ध्वाँसे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

(ध्वाँसे,मलाई सवै भन्दा मन नपर्ने विध्यार्थि – रामप्रसाद काफ्ले(स्वास्थ्य तथा शारिरिक शिक्षक), सरस्वति माध्यामिक विध्यालय) "ह्या सर छोड्दिनु न !" उसले आफ्नो हातले कैँची हटाउन खोज्दै अन्तिम चोटी प्रयास गर्यो। उसको कपाल,उसको लागि सवै भन्दा प्रिय थियो।मलाई भने सवैभन्दा रिस उठ्ने उसको कपाल! सरकारी नै भए पनि हामी अनुशासन पालनमा निक्कै अव्वल थियौँ।मैले आफुमाथी गर्व गर्न त उचित हुन्न, तर यस स्कुलको अनुशासनलाई यत्तिको राख्नुमा मेरो ठूलो हात थियो।म हफ्ताको एक चोटी सवैको नंग,कपाल हेर्थेँ लाइनमाँ राखेर!कपाल लामो भएको मलाई मन पर्दैन थियो।कहिलाई अफिसमा अरु सरहरु मलाई जिस्क्याउँथे पनि मेरो कपाल खुइलिन थालेको भएर अरुको कपालमा म डाहा गर्थेँ भनेर ! तर कुरा त्यस्तो थिएन । मलाई त मात्र मेरो स्कुलका विध्यार्थी अनुशासनमा रहुन र सँधै अव्वल रहुन भन्ने ध्याउन्न थियो। ध्वाँसे हाम्रो स्कुलको अटेँर विध्यार्थी मध्येको एक, आज उसको व्योहोरा ठिक पार्नलाई मैले हजाम लिएर आएँ आफ्नै पैसा तिरेर। पहिला त आफ्नो खैनी खाएको टाट्ने दाँत देखाउँदै हजामले भनेको थियो " सर विस रुपैयाँ त कम्तिमा लाग्छ !" मैले पनि आफ्नो मोलमोलाईको पावर देखाउँदै भने " अरु विध्यार्थीलाई पनि पर्यो भने तँलाई नै वोलाउँछु नी !" हजामले कान कन्याउँदै भन्यो "ध्वाँसेको कपाल त लामो छ हजुर ,मिलाएर काट्न त टाइम लाग्छ !" मलाई रिस उठ्यो " जस्तो काट्दे पनि हुन्छ, छोटो चाहिँ पार्दे न !" उसले पनि स्विकारोक्तिमा टाउको हल्लाएको थियो। "आफूलाई सन्जय दत्त सम्झिन्छस् होला हैन?" मैले फेरि ध्वाँसेलाई गाली गरेँ।ध्वाँसेलाई देख्ने वित्तिकै रिस उठ्छ। सानो उमेरमै कत्ति फुर्ति देखाउनु पर्ने यसलाई। "हैन सर राहुल रोय, आशिकीको हिरो के !" उसले आफ्नो फिल्मी ग्यान छाँट्यो। म भने आशिकी भनेको कुन फिलिम हो सोच्न थालेँ।अनि को हो यो राहुल रोय भनेको? अहिले सम्म त खासै नाम सुनेको हिरो त हैन। मैले सुनेको त सन्जय दत्त, अमिताभ वच्चन अझ पुरानोमा दिलिप कुमार ! को हो यो राहुल रोय भनेको? "सर कति छोटो वनाइदिम ?" हजामको प्रश्नले मलाई ध्वाँसेमै दिमाग फर्कायो। "अझै छोटो वनाइदे!" "सर के आर्मीमा पठाउन आँट्नु भको मलाई ?" ध्वाँसेले रुन्चे स्वरमा मलाई हेर्दै भन्यो।मैले उसको लुगा हेरेँ। उ अझै घुँडा टेकी नै राखेको थियो।छेउ छाउका कक्षावाट केटाकेटीहरु उसलाई चियाउँदै थिए। ध्वाँसे वास्तवमा त्यो स्कुलको हिरो नै थियो। चिल्लो तेल दलेको कपाल ,पछाडीको गोजीमा काइँयो,शिवजीको फोटो भएको लकेट,अनि माथीको दुइवटा वटन खुलेको शर्ट!! अरु भन्दा भिन्न देखिन्थ्यो ध्वाँसे। ध्वाँसे सँग हिँड्ने दुइ चार जना चम्चा थिए उसका । फुटानि चोकको चियापसल छेउमा वसेर क्यारेम खेल्दै गरेको देख्थेँ म! तर मलाई देखेपछि साहिँलीको त्यो चिया पसलमा लुक्थे।मलाई साहिँलीकोमा छिर्न अलि लाज लाग्थ्यो । साहिँलीको वोल्ने सोमत थिएन। एक दिन "दुध हालेको चिया खान्छु " मात्र भनेको थिएँ "भैँसी थाकेको तिन महिना भयो, म थाकेको तिन वर्ष , कहाँ वाट ल्याउँ दुध !" भनी । म अलमल्ल परेँ। लाजले रातो भएँ। उसको वुढो छेउमा हुन्जेल केहि वोल्दिन। वुढो यताउता हुने वित्तिकै उसले लोग्ने मान्छे देख्नै हुन्न। त्यसमाथी उसको वुढो मातेर टिल्ल भएर त्यहि फुटानि चोक छेउकै चौतारोमा सुतिरहन्छ। त्यसपछि त साहिँलीलाई के र , कहिलेकाहिँ त चिया पसल दिउँसे वन्द!! त्यसपछि साहिँलीको दोकानमा चिया खान जान डर लाग्न थाल्यो अनि छोड्देँ जानलाई। तर जुन दिन म केटाहरुलाई त्यहाँ देख्थेँ तिनीहरुलाई भोलिपल्ट केहि न केहि निहुँमा विहानको लाइन वाट वाहिर निकालेर छडी लाउँथे। "चुपचाप वसिराख! फेरि कान काट्ला तेरो!" उसले पुलुक्क म तिर हेर्यो।मलाई कुट्न हुने भए कुट्थ्यो ध्वाँसेले। कहिलेकाहिँ त डरै लाग्छ मोरो देखी । नौ क्लास पढ्ने भनेर के गर्नु। मोरोको पाखुरा अहिल्यै राँगा ढाल्ला जस्तो छ। "अव काटी नै सकेपछि कान पनि किन वाँकी राख्ने र सर!" छेवैका केटाहरु गलल्ल हाँसे। "तिमीहरु आ आफ्नो क्लास जाओ!" शायद ति केटाहरु ध्वाँसेको हारवाट सन्तुष्ट थिए। त्यहि भएर त हाँसी राखेका थिएँ। ध्वाँसेले रिसाएको नजरले उनीहरुलाई हेर्यो।ध्वाँसेको कपाल को कालो थुप्रो वन्दै थियो तलतिर भुईँमा। मलाई आफ्नो जित भुईँ भरि छरिए जस्तै लाग्यो। भित्र भित्रै गदगद भएँ। "यो सफा गरेर आइज अफिसमा पैसा त्यहिँ दिउँला !" त्यति भनेर म त्यहाँ वाट हिँडे। उसका चम्चाहरु म हिँड्ना साथ भेला भए। उसको कपालको मलामी जानलाई भेला भए जस्तो.... ध्वाँसेको आवाज छ्यास्स कानमा छिर्यो " खुइलेले मेरो राम्रो कपाल देखि सहेन, हेर न आर्मी वनाइदियो मलाई !"

fucheketo · Apr 18, 2014 11:04 AM · 59,715 views

37 Replies · Showing 21 - 37
Page 2 of 2

फुच्चे साथि पढ्दै छु है

ThahaChaena · May 5, 2014 1:58 PM

जिरिङ्ग बनाएर ल्यायो 

KaliKoPoi · May 5, 2014 7:43 PM

म पनि पाठक हो है फुच्चे ...... गजब को छ कथा, अरु पनि थप्दै जाउ

baaramaase · May 6, 2014 9:49 AM

सबै भाग पडिरहेको छु है फुच्चे मैले नि, कतै 'धोति गरम' हुने पार्ट त कतै द्वान्दकलिन परिस्थितिको गम्भीर मोड, हेरौ कथा कता जाने हो /

bachata · May 6, 2014 10:13 AM

ओहो फुच्चेको यो कथाले त सम्पूर्ण पक्ष समेट्नेभयो माया, वासना, प्रतिसोध आदि आदि कहाँ शुरु भएर कता पुग्यो ...कारुणिक मोडमा छाड्यो ...अझ अगी वडाम् प्रभो !! राजनैतिक विषय उठान भएकाले अहिलेको जल्दो बल्दो 'मेलमिलाप Bill' सिमा न्यौपाने काफ्ले जस्ता victim लाइ मान्य कसरि हुन सक्ला त !!

bhakte dai · May 6, 2014 4:19 PM

Thaney,kaliko poi, bachata,baramase, bhaktadai thanks a lot , अन्य पढिदिनुहुने ,लाइक गरिदिनुहुनेहरुलाई धन्यवाद..... मेरो आत्मस्विकृती:ध्वाँसे मेरो कथाको पहिलो अध्याय टुंग्याउँदैछन् मेरा छेउछाउका, मेरा समाजका ,मेरा नजिकैका, मलाई मन पराउने, मेरो शरिर मन पराउने, मेरो आत्मा मन पराउने, मेरो सुगन्ध मन पराउने, मेरो वोली मन पराउने , मेरो कपाल मन पराउने अनि मलाई घृणा गर्ने, मेरो छायाँलाई घृणा गर्ने, मेरो कपाललाई घृणा गर्ने, मेरो व्यक्तित्वलाई घृणा गर्ने हरु मिलेर। कथा , मेरो आत्मवृत्तान्त आज दोसाँध मा उभिएको छ । माथिको मेरो जीवनका चिरा चिरा नियालेर केस्रा केस्रा केलाएर पढ्नेहरुले पक्कै मलाई अहिले सम्म घृणा नै गर्दैछन्। म उनीहरुलाई दोष पनि दिन्न। किनकी मान्छे , वाचक , जहिलेपनि सत्यलाई टेकेर उभिन्छ। हामी त उसको छायाँलाई पो सत्य भन्छौ। उसले के टेकेको छ त कसैले हेर्दैनौँ। मात्र उसले जन्माएको छायाँ हाम्रो लागि सत्य वन्छ । उसले परावर्तन गरेको प्रकाश हाम्रो लागि सुर्य वन्छ । मेरो कथा पनि त्यसवाट अछुतो छैन, म अरुको प्रकाशमा देखिँदैछु। नाम जस्तै म ध्वाँसो परेको कालो देखिनु कुनै नौलो हैन।तर कथा खुल्दै जानेछ। मेरो यात्राका नयाँ नयाँ सहयात्रीहरुसँग मेरो कथाले अर्को आयाम पाउनेछ भन्ने मलाई आशा छ। सानैदेखि म स्कुलमा कहलिएको गुण्डो। खै मान्छे मलाई किन गुण्डा देख्थे । म त आफुलाई नाइके ठान्थे। अरु मेरो पछि लाग्थे भने त म नेतृत्व कर्ता पो भएँ त!नेतृत्व जहिले पनि आश वाट जन्मन्छ। मलाई लाग्छ म सानैदेखि अरुको आशलाग्दो पात्र थिएँ।पढाईमा म कमजोर नै हो। तर यो मान्छे अनुसारको नहुने पढाई, खै के पढाई। यदि म नेतृत्वमा ठिक थिएँ भने त मलाई त नेतृत्वकला , वाककला पो सिकाइनु पर्थ्यो त, वा योजना कसरी वन्छ भन्ने खाले केहि सिकाइनु पर्थ्यो, तर मलाई पनि उहि शाहवंशका राजा कहिले जन्मे ,कहिले मरे, रामायणमा राम कति वर्ष वनवास गए, खरायो र कछुवाको दौडमा कछुवाको जित किन र कसरी भयो नै सिकाइयो। खरायो जस्तो विजुलीको गति भएको विध्यार्थीलाई न त्यो कथाले तान्यो न ति कितावहरुले नै ! स्कुलमा तान्ने त एउटी मात्र थिई "शान्ती " ! मोरीको हाँसोको कुरै नगरौँ। दाँत हुनकी अनारदाना।आँखा भुक्लुक्क परेका ,ठूला, पिर्लिक्क उठ्दा हजारौँ भाव एक्कै चोटी समुन्द्रका लहरहरु जस्तो उठेर आउने। कम्मर छिनेको ! उसले हिँडेको मात्रै हेर्न पनि म उसको घरको अलि पर साइकल रोक्थेँ। "जान्छेस् ?" नजिकै साइकल लगेर आँटले एक दिन भनेथेँ। उ मुसुक्क मुस्काइदिई ! त्यो मुस्कान "जान्छु " हो वा " जान्न" मैले परवाह नै गरिन। साइकल रोकेँ। उ सुस्तरी पछाडी चढी। किन अघी चढिन ? त्यहि दिक्क लाग्यो।तर पनि उसको सुवाष मेरो साइकलले वोकेको थियो। ****************** ***************** ******************* ********************** "तेरी शान्तीलाई त त्यो खुइले सरले पनि मन पराउँछ जस्तो छ !" एउटा साथिले मलाई खुसुक्क सुनायो। "नचाहिने कुरा गर्छस् ?" मैले उसको कलर समाएँ। "यसो याद गर त कस्तो इत्तरिएर कुरा गर्छ शान्ति सँग!" उसले मेरो हात अलि खुकुलो पार्न खोज्दै भन्यो। हुन पनि हो, उ त मात्र मलाई सचेत गर्न खोज्दैछ। विध्यार्थिमा त शान्तीलाई आँखा लाउने हिम्मत कस्को । उ त ध्वाँसेकी शान्ती हो ! ********************** ***************** ****************** **************** त्यो दिन प्रार्थनामा शान्तीले स्कुलको ड्रेस लाएकी थिईन। आठ र नौको लाइन नजिक नजिकै नै हुने गर्थ्यो। "ड्रेस किन नलाएकी ?" खुइलेले शान्तीको फ्रक हेर्दै सोध्यो। "सर धोएको सुकेन !" उसले डराउँदै जवाफ फर्काई । म शान्तीलाई हेरीरहेँ। "ल ल ,भोली देखि चाहिँ लाउनु है, यस्तो राम्रो पढ्ने मान्छे अनुशासनमा पनि वस्नुपर्छ!" उसले शान्तीको टाउको मा हात राख्दै भन्यो। मलाई उसको हात त्यहिँ काटिदिउँ जस्तो लाग्यो। मैले त छोएको छैन अहिले सम्म शान्तीलाई। "तैँले कपाल कहिल्यै नकाट्ने भइस् हैन, लाइनवाट वाहिर निक्ली !!!" उसले मलाई लाइनवाट वाहिर निकाल्यो ! हो मलाई खुइले कहिल्यै मन परेन। म स्विकार्छु ,खुइले मरेर गयो तर मन परेन। ****************** *************** *************** ********************* ****** हामी दिउँसो कक्षा हाँपेरै भए पनि साहिँली भाउजुकोमा क्यारेम खेल्न जान्थ्यौँ। तिनी मलाई हेरीरहन्थिन। के देख्थिन देख्थिन हेरी रहन्थिन।एक दिन मैले खुइलेलाई पनि देखेको थिएँ साहिँली भाउजुको दोकानमाँ। उ निस्केर गएपछि पनि भाउजु हाँस्दै थिइन्। खुइले भने कसैले देख्लानकि जस्तो गरी फटाफट हिँडेको थियो। तिनी तिस त कटेकी पक्कै थिइनन् । मात्र व्यवहारले थिचेको, तर पनि पोटिलो शरिर, वैँश त चुहिन्थ्यो तप तप! मलाई उनीसँग वोल्न खुव रमाइलो लाग्थ्यो। राती राती सपनामा शान्ती र साहिँली भाउजुलाई पालैपिलो देख्थेँ। साहिँली भाउजुलाई देखेको दिन भने ओछ्यान भिजेको हुन्थ्यो।तर मेरो सपना सपना मात्र रहेन।एक दिन एक्लै पारेर साहिँली भाउजु र मैले सपना साकार गर्यौँ।त्यसपछि सपना देखिन वन्द भयो। उसको वुढो मगर दाई केहि थाहा पाउँदैन थियो। मलाई भने घरमा वहाना वनाउनको धौ धौ। साँझमा चियावारीमा शान्तीलाई भेट्न जा, अनि वेलुका साहिँली भाउजुलाई। वा आमा छोरो पढ्न थाल्यो भनेर खुशी हुन्थे। म पनि खुशी नै थिएँ। शान्ती वेला वेलामा खुइलेको कुरा गर्थी। किन किन उसलाई आदर गरेर राम सर भनेर वोलाएको मलाई मन पर्दैन थियो। उसले गर्दा स्कुलको रिजल्ट राम्रो भएको यस्तै यस्तै कुरा गर्थी। मलाई साह्रै रिस उठेपछि म सोध्थेँ "तँ मलाई वढी माया गर्छेस् की तेरो राम सरलाई ?"  उ मात्र छ्या भनेर टारिदिन्थी। मेरो प्रश्न पुरा हुन्थ्यो। उसको उत्तर अधुरै ! वरु साहिँली भाउजुसँग रातमा जे मन लाग्यो त्यो रजाईँ गर्न पाइन्थ्यो।शान्ती सँग सकपकाएर वस्नु पर्थ्यो।एक दिन भाउजुले अनायसै भनिन् "तँ सँग चुपचाप केहि नगरी वस्न त केटी मान्छे अघाएकै हुनुपर्छ!" त्यो दिन मैले शान्तीलाई घुर्की लगाएँ। तै पनि शान्तीले टेरिन। के उ अघाएकी नै हो त ? कसले मेट्यो त उसको प्यास ? किन किन खुइले को तस्विर मेरो दिमागमा घुमिरह्यो! हुन त उसले विहे गरिसकेको थियो। तर पनि म पनि त साहीँली भाउजुको मा जान्छु। लोग्नेमान्छे सवै मै जस्तै त हुन् ! ******************* ***************** *************** ***************** ********* त्यति वेला जनक्रान्ति जोडतोडमा थियो। म पनि वाध्यताले क्रान्तिमा तानिएको थिएँ। तर त्यहाँ छिरेपछि मलाई त्यहाँको संसार गज्जपको लाग्यो। परिवर्तनको समाज, हाम्रो समाजको परिकल्पना। जहाँ शक्तिशाली हरु परास्त हुनेछन् । अनि हामी जस्ता सर्वहारा हरु शक्तिमा हुनेछौँ। शासन हामीले चलाउनेछौँ। म विस्तारै विस्तारै घुलमिल हुँदै गएँ। त्यो साँझ हामी पार्टीको आगामी कार्यक्रमको लागि चन्दा उठाउन खटिएका थियौँ। पहिलो चरण सिद्दिए पछि चन्दा दिन नमान्नेलाई डराउने निति स्वरुप मलाई छानेर पठाइएको थियो। राम प्रसाद काफ्ले को नाम देख्ने वित्तिकै मेरो आँखा चम्किएको थियो।हामी योजना अनुरुप नै उसको घरमा पुग्यौँ। ढोका ढक ढक गर्यौँ । उसलाई वाहिर तानेर लिएर आयौँ र कुरा शुरु गर्यौँ। तर उसले डराउने छाँटकाँट देखाएन। मलाई अचानक शान्तीको याद आयो।साहिँली भाउजुको कुराको याद आयो।मैले खुकुरी माँगे अनी छप्काइदिएँ। रगतको फोहोरा घाँटीवाट निस्कियो। मेरो अनुहार रक्ताम्मे भयो। साथैमा आयो एउटा आइमाइको आवाज "नाई !!!" भनेर। उनीहरुको घर थोरै भित्र थियो। खेतहरुको विचमा आवाज त्यहिँ विलायो। म भित्र छिरेँ। उसकी श्रीमति अचेत ढलेकी थिई।एउटा साथिले अचानक नसोचेको कुरो खुट्यायो। "ला यसले त भुँडी वोकेकी छे कि के हो?" मेरो अनुहार पसिना पसिना भयो। आवेश सेलायो। पछुतो लाग्यो। नमारेकै भए हुन्थ्यो। यो मेरो पहिलो थिएन। तर यसमा कारण थीएन। मैले आफूलाई मन वुझाउने धेरै कारणहरु खोजेँ ।अहँ उसको भुँडीभित्रको वच्चाले मेरा सवै कारणहरुलाई परास्त गर्यो। त्यसको दुई तिन दिन सम्म म झोक्राएर वसेँ। पार्टीले मेरो स्थितिलाई ध्यानमा राखेर मलाई पश्चिम सरुवा गर्यो। मैले गाउँ छोड्नुपर्ने भयो।तर त्यो चित्रले मलाई छोडेन। अचेत स्त्री,ढलेकी । उठेपछि उसलाई एक्लो संसारको आभाष हुनेछ। हो मैले गल्ती गरेँ।के सवै गल्ती माफि लायक हुन्छन ? वा यो थिएन ?          

