बडे दिलकी दिलशोभा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://nepalihimal.com/article... बडे दिलकी दिलशोभा - सरला गौतम सक्नेले केही राम्रो काम गरेर देखाऊँ, नसके चुपै बसौं; गर्नेलाई पीडा नदिऊँ। सरला गौतम मातातीर्थ औंसी, २ वैशाख २०७१ का दिन 'सेभेन समिट वुमन' टीमका साथ दिलशोमा। १३ वैशाखको साँझ् आमाघरमा पुग्दा दिलशोभा श्रेष्ठ कपालमा मेहदी लगाएर बसेकी थिइन्। उनले मुस्कुराउँदै भनिन्, “आऊ बा आऊ, आजै मैले मेहदी लगाएको आजै तिमीहरू आएको।” उनलाई भेट्न जानुको खास उद्देश्य थिएन। उनीबारे के समाचार आयो, कुरा निकाल्नु पनि थिएन। तर अर्का आगन्तुकले कुरा निकालिहाले। “भगवान बुद्धको त परीक्षा हुन्छ भने म को हुँ र!” आँखाभरि करुणा भरिएकी दिलशोभाले भनिन्, “सम्मानमा मात्र हैन अपमानमा पनि हाँस्न सिक भनेर पाएको सानो ठक्कर हो। ठक्कर दिनेको पनि कल्याण होस्।” उनका कुरा सुनेर मलाई भगवान बुद्धको एउटा कथा याद आयो। चेलाहरूका माझ् बुद्ध प्रवचन दिइरहेका थिए। अचानक आएकी युवती आफ्नो बडेमानको पेट देखाउँँदै कराउन थालिन्, “के ज्ञानको कुरा गर्छौ? ममाथि गरेको पापको जवाफ देऊ र यो बच्चाको जिम्मा लेऊ।” सबै अवाक् भए, तर बुद्ध हडबडाएनन्। असिम करुणा भरिएको आवाजमा उनले भने, “चेली, मेरो नजिक आऊ र तिमीलाई के पर्‍यो भन।” तर, युवती झ्न् कराउन थालिन्। अब भने आकाशका देवता पनि आत्तिए। यत्तिकैमा एक देवता मुसा बनेर युवतीको शरीरमा पसे अनि कपडाको नक्कली पेट काटिदिए। सत्य प्रकट भयो। बुद्धले मुस्कुराउँदै ती युवतीलाई पनि ज्ञान सिकाए। विपश्यना ध्यानको क्रममा मैले स्व. आचार्य सत्यनारायण गोयन्काबाट यो कथा सुनेकी थिएँ। आचार्य गोयन्काले भनेका थिए, “कथा भए पनि यसले सत्यमा अडिन असिम प्रेरणा दिन्छ।” आफ्ना लागि मुसा बनिदिने देवहरू नभेटे पनि दिलशोभा बुद्धलाई सम्झ्ेर बसिरहेकी छन्, यतिवेला। दिलशोभाले 'यौन दुराचार गरेको' समाचारले सनसनी मच्चाउँदा म दक्षिण भारतको रामेश्वरमा थिएँ। टेलिफोनमा यो खबर सुनाउने मित्रलाई मैले त्यसको आधार सोधें। उनको जवाफ सुन्दा नै मलाई त्यो समाचार 'स्कूप' मार्न हतारिंदा भएको अपरिपक्व काम हो भन्ने लागेको थियो। केही दिनपछि फेरि मित्रको फोन आउँदा मैले सोधंे, “दिलशोभाबारे विजयकुमार केही बोलेनन्?” मित्रले विजयकुमारले लेखेको बताए। मन शान्त भयो। कमसेकम विजयकुमारले हावाको दिशा पर्खेनन्, हावा विपरीत दिशामा बहिरहेकै वेला बोले। खुशी लाग्यो। तर्क–कुतर्क, कानून–प्रमाण आदिभन्दा माथि हुन्छ– विवेक। विजयकुमारले प्रमाणको पछि नलागी आफ्नो ब्रह्मको प्रयोग गरे। दिलशोभाले भनिन्, “कति मानिस मुद्दा लड, जित्छ्यौ भन्छन्, तर म लड्दिनँ। साँचो–झ्ूटो देखाउने परमेश्वर छन्, मेरो काम आमाहरूको सेवा गर्नू हो।” मैले फेरि गान्धीलाई सम्झिएँ। उनको हातमा एउटा मुद्दा आयो, जसमा तर्कहरू बलिया थिए। अदालतमा विपक्षी वकीलको पैरवी कमजोर थियो। उनी बल गरेर हाउभाउबाट आफ्ना तर्क राख्ने कोशिशमा थिए। त्यत्तिकैमा गान्धीले उठेर आफूले मुद्दा हारेको घोषणा गरे। पछि गान्धीको जवाफ थियो “मेरा तर्कहरू बलिया भए पनि तिनमा सत्य थिएनन्”, “विपक्षीको तर्क कमजोर भए पनि त्यसमा सत्य थियो।” चार घन्टासम्म दिलशोभाको आँखामा हेरेर कुरा गरिरहँदा मलाई आँखाले बोल्ने सत्यमाथि विश्वास भयो। आमाघरमा आमाहरू दुःखका कुरा मात्र गरिरहेका थिएनन्, बैंसमा आफू कति राम्री थिएँ, कपालको चुल्ठो कस्तो थियो, पिंडौला कत्रो थियो, कस्ता–कस्ता मैहुँ भन्नेहरू पनि कसरी पछि लाग्थे भन्दै ठट्टा पनि गरिरहेका थिए। भेटघाटको लागि आएका केही युवती र आमाहरूको गफले मन चंगा बनायो। नागरिक दैनिक मा समाचार आएपछि मान्छेहरू आउन छोडेकोमा आमाहरू पक्कै दुःखी थिए, तर बतासे समाचारको अवधि सकिन्छ र मान्छेहरू फेरि आउँछन् भन्नेमा ढुक्क थिए। आरोप किन लाग्यो? त्यसको आधार के? भन्दा टेलिफोन वार्तालापमा सुनिएको 'तिमीलाई माया माया माया गर्छ, पन्ध्रसय दिए पुग्छ' भन्ने एकतर्फको कुरा आयो। के यौन दुराचार जस्तो आरोप लगाउन यो कुरा काफी छ? कुनै पीडितले उजुरी दिएको छ? उजुरी पर्‍यो नै भने पनि आरोपित गर्न त्यो प्रमाणित हुनु पर्दैन? समाचारले 'पीडित' भनेको धर्मकुमारी थापाको हाँसोले फिक्का गरिदिएको थियो त्यो आरोपलाई। पत्रिकाले लेखेपछि उनका आफन्तहरूले फोन उठाउन छोडेछन्। उनी कार्यरत कार्यालयमा त उर्दी नै जारी गरिएछ– उनीसँग बोल्नेलाई समेत जागीरबाट हटाउने भनेर। त्यो वेला खुब आत्तिएकी धर्मकुमारीमा आत्महत्याको सोच पनि आएछ। तर, घरेलु हिंसाको कारण आत्महत्या गरेकी काकाकी छोरी सम्झ्ेर उनी सम्हालिछिन्। मनमनै भनिछन्, “बहिनीको जाने ठाउँ थिएन, मेरो त दिलशोभा आमा छन्।” उनी कहाँ र किन गइन्, कान्तिपुर दैनिक मा फिल्ममेकर दीपेन्द्र भण्डारीले खुलाइसकेका छन्। भण्डारीकी बूढी सासूकहाँ धर्मकुमारी सुत्न गएको घटनाले यो समाचार जन्मायो। हामी त्यहीं हुँदा संयोगवश, भण्डारी पनि दिलशोभालाई भेट्न आइपुगे। उनले दिएको जानकारीले यो सबै 'स्कूप' को उत्तेजना रोक्न नसकी गरिएको असंवेदनशील पत्रकारिता हो भनेर थप पुष्टि गर्‍यो। दिलशोभामाथि भएको अन्यायमा तैं चुप मै चुपको वातावरण छ, अहिले। नामी अधिकारकर्मी, नेता वा संचारकर्मीहरूमध्ये कसैमाथि यस्तो प्रहार भएको भए, सबै यसरी चुप बस्थे होलान्? कि विजयकुमार र दीपेन्द्र भण्डारीले लेखेपछि पुग्यो? त्यो समाचारले दिलशोभामा कति प्रहार भयो, त्यसको लेखाजोखा गर्न सकिंदैन। आमाघरमा कोही बित्दा शव उठाउन सघाउने उनकी छोरीको मानसिक हालत के होला, त्यो पनि हिसाबकिताब भन्दा परै छ। धर्मकुमारी, जसलाई 'न्याय दिलाउन' समाचार आयो, उनीमाथि आइपरेको सामाजिक बहिष्कार, जागीरबाट निकाला वा छोरी पढाउन परेको अप्ठेरोको जवाफ कोसँग छ? उनी भन्छिन्, “जुन पत्रिकाले समाचार लेख्यो, त्यसैमा गलत हो भनेर नआएसम्म जागीरमा फिर्ता लिन्नम् भनेका छन्।” कुनै वृक्षको जरा जस्तो हो– समाज। हामी अलग–अलग देखिए पनि धरातल जोडिएको छ। कतै पढिएका, सुनिएका राम्रा वा नराम्रा कुराले सबैलाई कहीं न कहीं असर गर्छ। नत्र दिलशोभाको समाचारले विजयकुमारलाई उदास बनाउने थिएन। त्यो समाचारले हानि कति गर्‍यो, विश्लेषण इच्छाधीन होइन, अनिवार्य हुनै पर्छ। “फूलको आँखामा फूलै संसार”, क्षमाशील दिलशोभा भन्छिन्, “उसले जे बुझयो त्यही लेख्यो। मलाई चाहिएको केही छैन, जहाँ लेख्यो त्यही ठाउँमा 'सरी' भने हुन्थ्यो! मलाई भन्दा पनि मलाई माया गर्नेहरूलाई शीतल हुन्थ्यो।” समाचार आएको दिन उनले सम्झिँदै भनिन्, “एक जना बैनीले फ्रन्ट पेजमा तिम्रो समाचार आएको छ भन्यो, त्यो फ्रन्ट भनेको त अगाडिको पेज रै'छ। उसले देखाउँदा आफ्नो राम्रो फोटो देखेर म त मक्ख परें। त्यो बैनीले समाचार पढ्न थाल्यो। यौन दुराचार भन्छ, मैले त त्यो पनि बुझिनँ, नबुझेपछि दुःख पनि लागेन। पढ्ने बैनी रोइसक्यो म केही बुझिदनँ। पछि पो भन्यो, अर्कालाई फँसाएर सुत्न पठाउने कुरा हो भनेर। अनि म एकैपटक कहाँ खसें खसें बताउनै सक्दिनँ। पछि मैले सोचें, कुरा नबुझ्ेर त्यसो लेख्यो होला।” मातातीर्थ औंसीको दिन फेरि आमाघरमा पुग्दा दिलशोभा आगन्तुकहरूले ल्याइदिएको खानेकुरा आमाहरूलाई खुवाउँदै थिइन्। खुशी हँदै उनले भनिन्, “यो देश अब छोरीहरूले चलाउनुपर्छ, अनि सबै राम्रो भएर आउँछ।” उनी आफ्नै बलबुतामा आरोपको प्रहारलाई निस्तेज पार्दै आफ्नो दैनिकीमा फर्किएकी छन्। अत्तालिएर कुनै अप्रिय कदम चालेको भए के हुन्थ्यो? बन्दूकले मात्र अपराध गर्दैन, कलमले विवेक गुमाउँदा पनि ठूलो अनर्थ हुन्छ। त्यस्तो समाचार लेख्नुअघि संवाददाता कति घोरिए, छाप्नुअघि सम्पादकले कति पटक सोचे? त्यसले पार्ने प्रभावबारे कति विचार गरे कुरै नगरौं। गल्ती हुन्छ, तर त्यसलाई स्वीकार नगर्नु असामान्य लक्षण हो। बालगृह बनाउन मापदण्ड नपुर्‍याएको अर्को आरोप छ, दिलशोभामाथि। नेपालका कति परिवारका बालबालिका घरको काम नगरी पढ्न पाउँछन्। मापदण्ड पुर्‍याउन तम्सेकाहरूले सबै बाबुआमालाई एकैपटक बालअधिकार विरोधी घोषणा गरिदिए हुन्छ। अधिकारको तापक्रम बढाउनेहरूले आफू हुर्केको परिवार र समाजको परिवेश सम्झ्े मात्र पुग्छ। मापदण्डवालाहरूले सबै नेपाली परिवारको मापदण्ड नापेर जिम्मेवारी लिंदा हुन्छ, तर्कको खेती चलाएर केही हुँदैन। दिलशोभाले पैसा माग्ने कागजलाई 'पर पर पर' भन्दै सात पटकमा प्रपोजल भन्दो रै'छ भनिन्। र दुःखी भइन् “के गर्ने, मलाई त्यति भन्न पनि आउँदैन, भन्दा भन्दै परपल भनेछु एकपटक। यता परपल देऊ, उता परपल देऊ भन्छन्, म जान्दिनँ।” यस्ता कुरा दिलशोभाले नजानेकै राम्रो। समाजसेवा परपल (प्रपोजल) ले गर्दैन दिलले गर्छ। उनीसँग दिल छ त्यसलाई नदुखाए नै कोटिकोटि हुन्छ अहिलेको लागि।

metta · May 6, 2014 6:22 PM · 2,510 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all