युनानमा पनि अरनिको-स्तूप

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

युनानमा पनि अरनिको-स्तूप फुलमान बल                    ० युनानको कुनमिङमा रहेको स्तूप । तस्बिर: फूलमान/कान्तिपुर युनान (कुनमिङ), जेष्ठ ३० - चीनको दक्षिण पश्चिमी प्रान्त युनानको राजधानी कुनमिङस्थित एक स्तूप अरनिकोले बनाएको पत्ता लागेको छ । गुवाङडुस्थित प्राचीन सहरमा पर्यटन आकर्षणको सम्पदाका रूपमा रहेको यो स्तूप निर्माण समय र यहाँ रहेको रञ्जना लिपिका आधारमा अरनिकोले बनाएको पुष्टि भएको हो । रञ्जना लिपिको शिलालेखमा 'आ' 'ला' 'व' र 'त' स्पष्ट बुझिन्छ भने छेउछाउ र बीचका केही अक्षर मेटिएका कारण अर्थ भने खुल्दैन । चिनियाँ भाषामा लेखिएको आलेखअनुसार यो तेह्रौं शताब्दीमा युआन राजवंशका मंगोल शासक कुब्लाई खाँको पालामा निर्माण र चार सय वर्षअघि मिङ राजवंशको पालामा जीर्णोद्धार गरिएको हो । जीर्णोद्धारपछि पनि सानो ढुंगामा लेखिएको रञ्जना लिपिलाई स्तूपको मध्यभागमा राखिएको छ । तेह्रौं शताब्दीमा जयभीमदेव मल्लले अरनिकोलाई तिब्बतको ल्हासामा गोल्डेन स्तूप बनाउन पठाएका थिए, त्यही बेला मंगोल शासक कुब्लाई खाँले उनलाई कलात्मक स्तूप र मन्दिरहरू बनाउन महाचीनमा निम्तो गरेको इतिहास छ । अरनिकोको नाम उल्लेख नभए पनि कुनमिङमा रहेको स्तूप कुब्लाई खाँकै पालामा निर्माण गरिएको उल्लेख छ । अरनिको चीन गएको समय स्तूप निर्माणको समयसँग मिल्छ । 'कालिगढहरूको ठूलो दलबलसहित अरनिको चीन गएका हुन्, मंगोल शासक खाँको निम्तो पाएपछि उनी नेपाल फर्केनन्, उतैबाट प्यागोडा शैलीका मन्दिर बनाउँदै चीन पसे,' चीनमा रहेर लामो समय अरनिकोमाथि नै अनुसन्धान गरेका संस्कृतिविद् सत्यमोहन जोशीले भने, 'नाम उल्लेख नगरिकनै उनले थुप्रै स्तूप र मन्दिरहरू बनाएका छन् । चीन छँदा मैले धेरै स्तूपबारे जानकारी लिएको भए पनि युनानको चाहिँ पत्तो पाएको थिइनँ ।' कुनमिङ राइटर्स फोरमका लागि युनान आइपुगेका साहित्यकार टोली गुवाङडुको प्राचीन सहर घुम्ने क्रममा रञ्जना लिपि देखेपछि चकित भएका थिए । 'रञ्जना लिपि नै जिउँदो प्रमाण हो नि,' साहित्यकार तथा पूर्वअर्थमन्त्री एसपी कोइरालाले भने, 'यसबाट अरनिको र पुरानो नेपाली सभ्यताको पहिचान हुन्छ ।' एघारौं शताब्दीमा नेपाल (नेवार) भाषा लेख्ने क्रममा प्रयोगमा आएको रञ्जना लिपि पछि बिस्तारै भारत, तिब्बत, चीनको समुद्री तट, मंगोलिया हुँदै जापानसम्म प्रचारप्रसार भएको मानिन्छ । यो लिपिलाई नेपालले आफ्नो राष्ट्रलिपिका रूपमा संयुक्त राष्ट्रसंघमा समेत दर्ता गरेको छ ।   सात सय वर्ष पुरानो कुनमिङको यो स्तूपको नाम भने चीनखाङ स्तूप हो । 'चिनियाँ भाषामा यसको अर्थ बलियो बाँदर स्तूप हुन्छ,' चीन-नेपाल सांस्कृतिक आदानप्रदानमा सक्रिय वल्र्ड कल्चरल नेटका दीपक सरकारले भने, 'नेपालमा मात्रै यो स्तूपको पहिचान नभएको हो । चीनमा अरनिकोले नै बनाएको भन्नेमा कुनै विवाद नै छैन ।' उनले ल्हासामा गोल्डेन स्तूप बनाएपछि कुनमिङ हुँदै अरनिको बेइजिङ गएको हुन सक्ने अनुमान लगाए । 'यो स्तूपले पनि यही पुष्टि गर्छ,' उनले भने । चीन गएपछि मंगोल केटीसँग बिहे गरेका अरनिकोले पछि सातवटी अरू चिनियाँ केटी पनि बिहे गरेका थिए । सबै गरेर ६ छोरा र ८ छोरीका बुवा बनेका अरनिकोका सन्तान यसपछि पहिचानमा छैनन् । प्रकाशित मिति: २०७१ जेष्ठ ३० ०८:२० - See more at: http://www.ekantipur.com/np/20...

_____ · Jun 13, 2014 8:28 AM · 1,594 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all