म फेरी स्कूल जान थालें ..................

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म फेरी स्कूल जान थालें    घर कलह सुरु भए लगत्तै हजुरबुबाले एउटा फतवा जारी गर्नु भयो – आज देखि कोही पनि स्कूल जाँदैन | म एक किलास पास गरेर दुइ पढ्दै थिएँ | मेरो  ठुल्दिदी १० मा पढ्नु हुन्थ्यो, दाई पाँचमा फस्ट भै ६  किलासमा पढ्नु हुन्थ्यो, सानो दिदी ४ मा | भाइ सानै थियो स्कूल नै गएको थिएन | किन स्कूल जान प्रतिबन्ध लगायो त्यति बेला यो फुच्चेलाई थाहा हुने कुरा भएन | ठुलो काकाको छोरा ९ मा , काकाकी छोरी एक जना ७ मा अर्को ६ मा  पढ्नु हुन्थ्यो | काठमाडौको रैथाने परिवारका छोरा छोरी स्कूल न जानु त्यतिबेला पनि अचम्मकै कुरा थियो तर शिक्षाको त्यति महत्व नहुने समाजमा त्यो ठुलो बिषय भएन | दाई र काकाकी छोरी दिदी  एकै कक्षामा, दाई फस्ट हुनु र दिदी जेनतेन किलास चढ्नु एउटा कारण हुन सक्थ्यो |    निराश निराश दाइ, ज्यासलको काम सघाउने काम गर्न थाल्नु भयो भने म फुच्चे अगेनामा आगो फुक्ने र चाँदी पोल्ने सहयोगी भएँ | त्यतिबेला नै एक जना आफन्तको घरमा नेपाली कागजमा प्रिन्ट गरिएका विभिन्न चित्रहरुमा रंग भर्ने काम गर्नु हुन्थ्यो | मलाई सिक्न मन लाग्यो र आमालाई भनी सिक्न गएँ | एक महिना जति रंग भर्ने कला सिके पछी आफै भर्ना थालें | एउटा सानो  प्रिन्टको रंग भरेको ७५ पैसा र ठुलोको १ रुपैया पचास पैसा आउंथ्यो | बिहान ७ बजे चिया खाने समय सम्म एउटा रंग भर्न सक्याई ज्यसलमा जोतिन जान्थें र ज्यासल बन्द भै बेलुकीको खाना खाइसके पछी अर्को २-३ वटामा रंग भर्थे | दाइले पनि साथ दिनु भयो र हाम्रो यो कोठे कारखाना चल्यो | दिनमा आठ दस रुपैया ज्याला कमाइन्थ्यो | त्यै पैसाले लुगा हाल्थेम | दिन भरि ज्यसलको ज्यालाले  दुइ छाक खान बँधुवा मजदूर भएका थियौं | त्यही बचेको पैसा पछी हामी स्कूल भर्ना हुँदा भरथेक भो|      बुबाले त्यो अंश नलिने  कागज गरिदिए पछी हामी एक हिसाबले स्वतन्त्र भयौं | सदियौं देखिको दासत्वबाट मुक्ति मिले जस्तो | बुबा जनकपुर जानु भयो | आमालाई कसले हो छोरा छोरीलाई पढाउनु पर्छ भनेर कान भरिदिए छ कुन्नि ? ,  स्कूल भर्ना हुन जाओ भन्ने आदेश दिनु भयो |   ठुल्दिदी बुबा संगै जनकपुर जानु भएको थियो | दाइले स्कूल जान्न भनेर ढिपी कस्नु भयो | किन भन्दा “ म कुन मुख लिएर फेरी पढ्न जाउँ ?? कहिलेइ अनाथालयका बिद्यार्थी बाहेक फस्ट नहुने स्कूलमा फस्ट भएर बिना कारण स्कूल जान पाइन, अब जान्न स्कूल सिस्कूल “ | दाइको नैराश्यता जायज थियो, बिना अपराध  शिक्षाबाट वन्चित हुनु परेको ब्यथा छताछुल्ल भयो नै | म , सान्दिदी र भाइ स्कूल भर्ना हुन घर छेउ कै स्कूल, वसन्तपुरको नव आदर्श बिद्यालय गयौं | दिदीले चार मै भर्ना हुन्छु भन्नु भयो र भर्ना  हुनु भयो | म दुइमा भर्ना हुन्छु भनें | टोलकै हेडसरले हुँदैन, तिमी ठुलो भैसक्यो चार मै भर्ना हुनु पर्छ भन्नु भयो | मैले रोइ कराई २-३ न पढी चारमा पढ्न सक्दिन, फेल हुन्छु , २ मै भर्ना गरि दिन बिन्तीभाउ गरें| अहँ गोबिन्द सरले मान्नु भएन | “ तिमीले सक्छौ, ४ मै भर्ना गरिदिन्छु | भन्दै जबर्जस्ति भर्ना गरिदिनु भयो | त्यो दिन धेरै रोएँ , म मा हिम्मत थिएन | म मेधावी बिद्यार्थी थिइन | दिन भरि ज्यासलको अगेनामा आगो फुक्ने र नेपाली कागजमा रंग भर्ने बाल मजदूरलाई आफ्नो हैसियत थाहा थियो | भाइलाई एक कक्षामा भर्ना गरियो | यसरी हामी पाँच मध्ये ३  दिदी भाइको स्कूल यात्रा पुन: सुरु भयो |   चार पढियो, पहिला २ किलासमा संगै पढेका साथीहरु पनि चार मै तर “ए” सेक्सनमा | नेपाली बिरलै बोल्नु पर्थ्यो | मास्टरहरु प्राय नेवार, बिद्यार्थी पनि | केही बाहुन क्षेत्री र मारवाडी समुदायका बिद्यार्थी भए पनि या त तिनीहरुलाई नेवारी आउथ्यो या सिक्थ्यो | नेपाली पढाउने पुष्पा मिस बाहेक सबैले आधा नेवारी आधा नेपाली मा पढाउनु हुन्थ्यो | जिन्दगीमा पहिलो पल्ट लिखित जांच दिइयो | पहिलो त्रैमासिकमा राम्रो नतिजा आयो | दिदीको भन्दा राम्रो , दोस्रो झन् राम्रो भयो | फाइनल त झनै | बी सेक्सनबाट बढुवा भएर “ए” सेक्सनमा उक्लिएँ त्यो पनि १५५ रोल नम्बरबाट सिधै १७ मा | पुराना साथीहरु संग पुनर्मिलन भयो अब चाहि |  त्यो बेला नाक आधा इन्च जति बढ्यो |   चार पढ्दा पढ्दै हामीले घर सरिसकेका थियौं | इलमको राम्रो बन्दोबस्त नभैसकेको र बुबाले जनकपुरको जागिर छोडी सक्नु भएकोले घर चलाउन सहयोगी हात हुनै पर्थ्यो | रंग भर्ने कामलाई अझ जोड दिनु पर्ने भयो|  हुन त त्यो स्कूलमा कहिलेइ होमवर्क हुने भए पो | स्कूलबाट फर्के पछी अरु खेल्न जान्थे भने मा रंग भर्ना बस्थें...| दाई फुल टाइमर रंग भर्ने , मा चाहि पार्ट टाइम | स्कूल टाइम पछी पुरै चोक केटाकेटीहरुको खेलले गुन्जाएमान हुन्थ्यो | तेलकासा ( एकजना डुम भै अरुलाई पछ्याउने खेल)  , आसपास ( लुकामारी ) , गुच्चा , ह्वागरा आदि खेल खेलीरहन्थे... म नेपाली कागजमा ती दृश्यहरुलाई रंगले पोती दिन्थे | बालक मन हो, खेलूं खेलूं लाग्थ्यो तर चिसो चुल्हो र खाली पेटले सम्झाइरह्न्थ्यो , जिन्दगीको यथार्थ | स्कूलको हाफ ट्याममा अरुले बरफ खाएको हेरिरहन्थे | अरुले नासपाती चपाएकोमा थुक निलीरहन्थे........................................................................| समाप्त !!!

rahulvai · Jan 28, 2014 1:47 PM · 16,101 views

4 Replies

First of all, I have to admit why I do not reply in Nepali. Not that anybody is asking or might care, but for my own sake, here's my response. I think my Nepali is pretty decent, but my writing is not. I am not used to devnagari script in keyboards, but above all, my rhaswa and dirgha are horrible. I thought I'd save my embarrassment and respond in English instead. When I remember my childhood days, I always think of the immature things I used to do, the chak-chak and dirty clothes and what not. There is innocence in your character (of course, real one) but somehow you instill the whole story with such a maturity that it becomes emotional. I don't know how you do it. Great story, if that's what you will call it. Devoiding somebody, specially a kid, from education is a grave injustice; I am glad your parents stood up for your and your siblings' right. Who knows where you would've ended up, but your story is a proof that your parent's struggle and your determination made it all the worth while. Kudos. Please keep more coming. I had written a story way back about my childhood experience, I only wish it had the language and touch of your story..would've been quite a read.

Kiddo · Jan 28, 2014 3:03 PM

राहुल्भाइ ले मेरो पनि बाछा बेलाको याद ल्यैदिन भो , मेरो त स्कूल को फी तिर्न नसकेर ४ ताल स्कूल फेर्न पढेको छ . पढ्न चाहि पढ्यो फिस तिर्ने होइन , फाइनल जाच मा फिस नतिरी जाच दिन नपाइने , आनि स्कूल छोड्यो, अर्को वर्ष अर्को स्कूल , चार ताल तेसो गर्या

timi_mero_sathi · Jan 28, 2014 5:35 PM

ठुल्दाई ....अर्को नमिठो याद पोख्नु भो तर सरस शब्दहरुमा .......... आजको ठुल्दाई हुनमा त्यो सानो ठुल्दाईको भोगाइको कत्ति महत्वपूर्ण छ नि हगि.... हिजोले नै हजुरको आजको आधार भनेको छ शायद .....

ThahaChaena · Jan 28, 2014 10:17 PM

सारै मार्मिक बेदना....थाने संग मा पूर्ण सहमत छु......... त्यसैको मिठो फल हो नि ठुल्दाई, आज तपाई सफलता को शिखर मा पुग्नु भएको..... ठुल्दाई लाइ औटा अनुरोध : आत्म कथा निकाल्नु पर्यो (हरिबंश को चिना हराएको मान्छे जस्तो) , ता कि नया पिढी ले केहि पाठ सिक्न सकुन......

baaramaase · Jan 29, 2014 9:22 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all