नयाँ नेपालको यात्रा नयाँ नेपाल कहिलिए पश्चातको दोस्रो नेपाल यात्राको संस्मरण लिपिबद्ध गर्ने प्रयास गरेको छु | यहाँहरुको साथ पाएँ भने यो क्रमलाई निरन्तरता दिने छु | आशा छ केही तीता पल र केही मीठा पलहरुसंग तपाइँहरुको साथ रहने छ | जे एफ के , टर्किस इअर र इस्तानबुल हवाई अड्डा ----------------------------------------------------- धेरै बर्ष तामेली रहेको नेपाल यात्राको लागि सस्तो टिकेट खोज्दै गर्दा टर्किस इअरले लोभलाग्दो प्रमोशन रेट दिएकोले मात्र हैन उडान अवधि को हिसाबले पनि इस्तानबुल हुँदै यात्रा गर्नु उपयुक्त थियो नै | सस्तो कस्तो हुन्छ भन्दा नि अमेरिकी भूमिबाट झारे झुरे प्लेन उड्ने हुँदैन भन्ने बिश्वास थियो | जेएफकेको टर्किस इअर दिपार्चार गेट पुगे पछी सस्तो मालको छनक देखिँदो रहेछ| इअर्लाइन्सका कर्मचारी गफैमा मस्त थिए, लाइन अस्तव्यस्त थिए | कुन लाईन बिजिनेस क्लासको कुन चाहि इकोनोमी, अझ इकोनोमीमा पनि कुन ग्रुपको कुनै संकेत- सूचना थिएन ...नेपालमा लाग्ने जुन सुकै लाइनको झझल्को दिने गरी अब्यबस्थित थियो | टाइम भयो ... “ बिजिनेस क्लास दिस वे ....इकोनोमी ग्रुप ए इज द्याट वे “ भन्दै लाइनलाई खण्डित बनाउँदाको दृश्य हेरी नसक्नु थियो | बेलाइनबाट र बे-क्लासको बोर्ड गर्दा नि बाल थिएन | जहाजको ढोका मै २ जना टर्किस भुसतिघ्रेहरु ह्याण्डक्यारी ब्यागको साइज नाप्न बस्या रैछन | मेरो ब्याग अलि ठुलो देखिन्थ्यो, तर अन्तर्राष्ट्रिय मापदण्ड भित्रकै थियो | “ तपाइले यो ब्याग भित्र लान सक्नु हुन्न, ब्याग ठुलो छ” भन्दै रोके | एक जनालेले बोर्डिंग पास को अधिकत्ति लिएर कुलेलाम ठोके र मैले किन ब्याग लान नमिल्ने भन्ने बहस सुरु गरि हालें | मेरो ब्याग चेक इन गर्दा तौलिदा के हेरेर बसेको, अझ बोर्डिंग गर्दा न रोक्ने , प्लेनको मुखै मा रोक्ने के चाला हो यो – म पड्किए | इन्टर्नेशनल साइजको हो, कसरी लान न पाउने म पनि हेर्छु भने | त्यतिन्जेल अघि मेरो बोर्डिंग पासको टुक्रा लिएर जाने लौका ब्यागको ट्याग बनाएर आइहालेछ | “तपाइंको ब्याग कार्गोमा जान्छ , काठमाडौमा पाउनु हुन्छ” रे | म यो ब्याग कार्गोमा राख्न दिन्न, नाप तौल गरौँ कसरी मिल्दैन हेरम , मैले नि अड्डी लिएँ | त्यसो भए यसमा छिराउनुस भनेर गेट संगै ब्यागको साइज नाप्ने भाँडो देखाए | लौ हेर कसरी छिर्दैन भनेर मैले नि मज्जाले छिराई दिएँ | बेफ्वांकमा मलाई मात्र हैन अन्य यात्रुलाई समेत असुविधा हुने गरी अपरिपक्वता दर्शाए | सस्तो टिकेटको यात्रा कस्तो कस्तो लाग्न थालिसकेको थियो | प्लेन उड्यो | प्लेन भित्र वितरण गर्नु पर्ने सबै आइटमहरु दिए | रातको ११.१५ को उडान, भोकले साउती गरी सकेको थियो | टाइम मै खाना ल्याए | खाना ठिकै थिए तर मात्रा .....| म जस्तो औसत नेपाली साइजको पेटलाई त पुग न पुग थियो तर ज्याङ्गो खैरेको सन्तानलाई चाही... म सोच्दै थिएँ | १० -११ घण्टाको उडान मा बीच मा केही खाने पिउने नाई....| भोक लाग्न थाले पछी यात्रुले विमान परिचारिकालाई बोलाउने वटन थिच्ने क्रम सुरु भयो | मलाई नि तिर्खा लाग्यो, मैले नि थिचें ...| बाल छैन बाई ...| त्यो घन्टीको कुनै जवाफ छैन | सब जना खाना राखेको सानो कक्षमा गएर स्यान्द्विच, पानी , जुस लिंदै फर्किंदै गरेको लाजमार्दो दृश्यमा आफु पनि समाहित हुन पुगें | इस्तानबुल पुग्ने बेलामा फेरी खाजा खुवाए | इस्न्ताबुल पुगियो | प्लेनबाट निस्कदै ट्रान्जिट पेसेंजेर भन्ने सोचक हेर्दै गएँ | ट्रान्जिट पेसेंजेर भन्ने लेखिएको बाटोमा रातो रिबनले बन्द गरिएको भेटियो | सबजना त्यता रोकिए | किन बन्द, बन्द भए बैकल्पिक बाटो देखाउने कोइ आएन | धेरै बेर सप्पै जम्मा भैसक्दा पनि कोइ आएन | पाइलट महाशयहरु निस्कँदा बल्ल यही बाटो जाने भनेर देखाई दिए | निस्कने बित्तिकै फेरी सेक्युरिटी चेकजाँच | त्यो नि गरियो | अब्यबस्था यस्तो थियो कि पाइन्टको पेटी अर्कै डुकुलंथुकले लिएर हिडी हाले | भर्यांग उक्लेर मुख्य ट्रान्जिट एरिया त फूड कोर्टको मुखैमा रहेछ | एक छिन आराम गर्नु पर्ला भनेर यसो निस्कें... बिसौनीको खोजीमा ...| बस्ने ठाउँ भए पो पाउनु ....हजारौं ट्रान्जिट यात्रीको लागि मुश्किल ले १०-१२ कुर्सिको ब्यबस्था रहेछ | ट्रान्जिट एरियामा यति मान्छे थियो कि मानौ दशैँ तिहारको बेला असन चोकको हाल जस्तो थियो | बाटोको बीच बीच मा खाने र पिउने पसलहरु | तपाईलाई थकाइ लागेको छ भने आउनुस , बस्नुस पैसा तिरेर जानुस भनेर स्वागत गर्न बसेका कफी शप र स्यन्द्विच पसल| नबसी धरै भएन | एक कप फिका चियाको ६ टर्किस लिरा ... एक्सचेन्ज रेट १ डलर बराबर २ लिरा | ३ डलर तेरेरै भए नि एक छिन त बस्नु पर्यो भनेर एक कप चिया मागें ..| ६ लिरा प्लिज – भने | मैले डलर डलर भनें, ४ डलर भन्छ बा टर्किस तरुनी ...| हाउ ४ डलर भनें , तरुनीले मस्किन्दै १ डलर इज १.५ लिरा पो भन्न थाली . ठग कहीं कि ....| त्यै पसल को सामुन्ने मैले पैसा साट्ने बैंक देखेको थिएँ | मलाइ नि झोंक चल्यो | १ मिनेट. आइ विल गिभ यु टर्किस लिरा भन्दै अगाडीको सराफीको पसलमा डलर साटेर दिएँ | झन्डै ४ घण्टा ट्रान्जिट टाइम थियो | काठमाडौ फ्लाइटको लागि दिपार्चर गेट नै निर्धारण नगरेको अवस्थामा त्यो मूल एरियाको वरिपरी टहल्दै गेटको जानकारी प्रतिक्षारत थिएँ | ८.४५ बेलुकीको फ्लाइट, बल्ल साढे सातमा गेट नम्बर आयो ... दङ्ग परेको र फेरी खिस्स ....| ३.५ घण्टा ढिला भन्ने सूचना | ठिकै छ भोक लाग्या बेला खाएर आउनु पर्र्यो भनेर फूड कोर्ट तिर लागियो | दर भाउ चाहार्दा डर लाग्यो | एउटा क्यान कोक को ६ डलर, बर्गर किंगको डलर मेनु ५ डलर .... चाइनिज भात मासु को १५ डलर ... | भोकै मर्ने कुरा भएन | चिकेन भात नमिठो खाएँ | १२.१५ राति उडान भएकोले ११ बजे तिरै निर्धारित गेट मा पुगें . एक जना तर्किस इअरको ब्याच लाउने आएर ... यु ह्याव फूड एत् बर्गर किंग पो भन्छ बा................| अघि नै भन्नु पर्दैन साले ...अब १० % यात्रु न भएको बेला खानाको ब्यबस्था छ भन्न आउनुको रहस्य र सस्तो टिकेटको बीच सम्बन्धन खोज्न कर लाग्यो नै | प्लेन उड्यो | साढे ६ घण्टाको उडान | सिटमा टिभी थिएन | भित्ताको टिभी पनि अफ थियो | समय मुश्किलले कटाईयो | काठमाडौ पुगियो, तर प्लेन काठमाडौ वरिपरी घुमाएको घुमाए नै ... हुस्सु र ट्राफिक जामको दोहोरो मार | जति कष्ट सहेर पनि आफ्नो माटोको सुगन्धको स्पर्शले दुख भुलियो | आफ्नी सुटकेस बोकी नयाँ नेपालको दर्शन भाग २ मा निस्कें........ क्रमश:
rahulvai · Jan 6, 2014 11:20 AM · 75,370 views
नुनले गाल्छ भने उखानको पुस्टी आठौ भागले गरे जस्तो लाग्यो | Last edited: 09-Feb-14 07:27 AM
MAGORKHE1 · Feb 7, 2014 8:43 PM
भाइको घर तिर अजै power आको छैन जस्तो छ
KaliKoPoi · Feb 14, 2014 8:57 AM
नयाँ नेपालको यात्रा अन्तिम भाग साझा भेटघाट नेपाल भ्रमणको एउटा उल्लेख्य पाटो साझाका मित्रहरु संग भेटघाट पनि रह्यो | साझा च्याटमा चर्चित मर्सिनोभाको पहलमा साझामा सक्रिय केही सदस्यहरु संग भेटघाट एवं खाजा कार्यक्रम गरिएको थियो | त्यसो त मर्सी बहिनी आफ्नै टोलको भए पनि भेटघाट कहिलेइ भएको थिएन | दिनको दुइ बजे जुद्ध शालिक निर उपस्थित हुने उर्दी जारी भएको थियो मर्सीको | “को को आउंदै छन् त ? “ मैले फोनमा सोध्दा , त्यो त गोप्य हो भन्दै कौतुहलता बढाई दिएकी थिइन् | दुइ बजे ठ्याकै जुद्ध शमशेरको शालिक नियाल्न पुगेको थिएँ | केशब राज पिंडालीको शालिकहरुको सम्मेलन याद आयो | एक दिन सबै शालिकहरुको भेला सैनिक मंचमा बोलाइएको थियो रे | सबै पुगे, जंगेले हाजिर लिंदा जुद्धे गायब | चन्द्र शमशेरलाई बुझ्न भने छन् जंगेले | पछी थाहा भो , जुद्धे त घोडा नभएको शालिक भएर हिडेर आउन न मानेको रहेछ| त्यै ठिङ्ग उभिएको जुद्ध शालिक निर उभिंदै यता उता अस्त ब्यस्त ट्राफिक र मानव सागर हेर्दै थिएँ – मर्सीले हात हल्लाउदै क्रिस्टल होटल तलआउन इशारा गरी| पहिलो पल्टको भेट थियो तै पनि बर्षौं देखिको चिनजान र नाता जस्तो आत्मियता थियो | “रिडललाइ फोन लाउछु , २ बजे आइपुग्छु भन्दै थियो “ मर्सीले फोन लगाई | रिडल बिचरा बिशाल बजार निर को पेटीमा हामीलाई खोज्दै रहेछ| भोक पनि लाग्ने लाग्ने बेला भैसक्याथ्यो | साढे ९ मै भात बजाएर घरबाट निस्केको | आवारा र इक्लेतिक दुइजना नि आउदै छन् , अहिले हामी जाँदै गरम भन्दै पिपलबोट अगाडी को बडेमानको टावरको सबैभन्दा माथिल्लो तल्लामा लागिन् | यो आठ दस वर्षमा भएको काठमाडौको भौतिक बिकासको एउटा नमूनाहि टावरहरु | बत्ति नभएको देशमा १०-१५ तल्ले बिल्डिंगहरु ठडिनु बिकास भन्दा बिनास हुनसक्दछ | सोच्ने कसले ?? केही भन्यो कि तिमीहरु अमेरिकामा बसेर नेपालको बारे मा धेरै न खोक भन्ने चेतावनी पाइन्छ | म:म: चिया कफी फ्रेन्च फ्राई आदि इत्यादि मगाई खाइयो | खाने त बहाना मात्र थियो | साझाका साथीहरुको १२ सत्ताइस कुरा जो गर्नु थियो | एक डेढ घण्टा पछि इक्लेतिक र आवारा दुवै आए | अंग्रेजीमा राम्रा कथा लेख्ने इक्लेतिक, कथा भन्दा धेरै शालीन र कम बोल्ने रहेछ | त्यसो त कुरा काट्ने बाहेक अन्य कुरामा सबै जना लास्तई भलादमी थिए नै | शान दाइ देखि भान दाई सम्म को कुरा काटियो, लहरे देखि पहरे सम्मको समालोचना गरियो | सवा दुइ बजे भेला भएका हामी निस्कदा झन्डै ६ बज्दै थियो | चार घण्टा त्यो अनमोल घडी .. साझाले जुटाई दिएकोमामा शान दाई लाइ धन्यबाद | मलाई पुतली सडक जानु थियो, इक्लेतिकलाइ भक्तपुर तिर | संगै गफ गर्दै नेपाल हावा सेवा निगमको अगाडी माइक्रो र टेम्पूको रणभूमिमा पुग्यौं | कुन टेम्पू पुतली सडक भएर जान्छ भन्ने सोध्ने समेत अवसर मिलेन , दाइ त्यै टेम्पू मा झुन्दिनुस – इक्लेतिकले सल्लाह दिए | म माइक्रो मा जान्छु भन्दै हुइकिदै गरेको माइक्रोमा झुण्डिए | अमेरिकामा अध्ययन गरी , काम गरी , स्वदेश फर्केर काम भन्दा बढी हल्ला गर्ने जमातलाई साझाका मित्रहरुले हल्ला नगरिकन देश सेवा गर्न सकिन्छ भनेर देखाई दिएका छन् | आशाका किरणहरु न देखिएको हैन , धमिलो छ त्यति मात्र हो | उपसंहार समष्टिमा नेपाल भ्रमण मिश्रित रह्यो | घोषित ३ बूंदे काममा २ काम बनेन | अनेक झन्झट पार गरी एम आर पी बनाउने बाहेक मेरो व्यक्तिगत अड्डाको काम बनेन | दोष कसैलाई दिन्न | सिस्टम भित्रको एउटा मान्छे आफै पनि भएकोले धेर्थोक दोष आफ्नै मानेछु | रेमिट्यान्सले चलेको अर्थ तन्त्र निकै फस्टाएको देखें | बेकारको मान्छे पनि कार चढेको देखें| साथी भाइले प्रगति गरे | संगै बिना चप्पल पांग्रा गुडाउने साथी चार पांग्रे हुन्डाई गुडाउन्छन् | इलाहाबादी साथीहरुले आयोजना गरेको पार्टीमा ६५ वटा हात्ती गनेर भुक्तानी देइएको पनि देखें ( १० जना को भेलामा ) | पहिलो पल्ट डबल ब्ल्याक लेबल भन्ने मदिरा देखें र अलिकति चाखें| हामी अम्रिका बस्नेहरु पो गरिब देखें | १० सेन्ट सस्तो ग्यास स्टेशन खोज्दै हाल्ने हामी, ६५ हजार अर्थात ६५० डलर त्यो पनि दुइ जनाली मात्र बेहोरे | जिन्दगी कसको सफल भन्ने कसको असफल, अलमल मा छु | जिन्दगी हो, आफ्नो आफ्नो हिस्सा को जिन्दगी जिउनै पर्छ , आफ्नो आफ्नो किस्सा सिउनै पर्छ | परदेशमा न पाइने आफन्तको माया, आत्मीयजनको साथ धेरै पाएँ | ग्वारामरी. लाखा मरी, सेल मालपुवा ...........| महेन्द्र बौचाको म:म:, झोछेंको छोयला, सपू:म्हिचा, जिब्रो फ्राई , टाउको फ्राई , आलु तामा , चो ही , पांग्रा फ्राई ........ यिनीहरुको स्वाद म परदेशमा कहाँ खोजुं?? दुइ टन धुलो खानु परे पनि नेपाल जाउँ जाउँ लागि रहन्छ | { टर्किस इअर र इस्तानबुल हवाई अड्डा बारे अरुले पनि लेखि सकेका छन् , पहिलो भागमा नि लेखेको थिएँ , जाँदा खेर भन्दा आउँदाको अनुभव अझ तितो रह्यो, बेलिबिस्तार लाउन मन लागेंन } बाकी अर्को भ्रमणमा ........ अस्तु !!!
rahulvai · Feb 19, 2014 8:43 AM
ठुल्दाई, हजुरको यो अन्तिम भाग मलाई सबै भन्दा घतलाग्यो .... केशवराज पिंडालीको त्यो कथा सुनेको थिईन रमाइलो लाग्यो.... अंतर्जालमा खोजेको केशवराज पिंडाली नै कहीं भेटिन .... Eclectic को लेखाईको त म प्रसंसक नै हुँ, मान्छे कस्ता छन् भन्ने लाग्थ्यो , त्यो नि बुझियो हजुरको कृपा ले .... साझाका साथिहरु र अन्य जो देश फर्केर सेवारत हुनुहुन्छ , मेरो मन अनि शिर नुहाएर धन्यावाद . कुनै दिन म पनि त्यो कतारमा उभिनसकूँ भन्ने प्रगाढ इच्छा छ ..... हेरुँ समयले कहाँ पुराउंछ... अनि ठुल्दाई सहि भन्स्यो, नेपाल गएर फर्केपछि म त यहाँ गरिब रहेछु कन्जुस रहेछु जस्तो भान भएको थ्यो मलाइ पनि .... पैसा त खोला जस्तो बगाउँदा रहेछन .... कहाँ बाट आयो यत्रो पैसा .... अचम्ममा परें... हजुरको संस्मरणले फेरी झझल्को ताजा भो नेपालको , कता कता नेपाल दुख्यो मुटुको कुनो मा .... कता कता म भित्र केहि अपुग केहि कहीं छोडिएको छुटेको जस्तो लागिरह्यो ..... साँची नै > मलाई पनि > - थाहा छैन
ThahaChaena · Feb 19, 2014 9:59 AM
साष्टाङ्ग दण्डवत् ठुल्दाइ ! सप्भन्दा पैला त । साझा छिर्ने सप्पै त नभनुम् तर प्राय: (म लगायत) को नेपाल आवत-जावत भा'कै हुंदो हो तर खोइ त जांगर, दाईको जत्तिकै ! 'नयाँ नेपालको यात्रा' पैले देखी नै पच्छ्याइ रहेको हो, क्लाइमेक्स् पछी नै केइ लेखुम्ला भनेर मात्रै । उसो त हजार कुराहरु हर दिन मडारीरहेकै हुन्थे मगजमा, तेस्माथी दाइले जसरी समापन गर्नुभो नियात्राको - तेल्ले त भुइंचालै ल्याइदियो । कुनै एक वाक्यांश वा हरफलाई किटेर टिप्पणी दिन गार्हो भो दाई किनकी शिरदेखी पुछार सम्मकै सप्पै घटना र विम्बहरु घतलाग्दाछन् । बरु एउटा भोगाइ नै बांड्छु, मन्लाई संधै चिमोटी रहने :- दशक अगाडी जस्तोको कुरो हो, टि यु मा स्नातकोत्तर पढ्दै गर्दाको । कमिजको टांक नलाउने विध्यार्थी भनेर चिनिन्थें म, धेरैलाई नाम था'थेन - धेरैसँग चिनापर्ची 'नी भएन; म क्लासमा भन्दा क्यान्टिन र पुस्तकालय तिरै बेसी हुन्थें ! बदमाश त खै आफुले आफैलाई कसरी भन्नु, तर तेस्कै पर्यायवाची जस्तै केही थिएं म । के-के गर्दा एकजना सहपाठीसँग घनिष्टता बढ्यो क्यान्टिनमै, उन्लाई क्लास भ्याउनासाथ् अफिस दगुर्नुपर्ने - मलाई तरकारी शपिङ गरेर पकाउन अल्छि लाग्ने ! अध्बैंसे थिए उनी; साह्रै सोझा, मिलनसार र इमान्दार - पछी था'हुंदै गो । एकदिन 'डिनर' खान बोलाए कोठामा, पुरानो बानेश्वरको भित्रपट्टी । जसो-तसो पुगें, जसो-तसो खाएं; पाहुना आउंदा सकी-नसकी, मिठो-चोखो पश्किने चलनको म घोर बिरोधी थिएं, छु । धर्म, समाज र तात्कालिन केही गरम कुराका बारेमा कुरा भए । कुरा गर्दै जांदा भाउजुले पनि खुलेरै कुरा गर्न थालिन् तर अंझै सम्म पनि मलाई एदा-कदा ऐठन पार्ने प्रश्न थियो, "भन्नुस् त बाबु, हिम्मत हुनेले घुस खान्छन् कि खान्नन् ?" निम्ता र भ्याए अनुसार, पछी पनि गएं म ति मित्रकोमा । भाउजु तर जैले नि उस्तै; पोइको आम्दानी प्रती रुष्ट ! बाहिर मलाई छोड्न आउंदा एक दिन उन्ले भनेको वाक्य ऐले पनि म झल्झली सम्झिन्छु, "जिन्दगीमा केही गर्ने दृढ संकल्प छ भने विहे नगर, मान्छे कम्जोर हुंदो रैछ" ! तर आफ्नो मोटो बुद्दी त्यो बेला, आफ्नो त दृढ संकल्प नै काइंलीलाई विहे गर्ने थियो ! पछी म एता आएं, सम्बन्ध पनि धमिलिदै गयो - तर सामाजीक संजालमा हाइ/हेलो हुन्थ्यो कैले-काईं । एक दिन लामै ईमेल लेखे उन्ले, सञ्चयकोष निकालेर किनिदिएको मोटरसाइकल, छोरोले ठोकेछ कसैलाई, ५० हजारमा मिलापत्र हुन सक्छ रे । मैले घर-सल्लाह गरेरै सहयोग गरें, फोनमा भनेको पनि हुं 'फिर्ता लिन्न है, धेरै भात खा'छु तपाईंकोमा, तेसैमा कट्टी भो' । तर उन्को ब्र्म्हले के सोच्यो कुन्नी, रामजाने ! १ महिना नपुग्दै मेरो घरमा ५० हजार पठाइदिएछन् । धेरै भो, सम्पर्कमा छैनन् उनी, 'राम्रै' गर्दै होलान शायद, उनीसँग भएको अन्तिम कुराकानीको एउटा अंश चाईं एस्तो थियो; ".. केरे ? हैन, कल्ले भनेको ? धरोधर्म ७ लाखमै पास् गर्द्या हो मैले त । .. सबैतिर पुर्याउनु पर्छ भाई, कां को करोड राख्न पाउनु यार हामी एक्लैले ?" (स्यानदाइलाई अनुरोध छ; संभव भए, २-४ दिनकोलागी मात्रै भए पनि, ठुल्दाइको यो यात्रालाई माथितिरै ठेल्न मिल्ला कि ?)
caliber19 · Feb 19, 2014 4:31 PM
नमस्ते ठुल्दाई, पढ्दै जाँदा तपाईंको यात्रामा सँग-सँगै घुमे जस्तो लाग्यो। धेरै धेरै धन्यवाद तपाईंलाई। अन्तिम भागको सन्देश धेरै नै घत पर्यो। बिशेषगरी : "आशाका किरणहरु न देखिएको हैन , धमिलो छ त्यति मात्र हो |"
daum · Feb 19, 2014 6:28 PM
ठुल्दाई को यो भाग त आउने बित्तिकै पढेको थिए, तर सोच्दा सोच्दै समय बिति गयो.... "बेकारको मान्छे पनि कार चढेको देखें| साथी भाइले प्रगति गरे | संगै बिना चप्पल पांग्रा गुडाउने साथी चार पांग्रे हुन्डाई गुडाउन्छन् ........... हामी अम्रिका बस्नेहरु पो गरिब देखें " म पनि सन्जोग बस् २००९ मा नेपाल गएको थिए. घर मा पुरानो साइकल मात्र थियो, मज्जाले चढेर हिडियो . एक जना छिमेकी दाइ (जग्गा को कारोबार गर्ने) चप्पल बाट चार पाङ्गे हुन्डाई गुडाउने रहेछन.... येसो चौतारी मा बसी बियालो के गरिएको थियो, आफ्नो छोरा लाइ बोलाएर " हेर छोरा, धेरै पढेर के हुन्छा र ? यी हामि नपढे पनि गाडी चढेका छौ , पैसा कमाएका छौ, बरु धेरै पढ्ने हरु साइकल चलौछन " भन्छन बा..... "कुण्ड कुण्ड पानि मुण्ड मुण्ड बुद्धि " भन्ने सम्झेर चुप लागेर बस्नु पर्यो....... साएद ठुल्दाई ले भने जस्तो " हामी अम्रिका बस्नेहरु पो गरिब देखें" भएर होला Nepal बाट आउने हरु ले येहा बस्ने लाइ होमलेस भनेको...... ठुल्दाई को नया पुस्तक को प्रतिक्ष्या मा ....
baaramaase · Feb 20, 2014 1:03 PM
आफुसँग लगेको कम्पुटर छोडेर आउन सकिएन, आफन्तलाई परलमोलमा बेचेर आएको थिए: यो भाग पढे पछी केही राहत मिलेको छ् | Last edited: 23-Feb-14 02:36 PM
magorkhe1 · Feb 20, 2014 6:21 PM
नोभेम्बर र डिसेम्बर महिना बीच एक महिने नेपाल बसाइको संस्मरण भनुं या गन्थनलाई धैर्य धारण गरी पढी दिनु भएकोमा सम्पूर्ण सहृदयीहरुमा आभार प्रकट गर्न चाहन्छु | आइ फोन खोज्ने देखि आइप्याडको आश गर्ने लोभी आत्माहरु नभेटीएका हैनन् | धेरै कुराहरु लेख्ने क्रममा छुटेका छन् | फेरी जाँगर चल्यो भने कथाको रुपमा फेरी आउला नै | यति लामो यात्रा गन्थनलाइ सुरु देखि पछ्याई रहनु हुने तथा टिप्पणी गर्नु हुने - थाने भाइ , नियो , बाघ दाइ , snurp, rastrafariya, कर्ने भाइ , १२ मासे दाइ , keyser soze, wtf, TMS, S_USA, Bitter _Truth, भक्ते दाइ , magorkhe1, daum , काले तथा अन्य सबैमा पुन: आभार |
rahulvai · Feb 24, 2014 8:31 AM
राहुलदाइलाइ एउटा सानो अनुरोध थियो! येति छोटो नेपाल भ्रमणलाइ त एस्तो ढङ्गले प्रस्तुत गर्नुभयो! हामीभन्दा धेरै पाका नभएपनि, जीवनमा हामीभन्दा धेरै उतारचढाव, अनि खासमा त, नेपालकै धेरैचोटी बदलिएको रूपलाई हजुरले विभिन्न अन्तरालमा देख्नुभएकोले, त्यो अनुभव व्यतित गर्नुभए सारै सराहनीय हुन्थियो जस्तो लाग्छ! मूलरूपमा भन्नु पर्दा आज भन्दा ३०-३५ वर्ष अगाडिको काठमाडौँ अथवा नेपालको रुप, अनि तेतिबेलाको जिवन्सैलिको बारेमा पढ्न पाए सारै रमाइलो मानि धेरैले पढ्थे जस्तो लाग्छहै मलाई! मैले पनि मेरो छोटोमिठो भ्रमणलाइ केहि शब्दमा कोर्ने सोच बनाएको थिएँ तर हजुरको लेख पढेपछि आफुले अफ़्फ़ैलै ब्यङ्ग मा उडाएकोजस्तो पो हुने जस्तो लागेर मेरो त्यो सोच्ने गायब भयो! साझाकै ३-४ जना मानिसहरु भेट्दा अनौठो अनि मिठो लागेको थियो! अब छिट्टै हजुरको प्रचलित मो मो खाने धोकोपुराहोस भन्ने आशा छ!
riddle · Feb 24, 2014 10:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion