पहिलो थेरवादी भिक्षुको देश निकाला

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पहिलो थेरवादी भिक्षुको देश निकाला  संवाददाता काठमाडौ, वैशाख ५ -  पालि साहित्यमा बुद्धको सबैभन्दा प्राचीन उपदेश थेरवादी शाखाको हो । थेरवाद बौद्ध धर्मको परम्परादेखि चलिआएको मूल शाखा हो । धर्मचक्र प्रवर्तनसँगै भिक्षुहरू संघ स्थापना भएको मानिन्छ । बुद्धपछि नेपालमा थेरवादको स्थिति कस्तो रह्यो, त्यसबारे इतिहासले अझै धेरै खोज्न बाँकी रहेको छ । तर आधुनिक युगमा नेपालमा थेरवाद धेरै पछि मात्र भित्रिएको हो, राणाकालमा ।  नेपालमा थेरवाद भित्र्याउने श्रेय महाप्रज्ञा (१९०१­१९७९) लाई जान्छ । उनको गृहस्थको नाम प्रेमबहादुर श्रेष्ठ थियो । उनी पहिलो थेरवादी भिक्षु थिए । उनले आफ्नो आत्मकथा नेपाल भाषामा लेखेका थिए, 'बौद्धषिर् महाप्रज्ञाया आत्मकथा' को नामले । यो नेपाल भाषाको अत्याधिक लोकप्रिय र चर्चित पुस्तकमा पर्छ । लगभग साढे दुई दशक अगाडि त्यो तीन भागमा प्रकाशित भएको थियो ।  अहिले लाभरत्न तुलाधरको सम्पादनमा त्यसले एउटै पुस्तकको आकार लिएको छ । प्रकाशक पूगताभूमि जेतवन विहार, सिद्धार्थनगर रहेको छ। चन्द्र शमशेरले महाप्रज्ञालाई सन् १९२४ मा देश निकालेका थिए । नेपालको समग्र इतिहासमै यो चर्चित घटनाका रूपमा रहेको छ । उनीसँगै महाचन्द्र, महाज्ञान, महावीर्य र महाक्षान्ति पनि देश निकालेमा परेका थिए ।  त्यस घटनालाई लिएर महाप्रज्ञाले आफ्नो आत्मकथामा के लेखेका छन् त ? पुस्तकको चर्चित अंशको हिमेशले गरेको स्वतन्त्र अनुवाद- बडागुरुज्यूले चन्द्र शमशेरसमक्ष यसरी चुकुली लगाएका रहेछन्, 'सरकार, यो महाप्रज्ञा भन्ने भिक्षु श्रेष्ठ थरका रहेछन् । यिनले आफ्नो धर्म छाडेर भिक्षु बनेका छन् र बौद्ध धर्मको प्रचार गरिरहेका छन् ।' चन्द्र शमशेरले भने, 'गरोस्, उनले बौद्ध धर्मको प्रचार गरेर हामीलाई के नोक्सानी भयो त ?' बडागुरुज्यूले भने 'हामीलाई नोक्सानी हुनु मामुली होइन, महाराज । राज्यमा भयंकरसँग धक्का लाग्ने छाँट देखिन्छ ।' चन्द्र शमशेर झसङ्ग भए र भने, 'हो र ? कसरी ? राज्यलाई कसरी धक्का लाग्ने छ त ?' बडागुरुज्यूले 'सरकारले प्रजालाई राम्रो होस् भनेर रक्सीमा प्रतिबन्ध लगाइबक्स्यो । तर बन्द भएन । देउतालाई चाहिन्छ भनेर जरिवाना तिर्नुपरे पनि, बन्धनगारमा बस्नुपरे पनि ऐनलाई मानेनन् । तर आज यो भिक्षुले उपदेश दिएपछि सबैले रक्सी जाँड खान छाडेका छन् । अब हामीले विचार गर्नुपर्ने, प्रजाले सरकारको हुकुमभन्दा पनि भिक्षुको कुरा सुन्ने रहेछ । सरकारले बनाइबक्सेको ऐनमा रक्सी बनाउने लोग्नेमान्छे भए दुई सय ४०, स्वास्नी मान्छे भए १ सय २० जरिवाना छ । तर पनि रक्सी बनाउन छाडेका छैनन् । तर यही भिक्षुको उपदेश सुनेर चार हजार जनताले रक्सी खान छाडे' भनेछन् । 'राम्रै भयो नि । जसले गरे पनि देश सुधार भए, राम्रो हो, होइन र ?' चन्द्र शमशेरले सोधे । 'महाराज, देशमा सुधार हुनु त राम्रो हो, तर सरकारलाई मानिरहेका छैनन्, जति जनताले ती भिक्षुलाई मानिरहेका छन् । यस्तै भयो भने पछि सरकारलाई धोका हुन्न र ? मैले बिन्ती गरेको कारण यसैलाई लिएर मात्र हो ।' चन्द्रशमशेरले यो भिक्षु उनीहरूलाई मन नपरेको चाल पाए । यो अभिप्राय बुझेर भने, 'त्यो भिक्षुलाई मेरो हजुरीमा दाखिल गर्नु ।' बडागुरुज्यूले तुरुन्तै थानामा खबर पठाए, त्यहाँ गोस्वराका हाकिम नरनारायण शाहले जस लिन हामी पाँच जनालाई तुरुन्तै पुलिसले घेरेर सिंह दरबार लगे । सिंह दरबारको भुइँ बैठकमा हामीलाई लहरै राखियो । सरकारको सवारी भयो, सरकार हाम्रो अगाडि पुग्न अगाडि नै आठ पहरियाले हामीलाई घेरे । सरकारलाई भने बडागुरुज्यू, नारायणभक्त सरदार र नरनारायण शाहले घेरे । चुकुली लगाए ।  सरकार मेरोसामु आएपछि मैले केही भन्न खोजेको थिएँ, तर मुखै खोल्न दिएनन् । सरकारले रिसाएको स्वरमा भने, 'यही हो र, आफ्नो धर्म छाडेर अरू धर्ममा जाने ? तिमी शिव धर्मको मान्छे भएर कसरी बौद्ध धर्ममा लागेको ? तिम्रा चार साथी त जातले बौद्ध भए । तिमी त बौद्ध होइनौं । यदि तिमीले आफ्नो धर्मको प्रचार गरेको भए, मैले पनि तिमीलाई नमस्कार गर्ने थिएं । अब अर्को धर्ममा गइसकेकोलाई नमस्कार गर्दिनँ । तिमीले आफ्नो धर्मलाई किन छाड्यौ ?' मैले उत्तर दिन खोजें, नारायणक्त सरदारले मेरो मुख थुने । आठ पहरियाले पनि बोल्नै दिएनन् । त्यही अवसरमा थानाका सुब्बाले मेरो बकपत्र सुनाए । दस कुशलको प्रसंग आउनेबित्तिकै बडागुरुज्यूले सरकारलाई बंगलाघरतर्फ लगे । पछि फेरि सरकार मेरोसामु आए र हुकुम भयो, 'तिमी यो देशमा नबस्नू, तिमी यहाँ रह्यौ भने ठूलै गन्जागोल निस्किएलाजस्तो छ । त्यसैले तिमी यो देशबाट बाहिरिनू । भन कहिले जाने हो ?' आठ पहरियाले बोल्न दिएका थिएन्, त्यसैले म चुप लागें । त्यसपछि हामीलाई थाना लगियो । राति थानाका सुब्बाले भने, 'अब तिमीहरूलाई यहाँ राख्ने छैन् । देश निकाला गर्ने भयो । तिमीहरूलाई दुःख हुनेछ । तिमीहरूको के विचार छ ? आ-आफ्नो घर र्फकने हो भने देश छाड्नुपर्दैन । नत्र देश निकाला हुनेछौं ।' मैले भनें, 'सुब्बा बाजे, हामीलाई देश छाड्नुको दुःख छैन । हामीलाई गृहस्थाश्रममा र्फकने इच्छा छैन । त्यसैले देश छाड्नुपरे, छाडौंला । एउटै मात्र कुरा, हामीमध्ये कसैले पनि देश बाहिर गएको छैन । चन्द्रागिरि उता के छ थाहा छैन । फेरि हामीसँग पैसा पनि छैन । त्यसैले हामीलाई एक दुई दिन भीक्षा माग्न दिए हुन्थ्यो ।' सुब्बा, 'हुन्छ, म प्रयास गर्छुं ।' उनी घर फर्के । भोलिपल्ट सिंहदरबार गएर सरकार समक्ष बिन्ती गरे, 'महाराज, भिक्षुहरू देश छाड्न राजी भए । खर्च बनाउन एक दुई दिन भीक्षा माग्न पाए हुन्थ्यो भनेका छन् ।' चन्द्र शमशेर, 'भिक्षुहरूलाई भीक्षा माग्न पाँच दिन छाड्नू ।' सुब्बाले हामीलाई भिक्षाका लागि पाँच दिनको अनुमति दिए । तर जहाँ गए पनि दुईजना पुलिस सँगै हुन्थ्यो ।  प्रकाशित मिति: २०७१ वैशाख ६ १०:४३

_____ · Apr 22, 2014 12:32 PM · 1,901 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all