"आमा ए आमा ! हैन कता हो के तपाईं ?" "हँ , म माथि बुइङ्गेलमा छु हौ । माथि आईजो न" "हैन एक्कै क्षण तल आउनुस् न के एउटो सल्लाह गर्नुछ " "हैन किन मर्न आँट्या होला यो यस्सो भण्डार सफा गरम भनेको टिक्न दिने भये पो , गएर आफ्नै बुढीलाई कचकच गर्नु नि" भन्दै आमै फत्फताउदै तल पिंढीमा ओर्लिन अनुहारमा बर्षौँको कठिन पेरिश्रम र जिन्दगी अनी घर बुहार्तनको बोझले थिचिएर मुजा मुजा परेका, चिम्सा आँखा , आँखा माथि बाक्लो चस्मा जस्को एकपट्टीको कान माथि अड्काउने फक्ल्याटा चोईटीएको र डोरीले बानेर अड्काको । नाकमा सानो सेतो टल्किने हिराको फुली र कानमा साना साना टप घुसारेकी । बुढाको स्वर्गे हुँदा पनि यिनले यि दुई गहना त्यगेकी थिईनन् । सेतोमा हलुका हरियो लहरा बुट्टा भएको धोती र लगभग पुरै सेतै फुलेको कपालले उनको जीवनको संघर्ष प्रेसित गर्थ्यो । जती नै दु:ख सहे पनि सन्तानका अघी ओठमा मुस्कान नै राखेकी थिईन । "हैन के आमै कुरो तपाईं सँगै गर्न पर्ने भएर पो त बोलाको" छोरोले भन्छ "ल भन के कुरो हो त्यस्तो" "अब म नि ठूलो भएँ हगी ? बुहारी नि छे घरमा काम-साम गर्न, गाई-बस्तु मेलापात हेरिहाल्छे, हो कि हैन ?" "हो , अनी मैले कैले हेर्दिन भनें त तँलाई" "हैन के तेसो भनेको हैन , अब फुर्सदले-अनन्दले घरमा आराम गरेर बस्नुस् भनेको पो । अनी आमा तपाईंलाई यस्सो तिर्थ घुमाउन लगुँ कि भनेर सल्लाह पनि पो गरुँ कि भनेर के" छोरोले कुरो अर्कैतिर मोड्न खोज्यो हिजो राती मात्र उनले कल्पेकी थिईन - 'अब त छोरो ठूलो भो, कमाउन नि थालेको छ, बुहारी पनि भित्रीई ,अब चाहिं तिर्ताटन गर्न पर्छ । आफ्नो परत्र नि सुधार्न पर्यो । बिहान भन्न पर्ला ठुलेलाई ।' आज ठ्याक्क छोरोले तिर्थको कुरो गर्यो साईत जुरेको जस्तो छ । हे ! प्रभु हजुरले बोलाकै जस्तो छ । 'ल है त भोली सखारै निस्कुम न त है ' छोरोको आँखामा अर्कै चमक देखिन आमाले अनी ठानिन 'खुसी छ बाबुरो आमालाई तिर्थ लान पाउँदा, श्रवणकुमार नै हो मेरो ठुले' झिस्मिसे बिहानी , अलीअली हुस्सु लागेको, बाटाका घाँसमा सित पर्न लागेका, कुखुरो बास्न तयार हुँदैको समयमा आमा उठेर खैरी गाईलाई एक अङालो पराल दिईन । गाईले पराल नखाएर एक्तमासले बाँ बाँ मात्र गरिरह्यो । आमा फत्फताउन लागिन 'हैन आज के भा यस्लाई, यो ठुले नि उठेको छैन कि के हो , उठाउन पर्यो क्यारे' "ठुले ए ठुले , निस्कने हैन ? अबेला होला नि बाबु । " भरेङ को पुछारमा पुगेर अलिक ठुलो स्वरले बोलाईन "आमा , आएँ आएँ " भन्दै ठुले एउटा सानो हरियो रङको ब्याग भिरेर निस्कियो । "अनी बुहारी खै त ?" आमा ले सोधिन "हिजो टाउको दुख्यो भन्थी, रात भर आँखा झिमिक्क गरेकी छैन अगी भर्खर मात्र निदाकी" छोरोले भन्यो "लौ तेस्लाई सन्चो छैन भने आज किन जाने त , बिचरीलाई एक्लै छोडेर । भोली गए हुन्न र बाबु ?" निस्वार्थ माया भरिएको प्रश्न भुईंमा खस्न नपाउँदै छोरोले रिसाएको जस्तो आवाज पारेर भन्यो, "ह्याँss ठीक भइहाल्छ नि टाउको मात्र दुखेको त हो नि । फेरी तिर्थ हिंड्न आँटेका गएनौं भने दशा लाग्छ, भगवान रिसाउँछ्न , हिंड्नुस् जाउँ " छोराले भनेपछी होला नि त भनेर सुरु सुरु पछी लागिन । गोठबाट खैरी गाई अझै बाँ बाँ गरिरहेकी थिई । लगभग दुई-सबा दुई घण्टा हिँडे पछी आमाले अलिक थकित आवाजमा सोधिन 'बाबु अझै कती बाँकी छ, अलिकती थकाई लाग्यो एक्कै क्षण बसौं न है ?" आमाको गालीत करुण अनुहारै नहेरी छोरो बम्कियो , "बेसीको बसबिसौनी आईपुग्नै आँटिसक्यो कहाँ बस्ने अब, हिंड्नोस हिंड्नोस । फेरी अहिले बस पाईन्न के" "ये काठ्माण्डु काठ्माण्डु काठ्माण्डु, ल गयो गयो गयो ।" भन्दै गाडीको ढोका ठोक्दै थियो एउटा खलासी , तेही बेला आमा-छोरा हतारिएर त्यतै आउँदै गरेको देखेर खलासी झन ठुलो स्वरले "ल बजु जने हो काठ्माण्डु काठ्माण्डु, ल हिंडिहाल्यो , झट्ट आउनुस् " भनेर बोलाउन थाल्यो स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै जब्बर जस्ती आमै बस सम्म पुगेर बस चढिन, चढुन्जेल त बस दौडाउँला झैं गर्दै थिए र खलासीले टिकाट कटे पछी भने गाडी हिँडेन । ठुले ले " ल न त हिँड्ने भन्या हैन त भन्या गाडी ?" भनेर सोध्यो तर खलासीले "पर्खनुस् न सिट नै भरिएको छैन , कि त सप्पै खाली सिटको पैसा दिनुस् क्यारे नत्र पर्खनुस् एक क्षण " भनेर झर्कियो । ठुले ले बसको चाला थाहा पाएर आमालाई झ्यालको सिटमा राखेर ,"आमा केही खान मन छ ? " भनेर सोध्छ । "के खानु नानी अहिले फेरी गाडी गुडेसी सप्पै हुँडलेर निस्कीहाल्छ । बरु जा तँ केही खाएर आईजो फेरी तँलाई खाली पेट बस्न नि हुन्न " भनेर आमा आफ्नो ममत्व पोख्छिन । "हस , म पिलास्टिक पनि किनेर आउँछु अनी केही खाएर नि आउँछु है त , एक्कै क्षण है " भनेर चिया दोकान छिर्छ । गाडी गुडे देखिन नरोकिए सम्म आमाले उल्टी गरिरहिन । लाग्थ्यो पेटमा रहेको र नरहेको सप्पै तेही झोला भित्र निकालेर फलिदिएकिछिन । निकै सिथिल र बिरामी जस्ती देखिएकी थिईन उनी । आँखा एक भित्त भित्र छिरे जस्ता । गाडीले काठमाण्डौं लगभग साँझ पुराएको थियो । ठुलेले आमालाई एक बोतल पानी किनेर खुवायो अनी एउटा अर्को बसमा चाढाएर गौशाला सम्म पुरायो । बिहान निस्किये देखिन नै आमाको पेट निराहार थियो । "आमा अहिले कस्तो छ ? " ठुले सोध्छ " केही खाने हो ? " "केही खानै मन छैन बाबु , खै गाह्रो भइरहेको छ । एक निन्द्रा सुत्छु अनी सप्पै ठीक हुन्छ । बरु तँलाई भोक लाग्यो होला केही खाको भए हुने " "हैन केही खानुस् , ल हिंड्नुस् उsss त्यो होटेलमा केही खाउँ", बिस्तारै आमालाई समातेर एउटा मार्वाडीको होटेलमा समोसा र चिया खुवाएर भन्छ , "आज ढिलो भो भोली जाने है आमा पस्पती " टाउको हल्लाएर सहमती जनाउँछिन आमा । छोरो भन्छ "आज यहीं धर्मशालामा बास बसुम है ?" आमा गाडीको थकान र दिन्भरको बमनले गलेको शरीर कहाँ ढलाउँ भनेर ठाउँ खोज्दै हुन्छिन , बास फेरी टाउको मात्र हल्लाउँछिन सहमतीमा । रात मस्त निदाएर बिहान आमालाई धर्मशालाबाट लिएर गौशाला तिरबाट नगएर ठुले जय-बागेशोरी तर्फबाट पशुपती तिर ओर्लन्छ । " ओहो ! पशुपतीलाई पनि कैद गरेछन असत्तीहरुले । सप्पै तिरबाट घेरेछन कि कसो ? जुत्ता यतै खोल्ने बना'रछन । अस्तिन तँ सानै छँदा तेरा बा सँग आको थिएँ एक फेर । कत्ती मान्छे बा ल हेर । पाप बढेको हो कि धर्म गर्ने धेरै भा'का हुन । सँगै बस है ठुले फेरी हराईएला " आमाको कुरो सुनीरहन्छ ठुले अनी आमासँगै पशुपती भित्र छिर्छ, दर्शन गर्छ बाहिर निस्कान्छ । बाहिर निस्किँदा आमाले मेरो छोरो बुहारीको कल्याण होस्, चाँडै नातीको मुख देख्न पाउँ भनेर मागेको ठुले टड्कारै सुन्छ । सप्पै दर्शन गरेर ठुलेले आमालाई गुरुको थानमा लग्छ र भन्छ "आमा एक्कै क्षण है, म आई हाल्छु बस्तै गर्नुस् है । मैले मेरो पेटी तेही जुत्ता रखेकै ठाउँमा छोडेछु , आई हाल्छु" भनेर आमालाई गुरुको थान अगाडिको शिव लिङ्गको जिम्मा छोडेर जान्छ अनी आमा शिव महिमा पाठ गर्दै बस्छिन , आँखा बाटो तिर राखेर । १ घण्टा भो, २ घण्टा पनि बित्यो अनी आमा "लौ छोरोलाई पो केही भएछ कि " भनेर जुत्ता राखेको ठाउँ तिर हेर्छिन तर छोरा देख्दिनन् , फेरी छोरो गुरुको थान पो फर्कियो कि भनेर त्यहाँ आउँछिन - देख्दिनन , फेरी भुवनेश्वरी मन्दिर सम्म आउँछिन , भेट्दिनन, अब अलिकती चिसो पस्छ उन्को मनमा अनी सोध्छिन आफैलाई "कहिँ छोराले मलाई छोडेर त गएन, कहिँ ठुलेलाई कसैले केही पो गर्यो कि ?" पिलपिल आँखामा आसुँ भरेर गुरुको थान मै आएर कुरी रहन्छिन तर छोरा फर्केर आउँदैन । एकोहोरो भुईंमा हेरेर टोलाई रहन्छिन । अनी रात पर्छ तेही मन्दिरको पेटीमा भुक्लुक्क ढल्छिन । बिहान देखिनको भोको पेट , चिसो जमिनको ओछ्यान र चिसै आकाशको ओढ्ने अनी न्यानो भुस्याहा कुकुरहरुको साथ उनी तेहीं निदाउँछिन । राती कयौं पटक बिउँझिन्छिन अनी रुन्छिन, मौन । फेरी निदाउँछिन । बिहान झिस्मिसेमा फेरी घोरिएर बसेकी हुन्छिन , खै के भुईंचालो गईरहेको होला त्यो आमाको मुटुमा । टोहोलो भएर जो नजिक आएपनी दोहोराई रहन्छिन "मेरो छोरो आउँछ , एक्कै क्षणमा आउँछ ... " एक हफ्ता भयो मैले यो बुढी आमालाई यहाँ देखेको । हरेक भेटमा भन्छिन "मेरो छोरो आउँछ , एक्कै क्षणमा आउँछ... " । कस्ले भनिदिने ति आमैलाई तिम्रा छोरा निष्ठुरीले तिमीलाई पुरानो बिग्रेको डोको सरी मन्दिरको पिंडीमा फ्याँकेर गैसक्यो भनेर । अनी मन भारी हुन्छ , "आमा आज आमाको मुख हेर्ने औंसी , ल चिया खानुस् ल ", भनेर सयको नोट हातमा रखिदिएर दिक्क मान्दै म घर फर्कन्छु । कती सजिलो जन्मदात्री ,ममताकी देवी, कर्तब्यनिष्ठ आमालाई ल्याएर मन्दिरको जिम्मा लगाएर जान । कस्तो निष्ठुर त्यो मन , कती कठोर त्यो आत्मा , कती पापी त्यो सन्तान । धिक्कार छ यस्तो सन्ततीलाई जस्ले जुन कोखबाट जन्मियो तेसैलाई लात हान्यो । (सत्य कथामा आधारित । ) यो हरेक दिन हरेक हफ्ता हरेक महिना पशुपतिको वरीपरि देखिने दृश्य हो . कसरी आमा लाइ त्याग्न सक्दा रहेछन अचम्ममा पर्छु म . यी बुढी आमालाइ एकजना दाइले आफ्नो घरमा खाना पकाईदिनुस ल भनेर लगेर जानु भयो . वहाँ अहिले के गर्दै र कस्तो स्थितिमा हुनुहुन्छ मलाई थाहा छैन . वहाँको अनुसार वहाँको घर पश्चिम पर्छ रे , अनि अब त्यो घर फर्केर जाने इच्छा वहाँ लाइ छैन रे . पशुपतिकै शरणमा अन्तिम स्वास छोड्ने वहाँको इच्छा छ भन्नु हुन्थ्यो . खल्लो एवं भारि मन का साथ् यो कथा पस्कियें ... सम्पूर्ण आमाहरुमा मेरो नमन र हजुरहरुको पवित्र निस्वार्थ माया र आशिष हाम्रो जीवनमा रहिरहोस Happy Mothers Day - थाहा छैन
ThahaChaena · Apr 28, 2014 3:07 PM · 19,196 views
यस्तै यस्तै पापीहरु बढ्दै छ र दिल शोभा दिदी पनि बदनाम गरिंदै छ | केही दानवहरु मानवको रुपमा जन्म लिन्छन र जन्म दिने आमालाई ..... भो आँखा रसायो | आमा हुने भाग्यमानीहरुले कहिलेइ यस्तो पाप न चिताउनु ... आमा गुमाएका हामी जस्ता टुहुराहरुले आमा सम्झिने ३६५ दिन मध्ये पबित्र दिन ... सम्झनु होला एक छिन भए नि ...
