त्यस बेलाको पाकिस्तानमा नेपाली बस्ती--त्रिलोकसिंह थापा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

त्यस बेलाको पाकिस्तानमा नेपाली बस्ती त्रिलोकसिंह थापा ब्रिटिसहरू जहिले पनि गोर्खालीहरूलाई 'भाडाका सिपाही'को नीति अनुरूप नै व्यवहार गर्छन्। सिंगापुरमा गोर्खा सैनिकको संख्या घटाउनेबारेको बैठकमा ब्रिटिस कर्णेल कलिन स्कटले त मुखै खोले, 'गोर्खालीहरू भाडाका सिपाही नै हुन्।' उनको कुरामा केही बोलेको भए ममाथि कोर्टमार्सल हुन्थ्यो। त्यसैले चोट सहेर पनि म चुपचाप बसेँ।  ब्रिटिस सेनामा भर्ती भएर जब म पहिलोपटक सन् १९४२ मा बलुचिस्तानको क्वेटानजिकैको एउटा गाउँमा पुगेँ, त्यहाँ दुई किसिमका मुसलमान भेटेँ। एक किसिमका सिया र अर्का सुन्नी। त्यहाँका सुन्नी मुसलमान त तक्षशीलाबाट विस्थापित भएर भागेका हाम्रै नेपाली दाजुभाइ पो रहेछन्। लडाइँमा सहभागी भएका ती योद्धाहरू अमरसिंह थापा युद्धमा हारेपछि बिछोडिएर त्यहाँ पुगेका रहेछन्। उनीहरू काराकोरम शृंखला हुँदै क्वेटा छिरेका रहेछन्।  अमरसिंह थापा बहादुरीपूर्वक लड्दालड्दै तक्षशीलासम्म पुगेको इतिहास छ। तक्षशीलाको युद्धमा पराजित भएपछि नै उनी त्यहाँबाट फर्किएका हुन्। राजासँग माफी माग्न काठमाडौँ जाने क्रममा अमरसिंहले आत्महत्या गरेको कुरा साँचो होइन। वास्तवमा उनी नेपाल फर्किएपछि सीधै रसुवाको गोसाईंकुण्डतर्फ लागे र त्यहीँ आउँले थलिएर उनको मृत्यु भयो। ब्रिटिसहरू गोर्खालीलाई गर्नसम्म प्रयोग गर्छन्। कुनै पनि युद्ध होस्, अघिल्लो मोर्चामा गोर्खालीलाई नै तैनाथ गर्छन्। तर, जब गोर्खालीलाई सानो सहयोग गर्ने कुरा आउँछ, उनीहरू पछि हटिहाल्छन्। तक्षशीलाको युद्धमा पनि ब्रिटिसहरूले त्यही गरेछन्। सहयोग माग्न पुगेका अमरसिंहलाई पटियालाका राजा रञ्जित सिंहले ब्रिटिसहरूलाई खबर गरी धोका दिएपछि गोर्खा फौज त्यहाँ पराजित भएको थियो। त्यहाँ कति संख्यामा नेपाली मारएि र भागे भन्ने यकिन संख्या अहिलेसम्म सार्वजनिक हुन सकेको छैन।  क्वेटानजिकैको त्यो मुसलमानबहुल सुन्नी गाउँ नेपालीले नै बसाएका रहेछन्। हामी त्यहाँ पुग्दा उनीहरूले भव्य स्वागत गरे। अपनत्वको महसुस भएर होला, उनीहरूले त हामीलाई चाचा (काका) भनेरै सम्बोधन गरे। नेपालीपन र भावनाका साथ उनीहरूले हामीलाई त्यहाँ सम्मान गरेका थिए। विदेशी भूमि, त्यसमा पनि क्वेटा सहरनजिकैको त्यो गाउँमा उनीहरूले दर्साएको अपनत्व म भुल्नै सक्दिनँ।  त्यति मात्र होइन, दोस्रो विश्वयुद्धपछि सन् १९४६ मा जब हामी बर्माबाट बाहिरँिदै थियौँ, समरसट्टा रेल्वे स्टेसनमा पनि गोर्खाली फौजको एउटा सानो टुकडी फेला पारेका थियौँ। जकोवाबादका सुल्तानको राज्य रहेछ त्यो। उनले आफ्नो सुरक्षाका लागि आठ सयजतिको गोर्खाली फौजको त्यो टुकडीलाई उपयोग गरेका रहेछन्। उनीहरूको परिवार त्यहाँबाट २५ किलोमिटरको दूरीमा एउटा सानो बस्ती नै बनाएर बसेको रहेछ।  उनीहरूको भेषभूषा पनि मुसलमानको जस्तै थियो तर अनुहार र बोलीचाली नेपाली। हामीहरू त्यहाँ पुगेको देखेपछि उनीहरूले सलाम गरे र आफूहरू नेपाली भएको जानकारी गराए। उनीहरू 'हामी पनि नेपाली हौँ ∕ यहाँ त हामी घेरामा पर्‍यौँ। हामीलाई पनि सँगै लिएर जानुपर्‍यो' भन्न थालेका थिए। सायद त्यो आहट भारत-पाकिस्तान अलग हुने क्रममा मच्चिएको हिन्दु-मुस्लिमबीचको दंगाको थियो। अनाहकमा उनीहरू त्यस युद्धको घानमा पिल्सिएका थिए। समरसट्टा रेल्वे स्टेसनदेखि २५ किलोमिटरको दूरीमा रहेका उनीहरूका परविारलाई तत्काल उद्धार गर्न सक्ने अवस्था हाम्रो थिएन। किनभने, त्यो स्टेसनमा हामी केही समयका लागि मात्र रोकिएका थियौँ। करबि २० मिनेटको विश्रामपछि रेल चलिहाल्यो। हामी पनि गन्तव्यतर्फ लाग्यौँ। उनीहरूलाई त्यहाँबाट उद्धार गर्न सकेनौँ। अन्यत्र पनि मैले नेपालीमूलका बासिन्दा यसरी नै जीवन गुजाररिहेको भेटेको छु। युद्धमा खटिरहेकै अवस्थामा त्यस्ता नेपाली भेट्दा अपनत्व त महसुस हुन्छ नै, उनीहरूबारे सम्बन्धित निकायले चासो र सरोकार राखिदिए कति बेस हुन्थ्यो !  यी दुई उदाहरणले विश्वभर िनै नेपाली फैलिएको तर उनीहरूको अवस्था र स्थितिका बारेमा परापूर्वकालदेखि नै हामी अनभिज्ञ र बेसरोकार रहेको तथ्य उजागर गर्छ। किनभने, त्यस्ता नेपाली बस्ती अन्य ठाउँमा पनि देखेकाले तत्कालीन नेपाल सरकारलाई यसबारेमा घचघच्याएको थिएँ। तर, कुनै सरोकार वा चासो व्यक्त भएन। राजीखुसी भनौँ या करकाप, जसरी बसेका भए पनि उनीहरूप्रति चासो देखाउनु राज्यको कर्तव्य हो। मैले पेन्सन आएपछि तत्कालीन प्रधानमन्त्री तुलसी गिरीदेखि मन्त्री द्रोणशमशेर राणासम्मलाई भेटेरै यस्ता गाउँ र नेपाली बस्तीका बारेमा विस्तृतमा कुराकानी गरेको थिएँ। तर, कसैले चासो दिएनन्। उनीहरूप्रति राज्यको दायित्व पनि सम्झिएनन्।

_____ · Mar 9, 2014 10:24 AM · 10,368 views

5 Replies

This is quite intriguing. Always been fascinated about people of Nepali origin, especially Western India and Myanmar. Thanks for sharing.

riddle · Mar 9, 2014 10:52 AM

Great read. Thanks for sharing.

rajuhcl · Mar 9, 2014 11:23 AM

लर्ड हेस्तिन्गले सम्बत १८१७ मा उनको डायरीमा लेखेका छन् - "नेपालमा शान्ति ल्याउन नेपालको गोर्खाली सेनालाइ व्यस्त राख्नु पर्छ र त्यो पनि तिनको देशभन्दा धेरै टाढा |" "पछिल्लो समयमा बेलायतिहरु गोरखा सित खुशी रहेनन् | गोरखाले रगतको स्वाद चाखी सकेको थियो र जीतको उन्माद तिब्र थियो | उनीहरु हत्या हिँसाबाट मुक्त भएर बस्न सक्तैन थिए | त्यसैले उनीहरु वरपरका पहाडी इलाकामा लडाई छेडदै हिड्न थाले | त्यस्तै आफुले जितेका क्षेत्रलाइ "निषेधित इलाका" मा परिणत गर्दै गए | उनीहरुको पहाडी आधार क्षेत्रतिर चुपचाप बसुन्जेल बेलायतले वास्ता पनि गरेन | तर सम्बत १७८९ मा उनीहरु युद्दउन्मादी भएर चीन तथा बेलायतले अधिकार क्षेत्र ठानेको ठाउहरुमा समेत हमला गर्न थाले |   बेलायतका जनरल अक्टरलोनीले लेखेका छन् - "हामीले गोर्खाली सेनालाइ कतै न कतै अल्झाउनु पर्छ ताकी उनीहरुको दिमाग राज्य बिस्तारबाट अन्त मोडियोस |"   लर्ड हेस्तिन्गले सम्बत १८१७ मा उनको डायरीमा लेखेका छन् - "नेपालमा शान्ति ल्याउन नेपालको गोर्खाली सेनालाइ व्यस्त राख्नु पर्छ र त्यो पनि तिनको देशभन्दा धेरै टाढा |"   यो नीति अनुरुप गोरखा भर्ति केन्द्र खोलेर गोर्खालीलाई बेलायति सेनामा हुल्न थालियो | गोर्खाली सेनालाई दिने गरेको तलबको १/३ (एक तिहाई) रकम नेपालको शासक (सरकार)लाइ दिने गरियो, जुन नेपालको महत्वपुर्ण आम्दानी श्रोत बन्न गयो |"  https://www.facebook.com/note....

ktmdu · Mar 9, 2014 2:34 PM

this old man may be telling what he has heard but that doesnt match historically.Amarsingh thapa reached upto kangra and not takshashila(that lies in presentday pakistan).and i am pretty much sure that he met the shia hazara community who are of tibeto-burmese origin as nepali . but of course we have been exploited for hundreds of years by the british.

shiva_linga · Mar 9, 2014 4:19 PM

This does not mean his version is true but it seems he is related to "Amar Singh Thapa" दोस्रो विश्वयुद्धका दिन त्रिलोकसिंह थापा अमरसिंह थापाका दाजुतर्फका सन्तान हौँ हामी। असाध्यै राम्री हाम्री सेती जिजुहजुरआमालाई गल्कोटे राजकुमारले भगाएपछि तिनलाई हाम्रा जिजुहजुरबुबाले छप्पै काटेका थिए रे ! त्यसपछि श्रीमती सेतीको नाक काटी युवराजकै श्रीमती भगाएका थिए। तिनै युवराज्ञीका सन्तान हौँ हामी।  हाम्रो चारै पुस्ता ब्रिटिस सेनामा भर्ती भयो। हजुरबुबा दिलबहादुरले गोर्खा रेजिमेन्ट स्थापना नहुँदै दक्षिण अफ्रिकाको बोर युद्ध लड्नुभयो, बुबा ललितबहादुर पहिलो विश्वयुद्धका क्रममा मेसोपोटामियामा लडेर सेते जमदारका रूपमा प्रख्यात हुनुभयो। प्रथम विश्वयुद्धमा लडेबापत उहाँले चारवटा मेडल पाउनुभएको थियो। म दोस्रो विश्वयुद्धमा सरकि भएँ र पाँचवटा मेडल प्राप्त गरेँ। मेरो छोराले खाडी युद्धमा मिसाइल टू मिसाइल युद्ध लड्यो।  त्यसो त दोस्रो विश्वयुद्ध सन् १९३९ मै औपचारकि रूपमा सुरु भइसकेको थियो। तर, पूर्वी ब्रह्मपुत्रमा त्यसको घोषणा २३ जनवरी १९४१ मा भयो। २६ जनवरी १९४१ मा म ब्रिटिस सेनामा भर्ती भएँ र बलुचिस्तानको क्वेटामा नौ महिना तालिम लिएँ। थप एक महिना भरुभूमिमा र केही समय मोहनबगानको जंगलमा पनि तालिम गराइयो। त्यसपछि फिल्ड फायरङि्का लागि कमिला अर्थात् इस्ट बंगाल हुँदै हामीलाई बर्माका लागि 'मुभ' गराइयो। र, दोस्रो विश्वयुद्धको समाप्ति (१९४५ साल)सम्मै त्यहाँ तैनाथ थिएँ। ९ सय ३२ जनाको एक बटालियन हुन्थ्यो। त्यस्ता ३० बटालियन त गोर्खा सैनिक मात्र थिए त्यहाँ।  घोषित युद्ध साम्प्रदायिक लडाइँजस्तो होइन। घोषित युद्ध त त्यस्तो हो, जसले धेरै गोली-बारुद चलाउन सक्यो, उसैले जित्ने। हामीले जापानी सेनालाई खुबै पेल्यौँ। कतिचोटि बर्माको आराकान क्षेत्रमा हामी आफैँ पनि घेरामा पर्‍यौँ। तर, हामीभन्दा माथि रहेको नवौँ डिभिजनले आएर हामीलाई घेरामुक्त गरायो। त्यसपछि त हामीले जापानी सेनालाई पेलेको पेल्यै गर्‍यौँ, पछि हट्नै परेन। मणिपुरको इम्फाल सीमामा जापानी र इन्डियन नेसनल आर्मी, जो ब्रिटिसविरोधी थिए, का बीचमै क्लेश उत्पन्न भयो, त्यसपछि त ब्रिटिस सेनाले विजय प्राप्त गरेरै छाड्यो।  ब्रिटिस सेनामा भर्ती भई जिम्मेवारी बाँडफाँटका क्रममा म सप्लायर्स टुकडीमा परेको थिएँ। तसर्थ, गन बोकेर युद्धमा सरकि नभएकाले विपक्षी सेनालाई मार्दा वा आफ्नै आँखाअगाडि ढल्दाको खुसी अथवा आफ्नो तर्फका साथीभाइ मर्दाको दुःखको अनुभूति प्रत्यक्ष रूपमा गर्न पाइनँ। तर, युद्धका क्रममा ब्रिटिस सेनामा भर्ती भएका हाम्रा गोर्खाली साथीभाइले खानपिन, आराम, निन्द्रा केही नभनी युद्धमा आफूलाई जसरी होमे, त्यो ज्यादै बफादार र प्रशंसनीय कार्य थियो। सानो उमेरमै बाबुआमा बितेकाले टुहुरो जीवन मामाघरमा बिताएको थिएँ। त्यसैले जीवनप्रति त्यति धेरै माया लाग्दैनथ्यो। तर, १६-१७ वर्षको उमेरमा सुरुसुरुमा त्यस किसिमको युद्ध र फायरङि् देख्दा कतिपटक एक्लै क्वाँ क्वाँ गर्दै रोएँ। त्यसैबीच मलेरियाले समात्यो, पाँच किसिमका मलेरिया भयो। तर, सबै पचाएँ। त्यसपछि जीवनको चिन्ता केही रहेन।  जंगलको बासमा हामीले आगोमा पकाएर कहिल्यै खाएनौँ। न त त्यस्तो ताजा खानेकुरा आफ्ना साथीभाइलाई वितरण गर्न सक्यौँ। किनभने, जंगलमा आगो बाल्दा विपक्षीको निसाना बनिने पक्का हुन्थ्यो। तसर्थ, तयारी खानाकै भर अझ भनौँ डग बिस्कुट, फलफूलका साथै जंगली कन्दमूल खाएरै हाम्रा साथीहरूले करबि चार वर्ष त्यो युद्ध लडे। प्याकेटका खानेकुरा ल्याउन पनि ज्यादै सास्ती खेप्नुपथ्र्यो। कतिपय ठाउँमा गाडीमा ल्याउँथ्यौँ। वर्षायाममा हिलो-चिप्लो ठाउँमा गाडी फसेर सास्ती हुन्थ्यो। टायरमा बाहिरबाट चेन लगाएर पनि सामान ढुवानी गथ्र्यौं। कहिलेकाहीँ गधा-खच्चडको सहायताले पनि खाद्यान्न ओसारपसार गथ्र्यौं। तर, धेरैजसो भरियाकै भर पथ्र्यौं। भरियाको काम गर्नेमा भारतीय र बर्मेलीका साथै नेपालीको संख्या पनि अत्यधिक थियो।  युद्धका क्रममा पानी पिउनका लागि पनि तर्सिनुपर्ने अवस्था थियो। बर्मामा जापानी सेनासँगको त्यस युद्धमा सहभागी भइरहँदा उनीहरूले पिउने पानी र हामीले पिउने पानीको मुहान एउटै थियो। जब पिउने पानी संकलन गर्ने कुरा आउँथ्यो, तोपखानालाई खबर गथ्र्यौं, त्यसपछि त्यहाँबाट निरन्तर गोलीको वर्षा हुन्थ्यो। त्यहीबीचमा हामी पानी संकलन गरेर क्याम्पमा फिर्ता हुन्थ्यौँ। उनीहरू पनि पानी संकलन गर्नुपर्‍यो भने सोही विधि अपनाउँथे। युद्धमै सहभागी भइरहे पनि सायद त्यति बेला दुवैतर्फका सेना 'कम्प्रमाइज' गर्थे कि ! जापानी र गोर्खा फौजका मानिसहरूको अनुहार मिल्दोजुल्दो हुनाले पनि कतिपय बेला आफ्ना साथी भन्ठानेर दुस्मनतर्फकै टुकडी भए पनि उम्किने मौका मिल्थ्यो।  त्यस युद्धमा कति गोर्खा सैनिकको मृत्यु भयो भन्ने यकिन संख्या अहिलेसम्म पनि बाहिर आएको छैन। न त भर्ती भएको संख्या नै यकिन छ। युद्धमा सहभागी भइरहेका सैनिकका छाती र बायाँ हातमा आइडेन्टिटी डिस (ट्याग), जसमा नाम, नम्बर र रेजिमेन्ट उल्लेख हुन्थ्यो, झुन्ड्याइन्थ्यो। जब कुनै सैनिकको मृत्यु हुन्थ्यो र विरोधीहरूले ती लास ठेगान नलगाउँदै हामीले देख्यौँ भने मृत्यु भएका ती सैनिकका ट्याग काटेर हेडक्वार्टरमा बुझाइन्थ्यो। युद्धका क्रममा त्यसैका आधारमा मृत्यु भएका सैनिकको संख्या यकिन गरिन्थ्यो। तर, लास उठाउने र चिहान बनाएर गाड्ने फुर्सद नै कहाँ मिल्थ्यो र ?  विश्वयुद्धमा सरकि हुनुपूर्व क्वेटाको बलुचिस्तानमा तालिम लिइरहेको बेलाको कुरा हो। शाही थरका मेरा एक अभिन्न मित्र थिए। युद्धमा सहभागी हुन गइरहेकाले मृत्यु र जीवनका बारेमा यकिन थिएन। यसो मन बहलाउन बाहिर घुम्न निस्किएका थियौँ। यसैबीच फिल्म हेर्‍यौँ। त्यसपछि हामी दुवैले केही चिनो साटासाट गर्ने कुरा गर्‍यौँ। तर, त्यस्तो स्थायी के कुरा थियो र जुन साटासाट गर्न मिल्छ? घुम्दै बजार निस्किँदा झन्डै हामी क्याम्पबाट चार किलोमिटरको दूरीमा पुगिसकेका थियौँ। एक पन्जाबीले ट्याटु खोपिरहेको देख्यौँ। यसो गम्यौँ, ट्याटु त कहिल्यै मेटिँदैन। त्यसपछि त्यही ट्याटु खोप्ने निधो गर्‍यौँ। दुवैले बायाँ हातमा ट्याटु खोप्यौँ। मेरो पैसा उनले तिरे, उनको मैले तिरेँ। पन्जाबीमा ॐ लेखिएको यो ट्याटुमा जब मेरो नजर पुग्छ, म त्यस युद्धको सम्झना गर्छु। त्यस साथीलाई त्यस युद्धमा गुमाउनुपर्दाको पीडा सम्झन्छु। एउटै पल्टनबाट खटिएका हामीमध्ये त्यो साथीले दोस्रो विश्वयुद्धकै क्रममा बर्मामा ज्यान गुमायो, म भने बाँचेर फर्किएँ।

_____ · Mar 9, 2014 5:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all