वैद्यलाई सोध्नु मेरो छोरा मारेर के पाए ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वैद्यलाई सोध्नु मेरो छोरा मारेर के पाए ? "बैद्य भनेका को हुन् मैले त चिन्दिन, तपाईले भेट्नु भयो भने सोधिदिनु मेरो छोरा मारेपछि उनले के पाए ? किन मारे मेरो छोरो ?” हिमालखबर शनिबार , १५ मंसीर २०७० ५:४० पम -श्याम गुप्ता छोराको मृत्युको शोकमा राधादेबी यादव । तस्वीर: श्याम गुप्ता “२८ कात्तिक बिहान अली अबेर हामीले खाना खायौं, छोराको गाडी बेलुकामात्रै छुट्ने भएकोले ऊ पनि सँगै थियो । छतमा बसेर घाम ताप्दै उसले भन्यो “माइ, यसपाली काठमाण्डौंबाट स्वीटर ल्याइदिन्छु, गुद्पाक र पुष्टकारी पनि ल्याइदिउँला ।” राकेशलाई राम्रो स्कुलमा पढाउन सकिएन, उसले पनि पढाइमा धेरै मन गरेन । ड्राइभर बन्ने रहरले खलासीको काम गर्न थाल्यो । ड्राइभर भएपछि अली धेरै कमाई हुन्छ र घरको समस्या समाधान हुन्छ भन्थ्यो । २८ गते दिउँसो घरबाट हिंडने बेला स्वीटर ल्याएर पर्सी आउँछु भनेको छोरो कहिल्यै नआउने गरी गयो । कलैया–काठमाडौं चल्ने रात्री बसको खलासी थियो मेरो छोरो राकेश । उसको कमाई त कति नै हुन्थ्यो र ! हामी पनि मेहनत मजदुरी गरेर जसोतसो गुजारा गरेकै थियौं । ड्राइभर भएपछि सबै सजिलो हुन्छ भनेको थियो । उसैमाथि थियो हाम्रो आशा पनि । तर राति बासमाडी (मकवानपुर जिल्ला) मा छोराको बसमा बैद्यका कार्यकर्ताले बम (पेट्रोल बम) हानेको सुनियो । मेरो त होसै रहेन । त्यो गरीब खलासीलाई राजनीति गर्नेले मारे । जनताको सेवा गर्छौं भन्छन, गरीबका छोराछारी मार्छन् । बैद्य भनेका को हुन् मैले त चिन्दिन, तपाईले भेट्नु भयो भने सोधिदिनु मेरो छोरा मारेपछि उनले के पाए ? किन मारे मेरो छोरो ?” आफूसँग पैसा नहुँदा काठमाडौंमा अस्पतालमा रहेको छोरोलाई भेट्न जान पनि सकिएन । भेट्न जाउँला भन्दा भन्दै ११ गते बिहान ऊ गैसकेको खबर आयो । मेरो छोरो मार्ने दुष्टहरुलाइ म बुढीको हाय लागोस् (मेरो पीडाले पोलोस) ।”(यसपछि राधादेवी बोल्नै सकिनन् ) राकेशको मृत्युको खबर पाएपछि उनको घरमा जम्मा भएका छिमेकी । नेकपा–माओवादी नेतृत्वको मोर्चाले बन्दको आह्वान गरेका बेला २८ कात्तिक राति कलैयाबाट काठमाडौं जाँदै गरेको ना.४.ख.९८३६ नं.को यात्रुबाहक बसमा पेट्रोल बम प्रहार भएको थियो । बसका खलासी (सहचालक) कलैयाको घुसकुर–७ का १६ वर्षीय राकेश यादवको उपचारका क्रममा ११ मंसीर बिहान ११:३० बजे काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भयो । उक्त पेट्रोलबम आक्रमणमा घाइते भएका बसका चालक घुसकुरकै भोला साह पनि गम्भीर अवस्थामा अस्पतालकै बेडमा छन् । बम आक्रमणबाट करिब १२ जना यात्रु पनि घाइते भएका थिए । म १४ मंसीर बिहान राकेशको घरमा पुग्दा छिमेकी महिलाहरुले घेरिएकी राकेशकी आमा ६० वर्षीया राधादेवी यादव रोइरहेकी थिइन् । छिमेकीहरुले सम्झाएपछि केही बेर थामिएकी उनीसँग कुरा शुरु गरेको केही छिनमै उनको रुवाई फेरि बढ्न थाल्यो । छेवैमा बसेका बाबु पनि आँखा टिलपिल पारिरहेका थिए । “बन्दका बेला राकेश आफै गाडीमा गएको होइन, सरकारले जिम्मा लिन्छौं, सुरक्ष दिन्छौं भनेको थियो,” राकेशका ६५ बर्षीय बाबु रामअयोध्या यादव भन्छन्, “प्रहरीले घेरेकै बसमा पनि पापीहरुले बम हाने, न प्रहरीले रोक्न सक्यो न सरकारले कारवाही गर्न सक्यो । यहाँ त गरीबमाराहरुकै बोलबाला छ ।” बसका चालक भोला साहका अनुसार राति बासमाढी नजिकै पुग्दा गुडिरहेको बसको अगाडिको विन्डस्क्रिनमा एक्कासी पेट्रोल बम आयो, उनी आत्तिएर ब्रेक लगाए तर लगत्तै बसको झ्याल र ड्राइभरको ढोकाबाट फेरि तीन–चार वटा पेट्रोल बम आए । त्यसपछि एकै पटक साहले आफूलाई अस्पतालको बेडमा पाए । सरकारले राकेशको परिवारलाई अहिलेसम्म किरिया खर्च भन्दै २५ हजार रुपैयाँ दिएको छ । तर, सरकारले तोकेको क्षपिूर्तिकालागि मृतकका आफन्तले ११ मंसीरमा प्रहरी बृत महाराजगंज काठमाण्डौंमा जाहेरी दिएपनि अहिले सम्म कुनै सुनुवाइ नभएको मृतकका आफन्त मुकेशकुमार यादव बताउँछन् ।

_____ · Nov 30, 2013 8:29 AM · 11,611 views

1 Reply

she is right why don't they go and hurt other criminals and thugs and corrupted officials rather than killing poor people trying to survive Last edited: 01-Dec-13 07:43 AM

stripperkopoi · Dec 1, 2013 2:39 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all