अमेरिकामा बस्ने नेपालीमा चुक्र्याईं बढी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

- प्रा. डा. खगेन्द्र प्रसाद लुईटेल, बरिष्ठ समालोचक              त्रिभुवन  विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा रहनुभएका प्राध्यापक डाक्टर खगेन्द्र प्रसाद लुईटेल अमेरिकाको भ्रमणमा हुनुहुन्छ । अमेरिकामा साहित्यिक कार्यक्रममा भाग लिन आउनुभएका बरिष्ठ समालोचक लुईटेल विगत लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा सकृय हुनुहुन्छ । बेलायतपछि अमेरिकाको भ्रमणमा आउनुभएका खरो स्वभावका लुईटेल स्पष्टवक्ता समेत हुनुहुन्छ । साहित्यका समालोचक लुईटेलले  खसोखास साप्ताहिकले न्युयोर्कको गरेको कुराकानीमा अमेरिकामा बस्ने नेपाली र नेपाली साहित्यकारका बारेमा समेत समालोचना गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको मुख्य अंश ।     तपाईको यो पहिलो अमेरिका भ्रमण कस्तो रह्यो ? म अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा भाग लिनका लागि अमेरिकामा आएको हुँ । त्यसमा कार्यपत्र पेश गर्नुपर्ने थियो । मुख्य वक्ताका रुपमा पनि म थिएँ । मलाई डायस्पोरा पुरस्कार पनि दिइएको थियो । यी सन्दर्भहरु जोडिएका छन् । त्यसै सन्दर्भमा वासिंटन डिसीमा आएका थियौं । त्यसपछि अन्य क्षेत्रमा पनि साहित्यिक गतिविधिमा सहभागी भयौं ।  अमेरिकामा नेपालीसँग भएका भेटघाटमा कस्तो अनुभव गर्नुभयो ? अमेरिका ठूलो छ भन्थे साँच्ची ठूलो रैछ । ठूलोमात्र होइन, बुझिनसक्नु रहेछ । देशमात्र होइन, मान्छेपनि बुझिनसक्नु रहेछन् । नेपालमा बुझेका मान्छेपनि अमेरिका आएपछि बुझ्न नसकिने भएछन् । सबैभन्दा अनौठो त मलाई यही लाग्यो । उता हामीले अमेरिकी समय भनेपछि मिनेट त के सेकेण्ड पनि फरक नपर्ने भनेर बुझ्थ्यौं । तर यहाँ त नेपाली कार्यक्रममा दुईघण्टा ढिलो त सामान्य हुँदो रहेछ । आफू समयमै पुगियो भने दुईघण्टा त कुरेर बस्नुपर्ने रहेछ । यो नेपालीहरुले उतैबाट जस्ताको तस्तै ल्याएको पैत्रिक सम्पत्ति रहेछ । नेपालीहरु उताबाट यता आइसकेपछि उताका जे जे राजनीतिक रंग , गन्ध थिए, ति सबैलाई सकेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोडेर आएको भए राम्रो हुने थियो । भैगो नि त एकछिन छोड्नै सकिएन भने कतारतिरको ट्रान्जिटमा छोडेको भएपनि हुने थियो । त्यहाँबाट यता आएपछि अमेरिका एयरपोर्टमा भएपनि छोडेको भए हुन्थ्यो । नेपालीहरुको चुक्र्याई गर्ने बृत्ति उतैबाट प्याकिङ गरेर इमिग्रेशनमा पनि देखाउन नपर्नेगरी अमेरिकै ल्याएको देखियो ।  एउटाले अर्काको खुट्टा तान्ने, एउटाले अर्कालाई नगन्ने, सबै मै हुँ भन्ने प्रवृत्ति देखियो । मैले नेपालीहरु रहेका संसारका धेरै मुलुकहरु देखेको छु । त्यसमा दुईवटा मुलुकहरुप्रति मलाई धेरै आशा, भरोसा थियो । त्यो मध्ये एउटा थियो बेलायत, अर्को अमेरिका । बेलायत भ्रमणबाट फर्केको एकहप्ता लगत्तै म अमेरिकामा आएँ । मैले बेलायतमा जे पाएको थिएँ, अमेरिकामा त्यस्तो पाउन बाँकी छ, वा पाउँदिन त्यो मलाई थाहा छैन । बेलायतमा पनि चुक्र्याई त छ, त्यो नेपालीहरुको पैतृक सम्पत्ति हो । समानताको सिद्धान्त बेलायतमा पनि रैछ । सबैजना तल बस्ने, यदि कोही माथि गएमा आफू पनि माथि जाने प्रयत्न गर्ने होइन कि माथि गएकोलाई पनि स्वाट्ट तानेर तल लडाइदिने अनि बराबर भयौं, समान छौं भन्ने बृत्ति नेपालीको मूल प्रबृत्तिका रुपमा देखा परेको छ । त्यो प्रबृत्ति बेलायतमा अलिक नजानिदो पाराले रहेछ । अमेरिकामा चाँही अलिक जानिदो पाराले रहेछ । मौसम मात्र चिसो होइन, मान्छेको मनै पनि चिसो भइसकेको हो कि जस्तो लाग्छ । अमेरिकामा बसेका दक्ष नेपालीहरुले देशका लागि पनि केही गर्लान् भन्ने आशा पनि छ । त्यसैले मैले भन्ने पनि गरेको छु कि तपाईहरु सकभर मिलेर बस्नुस् । मिलेर बस्न सक्नुहुन्न भने झगडा चाही नगर्नुस् । अरु जेसुकै रंग देखाएपनि यहाँ मुल रंग नेपाली रंग देखाइदिनुहोस् भनेर मैले धेरै ठाउ अनुरोध पनि गरेको छु । आदर्शका कुरामा त जम्मैले सबैथोक बचाएर राखेको कुरा गर्नुहुदो रहेछ । तर अलिकति पर्तिर गएपछि चुक्र्याई सुरु गरिहाल्नु हुँदो रहेछ । उताका राजनीतिक दलहरुले जुनप्रकारले यता प्रत्यक्षरुपमा नेपालीमा प्रभाव पारेको देख्दा मलाई पीडा भयो । राजनीति गर्ने ठाँउ नैपालै हो । किनभने त्यहाँ काम छैन, विकाश छैन, राजनीति पेशा भएको त्यो एउटै मुलुक छ भने त्यो नेपाल मात्र हो ।  राजनीति भन्ने चिज संसारमा पेशा हुँदैन । त्यो एउटा सेवाको काम थियो । राजनीतिलाई पेशाको रुपमा मान्ने मुलुकबाट आएर त्यसलाई जस्ताको तस्तै यहाँ पनि लागु गर्न थालेछन् । हुँदा हुँदा अहिले भर्खरै खुलेका पार्टीहरुका पनि अमेरिकामा भातृ संगठनहरु खुलिसकेछन् । यसो हेर्दा नराम्रै मान्नुपर्ने होइन भन्ने ती राजनीतिक दलका साथीहरुलाई लाग्दो हो । तर बाहिर गइसकेपछि हामीले कम्तिमा नेपाली भएको गौरव कायम गर्न सक्यौं भने राम्रो हुन्छ । अमेरिकामा आइसकेपछि नेपालीले सानो भन्दा सानो गल्ती गरेपनि त्यो देशसँग गासिन्छ । त्यो कुरा साथीहरुले मेन्टेन गरिदिएको भएदेखि र चुक्र्याई कम गरेर नेपाली पनलाई कायम गरेको भए हुन्थ्यो । नेपाली पन भनेको लगाईमा दौरा, सुरुवाल, कोट , टोपी इत्यादी लगाएर मात्र होइन, नेपाली पन आत्मैमा हुनुपर्छ । बेलायतमा नेपाली दूतावासमा पुग्दा न त्यहाँ कुनै कर्मचारी थिए, न त राजदूत नै । एउटा झण्डा थियो, तर त्यो पुरै बटारिएको अवस्थामा थियो । म नेपालको मान्छे भएको हुनाले त्यो मेरो झण्डा बटारिएछ भनेर बुझें । नत्र त्यहाँ एउटा कपडा बटारिएको थियो । कमसेकम अमेरिकामा रहेको नेपाली दूतावासमा भने झण्डा फहराएको थियो ।  अमेरिकालाई तपाईले बाहिरबाट बुझ्दा  र अहिले छाम्दा के फरक पाउनुभयो ? अमेरिकालाई नेपालमा सपनाको मुलुकका रुपमा पनि लिने गर्छन् । प्राय सबै मान्छे अमेरिकामा एकपटक जान पाए हुन्थ्यो, जसरी भएपनि जान पाए हुन्थ्यो । जतिसुकै पैसा खर्च गरेर भएपनि , घरबारी सबैथोक बेचेर भएपनि जान पाए हुन्थ्यो भन्ने सोंच छ । अमेरिकी दूतावास अगाडि बैंक ब्यालेन्स बनाइन्छ भन्ने सम्मका सुचना देख्न पाइन्छ । एकजना अमेरिकन साथीले भन्दै थियो कि तिमीहरुको देश बडो गजब छ, कुनै मान्छेले सिंहदरवार पनि मेरै सम्पत्ति हो भन्ने कुरा लेखाएर ल्याउँछ , हामी त्यसलाई पत्याउन बाध्य हुन्छौं । त्यो सुन्दा मलाई पीडा हुन्थ्यो । अमेरिकामा आइसकेपछि प्राय मान्छेलाई बसौं बसौं लाग्छ । जहिले पनि एकठाउमा पुगेपछि बसौं बसौं लाग्छ भन्थे मलाई चाँही कहिले जाँउ जाँउ लागेको छ । मैले अमेरिका मन नपराएको होइन कि सबैमान्छे अमेरिकामा नै बस्नुपर्छ भन्ने मेरो मान्यता छैन । प्राकृतिक जाडोले नभई मानसिक जाडो जब मैले बढ्दा देख्न थालें, तब मलाई यस्तो अनुभव भयो । मेरो कल्पनामा अमेरिकामा यो भन्दा धेरै विकसित थियो । किनभने मैले अरु धेरै विकसित मुलुक पनि हेरेको छु ।  बेलायतको ट्रेन सिस्टम र अमेरिकाको टे«न सिस्टम हेर्दा बेलायतको जति सिस्टेमेटिक यातायात मैले अमेरिकामा देखिन । बेलायतमा पनि बाटोघाटो छ, अमेरिकामा पनि छ । तर सिस्टेमेटिक विकाश बेलायतमा जति राम्रो देखैं, अमेरिकामा त्यती देखिन । न्युयोर्कको ट्रेन हल्लाखोर गर्दै हिड्छ । रक्सौलको टे«नभन्दा पनि खट्खट् गर्दै आतंकै मच्चाएर न्युयोर्कको टे«न कुद्नु अमेरिकाका लागि अलिक नमिलेको हो कि जस्तो लाग्यो । न्युयोर्कको ज्याक्सनहाइटमा इन्डियन बजार रहेछ । धेरै नेपालीहरु पनि भेटिए । हिन्दीमा नै कुरा गर्दा रहेछन् । त्यस्तै खालको बजार बेलायतको साउथल भन्ने ठाउमा पनि रहेछ । भारतीय र चिनियाहरुको प्रभाव अमेरिकामा पनि देखियो । नेपालीहरुको पनि त्यस्तो हुने सम्भावना नरहेको होइन । विभिन्न ठाउमा थुप्रै प्रतिष्ठित नेपालीहरु पनि छन् । तर के के कुरामा तालमेल नमिलेको, एउटाले अर्कालाई नगनेको, सबैभन्दा म नै ठूलो हुँ भन्ने प्रवृत्ति यहाँ देखियो । अमेरिकाको ठूलो हाइटमा आफ्नो हाइट आफै मेन्टेन गर्न नसकेको हो कि भन्ने देखें ।  अमेरिकाभित्र साना नेपालहरु धेरै छन् । नेपालकै नेपाल राम्रो कि अमेरिकाभित्रका नेपाल राम्रो ? मलाई त नेपालकै नेपाल राम्रो छ । यहाँ बसेका साथीहरुलाई यहाँकै नेपाल राम्रो होला । तर अहिलेसम्म म अमेरिकामा जति ठाउमा गएको छु, हिडेको छु, मलाई अन्तै गएको छु भन्ने लागेकै छैन । सबै नेपाली साथीहरुले डूलाइरहनुभएको छ । मलाई त यहाँ अंग्रेजी भन्ने एकशब्द बोल्न परेको पनि छैन । सबै नेपालीहरुसँग नेपालीमा नै कुरा भइरहेको छ । त्यसैले मलाई अमेरिकामा नै आएको अनुभव भएको पनि छैन । तर अमेरिकामा नेपाल बनाएर बसेको भए राम्रो हुन्थ्यो । उतैको बानी भन्दा यतैको अलिक फराकिलो दिमागसहित बसेको भए हुन्थ्यो । उताको मानसिकता त्यागेर बसेको भए अलिक राम्रो हुने थियो । अमेरिकाको नेपाल र उताको नेपालमा  गहिरिएर हेर्दा के मात्र फरक देखियो भने उताका नेपालीहरु काम नगरिकन चुक्याई गरेर बसेका छन्, अमेरिकामा रहेका नेपालीहरुले चाही काम पनि गरेका छन् र काम गर्दा गर्दै पनि चुक्र्याई गर्न बाँकी राखेका छैनन् । त्यसैले अमेरिकामा रहेका नेपालीहरु एक स्टेप अगाडि छन् ।  अमेरिका भ्रमणका क्रममा नेपाली साहित्यको अवस्था कस्तो देख्नुभयो अमेरिकामा ? म अमेरिकाको नेपाली साहित्यसँग अमेरिकामा आएर परिचित भएको होइन । त्रिभुवन विश्वविद्यालयको प्राध्यापकको नाताले मैले धेरै अध्ययन अनुसन्धान गर्नुपर्ने र गराउनुपर्ने भएको हुनाले संसारमा कुन ठाउमा नेपाली साहित्यको विकाश कसरी भएको छ भन्ने जान्न जरुरी थियो । अहिले नेपालमा बस्ने हामी अमेरिकामा बस्ने नेपालीहरुले बोलाएपछि बुरुक्क उफ्रेर कुदेर आइहाल्छौं, अनि ठूला ठूला कुरा छाँटिहाल्छौं । बेलायत र अमेरिकामा नेपालबाट आउने कतिपय अनाधिकृत मान्छेले ‘तपाईको साहित्य बडो राम्रो रहेछ, म त्रिभुवन विश्वविद्यालयको कोर्शमा राखिदिन्छु’ भन्दै प्रलोभन देखाउने रहेछन् । जसको हैसियत नै छैन, उनीहरुले यहाँ आएर भनेको भरमा त्यस्तो हुँदैन भन्ने कुरा अमेरिकामा रहेकाहरुले पनि बुझ्नुपर्छ ।  अमेरिकामा बस्ने साथीहरुले नेपाली साहित्यको विकाशमा प्रयत्न नगरेका होइनन् । प्रयत्न भएकै छ । उता नेपालमा बस्नेहरुलाई उनीहरुको सृजनामा उत्तरआधुनिक चेतना छ भन्यो भने फुरुक्क पर्छन् भने अमेरिकामा बस्नेहरुलाई डायस्पोरिक चेतना छ भन्यो भने फुरुक्क पर्ने रहेछन् । डायस्पोराका बारेमा जुन भ्रम छ, त्यसलाई अहिलेका पुस्ताले चिर्न आवश्यक छ । नेपालबाट आउने कतिपयले यताका सर्जकहरुलाई तपाईको कृति दशककै उत्कृष्ट वा शतककै उत्कृष्ट समेत भन्न थालेछन् । नेपालबाट एकजना विद्धान आएर एउटा कृतिलाई विश्वकै उत्कृष्ट कृति भनिदिनुभएछ । म त छक्क पर्छु । मैलै विश्व नबुझेको हो कि ? विश्वमै उत्कृष्ट हुनका लागि उहाँले विश्वमा त्यसप्रकारका कृति कति हेर्नुभयो ? एउटैमात्र उत्कृष्ट हुन्छ भने अरु बाँकी किन चाहियो ? उत्कृष्ट हुनका लागि तुलना गर्नुपर्छ । तुलना गर्दा कुनका तुलनामा कुन उत्कृष्ट भन्ने छुट्याउनुपर्छ । त्यसैले हामीजत्तिको कोही मान्छे अमेरिकामा आउछौं भने हामीले गैरजिम्मेवार तरिकाले कुरा गर्नु हुँदैन ।      अमेरिकामा आउँदा कोही साहित्यकार भएरै आए । कोही अमेरिकामा आएर साहित्यकार भएका छन् । जहाँ भएपनि साहित्यकार भए, त्यसमा हाम्रो आपत्ति छैन । यहाँ पहिले कामको संकट भयो, कसरी जिविका चलाउने भन्नेतिर लागे । तर जब काम सुरु गरे, अलिकति कमाई पनि गरे । त्यसपछि मेरो परिचय के हो त ? भन्ने प्रश्न आफैलाई गर्न थाले । जब आइडेन्टिटी क्राइसिस हुन्छ, तब त्यसलाई जोगाउन डेढ दुईसयका हरिया खालका गुलिया मट्याङग्रा फुत्त नेपालतिर फाल्नुहुन्छ । आफ्नै नाममा पुरस्कार स्थापना गरिदिने गर्नुहुन्छ । जुन पुरस्कारको नाम सुन्दा र त्यो पुरस्कार लिंदा पनि साथीहरुलाई  हिनताबोध हुन्छ । डाडु पुरस्कार, चम्चा पुरस्कार भन्दा अलिकति राम्रो सुनिएला तर समाजमा कुनै हैसियतै नभएका, साहित्यिक हैसियत पनि हुँदै नभएकाहरुले पनि आफ्नो पहिचान कायम गर्न पुरस्कार राखेका छन्् ।  उता नेपालमा बस्नेहरु चाँही त्यो गुलियो मट्याङग्रो कतिखेर आफ्नो मुखमा पर्छ भनेर मुख बाएर बसेर अमेरिकामा रहेकाहरुलाई ‘तपाई त भयंकरै हो, उत्पातै हो’ भनेर फुर्काउने गर्छौं । अमेरिकामा बस्नेहरुले खोजेको पहिचान हो । हिजो खाने पैसा थिएन, अहिले घर, गाडि किनिसक्नुभयो । अब फर्केर हेर्दा आफ्नो पहिचान नदेखेपछि दुईचारसयका हरिया मट्याङग्रा नेपालतिर फ्याकेर दशैं तिहारको मौकामा नेपाल पुग्दै आफूले पुरस्कार राखेको भनेर हल्ला गरेर आउने बृत्ति देखिएको छ । उताका तथाकथित समालोचकहरु यता आएर ‘तपाईको कृति त एकदमै राम्रो , यस्तो कृति तपाईले कहाँ बसेर लेख्नुभए होला नि ’ भन्दै फुर्काउने गर्छौं । जहाँसुकेर बसेर लेखोस् । पीढीमा बसेर लेखोस् कि सिढीमा बसेर लेखोस् । त्यो महत्वपूर्ण कुरा होइन । तर त्यसरी फुर्काएपछि एउटा गुलियो मट्याङग्रो प्राप्त भइहाल्ने । म त त्यस्ता गुलिया मट्याङग्रा लिन आएको पनि होइन । त्यसैले मलाई स्पष्ट बोल्दा कुनै अप्ठ्यारो छैन ।  तपाई विभिन्न देशहरुमा पुग्नुभयो । अन्य देशका तुलनामा अमेरिकामा नेपाली भाषा र साहित्यको अवस्था कस्तो पाउनुभयो ?  अमेरिका र क्यानडामा नेपाली साहित्यसम्बन्धि विभिन्न संस्थाहरु कृयाशिल रहेको पाइयो । तर हाम्रो बानी के छ भने एउटा संस्थामा अलिक दिन बसेपछि अध्यक्ष हुनका लागि हानथाप गर्ने । एउटा संस्थाको अध्यक्ष हुनका लागि हानथाप गर्ने, हुन नपाए बुरुक्क उफ्रेर छोरा, छोरी , बुहारी दुईचारजना जम्मा गरेर नयाँ संस्था बनाएर अध्यक्ष भइहाल्ने प्रबृत्ति रहेछ । अमेरिकामा अर्को एउटा विचित्र के छ भने अध्यक्ष , उपाध्यक्ष , पदाधिकारीहरु केही नराखिकन पनि संगठन बनाइएको रहेछ । सबैलाई अध्यक्ष , उपाध्यक्ष हुन मन लागेकाले कोही पनि नबनौं, सबै साझा रुपमा बसौं भनेर यसो गरिएको हो । कसैलाई पद नचाहिएर यस्तो बनाएको भन्ने म ठान्दिन । किनभने हामी नेपालीहरुको बानी नै पद लिने छ ।  यहाँ इमान्दार साहित्यकारहरु पनि छन् । मैले नकारात्मक पाटोहरु बताएँ , यहाँ सकारात्मक पाटोहरु पनि छन् । कतिपय साहित्यकारहरु सुरुदेखि नै आफ्नै गतिमा लागिरहनुभएको छ । उहाँहरुको राम्रो चर्चा परिचर्चा भएको छैन, किनभने उहाँहरुले मट्याङग्रो पनि हान्नुभएको छैन , आफ्नो स्वाभिमान पनि कायम गरिरहनुभएको छ । यो स्वाभिमान कायम गर्ने कुरा बडो अप्ठ्यारो छ । तर कतिपयले अनावश्यक विज्ञापन गरिरहनुभएको छ । तर राम्रो साहित्यका लागि विज्ञापन गरिरहनु पर्दैन, एकसमयमा त्यो आफै देखापर्छ । अमेरिकामा राम्राराम्रा साहित्यकारपनि हुनुहुन्छ । उहाँहरुले विज्ञापन गरिरहनु पर्दैन । अमेरिकामा स्थापित साहित्यकारहरु पनि हुनुहुन्छ । तर सबै स्थापित हुनुहुन्न । स्थापित नभएकाहरुलाई स्थापित हुने स्थान पनि दिनुपर्छ ।  अमेरिकामा छरिएको छ, अमेरिकामा छरिएकोहरुबाट छान्दा अमेरिकामा रहेका साहित्यकारले सृजना गरेको साहित्यलाई विदेशका अन्य मुलुकको नेपाली साहित्यको तुलनामा राम्रो कोटीमा राख्न सकिन्छ । खाडी मुलुकतिर, जापानतिर खासै विकाश भइसकेको छैन । बेलायतमा पुरानो परम्परा छ । तर सबैतिर राम्रा साहित्यकारहरु पनि हुनुहुन्छ । छरिएकाहरुबाट राम्रो राम्रो छान्दा पनि थोपाथोपा मिलेर गाग्रो भरिने अवस्था छ, अमेरिकाको साहित्य । अमेरिकाको नेपाली साहित्य आशा गर्न लायक छ ।  अमेरिकामा बस्ने नेपाली र नेपाली साहित्यकारहरुलाई के सुझाव दिन चाहनुहुन्छ ? यो निकै गाह«ो प्रश्न हो । किनभने सुझाव मान्ने मान्छे नेपालीमा कमै हुन्छन् । सुझाव दिने खालका मान्छेहरुमात्र बढी जन्मेका छन् । अमेरिकामा झर्ने वित्तिकै एकजनाले भन्नुभयो कि अमेरिका निकै ठूलो छ, नेपालीहरु पनि भब्य रुपमा बसेका छन्, नेपाली साहित्य पनि राम्रो छ, नेपालीहरु पनि निकै मिठो बोल्छन् तर जे बोल्छन् त्यो चाही गर्दैनन् । मेरो विनम्र आग्रह यो छ कि साहित्यलाई व्यक्तिका नाममा कित्ताबन्दी नगर्नुहोला । नेपालमा जेसुकै बादविवाद , रंग बेरंग भएपनि अमेरिकामा चााही हाम्रो रंग, जात , भाषा नेपाली हो भन्ने हिसाबले मिलेर बसे, झगडा नगरी बसे सबैभन्दा कल्याण हुने थियो ।  - See more at: http://khasokhas.com/news/149#...

cybernepali · Dec 25, 2013 8:05 AM · 4,972 views

6 Replies

People come here, stay for a month tops, meet select few from their circle and then become an expert on how Nepalis in US live. As big and diverted this country is, so are Nepalis living in US. It's about time we pay no attention to these kinds of opinions in the media. Who really cares what they have to say?

Kiddo · Dec 25, 2013 5:10 PM

Yo luitel Bajey lai amerika basneharule ek thappar hannu parne.

bokaman · Dec 25, 2013 5:59 PM

Not Diverted, meant diverse

Kiddo · Dec 25, 2013 6:08 PM

US is 15 times bigger than UK and 6.5 times bigger than whole Europe. A person who lives for a month just see New York tall buildings, subways and few Chinese/Indian/Nepali grocery stores where Nepalese usually shop. There are so many Nepalese whom this guy will never meet and they don't want to meet him either. Probably the people who meet this guy still carry same attitude that was in Nepal. Based on that he gave his opinion. I came to remember actress "Rekha Thapa" said there is homeless Nepali in New York. You came to USA for a moment doesn't mean you know everything. 

Dindukhi · Dec 25, 2013 9:08 PM

Last edited: 26-Dec-13 01:15 AM

stallon · Dec 26, 2013 1:15 AM

कुरा सहि हो, एस्लाई नकारात्मक रुपमा लिन मिल्दैन | आफ्नो बेक्तिगत धारणा हो | नेव्योर्कमा पहिलो पल्ट जाने लै 'एह येही हो अमेरिका? ' भन्न लाग्न सक्छ | मै नेव्योर्क जाँदा , कुनै इन्डियन बजारमा भाको महसुस गरे | मान्छे ले मान्छे गन्दैन , मानो त्यो ठाउमा आफु बाहेक अरु कोहि छैन | अब आफु uptown तिर गईन, downtown  त खत्तमै देखे, मान्छे देखि गाडी चलाउने, चोर चकार,  तेत भनि दुइ दिन मै येतै स्वर्गसरी कैलिफोर्निया फिर्ता आए | बुढोले नेव्योर्क को तुच्छ संसार बाट येसो बाहिर निस्केर हेर्य भए कुरा अर्कै हुन्थ्यो तर, सबलाई एकै मिलमा ढुटो/पिठो बनाएर चाही आलोचना निम्ताएकै  हो | 

bittertruth · Dec 26, 2013 1:17 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all