स्वर्गबासी राजपरिवारको चल सम्पत्ति ‘गायब’ जानकारी दिनेलाई आकर्षक पुरस्कार १ असार, काठमाडौं । नारायणहिटी हत्याकाण्डमा वंशनाश भएका तत्कालिन राजा वीरेन्द्र र उनको परिवारको नाममा स्वदेश तथा विदेशमा अर्बौको चल अचल सम्पत्ति रहेको हुन सक्ने अनुमान फेल खाएको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा ४५ हजार ४५ पाउण्ड र दश हजार नेपाली रुपैयामात्र चल सम्पत्ति भेटिएको छ । रानी ऐश्वर्याका नाममा स्वीटजरल्याण्ड, बेलायत र अमेरिका लगायत देशमा बैंक खाता रहेको आशंका पनि गलत सावित भएको छ । विदेशका कुनै पनि बैंकमा वीरेन्द्र, ऐश्वर्या, दिपेन्द्र, निराजन र श्रुतीका नाममा एक पैसा पनि नदेखिएको नेपाल ट्रष्टले जनाएको छ । वीरेन्द्र कंगाल थिए ? देशभित्रै रहेको भनिएको धेरै परिमाणको चल सम्पत्ति पनि कतै नभेटिनुलाई ट्रष्टकै कर्मचारीले पनि रहस्यमय भनेका छन् । ‘कि त वीरेन्द्रको परिवार कंगाल थियो भन्नुपर्यो, होइन भने कहिँ न कहिँ चल सम्पत्ति हुनुपर्ने हो’ एक उच्च अधिकारीले भने-’तर दश हजार रुपैयाँ बाहके केही फेला परेन ।’। ‘हामीले अमेरिका र स्वीटजरल्याण्डका बैंकहरुमा राष्ट्र बैंक र परराष्ट्र मन्त्रालय मार्फत बुझ्यौं तर भेटिएन’ नेपाल ट्रष्टका सचिव श्रीधर गौतमले भने-’स्वीटजरल्याण्डका बैंकमा डमी नाम खडा गरेर पनि पैसा राख्ने गरिन्छ रे, त्यो चाहिँ हामीले पत्ता लगाउन सकेनौं । ‘ कहाँ कति शेयर ? पूर्व राजपरिवारको नाममा अर्बौंको चल सम्पत्ति भेटिने अपेक्षा सहित नेपाल ट्रष्ट खडा भएको थियो । तर अपेक्षा अनुसार सम्पत्ति नदेखिएपछि सरकारी अधिकारी पनि छक्क परेका छन् । वीरेन्द्रको बंशनाशपछि पूर्व राजा ज्ञानेन्द्रले चल सम्पत्ति आफ्नो परिवारमा नामसारी गरेको आशंकालाई पनि पुष्टि गर्ने आधार नभेटिएको ट्रष्टले जनाएको छ । पूर्व राजपरिवारका सदस्यको नाममा रहेको चल अचल सम्पत्ति नेपाल ट्रष्टमा ल्याउने निर्णय अनुसार खोजी सुरु भएको थियो । ट्रष्टका सचिव गौतमका अनुसार पूर्व राजा वीरेन्द्रको परिवारका नाममा नबिल बैंकमा १ लाख ४४ हजार ४७२, होटल अन्नपूर्णमा ३० हजार ७२० र नेपाल औद्योगिक विकास नियममा ६ हजार ६५० कित्ता शेयर भेटिएको छ । त्यसको लाभांश सहित सबै पैसा ट्रष्टमा जम्मा भएको छ । सोचे जस्तो भएन नेपाल ट्रष्टमा पूर्व राजपरिवारको चल अचल सम्पत्तिको आम्दानीबाट हालसम्म २४ करोड ७९ लाख २५ हजार ८४३ रुपैया जम्मा भएको छ । यो रकमबाट लगानी निर्देशिका अनुसार केही काम हुन सक्दैन । ‘स्वर्गीय राजपरिवारको नामबाट ठूलो धनराशी प्राप्त हुने र सो धनराशीबाट बढे बढाएको सम्पत्तिबाट नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी गर्ने उद्देश्य राखिएको थियो’ गौतमले भने-’तर हालसम्म प्राप्त चल सम्पत्ति ज्यादै थोरै भएकाले लगानी निर्देशिका तयार गरि लगानी गर्न सकिएको छैन । ‘ स्वर्गीय राजपरिवारका नाममा रहेका जंगल तथा जग्गाहरु भने ट्रष्ट अन्तर्गत आइसकेका छन् । नुवकोट, धादिङ काठमाडौंसहित धादिङ, सिन्धुपाल्चोक लगायतका जिल्लामा भेटिएको केही जग्गा ट्रष्ट नाममा ल्याइएको छ भने केही प्रक्रियामा छन् । जानकारी दिनेलाई पुरस्कार धेरै मान्छेहरुको अनुमान विपरित स्वर्गीय राजपरिवारको नाममा कतै पनि सम्पत्ति नदेखिएपछि ट्रष्टले सम्पत्तिको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गर्न लागेको छ । पूर्व राजपरिवारका सदस्यको नाममा कुनै चल अचल सम्पत्ति रहेको वा पूर्व राजपरिवारका सदस्यले कतै कसैलाई चल अचल सम्पत्ति राख्न दिएको जानकारी भएमा ट्रष्टमा उपलव्ध गराउन आग्रह गरिएको छ । ‘त्यस्तो सूचना दिनेलाई आकर्षक पुरस्कारको व्यवस्था गर्दैछौं, सन्चालक समितिले पुरस्कार राशी तोक्नेछ’-सचिव गौतमले भने । - See more at: http://www.onlinekhabar.com/20...
cybernepali · Jun 16, 2014 12:26 PM · 2,074 views
सोचे जस्तो भएन ? वाह क्या गुनासो ? सोचे जस्तो कहिले भएको थियो र अचम्म मान्छौ गुल्लादे हो | कमाएकै थिएन कि ? यदि ज्ञानेन्द्रले नलेको भए ? वा पूर्व प्रमले हत्याए जस्तो छ ?
magorkhe1 · Jun 16, 2014 2:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion