बाँदरको खान्गी- 'बाँदर गुठी’ खै ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाँदरको खान्गी- 'बाँदर गुठी’ खै ? डा. गोविन्द टण्डन पशुपति क्षेत्रमा पाइने बाँदरको वैज्ञानिक नाम 'मकाका मुलाट्टा' हो । नेपाली समाजमा चाहिँ यो रातो बाँदरको नामले परिचित छ । तराईको उष्णप्रदेशीय जङ्गलदेखि उपत्यका र मुलुकका कतिपय मठ-मन्दिर, स्तुप, विहार तथा गाउँ-सहर र बस्तीमा पनि यिनीहरूको जगजगी देख्न पाइन्छ । पशुपति क्षेत्रका विविध विशेषतामा यी राता बाँदर पनि एक हुन् भन्दा अत्युक्ति हुँदैन । खासगरी पशुपतिनाथ मन्दिरको सेरोफेरो, वनकाली, भण्डारखाल र मृगस्थली-गुह्येश्वरी मन्दिरको वरपर यिनीहरूको बसोबास पाइन्छ । यी बाँदरहरूलाई हनुमानको वंशज मान्ने र आदर गर्ने संस्कृतिको कारणले गर्दा पशुपति क्षेत्रमा बाँदरहरू त्यहाँको वातावरणमा निस्फिक्री अटाएर रहेका छन् । साथै भगवान पशुपतिनाथको आश्रयमा आश्रति भएकोले दर्शनार्थी, तीर्थयात्रीहरूबाट मायाभाव पाइरहेका छन् । पूर्वजहरूले उनीहरूको खानपानका लागि 'बाँदर गुठी' भनी जग्गा-जमिन राखिदिएका पनि थिए । तर तिनको व्यवस्थापन गर्न नजान्दा र गुठीको महत्त्व बुझ्न नसक्दा अहिले ती गुठीको नामसम्म त पाइन्छ, तर पहिलेका गुठीजग्गाको आम्दानीबाट प्रत्येक दिन पशुपति क्षेत्रका बाँदरहरूलाई आहाराको रूपमा मकै बाँड्ने प्रचलन हटिसक्यो भने हुन्छ । नभए गुठी अन्तर्गतको जग्गा कमाउनेले कुत बापतको मकै प्रत्येक दिन पशुपतिका बाँदरहरूलाई बाँड्ने बन्दोबस्त मिलाएको हुन्थ्यो । भोटु पाँडेले राखिदिएको 'बादर गुठी' इतिहासप्रसिद्ध छ । तर अहिले यो गुठी अवरुद्ध छ ।हिजोआज स्वविवेकले बाँदरको खानपानका लागि कोही एकाबिहानै, कोही साँझपख पशुपति क्षेत्रका विभिन्न भागमा पुगी जाडो-गर्मी र वर्षात् नभनी केही समाजसेवी, उदारमनाहरूबाट अटुट रूपले आहारा पुर्‍याइरहेको देख्दा धन्यवाद दिनैपर्छ । एकथरी समाजसेवी यस्ता पनि छन् कि तिनै बाँदरका लागि भनेर प्रत्येक दिन १०० केजीको गहुँको रोटी, नभ्याएमा गुँदेको पिठो बिहान र दिउसो बाँड्ने प्रबन्ध मिलाएर खुवाएको पनि देखिन्छ । त्यसका लागि झन्डै ५-७ जना कामदारलाई तलब दिएर राखेको पनि पाइन्छ । दानको महत्त्व बुझ्नेहरूले नै यस्तो गर्न सक्छन् । सामान्य रूपले हेर्दा उस्तै लाग्ने हुनाले पशुपति क्षेत्रभरि तिनै एउटै समूहका बाँदर घुमेका हुन् कि जस्तो नलाग्ने होइन । तर त्यसो नभई विभिन्न समूहमा उनीहरू विभाजित छन् र अलग-अलग समूह बनाई हिँडेको पाइन्छ । गुह्येश्वरी-मृगस्थलीका बाँदरहरू वाग्मती नाघेर पशुपति मन्दिर वा वनकालीतिर जाँदैनन् । त्यसैगरी भण्डारखाल-वनकालीतिरका गुह्येश्वरी-मृगस्थलीतिर जाँदैनन् । उनीहरूमा आ-आफ्नो सिमानाको उल्लङ्घनको अर्थ हुन्छ, झगडा । समूहको नाइके ढेँडु बाँदरले आफ्नो समूहलाई अनुशासनमा राख्ने गरेको देखिन्छ । केही छुल्याहा, उपद्रया पठ्ठा-पठ्ठी बाँदरहरूका कारण बेला-बेला एक समूह र अर्को समूहबीच घम्साघम्सी परिरहेको दृश्य पशुपति क्षेत्रमा जोकोहीले अनुभव गरेको हुनुपर्छ । मारामारको त्यस्तो सङ्गिन घडीमा अघिल्तिर आएर समाधान गर्नसक्ने भनेको उही नाइके र भाइनाइके ढेँडु बाँदरले नै हो । अरु बाँदरहरू त त्यस्तो बेला आफ्नै ज्यान जोगाउनतिर लाग्छन् । मानिस पनि त्यस्तो बेला अघि बढ्नु खतरनाक हुन्छ । एउटै क्षेत्रका बाँदरहरू पनि विभिन्न उपसमूहमा बाँडिएका हुन्छन् । आहारा राम्ररी पाएको, मनग्ये खानेकुरा पुगेको बखत उनीहरू आक्रामक हुँदैनन् । तर विविध कारणले खानेकुराको कमी भयो भने मानिसमाथि त्यसमा पनि हातमा केही बोकेर हिँडेको छ भने खोस्न थालिहाल्छन् । त्यस्तो बेला खासगरी  महिला र केटाकेटीले हातमा केही बोकेर हिँडेको छ भने  उनीहरू जाइलाग्न सक्छन् । खानेकुरा भरपेट पाएका छन् भने दुःख दिन्नन् । झम्टिहाल्यो भने खानेकुरा वा झोलालाई बचाउन खोज्नुभन्दा दिनु नै उत्तम हुन्छ । पशुपति क्षेत्रमा एकथरी चलाख बाँदरहरू पनि छन् । उनीहरू मौका पारेर खानेकुरा होइन, हातमा रहेको पर्स, भुइँमा राखेको चस्मा, घडी, हिजोआज त मोबाइल फोन थुत्न पनि पुग्छन् । उनीहरूलाई थाहा छ, त्यति गरियो भने केरा, चकलेट पाइन्छ भन्ने कुरा । त्यो नपाउन्जेल रुख, मन्दिरको छाना माथि-माथि चढ्न थाल्छन् । केरा, चकलेट पाएपछि छोडिदिन्छन् । बाँदरको झम्टाइबाट बच्ने हो भने उनीहरूको आँखातिर नहेर्ने, वास्तै नगरी आफ्नो बाटो लाग्ने र सामान्यतया हातमा खानेकुराको थैली, पोका नराख्नु नै बेस हुन्छ । पशुपतिमा भएका बाँदरहरू मानिससँग घुलमिल भइसकेकाले त्यति आक्रामक र खतरनाक छैनन् । तैपनि सतर्कचाहिँ हुनैपर्छ । प्रत्येक दिन उनीहरूलाई खानेकुरा दिने मानिसको आवाज, बोली र खुट्टाको चापैबाट थाहा पाउँछन् र जम्मा भइहाल्छन् । सधैँ आउने समयभन्दा केही ढिलो भयो भने खानेकुरालाई कुरेर बस्दैनन् । सबै आफ्नो बाटो तताउँछन् । पशुपति क्षेत्रका बाँदरहरू दिनभर मन्दिर, जङ्गल चहारे पनि रात परेपछि रुख र मन्दिरको टुँडालको छेउछाउतिर बास बस्छन् । पशुपति क्षेत्रका बाँदरहरू पौडी खेल्नमा अत्यन्त सिपालु र पोख्त छन् । त्यसमा पनि स-साना बाँदरहरूले पौडी खेलेको हेर्नलायक हुन्छ । बीस-पच्चीस फिटको रुख चढेर पोखरीमा हामफालेको  दृश्य आकर्षक हुन्छ । ठूला बाँदरहरू पनि पौडीमा रमाउँछन् । तर केटाकेटीजस्तो फुर्तिला हुँदैनन् । पशुपति क्षेत्रमा पहिलेजस्तो ठाउँ-ठाउँमा पानीको पोखरी नभएकोले  देवउद्यानस्थित पोखरी केही अगाडिसम्म उनीहरूको मनोरञ्जन र खेलकुद स्थल थियो । अहिले देवउद्यानलाई आकर्षक बगैँचा बनाउँदै गरिएकोले फूलबिरुवाहरूलाई जोगाउन उनीहरूलाई निषेध गरिएको छ, बगैँचाभित्र । बढ्दो सवारी साधनको चापले गर्दा बाँदरहरूलाई खासगरी भण्डारखाल र वनकाली गर्न अत्यन्त गाह्रो भएकोले उनीहरूको लागि भण्डारखाल अगाडि र वनकालीमा पुल निर्माणाधीन अवस्थामा छ । त्यसो नहुँदा टेलिफोन र बिजुलीको तार समाती वारपार गर्दा एकातिर ज्यानको खतरा अर्कोतिर तार छिनेर बिजुली र टेलिफोन अवरुद्ध हुने अवस्था बेला-बेला घट्ने गरेकोले पुलको निर्माणपछि त्यो समस्या नआउन सक्छ । चकचके बाँदरकै कारणले झँिगटी र टायलको छाना पशुपति क्षेत्रका मन्दिर र सत्तलहरूमा छैनन् । जस्ता वा पाता नेपाल प्रवेश हुनु अगाडि कतिपय मन्दिरहरूमा झँिगटी, टायलहरू थियो, तर ती सबैलाई फेरिइसकेको छ । बाँदर बहुलकै कारणले सोलार व्यवस्था पशुपति क्षेत्रमा भरपर्दो हुँदैन । त्यत्तिमात्रै होइन, जमिनमुनि फल्ने सागसब्जी एवं काँडादार फूलहरू- गुलाव, बोगनबेली, क्याक्टसबाहेक अरु फूलबिरुवा बढ्न पाउँदैन, बेमाख पारिदिइहाल्छन् । वृक्षरोपणमा  पनि पुरै हेरचाह र चौबीसै घन्टा ध्यान  पुर्‍याइएन भने रहरमात्रै हुन्छ । बाँदरबाट जोगाउन भनी ठाउँ-ठाउँमा तारबार गरेको देखिन्छ, तर बाँदरहरूको चकचके स्वभावअनुसार त्यसबाट छिर्ने भइहाले । छिर्दा रगताम्यै भएर घाइते बाँदरहरू यताउति हिँड्दै गरेको अवस्था बेला-बेला देखिन्छ । बाँदर घाइते भएपछि बचाउन गाह्रो छ । किनभने ज्यादै नगण्यलाई बाहेक अरुलाई समात्न सकिन्न । आफैंले चलाइ-चलाइ घाउलाई बढाउँछन् र त्यही उनीहरूको मृत्युको कारण बन्न पुग्छ । कुनै-कुनै बाँदरहरू त्यसको दुःखाइ  खप्न नसकेर मानिसको अघिल्तिर पुग्दा हारगुहार गरिरहेको पाइन्छ । तर सबैले उसको भाषा र मर्मलाई बुझ्न सक्दैनन् । उल्टै कुट्न जाइलाग्छन् । थोरै दयालुहरू नै त्यसको अर्थ बुझेर औषधी-उपचारमा जुटेको पनि यदाकदा पाइन्छ । घाइते भएपछि उसकै समूहका अरु बाँदरहरूबाट पनि जोगिनुपर्ने हुन्छ । एकलिँदै गएको बाँदरले निकै दुःख-कष्ट बेहोरेर जीवन गुजारा गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा त्यस्ता बाँदरहरू नजिकैको बस्तीमा गएर केही दिन बिताउने पनि गर्छन् । पशुपति क्षेत्रको नजिकका बस्तीहरू- गौरीघाट, मित्रपार्क, सिफल, बत्तीसपुतलीसम्म पनि समूहफुट्टा भएका बाँदरहरू पुगेको यदाकदा देखिन्छ । बच्चा बाँदरलाई संरक्षण गर्ने कामसम्म भालेले गर्छ, नत्र हुर्काउने-बढाउने कामको सहयोगी आमाचाहिँ नै हुन्छे । बच्चा हुर्केर आफैं हिँडडुल र खानाको खोजी गर्नका लागि हिँड्न नसकुन्जेल आमाले बच्चालाई बडो ममतापूर्वक स्याहार्नुका साथै आफ्नो बच्चालाई अत्यन्त वात्सल्यपूर्वक बोकिरहेकी हुन्छे । कहिलेकाहीँ मरेको बच्चालाई पनि दुई-चार दिनसम्म डोर्‍याइरहेको देख्दा बाँदर्नीमा सन्तानप्रतिको माया-स्नेहको उच्चतालाई देख्न सकिन्छ । वाग्मतीको पानी स्वच्छ, सफा हुन्जेलसम्म पशुपति क्षेत्रका बाँदरहरू स्वस्थ र फुर्तिला जति थिए, पछि पानी प्रदूषति बन्दै गएपछि उनीहरू रोगी बन्दै गएका छन् । झोक्राएका, तेजविहीन, जिङगि्रङ्ग परेका बाँदरहरूको संख्या अहिले पशुपति क्षेत्रमा बढ्दै गइरहेको छ । त्यसमा पनि कहिले गोदावरीबाट कहिले स्वयम्भूबाट उता बढी भएका बाँदरहरू पशुपति क्षेत्रमा केही वर्षअघि छोडिएकाले प्राप्त हुने आहारभन्दा बाँदरको सङ्ख्या धेरै हुनजाँदा चाहिँदो मात्रामा खानेकुरा पाउन नसकेका हुन् कि भन्ने देखिन्छ । खाइलाग्दा ढेँडुको सङ्ख्या नगण्य छ भने हुन्छ । बाँदरको जनसङ्ख्या बढ्नथाले पशुपति क्षेत्रमा भक्तजनहरूलाई हिँडडुल गर्नै गाह्रो पर्ने हुन्छ । यस-उसले कहीँकतैबाट बाँदर ल्याएर छोड्ने प्रवृत्ति नितान्त गलत छ । यहाँ भएका बाँदरहरूको पनि जनसङ्ख्या नियन्त्रणको उपाय गर्न पाए यस क्षेत्रका सबैले राहतको अनुभव गर्न पाउँथे । पशुपति क्षेत्रमा हुने विभिन्न पर्व-उत्सवको भीडमा बाँदरहरू खुलायाम रूपमा बाहिर आउन डराउँछन्, जसले गर्दा पशुपति मन्दिर प्राङ्गण वरपर विचर्ने बाँदरहरू दुई-तीन दिन भोकभोकै पर्छन् । गाउँ-बस्तीमा पस्ने बाँदरलाई रोक्ने उपाय भनेको उनीहरूलाई मनग्ये आहारा दिएर वासस्थानतिरै अलमल्याउनु हो । आहारा पुग्यो भने जङ्गलतिरै रमाउँछन् । - See more at: http://www.ekantipur.com/np/20...

_____ · May 24, 2014 10:54 AM · 1,266 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all