प्रमाणित भएन भने ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रमाणित भएन भने ? छ कोही महावीर जसले दिलशोभाको एकोहोरो होइन, दोहोरो यौनिक संवादको टेलिफोन टेप सुनाउन सकोस् । यदि छैन भने मन नलाग्दा-नलाग्दै भन्नैपर्ने हुन्छ, हामीले 'यौन दुराचार' को हेडलाइन बनाउन धेरै हतारो गर्‍यौं । विजय कुमार                    ० काठमाडौ, फाल्गुन १७ - बुधबार बिहान नागरिक दैनिकको 'हेडलाइन' पढनेबित्तिकै म स्तब्ध भएँ । दिलशोभा श्रेष्ठमाथि यौन दुराचारको संगीन आरोप लगाइएको रहेछ । एक मन त लाग्यो, त्यो दैनिकका प्रधानसम्पादक मित्र प्रतीक प्रधानलाई फोन गरेर थप जानकारी लिउँ । कतै समाचार छापिने रात प्रतीक बिदामा पो थिए कि ? अथवा हेडलाइन राखिने बेला कसैले 'जजमेन्टल इरर' त गरेन भन्ने शंका लाग्यो । हामी पत्रकार पनि मानव हौं, हाम्रो हातबाट पनि गल्ती हुन्छन् ।    तर फेरि, मेरै मनको शंकालु कुनाले भन्यो- कतै साँच्चै दिलशोभामाथि लगाइएको यौन दुराचारको आरोप सत्य पो हो कि ! कसैले जीवनमा एकपटक राम्रो काम गरेको छ भन्दैमा उसले सधैं राम्रो नै गर्छ भन्ने हुँदैन भन्ने विचार मनमा आउन थाल्यो । मानव मनको एउटा कुना नकरात्मकताले बनेको हुन्छ । कसैको बारे पनि हामी राम्रोभन्दा नराम्रो खबर छिटो पत्याउँछौ । त्यसमाथि त्यति प्राथमिकतासाथ छापिएको समाचार सत्य पो हो कि भन्ने शंका उठ्यो । त्यो शंकाले मन उदास भयो । के संसारमा आदर्श मरिसक्यो ? दुई बर्षअघि आफूले अन्तर्वार्ता गरेको दिलशोभा श्रेष्ठको मुहार  झलझली आँखासामुन्ने आयो । मेरो मन भारी भयो । मेरो उदासीको कारण दिलशोभामात्र थिइनन् । यस्तो घटनाबाट मानिसको बिश्वास समाजसेवाजस्तो पावन कर्मबाटै उठ्यो भने समाज कसरी अगाडी बढ्ला भन्ने पीरले म बढि छटपटाएँ । देशभरि छरिएका असंख्य समाजसेवी र तिनका निम्ति आफ्नो गाँस काटेर दान दिने हजारौ नेपालीलाई सम्झेर उकुसमुकुस भएँ । मलाई पनि मनपर्ने, रविन्द्र मिश्रले अगुवाइ गर्ने 'पत्रकारिताको लोककल्याणकारी' आयामको भविष्यका निम्ति म बेचैन भएँ । प्रश्न दिलशोभाको मात्र होइन, प्रश्नको प्रभाव धेरै फराकिलो दायरामा पर्ने देखिएकोले मैले प्रथम वाक्यमा नै 'एक दैनिक' भन्ने चलनचल्तीको घुमाउरो शब्द प्रयोग नगरेको हुँ ।      मैले जीवनमा आजसम्म दिलशोभालाई चारपटक भेटें । पहिलोपटक अन्तर्वार्ता गर्दा । दोस्रोपटक उद्यमी प्रमिला आचार्यले उनको संस्थाका तर्फबाट एक लाख रुपैयाँ दान गर्न जाँदा । तेस्रोपटक मिनभवन क्याम्पसका भाइबहिनीले खाजा खर्च जोगाएर जम्मा गरेको ५१ हजार रुपैयाँ हस्तान्तरण गर्ने कार्यक्रममा । चौथोपटक मेरो ससुराली परिवारले संयुक्त रुपमा जम्मा गरेको लाख रुपैयाँ बुझाउन जाँदा । मभन्दा पहिला र पछि पनि केही सञ्चारकर्मीले आ-आफ्ना सञ्चार माध्यममा दिलशोभा श्रेष्ठलाई प्रस्तुत गरेकाले उनलाई सहयोग मिल्न सजिलो भएको सबैलाई थाहै छ । व्यापक प्रचारमा आउनुअघि पनि उनले दर्जनौ बुढाबुढीलाई एक छाक ख्वाएर आफ्नो घरमा शरण दिएकै थिइन । आजभोलीको महंगीमा चारजनाको परिवारलाई भोकमरीबाट बचाउन निम्नवर्गीय मानिसलाई हम्मेहम्मे पर्छ भने दर्जनौ ज्यानलाई सानो रकमले पाल्न सकिंदैन । मेरो बुझाइमा धेरै मानिसको सहयोगले दिलशोभाले  यो काम गर्दै आएकी थिइन् । त्यसैले अहिलेको घटनाले ती सब मानिस स्तब्ध हुनु स्वाभाविक हो ।  तर यस प्रकरणलाई सही अर्थमा बिश्लेषण गर्न नसकिए नेपाली पत्रकारिता, प्रशासन, समाजसेवा र समष्टिगत समाजका निम्ति दुर्भाग्य हुनेछ ।    त्यसैले मेरा आदरणीय मित्रद्वय विनोद ज्ञवाली र प्रतीक प्रधानले यस स्तम्भलाई अन्यथा अर्थमा नलिइ मित्रवत प्रतिक्रियाका रुपमा लिइ दिनु भए अनुग्रहित हुने थिएँ । कुनै दिन एकैसाथ काम गरेका हामी आजको दिनमा अलगअलग सञ्चार प्रतिष्ठानमा कार्यरत छौं भन्दैमा पत्रकारिता क्षेत्रको बृहद मर्यादाका लागी हाम्रो समर्पण पनि बिभाजित हुनुपर्छ भन्ने जरुरी छैन । म हाल कान्तिपुर पब्लिकेसन्सका निम्ति मात्र लेख्ने करारमा नभएको भए नागरिक दैनिकमा यही आलेख पठाउने थिएँ । १) यौन दुराचार आरोपको मूलआधार दिलशोभाको 'टेलिफोन रेकर्डिङ' लाई बनाइएको छ । दिलशोभा श्रेष्ठले आवाज आपmनै भएको स्विकार गरिसकिन् । तर यो पनि भनिन्, 'हो, म काम गर्नेलाई राती सुत्न पठाउँथे, तर एउटा अशक्त बृद्धासँग ।' टेलिफोन टेप गर्ने वा त्यसको हवाला दिएर समाचार लेख्नेले दिलशोभा श्रेष्ठको एकोहोरो आवाजको रेकर्डमात्र बजारमा ल्याएका छन् । लाइनमा अर्कोपट्टि को थियो ? कुन सन्दर्भमा कुरा भएको थियो ? भन्ने विचारै नगरि कसरी ठोकुवा गरियो कि टेलिफोन प्रसंग 'यौन दुराचारसित सम्बन्धित थियो भनेर ! छ कोही महावीर यो शहरमा, जसले दिलशोभाको एकोहोरो होइन दोहोरो यौनिक संवादको टेलिफोन टेप सुनाउन सकोस् । यदि छैन भने मन नलाग्दा-नलाग्दै पनि भन्नैपर्ने हुन्छ, हामीले 'यौन दुराचार' को हेडलाइन बनाउन धेरै हतारो गर्‍यौं । एकैछिनका लागि मानिलिउँ, कुनै महावीरले कथित 'दुराचार' प्रमाणित गर्ने रेकर्डिङ बजारमा ल्यायो रे । त्यस अवस्थामा पनि दिलशोभाका निम्ति 'यौन दुराचार' शब्दको प्रयोग भाषिक दृष्टिकोणले सरासर गलत र कानुनी हिसाबले बचकाना हुन्छ । त्यस अवस्थामा यो आरोपलाई 'देहव्यापार वा मानव बेचबिखन' शिर्षक अन्तर्गत राखिनु पर्थ्यो । भाषागत हिसाबबाट त्यो शब्दावलीको प्रयोगले बताउँछ, हाम्रो पत्रकारिता शब्द चयनमा कति गरिब छ भनेर । शब्द चयनको दरिद्रताले शंका जन्माउँछ, आरोपको छनौटमा पनि कतै हामी चुक्यौ कि ? मलाई थाहा छ, पत्रकारले विमानचालकको जस्तो आचारसंहिता पालन गर्न सम्भव हुँदैन । विमानचालकको आचारसंहितामा भनिएको हुन्छ, 'तिम्रो पहिलो गल्ती नै जीवनको आखिरी गल्ती हुनेछ ।' पत्रकारितामा काम गर्दै जाँदा गल्ती हुन्छन् । मबाट पनि अन्जानमा भए होलान् । तर, व्यावसायिक पत्रकारितामा कुनै साधारण नागरिकको इज्जतसित जानाजान रत्यौली गरिएको छ भने त्यो पत्रकारको आखिरी गल्ती हुनुपर्छ । यो पेशाको मर्यादाले पटकपटक गल्ती गर्ने छुट दिदैन ।   दिलशोभा श्रेष्ठमाथि प्रथम पृष्ठको हेडलाइनमा लगाइएको यौन दुराचारको आरोप कुनै साधारण आरोप होइन । राजनीतिक नेता वा कर्मचारीमाथि बेलाबखत लगाइने हलुका वा भारी आरोपजस्तो पनि होइन यो । यदि आरोप प्रमाणित हुन्छ भने दिलशोभालाई कानुनमा लेखिएभन्दा बढि सजाय हुनुपर्छ । किनभने त्यस अवस्थामा उनले असंख्य मानिसको आस्थामा कुठाराघात गरेको दण्डसमेत सजायमा जोडिनुपर्ने हुन्छ । तर यदि कथित 'यौन दुराचार' प्रमाणित भएन भने के ? यो प्रश्नले धेरैलाइ चिमोटिरहेको छ । सबैले बडो गहिरो तवरले बुझ्न जरुरी छ, मानिसको अन्तिम सम्पत्ति भनेको उसको अस्मिताको मर्यादा हो । यसमाथि अकारण हस्तक्षेप बलात्कार हो । २) आरोप प्रकाशमा आएको भोलीपल्टदेखि 'टेलिफोन टेप' प्रसंगको उल्लेख हुनै छाड्यो । किन ? २४ घन्टा पनि टिक्न नसक्ने त्यो कस्तो टेप हो ? यो प्रश्नको उत्तर यस प्रसंगमा मात्र होइन, भविष्यका लागि पनि अपरिहार्य छ । यदि टेलिफोनको प्रसंग काल्पनिक थियो भने अब भविष्यको नेपाली पत्रकारितामा टेलिफोन रेकर्डिङका आधारबाट उत्पादित सबै सामग्रीको विश्वसनियतामाथि एकपटक शंका गर्नुपर्ने हुन्छ । यो शंकाले गर्दा भविष्यमा अडियो रेकर्डिङको माध्यमबाट गरिने कुनै पनि वस्तुगत खोजमुलक पत्रकारिता अपाङ र अविश्वसनिय मानिने स्थिति सिर्जना भएको छ । त्यसैले दोहोर्‍याएर सोध्न चाहन्छु, छ कोही महावीर जसले यौन दुराचार प्रमाणित गर्ने टेप सुनाओस ! यदि त्यो टेप सुनाउन सकिदैन भने सजिलै भन्न सकिन्छ केही गडबड छ । आज टेप सुनाउन नसक्नेले भोली फेरि कुनै नयाँ 'आइटम डान्स' बजारमा ल्याउला । अतः नेपालमा कुनै पनि टेपको विश्वसनियता जाँच्ने उच्चस्तरिय प्रयोगशाला स्थापित गर्नु र अनधिकृत 'टेलिफोन ट्यापिङ' सम्बन्धी कानुन बनाइनु अपरिहार्य भएको छ । बेलायतमा सन अखबारका कैयांै मानिस टेलिफोन ट्यापिङ प्रसंगमा जेल परे । लाज मानेर पत्रकारले राजिनामा दिए । बिश्व सञ्चार जगतका बादशाह भनिने रुपर्ट मर्डोकलाई बेलायती संसदीय समितिले घन्टौं बयान लियो । ३) अब दोस्रो पाटो । दिलशोभा श्रेष्ठको बृद्धाश्रममा राखिएका बालबालिकाको पाटो । अनुमति नलिइ बालबालिकालाई आपmनो बृद्धाश्रममा आश्रय दिएर गल्ती भएको उनले खुदै स्विकारी सकिन् । उनले बालबालिकालाई उचित मापदण्डअनुसार पाल्न सकिनन् होला । राम्रोसँग पालनपोषण गर्न सकिनन् तर  दुखम-सुखम भए पनि आश्रय त दिइन भन्ने कुरा बिर्सन मिल्दैन ।   अंग्रेजीमा मोटामोटा 'प्रपोजल' लेखेर डलर ल्याउन सक्ने आश्रयस्थलको तुलनामा दिलशोभाको घर र वातावरणको मापदण्ड ज्यादै निम्न स्तरको छ । फोहोर पनि छ । तर जो बृद्धबद्धा सडकमा फालिएका थिए, जसको जाने ठाउँ कतै थिएन, त्यो दिन तिनका निम्ति मापदण्ड नपुगेको त्यही फोहोर आमाघर नै ठुलो कुरा थियो । कुन मापदण्डमा कसले कसलाई कसरी नाप्ने ? के आज औसत नेपालीका बच्चा त्यही मापदण्डअनुसार हुर्किएका छन्, जो हाम्रो बालअधिकार नियम-कानुनले भन्छ अथवा पाँचतारे बालअधिकार गोष्ठीले भन्छन् ! आज यो मापदण्ड खोज्नेले भोली नेपालमा बच्चा जन्माएर बर्षौ अरबको खाडीमा हराउनु पर्ने बाध्यता बोकेका मातापिताले 'बच्चाप्रति स्नेहको मापदण्ड' पुरा गरेनन् भन्ने आरोप पनि लगाउलान् । मापदण्ड कसले पुरा गरेको छैन ? बाध्यतामा खाडी गएका मातापिताले वा हाम्रो समाज र सरकारले ? आफ्ना नागरिकलाई दुई छाक खान दिन नसक्ने सरकार र समाजमा मापदण्डका ठुल्ठुला कुरा शोभा दिदैन । म जान्न चाहन्छु- मापदण्ड कसले पुरा गरेको छ ? दिलशोभाको फोहोर आश्रयस्थलले त मापदण्ड पुरा गरेन, मैले मानंे । उनले पन्ध्रौ बर्षदेखि सडकमा फालिएका बृद्धबृद्धालाई छानो र खस्रो खानामात्र दिइन् । प्रशासनको नजरमा वा इष्र्यालु एनजिओका खुराफातीहरुको नजरमा त्यसले मापदण्ड पुरा गरेको छैन होला । तर जुन देशमा अनगन्ती बच्चा कुपोषणका सिकार छन्, जुन देशका सडक गरिब र असक्त माग्नेहरुले भरिएको छ, त्यो देशको गृह प्रशासनलाई बालअधिकार मापदण्डका ठुल्ठुला कुरा गर्न सुहाउँछ ?    ४) अहिले नेपालमा कसै-कसैलाई बालअधिकार मापदण्डको मौसमी ज्वरो आएको छ । हाम्रो गृह प्रशासनले पनि दिलशोभाको आमाघरबाट ३४ जना बालबालिकाको 'उद्धार' गरेको छ । उद्धार गरिंदाको अवस्थामा खिचिएको तस्वीरमा बालबालिकाले जाडोको मौसममा ज्याकेट, स्वेटरसम्म लगाएकै देखिन्छ । उद्धार गरेर तिनलाई कुनै दर्तावाल एनजिओमा लगिएको छ । तिनीहरुले अहिलेको भन्दा राम्रो वातावरणमा हुर्कन पाए सबैभन्दा खुसीको कुरा हुनेछ । तर आज म एउटा प्रश्न राष्ट्रसमक्ष र बिशेष गरि बालबालिका हितको निम्ति काम गरेको दावी गर्ने सबैसँग राख्न चाहन्छु । यो प्रश्नको जवाफ मलाई होइन, आ-आफ्नो विवेकलाई दिए पुग्छ ।   बालअधिकार मापदण्डबारे प्रशासन र बालअधिकारवादीको चिन्ता सक्कली हो भने- देशका सडकमा यति धेरै बालबालिका र बृद्धबृद्धा कठाङगि्रएर भोकभोकै किन बसेका छन् ? दिलशोभाको घरमा भएका बालबालिकालाई उद्धार गरियो, राम्रो भयो । तर दिलशोभाको घरभन्दा धेरै दुःखद अवस्थामा रहेकाको सडकबाट उद्धार गरिनु पर्छ कि पर्दैन ? जबसम्म यो प्रश्नको उत्तर आउँदैन, तबसम्म नेपालमा मापदण्डको बखान एक भद्दा मजाकबाहेक केही हुने छैन । मापदण्डका जाँचकीहरुले यो आलेख पढेपछि सडकमा कुनै असहाय बृद्धबृद्धा वा माग्ने बालबलिका देख्नु भयो भने कृपया यो नभनिदिनु होला, 'सडकमा नै मापदण्ड पुगेकाले यिनिहरुलाई यतै सुताइएको हो ।'         ५) दिलशोभा प्रकरणमा रमेश खरेलजस्ता काबिल र विवेकशील अधिकृतको मातहत अनुसन्धान भइरहेको छ । कथित 'यौन दुराचार' वा अन्य मामिलामा दोषी ठहरिए अदालतले सजाय देओस् । तर यदि आरोप प्रमाणित भएन भने ? दिलशोभा 'यौन दुराचारी' प्रमाणित भइनन् भने ? यो प्रश्नको उत्तरले नेपाली पत्रकारितामा एउटा नजीर स्थापना गर्नेछ । vijayko@gmail.comप्रकाशित मिति: २०७० फाल्गुन १७ १२:३८ - See more at: http://www.ekantipur.com/np/20...

_____ · Feb 28, 2014 1:49 PM · 14,077 views

3 Replies

Excellent view by Bijaya! I am sure "so called elites" may jump in to give their bujruk views about management, sanitation, accounting, rules, and many other bla blas... Getting an education at Harvard doesn't necessarily mean that s/he was also graduated with a common sense knowledge! Peace!

bhunte · Feb 28, 2014 4:18 PM

Maybe the editor and publisher of Nagariknews should take these kids into their own homes and provide a "clean" environment that they claimed Dilshova's house didn't have. ARE they following up on the kids and their current status?

Kancho · Feb 28, 2014 9:09 PM

पत्रकारिताको नाम मा चरित्र हत्या गर्ने , मानवीय संबेदना र भावनाका हत्यारा हरू ।

manmeronepali · Mar 1, 2014 9:33 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all