rahulvai · Apr 28, 2014 4:03 PM
कथाले मन छोयो थानेदाई । "हिजो टाउको दुख्यो भन्थी, रात भर आँखा झिमिक्क गरेकी छैन" कतै यो ठुले को बुढी को प्लान त होइन? आँफैलाई जन्म दिने आमालाई कसरी त्याग्न सक्छन। धिक्कार छ एस्ता कुपुतहरुलाई . ठुल्दाइको कुरामा सहमत् छु।
rawbee · Apr 29, 2014 7:14 AM
मन छोयो...सारै राम्रो .
*~Spring~* · Apr 29, 2014 10:02 AM
Thaane bro, a good one !!!! and want to copy yr words here सम्पूर्ण आमाहरुमा मेरो नमन र हजुरहरुको पवित्र निस्वार्थ माया र आशिष हाम्रो जीवनमा रहिरहोस
OBAMA · Apr 29, 2014 10:05 AM
balla aaj padhne maukaa milyo...... sarai man chhune lekh aakha nai rasaayo ......
baaramaase · Apr 29, 2014 2:14 PM
बिहोवे ज्यू, लहरे दाइ , अनि जितुदा , हजुरहरुले मनपराईदिनु भो फेरी पनि लेख्ने चाहनालाइ उकास मिलेको छ . धन्यवाद ठुल्दाइ , रवि-दाइ , बसन्ती(*~Spring~*) जी , ओ-बा-आमा जी, बारेदाई, अनि दिप दा, पढेर अमुल्य शब्द खर्चिनु भो कृत कृत भएँ . कथा भनम कि व्यथा यो सधै भईरहेको देखिरहिएको र सप्पैले हलुका संग लिएको बिषय हो . जब मिडियामा आउँछ सारा उर्लेर बोल्छन पछि फेरी तेही मौनता छाउने हो . दिप दा ले भने जस्तै हामीहरु बिचमा पनि ठुलेहरुको कमी छैन। ठुलेले जस्तो अन्यत्र लगेर हामीले छोडेको नहोला। हामी आफैं अन्यत्र गएर बाउ-आमा लाई घरमा छोडेका छौं। बहाना अनेक होलान, कारण उत्तीकै, बिबसताका दुहाई होलान, परिस्थितीको आड होला तर दुर्भाग्य नै हो मेरो पनि आफ्नो सन्तानको एक एक पल को खुसीको लागि आफ्ना अनगिन्ती पलहरु बलिदान दीने ती आमा बाउहरुलाई बुढेसकालमा घरमा छोडेर पर कतै आफ्नो संसारमा रम्न पुगेको छु। हाम्रो पनि डफ्फा बढ्दो छ। यसो चाडबाडमा स्काईपमा झुल्कियो। नमस्ते दर्शन गर्यो। औपचारीकताको सन्चो बिसन्चो सोध्यो। छोरा छोरीको खुसीमा रम्नेहरुले सन्चो छैन त किन भन्थे, भनीहाले छन भने डाक्टर कहाँ जानु। पैसाको चिन्ता नगर्नु म छु भन्यो। छाती फुलायो। कैले आफु पुग्यो पाहुना भएर, कैले बाउ आमा बोलायो पाहुना बनाएर। दरो सम्बन्धको खम्बा सम्झियो आफुलाई। - थाहा छैन
ThahaChaena · Apr 30, 2014 10:36 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion