बोलीको लवज सुन्दा यिनीहरूमध्ये कोही रसियन, कोही युरोपेली र चिनियाँ जस्तो लाग्छन् तर यकीन भने थाहा भएन भन्छन् । उनले यी युवतीप्रति गरेको आशङ्कासँगै थप जानकारी खोज्दै जाँदा यो आशङ्का आशङ्कामा मात्र सीमित नभएर सत्यमा परिणत हुन्छ । यिनीहरु त साच्चै विदेशी युवती रहेछन् । यिनीहरु सोझै त्रिभुवन विमानस्थल हुँदै काठमाडौँ आएका हुन् तर कौतुहलता लाग्न सक्छ के यिनीहरु घुम्न आएका हुन् त ? उत्तर छोटो छ, होइनन् । व्यापार गर्ने निहुँमा नेपाल भित्रिएका यिनीहरु विदेशी लत्ताकपडा तथा अन्य खाद्यवस्तुको व्यापार गर्न भने आएका होनन् । यिनीहरुको व्यापार हो, देहव्यापार । ठमेलका चार/पाँचवटा होटलहरुमा कोठा नै भाडामा लिएर महिनौ दिनदेखि बस्दै आएका यिनीहरुको प्रमुख पेशा नै देहव्यापार हो । महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमा कार्यरत प्रहरी नायब निरीक्षक शरणविक्रम शाहलाई पनि यो कुराको जानकारी रहेछ । ठमेलका कतिपय पर्यटकीय होटलहरु चिनियाँ र रुसीलगायतका विदेशी नागरिकहरूले भाडामा लिएर चलाउन थालेका छन्। यसपछि विदेशी युवतीहरूको देहव्यापारका लागि ठमेल क्षेत्र सजिलो भएको हो । प्रहरी नायब निरीक्षक शाह भन्छन, 'ठमेलक्षेत्र डान्स, मसाज र क्याबिन रेष्टुराँजस्ता रात्रि व्यवसायका कारणले नभई विदेशी युवतीहरूको देह व्यापारमा बढ्दो संलग्नताका कारण बदनामी हुँदैछ ।' देहव्यापारका लागि महँगो मूल्य असुले पनि खुल्ला रूपमा प्रस्तुत हुने युवतीहरूको सङ्ख्या ठमेल क्षेत्रमा मात्र तीन-चार दर्जन जति भएको हुनसक्ने अनुमान गरिएको छ । यिनीहरुका ग्राहक विदेशी पर्यटकहरुभन्दा नेपाली नै बढी भएको कुरा सुन्दा अनौठो लाग्न सक्छ । यी युवतीहरु बसोबास गर्ने होटलमा कार्यरत रायमाझी थरका एक युवकका अनुसार, यिनीहरुका अधिकांश ग्राहकहरु भनेका व्यापारीदेखि गाडी ड्राइभर र पर्यटक पथ प्रदर्शक रहेका छन् । हल्का नेपाली बोल्न जान्ने यिनीहरु देहव्यापार गर्न आउने आफ्ना नेपाली ग्राहकलाई 'नेपाली रफ' शब्द प्रयोग गर्न पनि पछि पर्दैनन् । ती युवक भन्छन्, 'गोरो छाला सिलिम र राम्री भएकाले हो कि केटी भनेपछि नेपाली र विदेशीहरू उत्तिकै झुम्मिन्छन् ।' आफू काम गर्ने होटलमा मात्र कति जना युवतीहरु छन् भन्ने कुरामा ती युवक नै अनभिज्ञ छन् । कहिले तीन जना हुन्छन् त कहिले पाँच जना लेखाजोखा नै हुँदैन । कति जना आउँछन् भनेर उनी भन्छन्, सबै जनाको अनुहार देख्दा उस्तैउस्तै लाग्छ । दिउँसो भने प्रायः होटल बाहिर कम निस्कने यिनीहरु कहाँ घुम्न जान्छन् भन्ने कुरामा पनि ती युवक परिचित छैनन् । होटल मालिकले यिनीहरुलाई गेस्टको रूपमा चिनाउने गरेका छन् । होटलको कोठा नै भाडा लिएर देहव्यापारलाई पेशाकै रुपमा अपनाउँदै आएका यी युवतीहरु परिचित नेपाली ग्राहकवाहेक अन्यसँग बोल्दै-बोल्दैनन् तर विदेशीहरुसँग भने खुलेरै कुरा गर्छन किनकि उनीहरुको पेशाको विरुद्ध विदेशीले सरकारलाई उजुरी नगरिदिने भएकाले पनि हुनसक्छ । त्यस्तैं, उनीहरु आफूले चिनेको व्यक्तिमार्फत आएकाहरुसँग मात्र देहव्यापार गर्ने गर्छन् । परिचित व्यक्ति छ भने खुलेरै कुरा गर्ने यी विदेशी युवतीहरुले कतिपयलाई दलालमार्फत फोन गरेरै बोलाउने गरेको रहस्यसमेत फेला परेको छ । प्रहरी नायब निरीक्षक शाहका अनुसार विदेशी ग्राहकको खोजीमा कहिलेकाहीँ यिनीहरु राजधानीका पाँच तारे होटलसम्म पुग्छन् । होटलको स्ट्याण्डरअनुसार शुल्क लिन्छन् । अपरिचित नेपालीसँग देहव्यापार गर्न पनि अलि सजग रहने यिनीहरु विदेशीसँग भने सडकमै मोलमोलाई गर्छन् प्रनानि शाहले भने । अवैध रूपमा विदेशी युवती लुकेर बसेको आशङ्कामा एकपटक प्रहरीले एउटा होटलमा छापा मार्दा केही युवतीलाई आवश्यक सोधपुछपछि छोडिदिएको थियो । रेष्टुराँ तथा होटल स्टाफका रूपमा आएका ती युवतीहरुको कोठामा समेत प्रहरीले छापा मारेकेा थियो तर कोठामा त्यस्तो कुनै शङ्का लाग्दो प्रमाण फेला नपरेपछि छोडेको हो । कतिपय युवा भने हिजोआज ठमेललाई 'विदेशी माल' पाइने स्थानका रूपमा चिनाइरहेका छन् । ठमेलका रात्रि व्यवसायी दीपक गुरुङ टु पिसको डान्सलाई नाङ्गो नाच भन्ने सरकारले विदेशी युवतीको खुल्ला देहव्यापारलाई प्रोत्साहन दिएको आरोप लगाउछन् । विदेशी नागरिकले चलाएका अधिकांश होटलमा विदेशी युवतीहरू नै छन् । के उनीहरु घुम्न र वेटर काम गर्न नेपाल आएका हुन त ? विदेशी युवतीलाई देहव्यापार गर्न छुट दिने तर हामीहरुलाई रेष्टुराँसमेत चलाएर खान नदिने वर्तमान सरकारका कारणले नै ठमेल 'भूमिगत रेड लाइट' क्षेत्र बन्दै छ । जो कोहीले पनि 'विदेशीको माल' भनेपछि ठमेलका होटलमा देहव्यापार गराउने विदेशी युवतीलाई सम्झन्छन्- रेष्टुराँ व्यवसायी गुरुङले भने । एक रातका लागि मात्र उनीहरुले प्रतिव्यक्ति पाँच हजारदेखि ५० हजार रुपियाँसम्म लिने गरेको भुक्तभोगी नेपालीहरु बताउँछन् । व्यापारी कारोबारको भिसा बनाएर काठमाडौं छिरेका यी युवतीहरु देहव्यापार गर्नका लागि हेड वेटर भनेर भिसाको म्याद पाउने गर्छन् भने कतिपयले होटल सञ्चालक सहयोगी भनेर भिसा थप्छन् । लत्ताकपडाको व्यापारसँगै देहव्यापार गर्न पनि विदेशी युवती भित्रिन थालेपछि ठमेलका पर्यटन व्यवसायी चिन्तित देखिन थालेका छन् । ठमेल पर्यटक विकास परिषद्का महासचिव रामशरण थपलिया यो विकृतिको नियन्त्रणका लागि परिषद् सरकारसँग सहकार्य गर्ने तयारीमा रहेको बताउछन् ।
cybernepali · Mar 16, 2014 12:01 PM · 3,155 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion