कथा-नजन्मिनुपर्ने मान्छे---धीरकुमार श्रेष्ठ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कथा-नजन्मिनुपर्ने मान्छे २०७१ जेठ १० गते ९:४९ मा प्रकाशित धीरकुमार श्रेष्ठ आज ठीक तीस वर्षपछि ऊसँग भेट भयो । तीस वर्षअगाडि उसको आत्मविश्वास र स्वाभिमान जस्तो थियो आज पनि त्यस्तै थियो । जीवनका उकालीओरालीले उसलाई गलाउन सकेनछ । अनुहारको तेज उस्तै थियो जस्तो तीस वर्षअगाडि । यस्तो अजब संसारमा गजब गरी कसरी बाँच्न सक्यो ! जीवनमा त्यति विधि भोगिसकेपछि एउटा मान्छे कि त आत्महत्या गर्छ कि त परिस्थितिसँग सम्झौता गरेर अगाडि बढ्छ । यो मेरो प्रमाणित मान्यता थियो र छ । उससँगको भेटले यस मान्यतालाई असत्य प्रमाणित गरिदियो । बितेका तीस वर्षमा उसले आत्महत्याचाहिँ गरेको छैन भन्नेमा म विश्वस्त थिएँ । किनभने ऊजस्ता मान्छेले जतिसुकै हन्डर र दुःख पाए पनि ती चर्चायोग्य विषय बन्दैनन् तर जब त्यस्ता व्यक्तिले आत्महत्या गर्छन् तब तिनका विगत खोतलिन्छन् र अखबारका पानाहरू भरिन्छन् । विगत तीस वर्षका अखबारमा मैले थुप्रै आत्महत्याका समाचार पढेँ । तिनमा कसैले आफ्नी मन परेकी प्रेमिकासँग विवाह गर्न नपाएको झोँकमा आत्महत्या गरे भने कसैले स्वास्नी–छोराछोरीलाई खानलाउन दिन नसकेको अपराधबोधमा आत्महत्या गरे । स्वास्नी पोइल गएको पीडा खप्न नसकेर अथवा प्रेमीले धोका दिएको पीडामा आत्महत्या गर्नेको खबर पनि प्रशस्त पढेँ । तीमध्ये परीक्षामा फेल र बेरोजगार भएर आत्महत्या गर्नेको सङ्ख्या पनि कम थिएन । त्यस्ता आत्महत्याका खबरमा सधैँ चनाखो भएर उसको नाम सबभन्दा पहिले खोज्थेँ तर कहिल्यै भेटिनँ । यही कारण ऊ बाँचेकै हुनुपर्छ भन्ने विश्वास उससँगको आजको भेटले सार्थक पारिदियो । यसबीचमा कहिल्यै श्रद्धाञ्जली अथवा समवेदना पढ्ने आवश्यकता देखिनँ । ऊजस्ता व्यक्ति अकाल मृत्यु मरे पनि श्रद्धाञ्जली अथवा समवेदना व्यक्त गर्ने मानिस पाउन गाह्रो छ । उसले आफ्नो जीवनमा कसलाई के गुन लगाएको होला र उसप्रति कसैले श्रद्धाञ्जली अथवा समवेदना व्यक्त गरोस् ! ऊजस्ता मान्छे केवल आफ्नो स्वार्थ हेर्न सक्छ अरूको होइन । त्यसैले श्रद्धाञ्जली अथवा समवेदना नहेरेर ठीक गरेँ । बितेका तीस वर्षमा न त उसले आत्महत्या गरेछ न त अकाल मृत्यु मरेछ । उससँगको आजको भेटले प्रमाणित गरिदियो । उसले आत्महत्या पनि नगरेको र अकाल मृत्यु पनि नमरेपछि पक्कै परिस्थितिसँग सम्झौता गरेर बाँचेको हुनुपर्छ । आखिर ऊ पनि मान्छे हो । मान्छे हुनुको नाताले ऊसँग पेट छ । त्यसै नाताले एउटा आङ छ । यतिमात्र नभई उसलाई जन्माउनेहरू र उसलाई जन्माउनेले जन्माएकाहरू उससँग गाँसिएका छन् । ती सबैले आ–आफ्ना पेट र आङ लिएरै जन्मेका छन् । सबैको पेट र आङले उसभित्रको योद्धालाई पक्कै पराजित गरेको हुनुपर्छ । एक्लो बृहस्पति झुठ्ठा भएपछि आफ्ना कारणले नभए पनि परिवारको आवश्यकताका अगाडि उसले शिर निहुराएको हुनुपर्छ । उसका विषयमा मेरा सोचाइ र विश्वास यस्तै बनिसकेका थिए विगत तीस वर्षमा तर आज अचानक उससँग भेट हुँदा मेरा अनुमानका विपरीत न उसले आत्महत्या गरेको थियो न परिस्थितिसँग सम्झौता न अकाल मृत्यु मरेको थियो ! मेरा सबै अनुमान बेकार थिए । जति सम्झिँदा पनि थाहा पाउन सकिनँ । उसले आत्महत्या गरेन भने किन गरेन ? परिस्थितिसँग सम्झौता गरेन भने कसरी गरेन ? अथवा अकाल मृत्यु मरेन भने किन मरेन ? रहस्य थाहा पाउन नसकेपछि म उससँग जोडिएका विगत सम्झिन थालेँ । उससँगका प्रसङ्ग सुरु हुनुभन्दा अगाडि म मेरा प्रतिद्वन्द्वीलाई तह लगाउन व्यस्त थिएँ । मेरा प्रतिद्वन्द्वी मभन्दा सिनियर थिए । उनलाई पछारेर विभागीय प्रमुख बन्नु असम्भव भए पनि मेरो एकमात्र लक्ष्य त्यही थियो । विभागीय प्रमुख बन्न आवश्यक पर्ने शैक्षिक योग्यता, दुर्गमक्षेत्रको अनुभव, तालिम, कार्यक्षमता, कृतिलेखन, जेष्ठता आदि उनीसँग थिए । विभागीय प्रमुखको निर्विरोध उमेदवार उनीमात्र थिए । ती कुरा मलाई पचेनन् । चानचुने हिसाबले उनलाई पछाडि पार्न सकिन्नथ्यो । वैध (?) तरिकाले जित्न नसकिने भएपछि मैले बाध्य भएर अवैध (?) बाटा समाउनुपर्यो । बेलैदेखि योग्यता प्राप्त गरी कम्तीमा उनको बराबरी अङ्क प्राप्त गर्नेतिर लागेँ । त्यसका लागि छिमेकी मित्रराष्ट्रका विश्वविद्यालयहरूको चक्कर लगाइनँ कि ‘ङ’ क्षेत्रको दुर्गममा बसेर ‘क’ क्षेत्रमा दरबन्दी राखी सोबापतको अङ्क कमाइनँ ! अल्पअवधिको तालिमको समकक्षता मूल्याङ्कन गराई उनी बराबरको अङ्क प्राप्त गरिनँ कि भूतलेखकलाई लेखाएर आफ्ना नाममा कृति छपाइनँ ! कार्यसम्पादन मूल्याङ्कनमा पूर्णाङ्क प्राप्त गर्न सुपरीवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिका सदस्यहरूको घरघर धाइनँ कि ? के–के गरिनँ ! विभागीय प्रमुख बन्न जे गर्नुपरे पनि पछाडि परिनँ । त्यति गर्दा पनि जेष्ठता र कार्यक्षमतामा उनलाई पछाडि पार्न सक्ने क्षमता क्षीण थियो । यो कुरा मलाई बढुवा समितिका सदस्यले बताए । त्यसपछि बढुवा समिति नै बस्न नदिने चाँजोपाँजो मिलाएर लागेँ उनको स्वाभिमानले कमाउन नसक्ने अङ्क कमाउन । त्यो थियो बढुवा समितिका सदस्यहरूलाई प्रभावित पार्ने । म आफ्ना योजनामा सफल भएँ । अन्ततः उनले पाउनुपर्ने बढुवा मैले पाएँ । विभागीय प्रमुख बनेँ । नियुक्ति बुझेर विभागीय प्रमुखको कुर्सीमा बसेका दिन मलाई संसार जितेको आनन्द भएको थियो । त्यस दिन बधाइ दिन र नमस्कार गर्न मेरा प्रतिद्वन्द्वी पनि आए । मैले विजित मुस्कानका साथ उनको नमस्कार फर्काएँ । त्यति हुँदा पनि उनको नूर गिरेन तर लक्ष्य प्राप्त गरिसकेकोले मलाई उनीबाट कुनै खतरा थिएन । विभागीय प्रमुखको कुर्सी मेरा लागि सुरक्षित थियो । त्यसलाई हल्लाउन सक्ने तागत कसैसँग थिएन । जोसँग थियो उनलाई उनको स्वाभिमानले ख्वापलाक्कै निलेको थियो । त्यसले गर्दा उनी मेरा लागि विष नभएका सर्प थिए । सपेराले सर्पलाई बिन बजाएर मनखुसी नचाएजस्तै जसरी चाह्यो त्यसरी नचाउन सक्थेँ । उनको सट्टा मेरो बढुवा भएकोमा विभागका सबै छक्क थिए । विभागमात्र होइन वरपरका सरकारी कार्यालयमा समेत ‘छोरोमान्छे हुनु त यस्तो पो !’ भन्दै मेरो बहादुरी र चलाखीको चर्चा गर्न तिनीहरू बाध्य थिए । मबाट छाडिएका सुलसुलेहरू त्यस्ता चर्चापरिचर्चा भुइँमा खस्न नपाउँदै मसम्म ल्याइपु¥याउन तँछाड्–मछाड् गर्थे । त्यति नगरे तिनको भविष्य मेरै प्रतिद्वन्द्वीको जस्तो हुने उदाहरण म स्वयंले प्रस्तुत गरेर देखाइसकेकोले ती बेलैमा बुद्धि पु¥याउनतिर लागे । ‘आँ’ गर्दा ‘अलङ्कार’ बुझ्ने तिनको योग्यताबाट म प्रभावित थिएँ । आश्वासन दिएँ, ‘मौकामा हेरौँला ।’ मेरो वचनलाई आशीर्वाद सम्झँदै ती आआफ्ना योग्यताप्रदर्शन गर्नतिर लागे । तीमध्ये थोरैतिनोले मेरो बढुवाको आलोचना गरेको खबर ल्याउँथे । ठूलो सङ्ख्या मेरो चातुर्य र खुबीको प्रशंसा गरेको खबर ल्याउँथे । पहिलो कोटीकाले खबर ल्याउँथे, ‘विभागलाई आधुनिक बनाउन उनले त्यत्रो योगदान दिए । ती सबै बेकार गए । सिनियर र योग्यता भएर बढुवा पाइन्छ भन्नु व्यर्थ रहेछ । ऐनकानुन हात्तीको देखाउने दाँतमात्र रहेछ । धाउन सक्ने र चढाउन सक्ने योग्यता छैन भने बढुवाको आश नगरे हुने भो ।’ यस्ता खबर ल्याउनेहरू आलोचना सुनेर म रिसाउँछु कि भनी अन्तिममा हतपत आफ्नातर्फबाट फुर्का जोडिहाल्थे, ‘यो अङ्गुर अमिलो छ भनेजस्तै हो हजुर । नाच्न नजान्ने आँगन टेढो भन्ने फटाहा र लाछीहरूले गर्ने कुरा यस्तै हुन्छन् । हजुरले चिन्ता नलिइबक्सियोस् । यस्तालाई बेलैमा ठेगान लाउनुपर्छ । नभए यिन’रूले टिकिखान दिँदैनन् । पु¥याइदिनुपर्छ हुम्लाजुम्ला अनि देख्छन् बाउको बे’ । खुब जान्ने भ’र चाइने नचाइने बोल्दार’छन् ।’ दोस्रो कोटीकाले आफ्नातर्फबाट मरमसला जोडेर भन्नै पर्दैनथ्यो । तिनले सुनेका कुरा हुबहु सुनाउँदा पनि रिसाउनुपर्ने एउटा शब्द हुँदैनथ्यो । ती सुनाउँथे, ‘हजुरको खुब प्रशंसा गर्छन् सबैले । आजको जमानामा चाइने भनेको हजुरजस्तै मान्छे हो भन्छन् । उन्नतिप्रगति गर्न हजुरलाई गुरु मानेर सिक्नुपर्छ भन्छन् । हजुरको गुनगान गाएर कोही थाक्दैनन् हजुर ।’ म दुवैखाले खबरलाई ध्यानपूर्वक सुन्थेँ । आफ्नो कटु आलोचना सुुन्दा उत्तेजित भएर प्रतिक्रिया व्यक्त नगरेकोले मेरो व्यक्त्विमा गम्भीरता थपिँदो थियो । जुन गम्भीरता देखेर सुलसुलेहरू छेउछाउ पर्न डराउँथे । तिनका अनुहारमा अव्यक्त आतङ्क रोप्न सफल थिएँ । त्यसबाट मलाई बोनस फाइदा भएको थियो । तिनका आतङ्कित अनुहार देखेर विभागका अरू मदेखि डराउन थालेका थिए । विभागका सबैलाई एकएक गरी आतङ्कित पार्न परेन । दुर्गमक्षेत्रमा नियुक्ति बुझेर त्यहीँबाट रिटाएर हुन लागेकाहरू पनि घरपायक सरुवा मागेको निवेदन फिर्ता लिएर विभागको ढोकैबाट फर्किन्थे अरे । तिनलाई मैले मेरो दिव्यवाणीबाट स्वागत गर्नै पर्दैनथ्यो । त्यसै गरी बीसौँ वर्ष बढुवा नपाएको गुनासो लिएर आउनेहरू जब सुलसुलेबाट मेरा प्रताप सुन्थे अनि हतारहतार ‘ट्वाइलेट कता छ ?’ भन्दै खोज्थे अरे । ट्वाइलेट खोज्न गएकाहरू कता सुइँकुच्चा ठोक्थे पत्तै हुँदैनथ्यो । बुद्धि पु¥याउनेहरूचाहिँ मेरो घरको ठेगाना सोध्दै त्यहीँ बिहानबेलुका भेट्थे । तीबाट मलाई कुनै खतरा थिएन बरु जिल्ला फर्केर मेरो निःशुल्क विज्ञापन गर्थे । यसरी प्रतिद्वन्द्वीलाई पछारेर सबैतिरबाट विभागीय प्रमुखको कुर्सी पूर्णतः सुरक्षित पारेपछि मेरो भेट ऊसँग भएको थियो तर उसका अनुहारमा मेरा आतङ्कको छाया थिएन । त्यो देखेर मैले मेरा सुलसुलेहरूतिर आँखा तरेर हेर्दै जुँगा हल्लाएँ । घुम्ने कुर्सीलाई अस्वाभाविक रूपमा तीनचारपटक फनक्क घुमाएँ । मेरो व्यवहारबाट सुलसुलेहरू लगलग काम्न थाले । मैले उसलाई ‘एकछिन बाहिर बस्दै गर्नू’ भनी पठाएँ । सुलसुलेतिर हेरेँ । ती धामी बकेझैँ बक्न थाले, ‘हजुर हामीले सम्झाएका हौँ । तर्साउँदा पनि नमानेर आफै भित्र छिरेको हो हजुर । भर्खरको ठिटो हो । विभागको चलन बुझेकै छैन । बुझेपछि आफै ठेगान लागिहाल्छ । आत्तिनुपर्ने क्यै छैन हजुर । लोक सेवाबाट एक नम्बरमा सिफारिस भ’र आ’को घमन्ड होला । बस्दै गए’छि ठीक लागिहाल्छ हजुर । कि अैफले नै कालिकोटतिर पठाइदिम् हजुर ।’ मैले केही नबोल्दै तिनले त्यति बोले । तिनले जतिसुकै ढाडस दिए पनि उसको कलिलो अनुहारमा जमेर बसेको आत्मविश्वास देखेर पहिलोपटक झस्केँ । मेरो विजित मानसिकतामा सानोतिनो भूकम्प गयो । टाउकोमाथि पहिरो खस्तै गरेको अनुभव गरेँ । सम्भावित अनिष्टको सङ्केत उसका आँखामा देखेँ । त्यो अनिष्टले तर्र्सायो । बाघको मुटु लिएर हिँडेको म खरायोसँग डराएँ । खरिदारको नियुक्ति लिन लोक सेवाको सिफारिससहित सरासर मेरो कोठामा पसेको उसले पहिलोपटक सोधेको थियो, ‘म आउन सक्छु, सर ?’ उसका स्तरका कोही कर्मचारी मेरो कोठामा छिर्न त के ढोकाबाट च्याउनसमेत सक्तैनथे । त्यस्तो विभागमा उसको साहश देखेर म चकित भएँ । बाटामा हिँड्दा पनि उसका स्तरका कर्मचारी मबाट टाढै बसी झुकेर नमस्ते गर्थे तर उसले नमस्कार गर्दा शिर अलिकता पनि झुकाएन । त्यो नै मेरा लागि अनिष्टको पूर्वसङ्केत थियो । बेलैमा तह लगाउन नियुक्तिसँगै कालिकोटको सरुवा चिठी थमाएँ । त्यसो गर्दा घरपायक पठाइदिन याचना भरिएको अनुहार लिएर आउला भन्ने लागेको थियो तर अनुमानका विपरीत ऊ सरुवाचिठी बुझेर ठम्ठम्ती गयो । काठमाडौँको रिक्त दरबन्दीमा लोक सेवाले गरेको सिफारिसका विपरीत कालिकोट पु¥याइदिँदा पनि उसले गुनासो लिएर आएन । म चाहन्थेँ तर ऊ फर्केर आएन । उसका ठाउँमा कालिकोटबाट धेरै दिनदेखि सरुवा गर्न नसकेका एकजनालाई सरुवा गरेँ जसले धेरैपटक घरमै मलाई भेटेको थियो । ऊ कालिकोटको सरुवापत्र लिएर गएपछि मलाई हजार मनको भारी बिसाएको जस्तो भयो । मेरा वर्चस्वका दिन पुनः निष्कण्टक रूपमा चल्न थाले तर त्यो धेरै दिनसम्म कायम रहन सकेन । ऊ कालिकोट गएको दुई महिना पनि भएको थिएन । ‘कालिकोटबाट त्याँको हाकिमको फोन छ हजुरलाई’ अचानक पी.ए.ले भने । ‘हजुरले याँ कस्तो मान्छे पठाइदिनु भा !’ फोन उठाउनासाथ हाकिम गुनासो गर्न थाले । ‘किन ? के भो’ ?’ पनि भन्न पाएको थिइनँ । ‘भरखर सरुवा गरेर पठाउनुभ’को त्यो ठिटो हाम्ले भनेको मान्दै मान्दैन । कस्तो अटेरी र जिद्दी छ भने भनिसाध्य छैन हजुर ।’ हाकिम धाराप्रवाह भन्न थाले । उसको आँखामा पहिलोपटक हेर्दा जे देखेको थिएँ त्यही भयो । मेरो शङ्का सही ठहरियो । त्यो ठिटोले गरेको बदमासीभन्दा पनि मान्छेको अनुहार हेरेर उसको स्वभावका बारेमा थाहा पाउन सक्ने कला ममा विकसित भएकोमा गौरव लाग्यो । ‘सम्झाउनू त्यल्लाई । म पछि फोन गरूँला ।’ निश्चिन्त भई भनेँ । आफू निश्चिन्त भएको प्रभाव दिन सके पनि उसलाई तह लगाउनु मेरा लागि चुनौती थियो । म ध्यानदृष्टिले जुक्ति खोज्न थालेँ । ‘त्यो जाबो खरदारका लागि मजस्तो प्रथम श्रेणीको हाकिमले किन व्यर्थमा टाउको दुखाइराख्ने ! जे गर्छ गरोस् । मेरो कुर्सी छिन्न सक्ने होइन ।’ एक मन लाग्यो । ‘त्यसो भनेर काँ हुन्छ ! चलन भनेको चलन हो । बसाउन जति गाह्रो हुन्छ निरन्तरता दिन त्यति कठिन हुन्छ । एकपटक भत्केपछि ठड्याउन उतिकै मुस्किल हुन्छ । त्यस केटालाई समय छँदै ठेगान लगाइहाल्नुपर्छ । बदमासीको सजाय नदि’ काँ हुन्छ र !’ तुरुन्तै अर्को मनले भन्यो । + + + ‘ऊ ठीक ठाउँमा आयो ?’ केही दिनपछि फोन गरेर हाकिमलाई सोधेँ । ‘काँ ठीक ठाउँमा आउनु हजुर ! त्यो त यो ग्रहको मान्छे नै हैनजस्तो छ । आजको संसारमा पनि यस्ता मान्छे हुँदार’छन् । कैले सोचेको थि’नँ । क्यै भने कि मलाई सरकारले तलब दे’को छ । तपाईंहरूको चलनसलनको मतलब छैन भन्छ हजुर ।’ हाकिमको जवाफ थियो । फोनमा हाकिम रुनमात्र सकिरहेका थिएनन् । नयाँ जुक्ति निकालेर उसलाई फोनमा बोलाउन भनेँ । ‘नमस्कार सर ।’ आवाज आयो । उसको स्वर सुन्नेबित्तिकै मभित्रको विजित मान्छे हरायो ! आँखाले मात्र होइन उसको स्वरले पनि झस्काउँदो रहेछ । त्यस बखतमात्र थाहा पाएँ तैपनि हारेको देखाउनु थिएन । जीवनमा असफलताको मुख नदेखेको मैले ऊसँग पराजित हुनुपर्ने आवश्यकता थिएन । कस्ताकस्तालाई ठेगान लगाएँ भने ऊ जाबो महŒव दिइराख्नुपर्ने विषय नै थिएन तर पनि ऊसँगको मेरो व्यवहार ऊजस्तै अरूसँगको भन्दा फरक भइरहेको थियो । ‘किन ?’ थाहा भएन । डाँकोले निलेर मैले बोलेपछि ऊजस्ता ले फोन समातेको समात्यै तुरुक्क …. फेरेर रिसिभर छाडी भाग्थे अरे । त्यसरी मेरो हप्काइ भेटेकाहरू मेरो छेउ पर्ने त के आवाज सुनेरै लाखापाखा लाग्थे । मेरो प्रभुत्व निष्कण्टक थियो । कसैले रोकावट खडा गर्ने साहस गर्दैनथे । ‘नमस्कार सर ।’ फोनमा धेरै बेर नबोलेपछि उताबाट उसको आवाज आयो । रिसिभर समातेको समातेकै हराएछु । उसको आवाजले यथार्थमा ओर्लें । ‘नमस्कार–नमस्कार । के छ हालखबर ?’ सोधेँ । ‘ठीक छ सर ।’ उसको जवाफ थियो । ‘ल राम्रोसँग काम गर्नू । जनतालाई दुःख दिने होइन नि । जनता भनेका हाम्रा अन्नदाता र भगवान् दुवै हुन् । क्यै दिए भने पनि नलिनू ।’ अनायासै मेरो मुखबाट फुस्कियो । ‘यो के भइरहेछ ! म उसलाई एक थोक भन्न चाहन्छु मुखबाट अर्कै थोक फुस्किहाल्छ । उसका अगाडि आफूलाई जति बलियो र कठोर देखाउन खोज्छु त्यति नै कमजोर प्रमाणित हुन्छु । मजस्तो जित्ने बानी परेका मान्छेलाई यो के भइरहेछ । अन्योलमा छु ।’ उसलाई आदेश दिइसकेपछि झल्याँस्स भएँ । रिसिभर राखिदिएँ । उसको छायासम्म नसम्झने भनी विभागको काममा लागेँ जहाँ कुनै अवरोध थिएन । मेरो प्रगति बगिरहेको खोलाको गतिमा गतिमान थियो । ‘हजुरले त्यल्लाई के भनिदिनुभो’ ? याँ टिकिखानै दे’न । पैला त आफूमात्र लिँदैनथ्यो । हजुरले फोन गरे’छि हाम्लाई’नि खान दिँदैन । बाँच्नै गारो भइस’को हजुर । त्याँ कसरी पुर्याउँने ? क्यै भन्यो कि मलाई डी.जी. साबले भन्नुभा’छ भन्छ ।’ एक दिन अचानक उनै कालिकोटे हाकिमको फोन आयो । + + + ‘त्यसो भए अनुशासनहीनमा कार्वाइ चलाउन लेखी पठाउनू । म ठीक पार्छु ।’ उसको नाम सुनेर चलनबाट चिप्लिनु थिएन । आफूलाई कठोर बनाएर आदेश दिएँ । हाकिमले त्यसै गरे । भन्नेबित्तिकै जिल्ला प्रशासन कार्यालयबाट ºयाक्स गरेर उसका विरुद्धका गोप्य चिठी पठाए । कारबाही गर्ने बहाना खोजेँ । दुर्गममा सरुवा गरी पठाऊँ भने कालिकोटभन्दा अर्को दुर्गम ठाउँ थिएन । अनुशासनहीन भएकै कारण देखाई अवकाश दिन लोक सेवाले स्वीकृत दिँदैन । जबरजस्ती अवकाश दिऊँ भने अदालतले मुद्दा जिताउँछ । कस्ताकस्ता काण्ड गर्नेले त जिते भने उसको दोष भनेको केवल परम्परादेखि बसिआएको चलन तोड्नु थियो जसलाई मैले कलात्मकतापूर्वक निरन्तरता दिएको थिएँ । यतिमात्र होइन, म विभागीय प्रमुख छँदै अदालतबाट मुद्दा जितेर आई मेरै टेबलमा फैसला पछारिदिए के गर्ने ? उसलाई पराजित गर्न खोज्दा आफै पराजित हुने सम्भावना प्रबल थियो । कति पुरानै सूत्रलाई प्रयोग गरिरहने ? नयाँ जुक्ति सोचेँ । कहिलेकाहीँ नयाँनयाँ प्रयोग हुनुपर्छ । आखिर जमाना शासनभन्दा उत्प्रेरणाको हो । यसलाई नवीन व्यवस्थापनको सफलताको रामवाण पनि मानिन्छ । ‘चितवनका हरियाहरिया कटकटाउँदा गैँडाको दर्शन गरेपछि महादेवको त तीन नेत्र बल्छ भने ऊ जाबो कुन खेतको मुला हो र ! कतै झिक्राझाक्री बटुल्नुप¥यो भनी विद्रोह गरेको हो कि ? दुईओटै हातले सोहोर्दा नभ्याउने ठाउँमा पठाइदियो भने सुध्रिहाल्छ कि ?’ यही सोचेर ‘ङ’ श्रेणीको दुर्गममा उसको सरुवा गरिदिएँ । उसको सरुवा चिठीमा सही गरेपछि अनौठो आनन्द भयो । बाटो छेकेर बसेको ठूलो ढुङ्गो तह लागेको अनुभव भयो तर त्यो पनि धेरै दिन कायम रहेन । त्यहाँ पनि उपद्रो मच्चाउन थालिहालेछ । अफिसमा हाजिर भएको दिनबाटै रङ देखाउन थालिहालेछ । ‘अफिस स्याप्पै सुकाइदिन आँट्यो हजुर । हाम्रो केही सीप लागेन । गुन्डा लगाउँदा पनि डराउँदैन । उल्टै जाइलाग्छ । गुन्डा पनि अचम्ममा छन् । यस्तो मान्छे त जिन्दगीमा कहिल्यै देखेको थि’नँ भन्छन् !’ हाकिमले आँत्तिएर फोन गरे । सम्पूर्ण विभाग एकछत्र पार्न सक्ने मेरा लागि ऊ टोक्नु न बोक्नु भयो । ‘म आफै आउँदै छु केही दिनपछि । त्यतिन्जेल जगेडामा राख्नू ।’ केही सीप नलागेपछि भनेँ । फोन राखेँ । जिल्लाभ्रमणमा जानुअघि आफ्नो अनुपस्थितिमा निमित्त विभागीय प्रमुखको जिम्मेवारी आफैले हराएका प्रतिद्वन्द्वीलाई दिनुपर्ने भयो । त्यो चाहँदिनथेँ । उनलाई तह लगाउने जुक्ति सोचेँ । ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ ठीक त्यहीबेला छोटो अवधिको विदेश तालिम आयो । सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने गरी खरदार स्तरका कर्मचारीका लागि आएको तालिममा उनैलाई पठाएँ । त्यसबाट जेष्ठताको तेस्रो नम्बरमा रहेका आफ्ना हनुमानलाई निमित्त विभागीय प्रमुखको जिम्मेवारी दिन बाटो खुल्यो । म निस्केँ जिल्लाभ्रमणमा । पहिलो गाँसमै ढुङ्गा नपरोस् भनी सुरुमा वरपरका जिल्ला पुगेँ । त्यहाँ मेरो राम्रो पकड थियो । राम्रो खातिरदारी भयो । जुँगा हल्लिनेबित्तिकै कुरो बुझ्नेहरू थिए त्यहँँ । मुख फोरेर क्यै भन्नु पर्दैनथ्यो । अनुहारको रङ हेरेर आवश्यकता पहिल्याउन सिपालु थिए तिनीहरू । ती त्यस्ता क्षमतामा गौरवबोध गर्थे । मेरा लागि फाइदाकै विषय थियो । नियमित आय छँदै थियो । अतिरिक्त बोनस फाइदासमेत भयो । त्यो के भने वरपरका जिल्लाबाट ऊ भएको जिल्लासम्म मेरा प्रतापका खबर निरन्तर पुग्थे । ऊ गल्दै गएको होला भन्ने मेरो अनुमान थियो । बेकार रहेछ । म पुग्दा उसको अनुहारको ओज कम थिएन । मलाई पचेन । दुईचार दिन बसेर तह लगाउने विचार गरेँ । मेरा नयाँ प्रविधि एकपछि अर्को असफल हुँदै थियो । यसैले पुरानै प्रविधि दोहोर्याउने निधो गरेँ । ‘यत्रो जिल्लाको अफिस फोहोर राख्ने हो । सफा गर्न पर्दैन । के गर्छन् यहँँका पिउनहरू ? खोइ हाकिम ? यही हो तपाईंको चाला ? आफ्ना कर्मचारीलाई ठीक ठाउँमा राख्न सक्नुहुन्न ? जनताको काम नगरेर किन तपाईंहरू यहाँ ? के फुटबल खेल्न जम्मा हुनुभएको हो ?’ कार्यालय पुग्नुभन्दा अगाडि मेरा स्वागतमा दुई पङ्क्तिमा उभिएका हाकिमलगायतका कर्मचारीको सातो खाने गरी डुक्रिएँ । त्यसो भनिरहँदा आफू बसेकै विभागलाई सम्झेँ जहाँ फोहोर र अव्यवस्थाको डङ्गुर थियो तर पनि सङ्लो पानी धमिलो पार्ने सोचेँ । अब यो भनिरहन परोइन कि धमिलो पानीमा माछा मार्ने सोच थियो । आफ्नो आङको जुम्राभन्दा अरूका आङको भैँसी देखाउँदा फाइदा थियो । ‘बल्ल तह लाग्ने भए यहाँका गतिछाडा कर्मचारी । दुःख दे’र हैरान पारेका थे । हाकिम हुनु त यस्तो पो जनताका पिरमर्का बुझ्ने ।’ मेरो डुक्राइ सुन्ने जनता भन्न थालेका थिए । तिनीहरू उत्साहित हुँदै गुनासाका ज्वाला ओकल्न थाले तर तिनलाई थाहा भएन, निकट भविष्यमा ती महाबेबकुफ बन्नेवाला छन् । मेरो यो मूल मन्त्रलाई तिनले बुझेनन् । तिनका गुनासामा मैले आफ्नो फाइदा देखेँ । गुनासामा नाम आएका कर्मचारीलाई बोलाउँदै जनताकै अगाडि झपार्नुसम्म झपारेँ । कर्मचारी लगलग कामे । जनताका अगाडि कारबाही गर्ने आश्वासन दिएँ । आश्वासनका पोका बोकेर ती लाखापाखा लागे । लगलग कामेका कर्मचारीबाट बर्सिन थाले । मलाई फाइदा भयो । आनन्द लाग्यो बेलामा बुद्धि पु¥याउन सकेकोमा । बालुवाबाट तेल निकाल्ने कलाको कलाकारलाई जनताले चिन्दै चिनेनन् । चोखो बचेँ । एकातिर जनताका नजरमा जनपक्षीय हाकिम र कर्मचारीका नजरमा आपत्का बेला बचाउने उद्धारकर्ता भएँ । जनताका अगाडि कर्मचारीलाई नझपारेको भए अचार बनाउँथे । गर्न पनि तिनले क्षम्य गल्ती गरेका थिएनन् । अक्षम्य नै गरेका थिए । गुनासामा उसको पनि नाम आउँछ कि भनी ध्यान दिएर सुनेँ तर आएन । जगेडामा राखिएकोले उसबाट कोही परिचित रहेनछन् । एउटा फाइदा भने भयो । त्यो फाइदा थियो, उसलाई देखाएर कसैले अरूको मूल्याङ्कन गर्ने अवसर पाएनन् । त्यसो भएको भए उसलाई तह लगाउने मेरो लक्ष्यमा बाधा पथ्र्यो । मलाई थाहा थियो, सकेसम्म खोट देखाउनुपर्छ । जति बढी खोट देखायो त्यति बढी फाइदा हुन्छ । जनताका अगाडि झपारेर खडा गरेको एउटा आतङ्कमा अर्को आतङ्क थपिन्थ्यो । आतङ्कित ती मलाई खुसी पार्नतिर लाग्थे । मेरो फाइदा त्यहीँनिर थियो । एक तीर दुई निसाना साध्ने लक्ष्य थियो । अरू सबै आतङ्कित भइसकेपछि ऊ पनि मलाई देख्नेबित्तिकै कट्टुमा तुरुक्क …. फेरेर त्वं शरणम् हुन्छ कि भन्ने लागेको थियो । त्यही सोचेर जनताले गुनासा गरिरहँदा म सकेसम्म कर्मचारीका खोट देखाउँदै थिएँ । पहिलो भेटमै डाँकोले निलेर सातो लिएपछि सबैजना मुन्टो निहुराउँदै मेरो पछि लागे तर मेरो अनुमानका विपरीत ऊ मुसुमुसु हाँस्तै ठाडो शिर पारेर आफ्नो कुर्सीतिर लाग्यो । एक तीरले दुई निशाना साध्ने र नाङ्लो ठटाएर हात्ती तर्साउने मेरो सूत्र उसका अगाडि पराजित भयो । हाकिमले अगाडि सारिदिएको कुर्सीमा बसेँ । त्यहाँ पनि हाकिमले नभएर उसले कुर्सी अगाडि सारिदेओस् भन्ने सोचेको थिएँ तर शिष्टाचारवश पनि उसले त्यसो गरेन । म बसेपछि सबैजना परपर बसे । त्यो भिडमा ऊ थिएन । ‘के यहाँ तमासा भइर’को छ ? खुरुक्क आफ्नो–आफ्नो काम नगरेर … ।’ उसलाई नदेखेपछि मेरो रिसको पारो बढ्यो । वाक्य पूरा भई नसक्दै कोठा रित्तो भयो । म र हाकिमबाहेक अरू भएनन् । ‘काँ ठीक लाग्नु हजुर । उस्ताको उस्तै छ कस्तो कोकल्याँटे र जब्बर छ भने भनिसाध्य छैन । एक्लो बृहस्पति झुठ्ठा भएर पनि उसको सानमा कुनै कमी आएको छैन ।’ हाकिमले भन्यो । दोस्रो अस्त्र फ्याँक्ने निश्चय गरेर उसलाई बोलाई एउटा चिठी लेख्न लगाएँ । भरखर नियुक

timi_mero_sathi · May 24, 2014 10:59 AM · 11,461 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all