मन-अदालत हतार हतार फ़्रनटिएर एरलाइन्सको चेक इन काउन्टर पुगें, काउन्टर पुरै खाली ! कियस्क मसीनमा भएका सबै कार्डहरु पालैपालो घुसाएँ, केहि ख्यांसेन । फ्लाइट उड्नु ४५ मिनेट अघि काउन्टर बन्द हुन्छ भनि लेखिएको नोटिसमा आँखा गयो । "लौ! अब त्यै बोर्डिंग पासको फोटोले काम चलाउनुपर्यो," भनेर सोचें अनि लागें सेक्युरिटी चेकतिर । अघिल्लो रात/बिहान अनलाइन चेक इन गरेर बोर्डिंग पास निकालेको थिएँ । प्रिन्ट गर्नु भन्या थियो, "बारकोड त हो नि, पढिहाल्छ मसीनले, को प्रिन्टर खोज्न दौडीयोस् यति राति?" भनि चट्ट लाएर स्क्रिनसट लिएर पेन्टमा बकाइदा मिलाएर काटें अनि इमेल गरें आफुलाई बोर्डिंग पासको फोटो । "टेक्नोलोजी युज गर्न त जानेकै हो मैले आहा !" बकम्फुसे ढाडस दिएको थिएँ आफैंलाई । सेक्युरिटी चेकमा एउटी थसुल्ली आइमाई, आइ डी मागी, लाइसेन्स दिएँ, बोर्डिंग पास मागी, फोनमा फोटो देखाएँ । "तेल्ले त हुन्न होला," भन्छे । तैपनि ट्राइ गरियो, तर के खान रिड गर्थ्यो त्यो स्क्यान डिवाइसले ? फोन ओल्टाई पल्टाई टासें त्यो स्क्यान स्क्रिनमा, अहँ टुंटुंटुंटुंटुंट् गर्दै मनै अमिलो हुने इरर मेसेज दियो हरेक पटक । फोटोको बारकोडमा जुम गरें, बारकोडलाई फोनको स्क्रिनको दायाँ राखें, बायाँ राखें, तल, माथि, मरे काटे एसेप्ट गरेन ।घडी हेरें, जम्मा २५ मिनेट बाँकी प्लेन उड्नलाई। " एकचोटी गेटका मान्छेहरुलाई फोन गरिदिनुस् न !" रुन्चे अनुहार लाएर आग्रह गरें त्यो थसुल्लीलाई, "मिल्दैन !" दुइ इन्ची मोटो ओठ लेब्र्याएर जवाफ फर्काई । "चेक इन काउन्टरमा जा।" हातमा भाको भारी क्यारी अन झोला लतार्दै दौडें फेरी काउन्टरतिर । एक्स्ट्रा ब्यागेजको एक्स्ट्रा पैसा कल्ले तिरोस् ? अटाई नअटाई भएभरको लुगाफाटा गुन्द्रुक जसरी खाँदेको थिएँ । काउन्टरमा दुई एजेन्ट देखिए । आहा उड्न पाइने भइयो भने जस्तो भाथ्यो एकछिन, भरे त्यो पनि मुता न्यानो जस्तै भो । "फ्लाइट उड्नु ४५ मिनेट अगाडीदेखि त हामी चेक इन गर्न सक्दैनौ सर," दुवैको एकैसाथ सुगारटाई । "अर्को फ्लाइट चाहिँ बुक गर्दिन सक्छु," ठुलो मेहेरबानी टक्राउन खोजे जसरी दुई मध्येकी एकले भनी । "एकछिन, म पहिले त्यो इन्फर्मेसन डेस्कमा गएर बोर्डिंग पास प्रिन्ट गर्न खोज्छु।" सास रहुन्जेल आश, १० मिनेट बाकीं थियो फ्लाइट उड्न, दौडिएँ फेरी झोला बोकी इन्फर्मेसन डेस्कतिर। "केही हुनेवाला छैन," फ़्रनटिएरको एउटा एजेन्ट कराको सुने पछाडी। म आत्तिएको देखेर यसको त बेहुली नै डेन्भरमा कुरीराकीछे भनेर सोची कि खै के हो, इन्फर्मेसन डेस्ककी आइमाई आफ्नो सीटबाट सरक्क उठेर आफ्नो कम्प्युटर पुरै मलाई चलाउन दिई । "जाति रैछे," मनमनै सोचें । साइडमा प्रिन्टर थियो, ल अब बेला आयो नारायण प्रसादको छोरोले न्यु ओर्लिन्स एरपोर्टका यी बजियाहरुलाई आफ्नो औकात देखाउने......ढ्यान ट ढ्यान....बिजुलीको बेगमा जीमेल खोलें, फ़्रनटिएरको चेक इनवाला इमेल खोलेर चेक इन साइटमा गएँ । हात्ती आयो हात्ती आयो फुस्सा, पहिले नै अनलाइन बोर्डिंग पास निकालेको भएर फेरी निकाल्न मिलेन। "थुइक्क टेक्नोलोजी," भन्दै हरुवा कुकुरले पुच्छर लुकाउँदै हिड्ने चालमा पुगें चेक इन काउन्टरमा, दिउसो २:३० बजेको टिकट बुक भो, साढे छ घण्टा ठ्याकराक्कै कुर्नुपर्ने, अघिल्लो रात पुरै अनिदो बितेको थियो। पहिले त सबैसँग रिस उठ्यो। त्यो थसुल्ली आइमाई, फ़्रनटिएर ऐर्लाइन्स अनि त्यसका एजेन्टहरु। तर एकैछिनमा के भो कुन्नि सबै आक्रोशको दिशा आफूतिरै फर्कियो। "आफ्नै गल्ती हो", भित्री ज्ञान खुले जस्तो भयो। बुद्धले भोकभोकै तपस्या गरेर ज्ञान पाए, मेरो ज्ञानचाहिं रातभरी नसुती जाँड खाएर खुल्यो। कफी पसल गएँ, एक कप कफी अनि एक कप पानीसँग दुई कप आत्मग्लानि पिएँ। मगजभित्रका बाउजन्य तन्तुहरुले कु गरे, आफ़ुभित्रका सधैं हावादारी तालमा हिंड्ने, अति जान्ने सुन्ने (अजासु), आवारा, छाडा, बाल दिने, अपरिपक्व पात्रहरुको सरकार ग्वार्लाम्म ढल्यो। तिनीहरु सबलाई जेलमा खाँदे, मुद्दा चलाउने प्रक्रिया शुरु भो, अब नांगे झार लाग्ने भो तिनलाई। "इन्टरन्यास्नल फ्लाइटको लागि कम्तीमा दुई घण्टा पहिले अनि डोमेस्टिक को लागि एक घण्टा अगाडी एरपोर्ट पुग्नुपर्छ," नेपाल एरलाइन्समा जिन्दगीभर जागिर गरेकी आमाको दोहोरिरहने वचन गुन्जाए मगजको अदालतमा। "गल्ती भयो सरी," सबै आरोपितहरुको एकल स्वरुप भएर कठघरामा उभिएको प्रतिवादीको जवाफ। "राति २ बजेसम्म बसेर धोकियो रे नि त बारमा?" "१०-११मा निक्लन लागेको हो, एउटा रमाइलो ग्रुप भेट भो, तिनीहरुसँगै अल्मलिएर बसियो हामी तीन दौतरी।" "ल हाउडे अभियोगमा त दोषी देखिए, हदैसम्मको कारवाही गरियोस्, अब त्यो अजासु अभियोगमा सुनवाई शुरु गरौँ," नयाँ सरकारी वकिल कुर्लियो। आरोपित स्वरुप गम्भीर मुद्रामा चुपचाप बस्यो। "खुबै सबै भन्दा स्मार्ट फोन किन्छु भनेर मोटो-एक्स् किन्नु भो होइन? "हो! त्यो पनि गल्ती भो, माफ पाउँ।" "कसरी गल्ती भो? सुनाउनुस यो अदालतलाई।" "गुगलले धोखा दियो।" "आफ्नो गल्ती तेसरी अरुमाथि थोपरेर, त्यो पनि संसारकै प्रतिष्ठित कम्पनीलाई, उम्कन पाउनु हुन्न। कसरी धोखा भयो?" "एप्पल को आइफोन २ वर्ष चलाएँ, सार्है डिक्टेटर शासन गर्न खोज्यो एप्पलले। यो गर्न नपाइने, त्यो नपाइने। एउटा गान डाउनलोड गरेर सुन्नलाई हजारथरि नाटक रच्नुपर्ने। कन्ट्रयाक्ट सकियो, ग्यालेक्सी आयो, सबले तेसैमा सुइच गरे। अब अरुहरुभन्दा येसो कुल त देखिनु पर्यो। फेरी टेक्नोलोजीको उस्ताद नै मान्छु आफुलाई, येसो ट्रेन्डसेटर बन्ने सोच आयो। कुरें कुरें, गुगलले मोटोरोला किनेपछीको पहिलो फोन आउने भो, त्यो पनि मेड इन यु एस ए। फोनलाई नछोइकनै कुरो अर्हाउन मिल्ने, येसो हल्लाए भने क्यामेरा खुल्ने, ओहो! अरु के चाहियो र? आफुले चिनेकाहरूमध्ये पहिलो बनियो मोटो-एक्स् किन्ने। सबलाई डेमो देखाउंदै हिडें। म स्मार्ट, मेरो फोन ओवरस्मार्ट, आहा कति रमाइलो कम्बिनेसन ! गुगल मलाई खुब बिश्वास लाग्ने ब्रान्ड, मैले आफुलाई सबैभन्दा आइडेण्टिफ़ाइ गर्ने ब्रान्ड भनेको विकिपिडिया, त्यो भन्दा केहि कम होला, तर गुगलसँग पनि मजाले रीलेट गर्न सक्छु। गुगललाई बिश्वास गरेर किने त्यो फोन, बज्जे गुगलले मोटोरोला नै बेच्दियो लेनोभोलाई। पछि त्यो फोनको साउण्ड पोर्ट पनि बिग्रियो, बोलाउंदै नबोलाई पनि बर्बराउन थाल्यो। 'ओ के गुगल नाउ' भनेर कति मायाले बोलाइन्थ्यो, पछि के 'हाइ लेनोभो' भन्नु ? सार्है रिस उठ्यो गुगलसँग। थपक्क मोटोरोला किनेर, कमसल फोन मजस्ता बबुरालाई भिडाएर, अर्कैलाई कम्पनी बेचिदिने? कति मापाको? यो बज्रस्वाँठ गुगललाई ल्याउनुस न सक्नुहुन्छ भने यो अदालतमा। बिग कर्प्रेसनहरुले त तपाईलाई नि गुलाम बनाएकै होलान् क्यारे! मजस्तो सोझोको सातो खाएर के पाउनुहुन्छ?" "त्यो हाम्रो पदिय दायित्वभन्दा बाहिरको कुरा हो। कृपया अदालतको मान-मर्यादामा आंच आउने किसिमको वक्तब्यबाट आफुलाई टाढै राख्नुहोला। ल बरु अब फैसला सुनाउने बेला भो। " "पर्खनुस न्यायाधीसहरु," पुरानो हिन्दी फिल्मी शैलीमा (शायद नयाँ पनि, उस्तो हेरिया छैन) सृजनशील मगजको प्रतिनिधित्व गर्ने एक वकिलले इन्ट्री मार्यो। यी सृजनशील तन्तुहरु पनि अचम्मका हुन्छन्, कतिबेला प्रकट हुन्छन्, कतिबेला गायब, पत्तै हुँदैन। क्वान्टम तहका सब-अटमिक पार्टीकलहरु जस्ता। कहिले दार्शनिक बनेर आउँछन्, कहिले कवि, कहिले सपनासँगै कथा बुन्छन्, कहिले चेतन आकाशमा निस्फिक्री उडान भर्छन्। "अदालतले आरोपितहरुको नैतिकतामाथि प्रश्न गर्यो, तर नैतिकताको श्रोत के हो? कुन विधानमा छ त्यो?" न्यायाधीसहरु एकैछिन अवाक भए, अनि विस्तारै भने, "यो नयाँ विधिको शासन हो। तेसैको विधान हो। हाम्रो यो मगजी संयन्त्रलाई चुस्त रुपमा स्वचालित गर्न यसको आवश्यकता आएको हो। धेरै छाडापन, गैरजिम्मेवारीपनले विकृति ल्यायो। तेसैलाई निस्तेज गर्न यो जरुरी थियो।" "माननीय न्यायाधीसज्युहरुले अझै मेरो जवाफ दिनुभएन। छाडा राम्रो कि अनुशासित राम्रो, जिम्मेवारी बोध भएको राम्रो कि उन्मुक्तता, के राम्रो के नराम्रो, त्यो कुनै बाहिरी श्रोतबाट आउने होइन। हाम्रो यो संयन्त्र बाहिरी समाज अनि परिवेशबाट प्रभावित नभईकनै संचालित हुनसक्ने सृष्टिको सार्वभौम एकाई हो। यस आधारमा आरोपीहरुले जे गरे त्यसले समग्र संयन्त्रको प्रतिनिधित्व गर्छ। तपाईले जे गर्दै हुनुहुन्छ त्यो पनि यही एकाईको प्रकृति हो। म, तपाई, यिनीहरु, हाम्रो अस्तित्व मात्र सत्य हो। राम्रो, नराम्रो त केवल व्याख्या, विश्लेषण मात्र हुन्।" हिजो बारमा एकजनासँग गफ गर्दा नैतिकताको बारेमा पढेको एक लेखको मजाले बयान गर्या थिएँ। नित्सेको अस्तित्ववादी दर्शनबाट प्रभावित त्यस लेखका धेरै तर्कहरु भित्र मन-अदालतमा गुन्जिरहेका शब्दहरुमा मिसिएका थिए। मन-अदालतमा एउटा मौनता छायो, सृजनशील तन्तुहरुको प्रतिनिधि वकिलले फेरी बाजी मार्यो। उसको अकाट्य तर्कहरुका अघि कहिल्यै कसैको केही लाग्दैन। आरोपितहरुका मुहारमा प्रशन्नता छायो। मन-अदालत बाहिर म कफी पिउँदै थिएँ। सृजनशीलताले भित्रबाट फैलिदैं फैलिदैं मेरो तन, मेरो अस्तित्व, सबैलाई छोयो। लोलाएका आँखाहरु चनाखा हुन थाले, नियालेका हर दृश्य, भोगेका हर भाव अनि मन भित्रको बहश, सबै शब्दमा उतार्न औंलाहरु लालायित भए। आइ-प्याड निकालेर टाइप गर्न थालें। निद्रा भाग्यो। आनन्दको एउटा लहर सललल बग्यो पुरै मनभरी। अस्तित्वलाई नमस्कार गरें! मन-अदालत त्यही अस्तित्वमा विलीन भैसकेको थियो, जहाँ राम्रो, नराम्रो, असल, खराब, गुण, दोष केही थिएन। म खुशी भएँ। यति लेखिभ्याउँदा फ्लाइटको टाइम पनि भएछ। लौ अब प्लेनको ढोकाअगाडि लाइन बस्न जानुपर्यो। ************** मेरा अरु लेख रचनाहरु: meralekhharurakathaharu.blogspot.com mywritingsandstories.blogspot.com
valley_ · May 27, 2014 3:21 PM · 20,441 views
साझाबासीहरुको प्रतिक्रिया पाउँ न प्लीज !
valley_ · Jun 6, 2014 11:59 AM
भ्याली महोदय, कथा /लेख पढियो | सलल बग्ने लेखाइ , राम्रो लाग्यो | बिषय प्रसङ्ग अरुलाई नि झसंग हुने खालको | अरु पनि पढ्न पाए साझा बासी खुशी नै हुने छ |
rahulvai · Jun 6, 2014 1:34 PM
Nice read. I would love to read more from you.