fucheketo · May 8, 2014 9:38 PM

one of the best stories ever read in sajha. Thank you fucheketo

serial · May 9, 2014 7:26 AM

शान्ति को के भयो त ?? के शान्तिको प्यास मेटायेकै थियो त राम सरले ? जनयुद्ध ताका रिस फेर्ने र बदला लिनेहरुको कमि थिएन . अनाहकमा मारिएको समाचार, समाचार नै हुन्न थ्यो त्यो समयमा . बास् अनगिन्ति लासहरुको लहरमा एउटा अर्को लास को नाम थपिन्थ्यो भन्दा अतियुक्ति नहोला . सारै दयनिय कथा ... ध्वाँसे को मन कमलै हो तर स्थिति, परिबन्द अनि अलिअलि लहाड़ेपन ले गर्दा यस्तो आत्मा-जलनको आबृति भित्र थुनियो बिचरो ...... मन जितेको छ फुच्चे कथा र पात्रले र अनि मन-पर्यो तिम्रो नयाँ लेखन शैली ..... पुरानो नभुल्नु र नयाँ सिक्या कुरो अझै निखार्नु ...भन्नु हुन्थ्यो मेरी आमा ... तिमि नि तेसै गर्नु है साथि .... - थाहा छैन

ThahaChaena · May 9, 2014 10:28 AM

thaney and serial thanks for the comment , अन्य पढिदिनुहुने लाईक गरिदिनुहुनेहरुलाई धन्यवाद... दोश्रो अध्याय ध्वाँसे दाई योद्दा नै हुन् , नेता होइनन् – कान्छो साँझ परिसकेको थियो तर शहर चकमन्न भने भएको थिएन।हुन त पाटनका गल्लीहरुमा अँध्यारो अलि चाँडै छिर्छ अनि उज्यालो अलि चाँडै अस्ताउँछ। परेवाको सुली इँटाको त्यो वाटोमा छरिएको हुन्थ्यो।तर अँध्यारोको सुन्दरता हेर , सवैलाई निल्छ ,फोहोर पनि देखिन्न अनि सुन्दरता पनि। धेरै पछि ध्वाँसे दाइले मलाई वोलाएपछि म हतारिँदै त्यो गल्ली छिरेको थिएँ।हामी सामान्यतय संकटकालमा कहिलेकाहिँ त्यो पसलमा भेट्थ्यौँ। जव शहरलाई कर्फ्युले निल्ने गर्थ्यो, त्यो भट्टीकि साहुनी पछिल्तिरको ढोका खोल्दिन्थीन अनि हामी लुसुक लुसक आफ्ना पर्चा छर्ने गर्थ्यौँ शहरभरी।भट्टीकी साहुनीको छोरो पनि जनयुद्दमा शहादत पाएपछि छोराको आत्माको शान्तीको लागि क्रान्तिमा होमीएकी थीईन्।शान्तीको लागि युद्द !! कस्तो अनौठो सत्य...... तर आज संसार फरक भएको थियो। शान्ती प्रकृयामा लागेको पनि धेरै महिना वितिसक्यो। चुनाव नजिकिँदै छ। अचानक ध्वाँसे दाइले मलाई फोन गरे। मेरो नम्वर पत्ता लाउन हम्मे हम्मे परेको गुनासो पनि गर्दै थिए। तर समयले मेटाउदै लगेको सम्वन्ध मोबायलको एक रिंगले फेरि नजिक ल्यायो। हामीले साँझ सँगै विताउने निर्णय गर्यौँ। "धेरै समय लगाइस् त !" दाइले म तिर हेर्दै प्रश्न राखे । प्रश्न भन्दा पनि कुराको नियमित शुरुवात भनौ।अनुहारमा दाह्री टाटेपांग्रे। दाइलाई चाँडै वुढ्यौली लागे जस्तो! हुन त त्यति साह्रो वुढा होइनन् यी मान्छे ! धेरै भए भने तिस होलान्! "वाटोमा फसियो के दाई !" मैले पनि नियमित नै उत्तर फर्काइदिएँ! आजकल उत्तर हरु पनि प्रश्न जस्तै रेडिमेड भएका छन् ! "आजकल त पुलिसको पनि डर छैन, के मा फसिस हौ?" उनले मेरो रेडिमेड उत्तर मा थोरै मसाला खोजे "पाटनको गल्लीमा फस्नलाई पुलिसनै त के चाहिन्छ र दाई? वाटा वाटामा फस्न योग्य धेरै सम्झनाहरु छन् नि !" म खिसिक्क हाँसिदिएँ। "तँ अनि तेरो कुरा !" पहिलेको जस्तो धेरै वोलिरहेका थिएनन् ध्वाँसे दाई। ध्वाँसे दाइका गफ हाम्रो साँझ कटाउने माध्यम वन्थे पहिला पहिला ! अचम्मको मान्छे होमिएको थियो क्रान्तिमा.।सिमा र अनुशासन भएको झुण्डमा एउटा स्वतन्त्र पंक्षी उडान भर्न जमर्को गरेजस्तो थिए ध्वाँसे दाई ! मेरो अरु सँग खासै कुरा मिल्दैनथियो। किनकी उनीहरुलाई मर्ने र मार्ने वाहेक आउँदैन थियो।तर ध्वाँसे दाई भने खुट्टा धुँदै गरेका छापामार वहिनीका पिँडुला हेर्दै मलाई आँखा झिम्क्याउँथे। "वहिनीहरु हुन के दाई !" म कारवाहीको डरले हच्किँदै भन्थे.. "तेरै वहिनी होली!" उनी ति कुरालाई पनि हावामै उडाइदिन्थे। *************** ************** **************** *************** ***************** "अनि दाई के खाम् त?" "यहाँको त छ्यांग नै त होला नी ? क्रान्तिकारी छ्यांग हैन दिदी?" दाईले साहुनीलाई जिस्क्याए "भाइहरु धेरै पछि देखियौ नी शहरमा!" साहुनीले आत्मियता पोखिन्। "आजकल क्रान्ति शहर पसेको छ नि त दिदी" मैले कटाक्ष गरेँ। "वफ चिल्ली दुई प्लेट!" ध्वाँसे दाइले अर्डर गरे।उपत्यका वफले नै त चलेको छ आखिर! "पाक्न टाइम लाग्छ है !" "आजकल मान्छे छैनन् त खासै , व्यापार किन मन्द हो दिदी ?" "तिमी आयौ नि धेरै पछि, अव व्यापार पनि वढ्ला विस्तारै विस्तारै !" उनी खिसिक्क हाँसिन्। सँधै फोस्रो मुस्कान पोत्छिन्। छोरोको मृत्युले हुनुपर्छ, उनको अनुहारवाट भाव हराएको,अझै फर्केको छैन। हामीले यस्ता घाउ धेरै देखिसक्यौँ विगतका वर्षमा । कहिलेकाहिँ लाग्छ यो युद्द केका लागि थियो।तर फेरि सोच्छु , मान्छेमा चेतना त आएको छ  युद्दले।पाउने र दिनेमा युद्द महँगो भयो वा सस्तो यसैमा घोत्लीरहन्छु धेरैवेरसम्म। "तँलाई थाहा छ, म त्यतिखेर यहाँ किन आउँथे ?" ध्वाँसे दाई आज सुस्त देखिन्थे। "किन?" "यी दिदी मलाई कसैको याद दिलाउँछिन् !" दुई डवका छ्यांग आइसकेको थियो। अमिलो,मान्छे किन पिउँछन् यति नमिठो कुरा ।मान्छेलाई हुन त पिडा पनि त मन पर्छ। "कस्को दाई ?" मैले थाहा पाइ पाइ सोधेँ। अघिल्लो पटक पनि हामीले यहि वात मारेका थियौँ । यसपालि पनि।लोग्नेमान्छेको जीवनमा स्त्री कति महत्वपुर्ण हुन्छे भने , उ त्यसैको  अघि पछि दौडिरहन्छ। कहिले वर्तमान लाई फन्को लाउँदै दौडिन्छ, कहिले भविष्य कोर्ने सुरमा दौडिन्छ, कहिले भुतका सपना देख्दै दौडिन्छ। "थिइन एउटी भाउजु !!!" "अनि दाई घर नजाने चुनाव अघि ? त्यहाँ पनि त पार्टीको झण्डा वोक्ने तँपाइजस्तै मान्छे चाहिएको होला नी !" मैले कुरा कोट्याएँ। छेवैको पर्दा पहिले जत्तिकै मैलो थियो। लोडसेडींगको विचमा पनि इन्भर्टरको सहाराले पाँच वाटको सिएफएल चम्किँदै थियो जसले छतको कुनामा लागेको माकुराको जालो स्पष्ट देखिन्थ्यो। "जानु त पर्ने हो ! " "शान्ती भाउजुलाई पनि त भेट्ने होला नी?" मैले जिस्क्याएँ छुसुक्क!! केटीको कुरा गर्ने वित्तिकै ध्वाँसे दाईमा लालीमा आउँछ। दुई तिन चोटी त छापामार केटीलाई फकाएको, जिस्क्याएको र खोइ के के मा हो , कारवाहिमा परिसकेका मान्छे , तर मनमाँ वस्ने सँधै एउटै ।शान्ती, सँधै उसैको कुरा सुन्दा सुन्दा हामी दिक्क हुन्थ्यौँ । कति सम्मको माया पिरति हो आखिर ! त्यति टाढा वस्दा पनि सपनामा उसैलाई देखिरहने अरे, मलाई त दिक्क लागेर भन्थेँ। आ पार्टीमा सिफारिस गरेर फेरि पुर्व पठाइदिउँ! तर त्यतिखेर नौलो ठाउँमा नौला मान्छे पठाउने योजना अनुरुप हामीलाई पश्चिम पुर्याइएको थियो पछि पश्चिममै हुँदा युद्द विराम पनि भयो। तर यसपाली सँधै जस्तो भएन। ध्वाँसे दाई अनायसै चुप भए! छ्यांगको एक घुट्को लगाए। मासुको एक टुक्रा मुखमा लिए नमिठो तरिकाले मानौँ उनलाई कसैले कोच्याइरहेको छ यी सवै ! "हिजो मात्र मलाई घरवाट फोन आको थियो !" ध्वाँसे दाईले कथा सुनाउन लागे! "हाम्रो क्रान्तीले तातेको छ रे तराई अहिले , यसपाली त सवै तराई लाल झण्डाले रातो हुने वाला छ अरे, अनि यस्तै यस्तै कुरा सुनेँ वुझिस् कान्छो ?" "त्यो त राम्रै हो नि दाई हाम्रो लागि !" मैले पनि हो मा हो थपिदिएँ! "त्यति सम्म त राम्रै थियो मुला !" ध्वाँसे दाईको आँखा रातो थियो। भिज्दै गएको पनि देखिन्थ्यो। "के नराम्रो भो त दाई ?" "त्यसपछि शान्तीको विहाको निम्तो आको छ भनेर सुनाए, चार दिन पछि विहे छ अरे !" डवकाको वचेको छ्यांग त्यत्ति भनेर सिद्दियो। मैले मनमनै अड्कल काटेँ ध्वाँसे दाइको मन पनि अहिले यहि छ्यांग जस्तै अमिलो भएको छ। "वुझिस् कान्छा कहिले काहिँ मलाई त्यो खुइलेको घाँटी रेटेकोमा साह्रै नमज्जा लाग्छ, आखिर त्यहि मोरीको लागि त थियो। अव त्यो नै आफ्नी भइन , कहिले काहिँ म त्यसकी वुढी सम्झिन्छु मोरी.... भुँडी वोकेकी थिई .पापै गरेँ मैले!!" ध्वाँसे दाई वोलीरहे , म सुनिरहेँ। तिनको मनमा छलकपट छैन। साँचो लाई साँचो भन्छन् अनि झुटोलाई झुटो।कहिलेकाहिँ ध्वाँसे दाई जोश्शिएको वेला भन्ने गर्थे  " वुझिस् अव द्वन्द, युद्द सिद्दिदैछन्, हामीले आफुलाई परिवर्तन गर्नुपर्छ , सँधै योद्दा मात्र हुनुहुन्न, अव योजना वनाउनुपर्छ नेतृत्व गर्नुपर्छ।" तर मलाई लाग्छ ध्वाँसे दाई योद्दा नै हुन् नेता होइनन्। "आ छोड्दिनु दाइ त्यो कुरा !" मैले यति मात्रै भन्न खोजेँ। वाटोमा वत्ति आयो, लोडशेडिंग सिद्दिए जस्तो छ आजको!  

fucheketo · May 10, 2014 5:46 AM

फुच्चे साथि अलि अलि तिम्रो शैली घुसिहाल्यो हाल्यो नि ...... र झन् गहिरो झन् निखार पायो कथाले .... पढ्दै छु है - थाने

ThahaChaena · May 12, 2014 11:18 AM

थाने- होर भन्या ? म लेख्दै जान्छु ,लेख्दै गर्दा आफ्नै वनाइयो की क्या हो यो कथालाई पनि ;) अन्य पढिदिनुहुने , लाइक गरिदिनुहुने सवैलाई धन्यवाद... ध्वाँसे गाउँ फर्कियो- साहिँली मगर्नी म तराई झरेको धेरै भइसकेछ। करिव करिव विस वर्ष अव त! औँलाले गन्न मिल्दैन अव! पहिला पहिला मलाई गन्ती गर्न गाह्रो हुँदा म औँलाले जोड घटाउ गर्थेँ। तर धेरै भएपछि त औँलाले पनि भ्याउँदैन।साहिँलो मगर गएकै करिव करिव तिन वर्ष पुग्न आट्यो। त्यति खेर छोरो पाँच वर्षको थियो। उ टिविले थलिँदा मैले धेरै हार गुहार गरेँ। तर ढिलो भइसकेको भन्थे सिलिगुडी पुर्याउँदा डक्टरले ! हुन त जाँड को सुरमा सुतिरहने उसको ज्यान त धेरै अघी मरेको हो, मात्र डाक्टरले मरेको भनेर पछि भने। मैले दोकानमा कमाएको धेरै पैसा त्यहि मुढो जस्तो लडिरहने वुढोमा सिध्याएँ। खोइ के हो के हो जीवन सँगै वसेपछि त्यस्ता मुढोको पनि माया लागेर आउने!आजकल वाहिरको स्वामीको रुख हेर्छु।चराहरु त्यसका दाना खान्छन् अनि तल भुईँभरी पहेँला दाना छरपस्ट हुन्छन्। मलाई वढार्न धेरै वेर लाग्छ। त्यो हाम्रै विहेको साल साहिँलो मगरले रोपेको! अहिले त झांगिएर वडेमानको भको छ। पछि मैले त्यसैको तल फलेक ओछ्याइदिएँ। गाउँका मान्छेलाई चिया खाएर गफिने राम्रो ठाउँ भको छ। चराहरुले माथीवाट छेर्दिँदा भने मान्छे माथी हेर्दै रिसाउँछन् । विचरा ती चरालाई के थाहा गाउँका मान्छेको गफ गर्ने वाहेक अरु काम छैन भनेर !   ध्वाँसेले गाउँ छोडेपछि आर्मी ध्वाँसेलाई खोज्दै मेरो दोकान पनि आयो। साहिँलो मगरलाई जाँड खाएर सुतिरहेको देखेर लात्तले उसको कोखमा पनि वजारे। मलाई पनि भन्नु नभन्नु भने। आइमाइको चरित्रमा किन सँधै प्रश्न उठ्छ गाली गर्ने वेलामा ? ध्वाँसे र मेरो सम्वन्ध त नितान्त हाम्रो व्यक्तिगत सम्वन्ध हो तर पनि उनीहरुले गाली गर्न भ्याएँ! म वजारमा आफ्नो शरिर वेच्न वसेकी वेश्या सम्म भने अनी ध्वाँसेले खेल्ने गरेको क्यारेम पनि लात्तले दिएर भत्काइदिए। त्यसपछि मैले क्यारेम राख्न छोड्दिएँ। उनीहरु सँग वन्दुक थियो, शक्ती थियो। म सँग त सतित्व पनि थिएन, ध्वाँसेले ध्वाँसो दलदिएको मेरो कालो चरित्र, अझै पनि म यो सम्वन्ध सहि गलत छुट्याउन सक्दिन! समाजले वनाएका नियमहरु शरिरको आवश्यकता भन्दा वढी त पक्कै हुँदैनन् होला! हामीलाई भोक लाग्दा भात नखा भनेर त समाजले भन्दैन , आखिर त्यो पनि त शरिरकै आवश्यकता हो नि !!! आर्मी आएपछि देखी भने स्कुलका केटाहरु आउन कम गरेका छन् । आज पनि सेतो शर्ट निलो पेन्ट लाउने केटाहरुमा म ध्वाँसेलाई देख्छु। मोरो कति वलियो, कति तातो!   हुन त उसले छोडेको समयमा म पनि त पोटिली थिएँ होला। आजकल अनुहार ऐनामा नियाल्छु। चित्तै वुझ्दैन। अनुहार भरी रेखै रेखा। कुनै वच्चाले लेख्न नजानेको वेला कोरेको कापी जस्तो भएको छ मेरो अनुहार। कपाल पनि जर्खरिँदै छ, नुहाएको वेला एक मुठ्ठी कपाल झर्छ,आधा कालो अनि आधा सेतो!अनि अझ तल गएर हेर्छु, मेरो छाती,मेरो स्तन!!!! ध्वाँसेलाई सम्झिन्छु , मोरोको मननै त्यहिँ वस्थ्यो । मोरो खेलाएरै वसिरहन्थ्यो सँधै ! कहिलेकाहिँ त दिक्क लागेर सोध्थेँ "हैन तँ मेरो छोरो होस्? जतिखेर पनि मेरो दुध नै खेलाएर वसिरहन्छस् !"   उ खिस्स हाँसीदिन्थ्यो। तर विस्तारै झोलिँदै गएको छ। वुढेसकालले छोपेको सम्झिन्छु। चित्त वुझाउँछु। तर अहिले सम्म छुट्याउन सक्दिन त्यो मोरो ध्वाँसेको मलाई साहिँला मगरको भन्दा धेरै सम्झना किन आउँछ? ************** ******************* ******************** ***************** ******* आज ध्वाँसे गाउँ फर्केछ। सुनेकी थिएँ। साँझको वेला टुप्लुक्कै आइ पनि पुग्यो। हेरिराखेँ उसलाई वल्ल अलि गम्भिर जस्तो देखिएछ। हुन त तिस पुग्न पनि आँट्यो होला! "के छ भाउजु खवर ?" स्वामीको वोट मुन्तिरको फलेकमा वस्दै सोध्यो उसले   "चिया खान्छस् ?" मैले उसको के छ को उत्तर दिन जरुरी ठानिन।के उत्तर दिउँ उसलाई "मेरो खवर खावर तैँले आफू सँगै लगिस् भनी पो दिउँ की !" उसले खान्छु भन्दै टाउको हल्लाइदियो। म चिया पकाउन भित्र छिरेँ। दिउरेमा पानी राखेर ग्याँसमा वसाएँ । पहिला पहिला दाउरा झोस्नुपर्थ्यो। आजकल चिया पनि सजिलो भएको छ।   "एउटा मधुको प्याकेट देउ न!" उसले पैसा निकाल्दै भनेको थियो! "तेरो पैसा राख तैँ सँग !" म रिसाए जस्तो गरेँ। उसले पैसालाई गोजीमै घुसार्यो फेरि! "छोरो खोइ त ?"   "भित्र पढ्दै छ !" " विनोद एक छिन वाहिर आइज त !" उसले भेट्न मन गरेजस्तो लाग्यो मलाई। उसले हातमा वोकेको प्लाष्टिक छोरोको हातमा राखिदियो।छोरोले पहेँलो रंगको शर्ट निकाल्यो त्यहाँवाट , अनि हाफ पाइन्ट। निकालीसकेपछि पुलुक्क म तिर हेर्यो। "राख राख, नेता अंकल ले दिएको !" "के नेता भन्छौ हौ भाउजु ?" उसले गुनासो गर्यो। "तँ त ठूलै नेता अरे भन्ने हल्ला छ गाउँमा !" मैले गाउँमा सुनेको कुरा भनेँ। मैले भित्रको चिया सम्झेर कुद्दै भित्र छिरेँ। उसले मेरो उत्तर दिन पाएन। " ला !" स्टिलको ग्लासमा भरी चिया ! दुध अड्कल नगरी पकाएछु। आजकल केहिमा ध्यान रहन्न मेरो। यो भरी चियाले सँधै ओठ पोल्ने डर हुन्छ। "कति दिन वस्छस् ?" उसको योजना जान्न चाहेँ मैले! "त्यत्तिकै आएँ भाउजु यसपाला गाउँ घुम्ने रहरले !" मलाई थाहा छ, यो शान्तीको विहेको खटपटीले आएको हो गाउँमा ! मोरो एक चोटी त एक जनाको घाँटी रेटिसकेको छ। अव फेरि शान्तीको हुनेवाला वुढोलाई केहि गर्ला भन्ने पिर !   "शान्तीको विहेको निम्तो पाइस् कि के हो ?" मैले उसको अनुहार नियाल्दै प्रश्न गरेँ। उसको अनुहार अमिलियो। चुक जस्तै कालो भयो। "छोड्दे अरु राम्रा केटी पाइ हाल्छस् नी !" "भाउजु , त्यसले एक चोटी पनि नाइँ भनिन , विहाको लागि ?" किन किन उसको प्रश्नले मलाई पोल्यो। शान्ती खुशी थिई, विहाको कुरा सुनेर भन्ने सुनेकी थिएँ मैले ! दुवै सँगै क्याम्पस पढेका रे! केटा इन्जिनियर रे! ध्वाँसेलाई सम्झिन नै होला पक्कै !!!   "किन मन अमिलो पार्छस् !"मैले यति मात्रै भन्न सकेँ। "साँची भाउजु ? त्यो मास्टरकी वुढी काँ छे अहिले ?" उसले किन त्यो प्रश्न सोध्यो मैले वुझिन ! मैले सम्झिएँ मास्टर मरेको भोलिपल्ट नै ध्वाँसे गाउँवाट हराएको थियो। उसकी वुढी रोएको मलाई झलझली याद छ। गाउँमा हल्ला थियो, त्यो टोलीको टोलीनेता ध्वाँसे नै थियो भनेर ! "किन ?" मैले अनायसै प्रश्न राखेँ।   "त्यत्तिकै !" उसले मलाई पछुतो लाग्छ भन्ने हिम्मत पनि गर्न सकेन । "खोइ शहर गई भन्थे सवै !" मैले आँगनकै माटो खेलाउँदै जवाफ फर्काएँ।त्यो भएको एक हफ्तामा नै उसको एक जना दाजु पर्नेले उसलाई शहर लिएर गएका थिए। विहेको चार महिनामा नै झाडा पखालाले उसको परिवार सोत्तर पारेको भन्ने हल्ला थियो। माइति मरेको सम्म त चित्त वुझाकी थिई। वुढो पनि त्यसै अकाल मर्यो। वच्चा जन्मिने वेला थियो। मान्छेलाई दुख आएपछि लाम लागेर आउँछ।   "अनि दाजु विरामी हुँदाको रिन सवै तिरिसक्यौ त ?"ध्वाँसेले कुरा फेर्यो। मास्टरनीले उसलाई पोले जस्तो गरेर! उसले रिन तिर्नलाई सहयोग भनेर काठमाण्डौ वाट नै थोरै पैसा पठाइदिएको थियो।त्यसैले मैले रिन तिरेकी थिएँ।अन्तिम चोटी छापा मार्दा ध्वाँसेको चिठ्ठी पनि भेट्टाए पुलिसले । मलाई तिन दिन थुनेर राखे । तर मेरो भाग्य त्यति नै वेला आन्दोलन टुंगियो। ध्वाँसे हरुले जिते , राजाले सत्ता छोडे। मलाई पनि छोडिदिए पुलिसले! तर त्यसले पछि सम्म गाउँमा कुरा काट्ने वाटो वन्यो, ध्वाँसे र मेरो सम्वन्धको वारेमा।वुढो मरिसकेपछि अर्को तिर लागि भनेर। त्यो वुढो त धेरै अघि मरिसकेको थियो मेरो! कसैले वुझेन त्यो कुरालाई भने। समाज मात्र दोष देखाउन जान्दछ।   "अव तेरो तिर्न वाँकी छ !" मैले आँगनमा आफ्ना औँलाले कोर्दै जवाफ फर्काएँ। "छोड्देउ आ! कस्को लागि जम्मा गर्नु र धन पनि !"   "आमा हेर त कस्तो देखियो ?" छोरो ध्वाँसेले ल्याइदिएको हाफ पेन्ट र शर्ट लाएर वाहिर निस्कियो। "राम्रो !" मैले उसलाई हेर्दै जवाफ फर्काएँ । मोरो हाँस्दा ठ्याक्कै ध्वाँसे जस्तै देखिन्छ।

fucheketo · May 15, 2014 10:07 AM

कथा लेखन सैली स्तरिय छ, यो भागमा पहिलो कमेन्ट हाल्ने भाग्यसाली भएकोमा पनि खुसि नै छु/ ध्वासेको आगमन ले साहिली मगर्नी को दिल खुसि भएको छ / "छोड्देउ आ! कस्को लागि जम्मा गर्नु र धन पनि !" , ध्वासेले भन्दा साहिलीले "मै हुँ ना" भन्नु पर्ने हो, कम्तिमा पनि मनमनै / अब यी दुइको सम्बन्धले केहि नाऊ पाउछ त ?

bachata · May 15, 2014 12:33 PM

फुच्चे यो भाग नि पढियो... ध्वाँसेको त छोरो पो भएछ लौ.... तिम्रो सिर्जना शक्तिको त कायल हो बा, म .... - थाने

ThahaChaena · May 16, 2014 7:45 AM

प्रिय फुच्चे केटो ,  धेरै पछी बल्ल साझामा आएको हुनाले तिम्रो अरु कथाहरु पढ्न पाएको छैन | बिस्तारै समय निकालेर पढ्ने छु | तिम्रो ध्वाँसे कथाले एउटा थप पाठक र प्रसंशक पाएको कुरा भन्न चाहन्छु | तिम्रो कलम निकै नै तिखारिएको छ र धेरै तिम्रो लेखाईले कायल छन् | तिम्रा सबल  पक्षहरु धेरै छन्,  तिमीलाई पनि थाहा छ होला | मैले यहाँ एउटा कमजोरी औंल्याउन खोज्दै छु | पात्रले पात्र कै बोली बोल्नुपर्छ, लेखकको हैन | जस्तै यहाँ  साँहिली मगर्निले भनेको "उनीहरु सँग वन्दुक थियो, शक्ती थियो। म सँग त सतित्व पनि थिएन, ध्वाँसेले ध्वाँसो दलदिएको मेरो कालो चरित्र, अझै पनि म यो सम्वन्ध सहि गलत छुट्याउन सक्दिन! यो वाक्य पात्रको स्तर भन्दा धेरै माथीको छ | यो वाक्य पात्रको वाक्य होइन, लेखकको हो | "भैंसी थाकेको ३ महिना भयो, म थाकेको ३ बर्ष भयो, दुध कहाँबाट ल्याउँ" भनेर गाउँको शिक्षकलाई भन्ने उसको स्तर हो भनेर पहिले नै चित्रित भै सकेको छ | -फियुल ट्यांक 

Fuel Tank · May 16, 2014 9:44 AM

Dear thaney,bachata and fuel tank thanks a lot for the comment,and thanks to all who read and liked dhwase till now, Fuel tank _ I noticed my error after your remarks,I started dhwase as a story but when I started writing I felt its actually a plot of a novel,so in fact it will be first novel tried by me in sajha.generally novels need editing and rewriting,and your comment I ll take as a feedback for editing,thanks for the comment.I ll expect more in the future. I have next chap ready but can not paste in sajha,can someone help me with these browser issues?

fucheketo · May 16, 2014 10:08 AM

lekdai janu lekdai janu kunai din yo katha lai upanyas(novel)banayera chapnu ma awasye $ tirera kinnechu. beautiful story fucheketo. khusi lagca yo katha padda. thank you for such a wonderful story. regarding browser issue, try different browser, chrome would be ok. still if the problem persist, let us know.   Last edited: 16-May-14 10:58 PM Last edited: 16-May-14 11:01 PM

sojoketo · May 16, 2014 10:58 PM

प्रिय फुच्चे केटो , म बर्षौ देखी तिम्रो कथाहरु पढ्दै आए पनि भर्खरै कमेन्ट लेख्ने अवस्थामा आइपुगे । सबै कथा राम्रा छन तर यो साझामा के समस्या हो केहि अघी पढेको कथाको भाग नै भेटिन्न त । यही ध्वासेकै कथामा दोस्रो पोस्ट डिलेट गरेको हो कि मैले नभेटेको हो । १ महिना अघी पढेको कथाको लाईननै छैन त । के गरेर पढ्ने हो त्यो फेरी ? कुनै उपाए छ र ?

propinquity · May 30, 2014 1:51 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all