हास्यास्पद सत्यः अमेरिकामा नेपाली समुदाय र समाजसेवा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हास्यास्पद सत्यः अमेरिकामा नेपाली समुदाय र समाजसेवा By शिव प्रकाश, on May 21st,  ड्रिमल्याण्ड अर्थात स्वप्नभूमि अमेरिका ! अरुहरु जस्तै हरेक नेपाली आँखामा सुन्दर सपना साँचेर अमेरिका आएका हुन्छन् । तर कतिका सपनाहरु साकार पनि हुन्छन् । कतिका बेकार र कतिका निराकार ! स्वप्नभूमि अमेरिकामा मान्छेका सपनाहरु यस्तै भएका छन् । थोरैका साकार, धेरैका बेकार र त्यो भन्दा धेरैका निराकार । तै पनि अमेरिका भासिनेको संख्या अझ बढ्दै छ । हुदाहुदै मानव तस्करीको बाटोबाट भयानक जोखिमका साथ अमेरिका छिर्ने साहस पनि बीर नेपालीहरुले देखाएका छन् । यी बीरहरुका लागि भने अमेरिका रहर हैन वाध्यता बनेको छ । अमेरिकामा नेपालीको संख्या कति छ भन्ने कुराको वास्तविक तथ्याङ्क छैन । अनुमानका भरमा करीव दुईलाख छन् भनिन्छ । सन् २०१० को जनगणना अनुसार अमेरिकामा नेपालीको संख्या ५९ हजार ४ सय ९० मात्र रहेको छ तर जुन वास्तविकता भन्दा धेरै तल छ । अमेरिकामा नेपाली आप्रवासको इतिहास हेर्ने हो भने अन्य देशको तुलनामा सधंै न्युन नै रहेको छ । अमेरिकी आप्रवासी विभागको तथ्यांक अनुसार सन् १८८१ देखि १८९० सम्ममा १९१० जना अमेरिका प्रवेश गरेको पाइन्छ । तर यो संख्याभित्र नेपाली नागरिकको संख्या कति थियो भन्ने छुट्याइएको छैन । यो अवधिमा नेपाल, भारत, भुटान र म्यानमारका समेत नेपालीभाषीलाई वंशअनुक्रममा “अन्य एशियाली” भनेर नेपालीका रुपमा उल्लेख गरेको पाइन्छ । सन् १९४७ मा अमेरिकासँग कुटनीतिक सम्बन्ध स्थापना भयो । सन् १९५९ मा काठमाडौंमा दुतावास खुलेपछि अमेरिकासँग नेपालीहरुको सीधा सम्पर्क सुरु भयो । नेपालीहरु नेपालबाटै भिसा लिएर अमेरिका प्रवेश गर्न थाले । यसअघि भारतबाट आउनु पर्ने भएकोले कति नेपाली अमेरिका प्रवेश गरे ? स्पष्ट देखिदैन । सन् १९७४ मा पहिलो पटक अमेरिकी आप्रवासी नीति अनुरुप नेपालीलाई बेग्लै श्रेणीमा बर्गीकृत गरेको पाइन्छ । त्यस वर्ष ५६ नेपाली अमेरिका प्रवेश गरेको देखिन्छ । सन् १९९० को अमेरिकी जनगणनाले नेपालीको संख्या २६१६ देखाएको छ । जसमा सन् १९५९ भन्दा अघिको संख्या पनि समावेश छ । यस अनुरुप सन् १९९० सम्म औसत वार्षिक एकसयभन्दा कमको संख्यामा नेपाली अमेरिका प्रवेश गरेको देखिन्छ । सन् २००० को हाराहरीदेखि अमेरिकामा नेपालीको संख्या ह्वात्तै बढेको पाइन्छ । बढ्नुको कारण भने मूलतः नेपालको खस्कदो र निरासालाग्दो राजनीतिक तथा आर्थिक अवस्था र डीभी भिसाप्रतिको आकर्षण नै रहेका छन् । अमेरिका प्रवेश गर्ने मध्ये जसले उच्च तथा प्राविधिक शिक्षा हाँसिल गरेका थिए, जसले यहाँ आइसकेपछि राम्रो शिक्षा हाँसिल गरे, जसले व्यवसायमा हात हालेर सफलता प्राप्त गरे उनीहरुका सपना भने साकार भएको मान्नु पर्छ । तर जोसँग उच्च शिक्षा थिएन, भएर पनि अँग्रेजी भाषामा राम्रो पकड थिएन, कुनै व्यपारव्यवसाय गर्न सकेनन् र गरे पनि सफलता पाउँन सकेनन् उनीहरुका सपना भने निराकारै नै भएका छन् । वर्षौ बिताइसक्दा पनि ती सपनाले आकार लिने सम्भावना क्षीण छ । वास्तवमा सोचेको अमेरिका भोगेपछि भेटिदैन, भोगेको अमेरिका सोचेकै हुदैन । तै पनि अमेरिकाभन्दा बाहिरका लागि अमेरिका अझै ड्रिमल्याण्ड नै छ । बनारसी लड्डु नै भने पनि हुन्छ अमेरिकालाई– “खाया तो भी पछताया, नही खाया तो भी पछताया ।” अनुमान अनुसार अमेरिकामा रहेका करीव २ लाख नेपाली मध्ये धेरैभन्दा धेरैको दैनिकी “टुवल्भ आवर्स अ डे एण्ड सेभेन डेज अ विक”को चक्रमा चलेको छ । यो चक्रभित्र “ओभर स्टे”देखि वर्क परमिट, ग्रीनकार्ड र सिटिजनसीप होल्डरसम्म घुमिरहेका छन् । अमेरिकाभित्रको अमेरिकाका दुःख र सुखका यथार्थहरुसँगै नेपालीहरुले यहाँ सबैथोक गरेका छन् । दशैतिहार, तीज, ल्होसार पनि मनाएका छन् । देउसी भैलो, होली–फागु पनि खेलेका छन् तर सबैथोक मध्ये सबैभन्दा बढी राजनीति गरेका छन् । परोक्ष–प्रतक्षरुपमा धेरै राजनीतिक दलका भातृ संगठन छन् । नाममात्रका मात्र किन नहुन् छन चै छन् । ती संगठनले केही नगरे पनि आफ्ना नेता आउँदा खादा ओढाएर अर्को पार्टी र नेतालाई गाली गर्न चैं लगाएकै छन् । पार्टीगतमात्र हैन जातिगत राजनीति पनि गरेका छन् । नेपालकै हाराहारीमा जातीय संगठन पनि खोलेका छन् । जिल्लाजिल्लाका सम्पर्क समितिहरु छन् । क्षेत्रक्षेत्रका सहयोग समितिहरु प्नि छन् । थौरेले निष्ठाले गरेका छन् धेरैले अभीष्ठा र नियतले गरेका छन् । राजनीति पछि समाजसेवा झन् बढीले गरेका छन् । अमेरिकामा नेपाली कति छन् भन्ने यकिन नभए जस्तै नेपालीद्धारा संचालित संघसँस्था कति छन् त्यो पनि यकिन चैं छैन । सबैखाले गरेर पाँचसयभन्दा बढी होलान् नेपालीका संघसँस्था अमेरिकामा ! यी मध्ये केही प्रशंसनीय र उदाहरणीय पनि छन् । तर धेरैले नियतपूर्वक सँस्थाको खोलमात्र ओढेका छन् । अपवादलाई छोडेर प्रायशः सबै सँस्था बिना दर्ता संचालन भएका छन् । कानूनी हैसियत नै छैन । यहाँका कतिपय पुराना कथित ठूला सँस्थाको हालत पनि त्यस्तै छ, त्यसरी नै चलेको छ । प्राय कुनै सँस्थामा पारदर्शिता छैन । नीति, नियम, विधान, प्रकृया कता के छ कसैलाई थाह छैन प्राइभेट कंपनी भने पनि हुन्छ अमेरिकाका नेपाली संघसँस्थालाई । झोलामा अफिसमा, खल्तीमा डलर । चलेको छ यहाँ समाजसेवाको लहर । पुराना र कहलिएका सँस्थाको हालत पनि त्यही नै छ भन्दा फरक पर्दैन । पुरानो सँस्था ए एन ए अमेरिकाको वर्षौको कलह हात हालाहालसम्म पुगेर अदालतमा गइसकेपछि पनि भित्रभित्रै भुसको आगो भएर बलिरहेको छ । अर्को विश्व चर्चित एन आर एन अमेरिकाको हालत पनि त्यस्तै छ । आजसम्म यो सँस्थाले आफ्नो जग नै बनाउन सकेको छैन । हल्लैहल्लाको भरमा चलेको छ । हल्लैहल्लालाई धेरैले विश्वास गरेका छन् । हरेक सँस्थामा भित्रभित्र सधैं मारामार र लडाइँ छ । विडम्बना नै भन्नु पर्छ अमेरिकाको सबैभन्दा पुरानो र बोक्रे ख्याति कमाएका यी दुबै ठूला(?)सँस्थामा बल्ल पहिलो पटक बल्ल सीमित प्रकृया अपनाएर निर्वाचन गरिदैंछ । तर हात्ती आयो…. हात्ती आयो…. हल्ला भने कता हो कता छ । नेपाल जाँदा हातमा पानीको बोटल, टाउकामा अमेरिकी ह्याट, छातीमा अमेरिकन झण्डा पोतिएको गन्जी र गोपालकट्टु (हाफपेन्ट भन्दा अलि लामू पेन्ट भन्दा छोटो कट्टु) लाएर अमेरिकन बनेर अँग्रेजी नमिसाई नबोल्ने कति चटकीहरु अहिले एन आर एनको उमेद्वार बनेका छन् । यता अमेरिकामा चैं एक एक पटकको नेपाली सधैंको नेपाली भन्दै भित्तामा नेपाली झण्डा टाँसेर, टाउकामा नेपाली टोपी भिरेर फोटो खिच्दै फेसबुकमा राख्दै सच्चा नेपाली बनेर भोट माग्दै छन् । रत्नपार्कका चटकी फौबन्जारले पनि यतिसारो त गर्दैनन् होला ! वास्तविकतालाई स्विकार्ने हो भने अमेरिकाका नेपाली संघसँस्थालाई हावा फुस्किएका भकुण्डो भने पनि हुन्छ । अझ कतिका त हावै भरिएका छैनन् । विवाद रहित सँस्था सायद छदाँ पनि छैनन् भन्दा सायद अत्युक्ति पनि हुदैन । विवाद नै नेपालीको ‘ओरिज्नल’ स्वाद भएको छ । विवादको प्रमुख कारण पद नै रहेको छ । पदका लागि एकले अर्काको वध गर्ने शास्त्रिय र सनातन चलन झन प्रचण्ड छ अमेकामा । पद पु¥याउन कतिपय सँस्थामा त अध्यक्ष र सभापति दुबै राखिएका छन् । यी अनौठा उदाहरहरु देख्ने–सुन्नेलाई भने “कति हास्नु हउ…” भने जस्तो भएको छ । अर्को हास्यास्पद सत्य के पनि हो भने एउटै मान्छेले सातओटा सँस्थाका चौधवटा पद ओगटेको हुन्छ । संसारका कहीँ नभएको एउटै मान्छे एउटै सँस्थामा सल्लाहकार र डाइरेक्टर पनि भएको छ । अनि जहाँ गयो तिनै अनुहार, तिनै मान्छे, तिनै बकम्फुसे कुरा । आफू जुन सँस्थामा हुन्छ त्यो संसारकै उत्कृष्ठमा गनिन्छ, नभए सबैभन्दा निकम्मामा ठानिन्छ । अमेरिकामा नेपाली सँस्था दिनानुदिन बढ्दैछन् तर अनुहार भने तिनै दोहोरिदैछन् । सँस्था खोलिनुका कारण भने अनेक छन् । सबैभन्दा मुख्य कारण चाहिँ खादा र मालाको शोख र भोक नै रहेको छ । त्यसपछि व्यक्तिगत प्रतिशोध र रीसरागले खोलिएका छन् । अरुले नमाने पछि आफुले आफुलाई ठूलो बनाउँन पनि खोलिएका छन् । प्रायशः सबै जसो सँस्थाले नेपाली समाजको सजिलो प्रचलित प्रथा “स्वधोषणा प्रकृया”लाई अपनाएका छन् । कार्यक्रममा धेरै जसो आफैंले आफैंलाई सम्मानित गर्ने कार्यक्रम हुन्छन् । मान्छे फ्लोरमा भन्दा मञ्चमा बढी हुन्छन् । खादा र झल्किने मालाको बेपार पनि अमेरिकाको केही ठाउँमा राम्रैसँग चलेका छन् । अर्को झन् हास्यास्पद सत्य के पनि हो भने– यहाँका समाजसेवीे कोटको एउटा खल्तीमा माला र अर्कोमा खादा हालेर हिड्छन् । चर्पीमा छिरेर फोटो खिच्छन् र फेसबुकमा टाँस्छन् । फेसबुकको वाहीवाहीले ल्याएको आत्मरतिमा निदाउँछन् । त्यही निद्राको दङ्दङेमा आफूलाई महान् देख्छन् । अमेरिकामा नबिकेका यी महान् समाजसेवीहरु मातृभूमि नेपाल गएको बेला टाइसुट लगाएर अन्तर्वाता दिन्छन् । पत्रकारले पनि लिन्छन् सर्वसाधरणले पनि पत्याउँछ । सम्मान गरेर पठाउँछन् । मैले देखेको अर्को हास्यास्पद कटु यर्थाथ के पनि छ भने– एउटा सँस्थामा एउटै मान्छे वर्षौदेखि वर्षौसम्म अध्यक्ष हुन्छ । आफ्नो सँस्थाले केही नगरे पनि अर्को सँस्थाको कार्यक्रममा सधैं जान्छ । सधैं मञ्चमा हुन्छ । सधैं खादा र माला लाउँछ । सँस्था कता छ ? अरु सदस्य कता छन् ? को हुन् ? कसैलाई थाह हुदैन । विभिन्न सामाजिक संघसँस्थाका नाउँमा यसरी पगरी धारण गर्ने धेरै छन् । यथार्थमा त्यो पगरी भने “गधाको घाँटीमा महुवाको माला” जस्तो देखिन्छ । “जीवनको सम्पूर्ण अर्थ नै मानवताको सेवा हो ।” दार्शनिक लियो निकोलाभिच टोल्स्टायले भनेको यो वाक्यांशलाई आत्मामा राखेर निष्ठाले गरिने कार्य हो समाजसेवा । तर निष्ठा भनेको हात्तीका देखाउने दाँत जस्तो भएको छ अहिले । नेपालीले यी सबै जानेर पनि गरेका छन् । नजानेर पनि गरेका छन् । जान्नेभन्दा नजान्ने झन् जान्ने देखिएका छन् । केहीले नबुझेरै सबैथोक जानेका छन्, नजानेरै सबैथोक बुझेका छन् । यदाकदा ठ्याक्कै उस्तै लाग्छ चीनिया दार्शनिक कन्फुसियले भने जस्तै– “जान्ने बोल्दैन, बोल्ने जान्दैन” ! यी बाहेक नेपालीहरुले पत्रकारिता पनि गरेका छन् । जाने–बुझेकाहरु पत्रकारिताको न्यूनतम मर्यादाभित्र रहेका पनि छन् तर धेरै जसोले अमेरिकाको नेपाली पत्रकारितामा पनि “नबुझेरै सबैथोक जानेका र नजानेरै सबैथोक बुझेका छन् ।” पत्रकारिताको कखरा थाहा नभए पनि “साभार पत्रकारिता”को भरमा फलाना अनलाइनको प्रधान सम्पादक भनेर चिनिएका छन् । समाचार के हो र कस्तो हुन्छ भन्ने न्यूनतम ज्ञान नभए पनि ठाउँठाउँमा घाँटीमा खादा र छातीमा बिल्ला भिरेर यी पनि सम्मानीत भएकै छन् । यहाँभित्र एक अर्को अद्भूत रोचक सत्य छ । एक जुगमा एकदिन भने जस्तो अमेरिकाका धेरै नेपालीहरुको जीवनमा त्यो एक दिन आउँछ । खपिनसक्नु खुशीको दिन ! त्यो एक दिन मूतलः यी समाजसेवीहरु नै अत्यन्त खुशी हुन्छन् । ठूलो पार्टी गर्छन् । स्याम्फेनमा नुहाउँछन् । रक्सीमा डुब्छन् । नेपाललाई नै गाली गरेर मातृभूमि नेपालप्रति अगाध श्रद्धा देखाउँछन् । आफू बाहेक अरु सबैलाई खराब देख्ने सदाबहार वाँणीको बिगुल झन् चर्कोगरी फुक्छन् । देश बिगारे भनेर सबैलाई सत्तोसराप गर्छन् । यस्ता नेपालीको त्यो अथाह खुशीको महान् दिन हो– मातृभूमिको नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको दिन ! सायद विडम्बना नै भन्नु पर्छ …..लाई भन्दा देख्नेलाई लाज भने जस्तो गरी चलेका छन् अमेरिकामा नेपाली सामाजिक संघसँस्था र प्रत्रकारिता ! हालः बोस्टन, अमेरिका । http://www.mysansar.com/2014/0...

cybernepali · Jul 2, 2014 8:57 AM · 2,247 views

2 Replies

हामि गधा पच्चिसे के पैतिसे हुईञ्जेल बाउ बाजेले कमाइदिएको वा टक्सार बनाएको सम्पतिमा मोज गर्ने देखि अन्स को माग गर्ने चलन हुने , जसका घर परिवार बाट बिदेस छिरेका छैनन तिनी हरुका लागि अमेरिका वा लाहुर टक्सार खाना हो अनि जति र जसरि सकिन्छ टाटा टिपन पाईने दिवा स्वप्न बोकेका हरुले बोईङ्ग चडे देखि बास्तबिकताको क ख रा सुरु हुन्छ | काम भनेको टेबुलमा बसेर गर्ने काम मात्रै काम ठान्ने हरुलाई पहिलो दिमागी घन ठोकाई सुरु हुन्छ | कल्पनाको बिदेस र भोग्ने बिदेस सिक्काका दुई पाटा जस्तै हुन् ( यो कुरा सबैमा लागु हुँदैन) |

Magorkhe1 · Jul 2, 2014 2:16 PM

I have been part of such an organization in the past, in the executive team. I will tell you that most, if not all, organizations are created to advance the self interest and agenda of the founders. Most of the times, the interest is recognition. Moving away form the home country, we all suffer from existential crisis; what else is a better way to regain that perspective and be a "respected" member of the community than start your own organization? This thing goes both ways. Since we have so many Nepalis in US, most of us no longer care for these organizations. You try to organize a community building initiative, nobody helps. You host a small party, everybody comes.I shut down the organization when the sole participation we had was from these parties, I didn't see much point. Those get togethers were to support organization's initiative, for most organizations they become the sole activity the org perform. Then you have people who want position and if they don't get it, they start their own organization. I still remember one of the presidents (of a Canadian Nepali org) saying, "I might have become a president, but I haven't forgotten you all." Seriously? That's the intellect and motivation of people leading organizations.

Kiddo · Jul 3, 2014 7:45 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all