " आमाले गाली नगरेका छोराछोरी एस्तै हुँदा रहेछ" सुन्दा | गुन्द्रुकको स्वाद अझै जोब्रोको तुप्पो बाट गएको छैन तर बजै बित्नु भएको पनि १५-१६ बर्ष भै सक्यो | गुन्द्रुक पकाएको दिन गुन्द्रुक भुटेर टमाटर हाले पछी अलिकती निकालेर चुक थपेर अचार बनाइ दिनु हुन्थ्यो| कहिले काही कोशीस गर्छु : स्वाद त कहाँ मिल्नु तर गुन्दुक सङै बजैको सम्झना सङै मिठो मान्दै खान्छु |
magorkhe1 · Oct 5, 2015 12:12 PM
पुरानो कथा फेरी सतहमा आएछ, तपाईं सबैको माया अझै पाई राखेको रहेछु | सबैलाई फेरी धन्यबाद दिन मनलाग्यो | धन्यबाद |
Fuel Tank · Oct 6, 2015 10:56 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion