वाँच्न वाँकी एउटा जीवन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"मलाई फिनेल को गन्ध मन पर्दैन!" मैले नाक खुम्च्याउँदै भनेँ। "तिमीलाई त केहि पनि मन पर्दैन, न फिनेल न जिवन ! के वाँकी रह्यो र मन पराउनलाई !" उसले म तिर कोल्टे फेर्दै भन्यो। खिस्स हाँसेको उसको गालामा रेखाहरु देखा परे। उमेर हुँदो हो त कसैले डिम्पल भनेर तिनै रेखा,खाल्डोलाई मन पराइदिन्थे होला। खाल्डाहरु पनि त आफ्नो ठाउँमा त राम्रैमा गनिने रहेछन्।म उसलाई हेरी रहेँ।किन वाँच्न खोज्दैछ उ? किन लम्व्याउँदैछ यो अर्थहिन जीवनलाई?हो उसले ठिकै भनेको हो मलाई जिवन मन पर्दैन किनकी मलाई भ्रम मन पर्दैन। "तँपाइलाई मन पर्छ र यसको गन्ध ?" "संसारमा नराम्रै भन्ने त के नै होला र ?राम्रो नराम्रो त मात्र समय हो!" उसका आँखा मलाई नियालिरहेका थिए। मैले आफ्नो ओढ्ने थोरै ताने।आफु देखिएको अनुभव भयो।उसको आँखाको गहिराईमा मलाई आफुलाई लुकाउन गाह्रो भयो।संसारमा सवैभन्दा ठूलो खुवी आफुलाई लुकाउन सक्नु हो, किनकी मौन नै रहे पनि आँखावाट चुहिएको हुन्छ मान्छे!! उ र म विचको फरक के नै त थीयो आखिर। म हारेर भागेकी, भयो,पुग्यो लडाईँ अव लड्दिन भनेर भागेकी!उ घाइते भएर लडेको ,त्यो पनि त एक अर्थमा हार नै त होला।कुन हार साँचो थियो,कुन झुठो ,छुट्याउन गाह्रो लडिरहेको उ एक खाटवाट अर्को खाटकी मलाई गलत देख्थ्यो।भागेकी म एक खाटवाट अर्को खाटको उसलाई गलत देख्दथेँ। आँखाहरु अचम्म हुन्छन्, सवै गलत देखाउँछन्। सत्य त अँध्यारो वाट न जन्मन्छ,त्यहाँ त आँखानै काम लाग्दैन। सफा गर्ने मान्छे प्यासेजमा निस्की सकेको थियो। शायद उसलाई पनि मेरो फिनेल प्रतिको वितृष्णा मन परेन।उसको त जीवन नै त्यहि फिनेलमा अडिएको छ। उसको साथी नै हो भनौँ , कसैले उसको साथी मन नपराएको किन पो चित्त वुझोस् र उसलाई!उसको जीवन निचोरिएर त्यहि टालो जस्तो भएको छ अर्काका फोहोर पुछ्दा पुछ्दा। हिजो भख्खर नै त हो, मलाई दवाई गन्हाएर छादेकी थिएँ।उठ्न भ्याइन। उ आयो, थोरै नाक खुम्च्यायो ।मलाई उठाए दुई जना सहयोगी मिलेर । म आफ्नो दुर्गन्ध हेरी रहेँ, उसले तन्ना उठाएर नफेरुन्जेलसम्म। संसारै यस्तै छ दुर्गन्धित ,एउटाले फोहोर गर्छ,अर्कोले सफा गर्ने प्रयास मा अर्कै ठाउँमा फोहोर सार्छ। तन्ना सफा हुन्छ, ढल फोहोर हुन्छ। ढल सफा हुन्छ, खोला फोहोर हुन्छ।खोला सफा हुन्छ समुन्द्र फोहोर हुन्छ। अनि समुन्द्रको फोहोर फेरि म सम्म आइ पुग्छ। म वुझ्दिन त्यो मेरै फोहोर हो , म नाक खुमच्याएर त्यसलाई हेर्छु। उ फेरि टालो लिएर सफा गर्न वस्छ।संसार हामी जस्तै मान्छेले फालेको दुर्गन्धको चक्र नै त हो। "अव ठिक भए पछि के गर्छौ त ? फेरि स्लिपिंग ट्यावलेट दन्काइदिन्छौ? घर पुगेको भोलिपल्ट?" उसले च्वास्स मलाई घोच्यो अर्को खाटवाट!!म फोहोरको चक्रवाट वाहिर निस्किएँ। उसको सियोले मैले ओढेको ओढ्ने छेड्यो।दुखे जस्तो भयो मलाई! मेरो जीवनको उसलाई के मतलव ! आफ्नो जीवन सम्हालेर राखोस् न ! मान्छे वुढो भए पछी निहुँ खोज्छ भन्थे ! हो जस्तो लाग्यो। "तँपाइलाई कहिले सम्म वाँच्न मन छ र ?" "कहिलेकाहि मन हार्छ, हैन हैन धेरै जसो मन हार्छ, त्यो पनि हैन सँधै नै मन हार्छ!" उसले धेरैवेर सोचेर जवाफ फर्कायो। "जित्छ चाहिँ कसले नि त ?" "त्यो त मलाई थाहा भएन, तर मन व्यवहारिक हुन्न त्यहि भएर हार्छ, मलाई मात्र हारको कारण थाहा छ, प्रतिष्पर्धिको नाम भन्दा पनि !" "तँपाइलाई मैले विख खाएको कारण नै थाहा छैन ,विना वित्थामा मलाई चोट पुर्याउने वाक्य वोल्नुहुन्छ !" म अचानक आवेगमा आएँ! "सुनाउँछ्यौ त ? आज घाम पनि लागेको छ, उज्यालो छ कोठामा !! कथा सुन्न रमाइलै हुन्छ!!" "के गर्नु हुन्छ र सुनेर ?" मलाई हिजोको छादको गन्ध छातिवाट निस्के जस्तो लाग्यो। किन उ म भित्रको फोहोर चलाउन खोज्दैछ ? "मर्नलाई म पनि वहाना भेट्टाउँछु कि !" मलाई उ प्रति दया लागेर आयो।उ विस्तारै उठ्यो। आफ्नो सिराने भित्तामा अडेस लगायो । अनि मेरो कथालाई स्वस्थानी मानेर दत्तचित्तले सुन्न वस्यो !!! ************ ************* *************** ************ ******** ************* ** मलाई सुनाउन मन नलागेको मेरो कथा "यो कथा आजभन्दा २५ वर्ष अघीको होइन , त्यहि भएर तँपाइको लागि व्यवहारिक नहुन सक्छ!" उ हाँसी रह्यो अनि विस्तारै वोल्यो "भन्ने जिम्मा तिम्रो,छुट्याउने जिम्मा मेरो,जीवनको व्यवहार सवैमाथी एकनासे हुने भए त संसार एउटै रंगको भइ हाल्थ्यो नि !" म पनि थोरै अडेस लाग्दै उठेँ। "तँपाइको विचारमा माया के हो?" मैले उसको आँखामा आँखा जुधाएर प्रश्न राखेँ।केहि उत्तर आँखावाट नै छचल्किन्छ कि भन्ने आश राखेर! "मैले कथा सुन्न खोजेको प्रश्न हैन !" उसका आँखामा मैले केहि भेटिन "मेरो त कथा नै प्रश्नवाट शुरु हुन्छ!" "तिम्रो विचारमा चाहिँ के हो त माया !" "त्यस्को सहि उत्तर मैले पनि पत्ता लाउन सकिन!" मैले हारेको स्वरमा जवाफ फर्काएँ "संसारमा सवै सहि गलत हुन्नन् !" उसले ममाथी सान्त्वना देखायो। "ठिकै भन्नु भयो संसारमा सवै सहि गलत हुन्नन्। कहिलेकाहिँ सम्वन्धहरु हुन्छन् ,कहिलेकाहिँ आवश्यकताहरु हुन्छन् !! छुट्टिनै मान्दैनन् सहि र गलतको दायरावाट!"    क्रमश:      

fucheketo · Jan 21, 2014 4:13 AM · 66,187 views

30 Replies · Showing 21 - 30
Page 2 of 2

यो कथालाइ साझा होमपेज को सबै भन्दा माथि राख्न सान प्रधानलाइ बिनम्र अनुरोध गर्दछु. यस्ता उत्कृस्ट कथा हरु यसै सेलाएर जान हुन्न.

behoove_me · Feb 7, 2014 8:19 AM

Behoove दाजुको कुरामा मेरो नि पूर्ण सहमति janaudachhu

Juggy · Feb 7, 2014 10:17 AM

Bhakte dai- हेर्नु न दाजु क्रमश :छुटेछ, तर समाप्त पनि त लेखेको छैन नि ;) behoove me,Juggy- Thank you for such a sweet comment. अन्य पढिदिनुहुने ,लाइक गर्नुहुने सवैलाई धन्यवाद !!

fucheketo · Feb 7, 2014 11:14 AM

"तिमी माया लाई पिडा भन्छ्यौ,जीवनलाई भ्रम भन्छ्यौ,मृत्यु शाश्वत हो भन्छ्यौ ! जीवनको यो त एउटा पाटो मात्र हो! कोठा भित्र भएको मान्छेले वाहिरको भित्ताको रंग पत्ता लाउन सक्छ र ?" उ खिस्स हाँस्यो। उसको अनुहारको ओज हराए झैँ लाग्छ आजकल मलाई। दिनहुँ निन्याउरो देख्छु उसलाई ! "तँपाइले देख्नुभएको छ त्यो पाटो?" "मलाई त न तिम्रो निश्चल जस्तो अँध्यारो मन पर्छ, न तिमी जस्तो सत्य ! म त भ्रमले गाँजेको मान्छे ,निदाउन चाहने मान्छे !" "अनि आज के खानुहुन्छ, कुरिलो पनि अमन भइसकेको होला हैन ?" मैले प्रसंग वदलेँ। "क्षणमा वाँचेको न हुन्छ मान्छे, कहिले नुनिलो खोज्छ , कहिले गुलियो !" "त्यस्तै हो, मलाई तितो मन पर्छ !" "कसले भन्यो तिमीलाई मृत्यु तितो हुन्छ भनेर ? मृत्यु त बेस्वादे हुन्छ , रुवा चवाए जस्तो ! तिमी कति दिनमा फर्किदैछौ घर ?" एक्कासी उसले मलाई प्रश्न राख्यो। मैले हिजो मात्र डक्टर लाई सोधेकी थिएँ। उसले नियालेर मलाई हेरेको पनि हो। उसको अनुहारमा मैले म प्रतिको विश्वास पाइन।फेरि गएर फेरि मर्न खोज्छे भन्ने सोचेको पनि हुन सक्छ। धेरै वेर सोचेर उसले मलाई जवाफ फर्काएको थियो "चाँडै" भनेर ! "चाँडै !" मैले सुस्तरी जवाफ फर्काएँ। मेरो भाइ वाहिरको वेन्चमै उँघेर वसिरहन्छ।कहिलेकाहिँ भने मोवायल खेलीरहेको देख्छु।मलाई कता कता उ त्यो केटीलाई मन पराउँछ जस्तो लाग्छ।मैले केहि मागे नवोली भित्र छिर्छ।वाहिर गएर लिएर आउँछ। हिजो तिन दिन पछि आमा फेरि भेट्न आउनुभयो। वाथले गर्दा खासै हिँड्न सक्नुहुन्न तर पनि हिजो जिद्दी गरेरै आउनुभयो।मेरो आँखामा हेरेर मौन वस्नुभयो। अनि केहि नवोली फर्किनु भयो। मैले आँखा जुधाउन सकिन। कस्तो भारी मौनता ,जानेवेलामा उसले आमालाई भनेको थियो। "अव देखी यसो गर्दिन सुधाले, वुझ्छे अस्पतालवाट निक्लने वेलामा उसले के खेर फाल्न खोजेकी रहिछ भनेर !" उसले आमालाई सान्त्वना दियो। आमाले अचम्म मानेर उसलाई हेर्नुभयो।मैले अचम्म मानेर दुवैलाई हेरेँ।भाइले आमालाई डोर्याएर वाहिर लग्यो। "ल अव आजको भाग, हामी निश्चलको कुरा गर्दै थियौँ !" आमा वाहिर निस्किने वित्तिकै उसले मलाई पुरानै संसारमा फर्काएको थियो। जहाँ निश्चल थियो, म थियौँ अनि अँध्यारोमा घोलिएको त्यहि धुवाँ थियो। "आज एउटा पनि पेन्टिंग विक्री भएन" उसले मतिर हेर्दै भन्यो। "चिन्तित छौ ?" "छैन, तर सँधै हुन्थ्यो आज भएन !" मलाई उसको सवैभन्दा मन पर्ने, उसको अनुहारको स्थायित्व, अनुहार मा भाव मिसिए पछि अनुहार अनुहार रहन्न ऐना वन्छ मुटु चिह्याउने।उसको अनुहारमा म न कहिल्यै खुशी देख्छु, न दुख ।मात्र अनुहार! उसको कोठाको काठको छानावाट कहिले काहिँ मुसा चिह्याउँथ्यो। मलाई डर लाग्थ्यो उसका सवै तस्विर खाइ दिने पो हो कि भनी। म त्यसलाई हेर्दा उसका र मेरा कहिलेकाहिँ आँखा जुध्थे।यति निश्चल आँखा भएकोले के विगार गर्ला र जस्तो लाग्थ्यो। एक दिन निश्चलले एउटा पेन्टिंग वनायो। त्यहि मुसा छिर्दै गरेको, मात्र मुसाको पुच्छर अनि प्वाल ! अनि मेरो हातमा दिँदै भन्यो! "मलाई थाहा छ तिमीलाई यो मन पर्नेछ !" मैले उसको चित्रमा अर्थ खोजेँ ।धेरै अर्थ खोजेँ। तर विडम्वना त्यसपछि उ भेट भएन। उसको कोठा भोलिपल्ट खुल्लै थियो। तस्विरहरु यता उता छरिएका ! म दिनहुँ जसो उसको कोठा जान्थेँ उसलाई भेट्छु की भनी! अहँ भेट्टाइन! ति तस्विरहरु पनि समेटेर कुनामा राखिँदिएँ। विस्तारै ति तस्विरहरु त्यहि मुसाले खान थाल्यो। धमिरा लाग्यो। म पनि त्यो कोठा जान छोडेँ। "अनि निश्चल भेटिएन ?" "भेट्टियो, मात्र जिवित भेट्टिएन, धेरै नशा र थोरै खानाले गर्दा भएको भन्ने खवर पाएँ , उ सँग त्यतिखेर पनि मेरो आधा अनुहार छोपेको तस्विर थियो उसको अन्तिम ठेगानामा !" मलाई किन किन जीवन अर्थहिन लाग्यो । उ सँगै जाउँ जाउँ लाग्यो। उसलाई सोध्न मन लाग्यो। उ आखिर किन भागेको थियो भनेर ! मैले आफ्नो कथा टुंग्याएको थिएँ। उसको आँखा अझ गहिरिएको थियो। उ पात्र केलाइरहेको थियो शायद ! धेरैवेर सोचेर उसले वोल्यो, " म त भाग्न सक्ने अवस्थामा पनि छैन ! तर तिमी जिवन जानेकी मान्छे, अभ्यस्त हुन सिक" "अव तँपाइको पालो !" "म भन्न भ्याउँदिन होला पुरै कथा !" "किन ? डिस्चार्ज गर्दै छन् र !" "भोली !" उसले मलाई हेर्दै भन्यो। "ठिक भयो त तँपाइलाई, ठिक भए जस्तो लाग्दैन मलाई !" मैले उसको शरिर नियाल्दै भनेँ। उसको शरिर त झन झन गलिरहेको छ। "मात्र डिस्चार्ज गरेको अरे, ठिक गरेको हैन रे !" उ हाँस्दै भन्यो। "मैले वुझिन !" "वुझ्छ्यौ, तिमी त जीवन वुझेकी मान्छे, मृत्यु चिनेकी मान्छे , तर म अझै भन्छु मृत्यु तितो हुँदैन, वेस्वादे हुन्छ, रुवा जस्तो ,खान मन नलाग्ने !" म मौन भएँ, मेरी आमा जस्तै, अवाक !!! *********** ****************** ****************** **************** ************** उ आज डिस्चार्ज भएर गयो।शायद एक महिना अरु वाँच्नेछ। मैले जाने वेलामा केहि भन्न सकिन। उसले मलाई जीवन वुझाएर गएको छ।मैले भाइलाई भित्र वोलाउँदै भनेँ "तँ अलि कम वोल्ने गर्छस् , खुल्ने गर सवैसँग, अनि साँच्चिकै माया गर्छस् भने भन् त्यो केटीलाई।" उसले अचम्म मानेर मलाई हेर्यो। मैले अर्काको मृत्यु देखेर आफ्नो जीवनको महत्व वुझेकी छु। यो कथा यत्ति नै ।  

fucheketo · Feb 7, 2014 11:16 AM

>> >> >> झकास ब्रो .... कस्तो दामी कथा ... धेरै दिन कुर्नु नपरोस अर्को कथा पढ्न लाई भन्ने बिनम्र अनुरोध छ है ... कुनै दिन मिलेछ भने "एक रात" दुइ कथा जस्तै कथा फेरी एक पटक लेख्नु है ... तपाईका कथाहरुमा मलाई सारै मन परेको कथा हो त्यो ...

Aakinchan · Feb 9, 2014 8:51 AM

फुच्चे साथि , हरेक वाक्य कोट गरेर वाह भन्न मिल्ने छ ...... साथि तिम्रो कथाले साझाको सज्जा अझै सुन्दर गराएको कुरामा कसैको द्वीमत नहोला .... अस्ति नेपाल आउँदा भेट्छु र बिमोचनमा नि उपस्थित हुन्छु भन्ने ईच्छा , ईच्छामै सिमित रह्यो .... कहिले सकिने मित्र तिम्रो किताब ... पढ्न आतुर छु .. कहिले कहीं लाग्छ तिम्ले लेख्ने एक-आध प्रतिसत मात्र पनि लेख्न आए हुने नि मलाइ ...... तर कला-सृजनशिलता नि आशा गरेर पाइँदो रहेछ र ..... चांडै अर्को कथा पढ्न पाउँ , सिघ्र पढ्न पाउँ बास् यहि अनुरोध छ ..... - थाहा छैन

ThahaChaena · Feb 9, 2014 6:15 PM

सक्यो रे अर्को सङ्ग्रह योग्य कथा पढ्न दिएकोमा धन्यबाद फ़ुचेकेटो |

KaliKoPoi · Feb 14, 2014 9:02 AM

सकी दिया पो ?? अर्को कथा कहिले आउंछ भनेर कुर्नु पर्ने पो भयो ....यो कथा त सरासर सर्यो ... फुच्चेका घच्चीका कथा पढ्न पाउँदा मनै आनन्दित हुन्छ ....जिवन बोकेका ति पात्र कति गहन हुन्छन गहिराइ मा जिवन बुझेका ! फुच्चेको प्रस्तुति फेरी बेजोड हुन्छ . आजकाल साझामा थोरै एस्ता सर्जकमात्र बाकीं छन् जस्का रचना एती उत्कृस्ट हुन्छ . अरु कथाको पर्खाइमा !!

bhakte dai · Feb 14, 2014 5:32 PM

"मैले अर्काको मृत्यु देखेर आफ्नो जीवनको महत्व वुझेकी छु" fuccheko katha padera ma bhabhuk bandai chu.. ma pani sudha jhai patra hoo..

sojoketo · Mar 26, 2015 3:19 AM

फुच्चेकेटो पहिले त धन्यवाद येति राम्रो कथा को लागि..हुनत म तिम्रो सबै लेखको पंखा(फ्यान) हु..."माया पाएकी केटि" चै अत्ति नै राम्रो लग्यो र सधै नया भाग आयो कि भनेर खोजिरक्छु .. यो कथा चै पुरानै भएपनि पढ्न नपाएको रैछु...आज एकैचोटी म सबै भाग पढेर भ्याए ..नसकियोस जस्तो लगिरथ्यो लास्तामा सक्किहाल्यो.. तिम्रो कथाहरु पढेर त त्यो काल्पनिक सुधालाई एकचोटी भेट्न मन छ!!

Smaran · Mar 26, 2015 11:08 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all