KaliKoPoi · Jun 6, 2014 1:44 PM
#goodread #flawless
am_i_bovvered · Jun 6, 2014 9:32 PM
इसतरीय लेख /पढ्दा रमाइलो भो / "टेक्नोलोजी युज गर्न त जानेकै हो मैले आहा !" -- एस्तो सोचाई हामीमा नआउने होइन / जब परिस्थिति प्रतिकुल भैदिनछ , तब मात्रै हामीलाई आफ्नो कमि कमजोरी को महसुश हुने रैछ / आगामीदिनमा फेरी नया नया प्रस्तुतिहरु पडन पायियोश/
bachata · Jun 7, 2014 11:03 AM
@rahulvai: साझाबस्तीका हस्ती तपाइको कमेन्टले दङ्ग बनायो | @KaliKoPoi: Thanks. I will be posting if I write something that I feel worthy of sharing. You may check out other stuff that I have written in my blogs. @am_i_bovvered: Thanks @Bachata: धेरै धेरै धन्यबाद | आगामी दिनमा केहि पोस्ट गरे भने पुन: प्रतिक्रिया पाइयोस |
valley_ · Jun 9, 2014 8:46 AM
Valley जी धेरै राम्रो लेख छ , बेलाबेलामा मज्जाले हासियो | कहिले काही मलाई पनि येस्तई पर्छ धेरै बाठो हुदा तर समयको सदुपयोग गर्नुभयेछ, त्यो धेरै राम्रो | अरु पनि लेख्दै जानुहोला
Aamalaa · Jun 9, 2014 9:36 AM
@Aamalaa: धेरै धेरै धन्यवाद!
Valley_ · Jun 9, 2014 1:58 PM
भ्याली मित्र , पहिले झैं फेरी एउटा दामी तर नितान्त फरक लेख/मनोबाद का साथ् प्रस्तुत हुनु भयो , खुसि लाग्यो र पढेर झन् आनन्द आयो .... तपाईं का अरु पनि लेख येही साझा मा पढ्न पाउँ.... भ्यागुता सरि यता बाट उता अनि फेरी यता उफ्रीरहन नपरोस भन्ने म अल्छीको चाहना ..... - थाहा छैन
ThahaChaena · Jun 9, 2014 3:04 PM
Good writing, but there seems to be a factual errors. Huna ta hatarma hosh rahena hola! 1. स्क्रिनसट लिएर पेन्टमा बकाइदा मिलाएर काटें अनि इमेल गरें आफुलाई बोर्डिंग पासको फोटो । 2. बिजुलीको बेगमा जीमेल खोलें, फ़्रनटिएरको चेक इनवाला इमेल खोलेर चेक इन साइटमा गएँ । हात्ती आयो हात्ती आयो फुस्सा, पहिले नै अनलाइन बोर्डिंग पास निकालेको भएर फेरी निकाल्न मिलेन। A. Tehi email ma pathako boarding pass nai print garya bhaye ni hune ni. B. Frontier le "re-print boarding pass didaina". I don't about Forntier but American does.
NewTrader · Jun 9, 2014 4:50 PM
@ThahaChaena: मन पराइदिनु भएकोमा धेरै खुशी लाग्यो | हाहा.. हुन्छ हुन्छ, म आफ्ना लेखहरु एउटा एउटा गर्दै यता साझामै पस्किनेछु | धेरै एकैचोटी पढ्न चाहनेहरुको लागि चाहिं ब्लगको लिंक पनि टुच्च राख्नेछु | :-) @NewTrader: मेरो लेख यति डिटेलमा पढिदिनु भएकोमा आभार ब्यक्त गर्दछु | इमेलको इमेज फाइल प्रिन्ट गरे पनि फोनमा भए पनि रिड गर्दैन भनेर भनेको थिई त्यो थसुल्लीले | अनि फ़्रनटिअरको सिस्टमले तेही म्यासेज देखायो के गर्नु? फेरी फ्लाइट उड्नु ४५ मिनेट अघि चेक इन गर्न पनि नमिल्ने रैछ, ति एजेन्टहरुले भने जस्तो | जे जे भोगे, तेही लेखें, मिथ्या केहि कोरेको छैन, अरु भुलचुक लिने दिने :-) फेरी पनि हृदयदेखि धन्यबाद!
valley_ · Jun 10, 2014 8:56 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion