भंगेराका घरबेटी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भंगेराका घरबेटी घरको दक्षिणी मोहडाको भित्तामा प्वाल नै प्वाल बनाएपछि नख्खु, मिलन चोकका लोकबहादुर थापालाई धेरैले एउटै प्रश्न सोधे, 'यति राम्रो घरमा के गरेको यस्तो ?' सबैलाई थापाको जवाफ एउटै थियो, 'धर्म गरेको।' कुनै समय नापी विभागदेखि नेपाली सेनासम्मको जागिरे, कार्पेट अनि पित्तलका भाँडाका व्यवसायीदेखि जग्गा व्यापारीसम्म भएका थापा अहिले खास्साका चराप्रेमी भएका छन्। त्यसैले त उनले आफ्नो घरका भित्तामा भँगेरालाई गुँड लगाउन ५५ वटा प्वाल बनाइदिएका छन्। त्यति मात्र होइन, उनी मर्निङ् वाक सकेर फर्केपछि कचौराभरि चामल बोकेर छतमा उक्लिन्छन् र चराले नखाएसम्म हेरी बस्छन्। यो बेग्लै कुरा हो कि उनलाई पर्यावरणीय दृष्टिकोणबाट चराको महत्त्व के छ भन्ने जस्ता प्रश्नहरूको उत्तर भने थाहा छैन। ४ कक्षा मात्रै पढेर के भो र ? उनको उदात्त चित्त पढालिखा मान्छेको भन्दा फराकिलो छ। त्यही भएर त उनी भंगेरा र परेवालाई आहार खुवाएरै मासिक आठदेखि नौ किलोसम्म चामल सक्छन्। चराका अन्नदाता भएर, तिनले गर्ने फोहोर र बिस्टा सोहोरेर उनले के पाएका छन् त ? सजिलै उत्तर दिन्छन्, "मनको आनन्द।"  भंगेराको मधुरो चिरबिर आवाज औधी प्रिय लाग्छ थापालाई। यसरी चरालाई बास दिन पाएकामा खुसी पनि छन् । उनलाई लाग्छ, काठमाडौँ सहरमा मान्छे बस्ने अग्ला अग्ला घर छन्। तर, चराचुरुंगीका लागि सहर अफापसिद्ध हुँदै गएको छ। रूखहरू छैनन्, चराले गुँड बनाएको कोही देखिसहन्न। भन्छन्, "धेरैले चराले गुँड बनाए फोहोर गर्छन् भन्ने सोच्छन्। मैले जस्तै घर बनाउँदा भित्तामा केही प्वाल बनाए चरालाई गतिलो बास मिल्थ्यो।" अरू केही नभए पनि यस्तो कामले धर्म मिल्छ भनेर धेरैलाई भनिसकेका छन् उनले। तर, उनका कुरा खाने कमै छन्। भन्छन्, "मान्छेलाई सधैँ आफ्नै बासको मात्रै चिन्ता छ।" धार्मिक स्वभावका थापाको बुझाइमा मान्छेले मृत्युपछि ८४ लाख जुनी विभिन्न चरणमा गुजार्छ। भन्छन्, "मैले भंगेराको जुनी लिएँ भने बास नपाउने समस्या नरहला।" बासको के कुरा, चराका लागि काठमाडौँमा पिउने पानीसम्म छैन। चैत/वैशाखको सुक्खा याममा काठमाडौँ चराहरू पानी नपाएर प्याकप्याक हुन्छन्। उनले भने घरको छतमा भंगेराका लागि पानीको समेत प्रबन्ध गरिदिएका छन्।  तीन छोराछोरीका बाबु यिनलाई आफ्नो घर सधैँ भरिपूर्ण भएजस्तो लाग्छ। किनभने, अरूको जस्तो उनको घरमा कहिल्यै सन्नाटा छाउँदैन। भंगेराहरूको चिरबिरले उनलाई आफ्नो घर सधैँ रोमान्टिक लाग्छ। चराहरूको संगतबाट थापाले धेरै कुरा बुझेका छन्। चरासम्बन्धी थुप्रै किस्सा र कहानी सुनेका छन्। उनले सुने अनुसार गौँथली बचेरा हुर्काएपछि गुँड त्यही बच्चालाई छाडेर काशी जान्छ रे ! तर, भंगेराले बचेरा हुर्केपछि गुँड त छाड्छ तर बास बनाउने ठाउँ हतपती भेटिँदैन। ती कतिपय उनकै घरवरपर घुमिरहेका हुन्छन्। त्यही कारण उनलाई भंगेराका निम्ति अझै बासस्थान बनाइदिन मन छ। http://www.ekantipur.com/nepal...

metta · Jan 5, 2014 12:32 PM · 1,462 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all