मतको सन्देश र 'ग्रान्ड डिजाइन' 24 Nov 2013 आइतबार ९ मंसिर, २०७० रघुनाथ लामिछाने 1 2 3 4 5 (0 votes) संविधान सभाको निर्वाचन परिणाम करिब करिब छर्लङ्ग भइसकेको छ। 'यथास्थितिवादी' भनिएका दललाई जनताले बढी मत दिएका छन् भने स्वघोषित 'परिवर्तनकारी' दलचाहिँ प्रतिस्पर्धामै आउन सकेनन्। त्यसैले केही दल, खासगरी एनेकपा (माओवादी) र मधेसवादी दलले आफूले आफैँलाई दिएका 'परिवर्तनकारी' को उपाधिमाथि पुनव्र्याख्या आवश्यक देखिएको छ। अनि परिवर्तन शब्द भजाएर यसलाई सत्ताको भ¥याङ बनाउने विरुद्ध जनअभिमत व्उक्त भएको छ। जसको सजाय जनताले यस्तो परिवर्तनको आग्रह राख्नेलाई नै परिवर्तन गरेर दिएका छन्। निर्वाचन परिणामको अर्को सन्देश हो– जातीयता ठीक छैन। जुन जुन दलले जातीय आधारमा मुलुकलाई 'प्लटिङ' गर्नुपर्छ भन्ने आवाज उठाए, तिनका पक्षमा परिणाम आएन। प्रजातन्त्रमा जनताले आफ्नो धारणा राख्ने सबैभन्दा उपयुक्त र प्रभावकारी विधि नै मतदान हो। त्यसैले जातीयताका आधारमा राज्य विभाजन गर्नुपर्छ भन्नेहरुलाई मत नआउनुको स्पष्ट धारणा हो– जनता अहिले केही व्यक्ति र दलले उठाइरहेका जातीयताको सवाल ठीक ठान्दैनन्। जातीय राज्यको वकालत गर्दै नेकपा (एमाले)बाट छुट्टिएर नयाँ पार्टी गठन गरेका अशोक राईकै जिल्लामा दुवै सिट एमालेले जित्नुबाट यो प्रमाणित भएको छ। जनताले दिएका यो सुझबुझपूर्ण अभिमत अखण्डता, सहिष्णुता र समानताको हिसावले धेरै उच्च छ। आत्मनिर्णयको अधिकारसहितको सङ्घीयता, त्यो पनि आफूले भनेकै आकार र सङ्ख्या अनि नाममा हुनैपर्ने दाबी गर्नेलाई पनि जनताले तिरस्कार गरेका छन्। खासगरी मधेसवादी दलहरुको नराम्रो पराजयले यसलाई पुष्टि गर्छ। मधेसमा यस्ता नारा उठाउनेविरुद्ध कङ्ग्रेस, एमालेका मधेसी उमेदवार विजयी हुनु र काठमाडौंमा यस्ता नाराको प्रवक्ताका रुपमा देखिएका एमाओवादी हुँदाहुँदै अन्य दलले विजय हात पार्नु उनीहरुले अङ्गालेका विचार नै गलत छन् भन्ने पुष्टि हो। नत्र नेवारको सङ्ख्या बढी भएको काठमाडौं नगर क्षेत्रमा नेवा राज्य चाहिन्छ भन्ने हिसिला यमी हारेर उनको विपक्षमा उभिएका एमालेका रामवीर मानन्धर नआउनुपर्ने हो। नवलपरासीमा हृदयेश त्रिपाठी हारेर विपरीत ध्रुवका कांग्रेसका देवकरणप्रसाद कलवारलाई जनताले ६ हजारभन्दा बढी मत नदिनुपर्ने हो। त्यसैगरी राजेन्द्र महतोले २८ सय मतले नहार्नुपर्ने हो। डर, त्रास र बल मिच्याइविरुद्धको अभिमत पनि हो यो निर्वाचनको परिणाम। अरुलाई बातैपिच्छे तुच्छ पाराले हरुवाको उपाधि भिराइरहने र आफू सदाका लागि विजेता बनेको भ्रम एमाओवादीमा थियो। उता मधेसवादी दल आफूलाई प्राप्त केही सिटलाई सत्ताको बार्गेनिङ गर्ने साधनदेखि अन्य दललाई तर्साउने औजारसम्म बनाइरहेका थिए। आफू सत्तामा जान पाए मधेसको हित भएको ठान्ने तर आफू सत्ताबाहिर रहँदाबित्तिकै मधेसमाथि षडयन्त्र भएको देख्ने करिब एकाध दर्जन नेताका कारण अहिले मधेसी दलहरुको यो अवस्था सिर्जना भएको हो। उनीहरुले सत्तामा जान र टाँस्सिइरहन केमात्र गरेनन् भन्ने जानकारीबाट सबै मधेसी जनता जानकार भएको प्रमाण पनि उनीहरुले मतद्वारा व्यक्त गरे। अहम्को पराजय यो निर्वाचनले दिएको अर्को विशेषता हो। आफूलाई नै 'स्टेट' ठान्ने, ठूलो दल भएको अभिमानमा टेकेर नियम÷कानुन मिच्न पाइन्छ भन्ने वकालत गर्ने, विधिको शासनलाई चुनौती दिने र आफूले गरेका कुकृत्यलाई जनताका नाममा थोपर्दै निरन्तरता दिने कार्यविरुद्ध जनअभिमत आएको छ। कटवाल प्रकरण होस् वा डेकेन्द्र, कृष्णप्रसाद अधिकारी काण्ड होस् वा पशुपतिका पुजारी, सबैमा ठूलो दल भएकाले जे पनि गर्न पाउनुपर्छ भन्ने अहम् देखापर्यो। यही अहम् हो जसले हामी जहाँबाट पनि जित्न सक्छौं भनेर अरू दलका प्रतिष्ठित नेताहरू उठेका ठाउँमा सिङ्गौरी खेल्न गएकाहरु शर्मनाक हारसहित फर्कन बाध्य हुनुपर्यो। जितेका क्षेत्रमा पनि निकै चुनौती सामना गर्नुपर्यो। यस्तै दर्जनौं कार्य हुन् जसले एमाओवादीलाई जनताले आजको स्थितिमा पुर्याइदिए। बन्दुकबाट राज्यसत्ता कब्जा गर्न नसकिने देखेपछि संसदीय राजनीतिमा सहभागी हुने तर संसदीय व्यवस्थाका नियम, मूल्य र मान्यतालाई भने सधैँ चुनौती दिने व्यवहार पनि यो निर्वाचनमा पराजित भयो। आफू चुनावमा सहभागी हुने, संसदमा आउने, त्यही संसदमार्फत् सत्तामा जान हरेक तिकडमबाजी अपनाउने र रुवाबासी गर्ने तर कङ्ग्रेस–एमालेलाई भने 'संसद्वादी दलहरु' भनेर खिसीट्युरी गर्ने उनीहरुको व्यवहार रह्यो। एकातिर सत्तामा जानकै लागि संसद् प्रयोग गर्ने अर्कोतिर कार्यकर्तालाई हिंसात्मक युद्धकालमा दिएका आश्वासन जीवितै रहेको भ्रम छर्न हामी संसदीय भासमा फसेका छैनौं है भन्ने देखाउन निर्वाह गरिएको यस्तो द्वैध चरित्र पनि उसका लागि घातक सिद्ध भयो। अनि बाहिर गर्ने भाषण र बन्द कोठामा गर्ने भाषणबीचको आकाश–जमिनको अन्तरले पनि सुझबुझयुक्त कार्यकर्तालाई एमाओवादी नेतृत्वको वास्तविकता थाहा पाउन सघायो। यसले पनि यो चुनावमा धेरथोर प्रभाव अवश्य पार्यो। एमाओवादी र मधेसवादी दलहरुको अहिलेको परिणाम भनेको यी दुईको मिलनमा बनेको पछिल्लो सरकार नै हो। जसले सत्तामा जानदेखि त्यहाँ टिकिरहन हुँदै त्यस अवधिमा उनीहरुले गरेका दर्जनौं कर्तुत छताछुल्ल पार्यो। बाहिर रहँदा ठूला कुरा गर्नेहरु डाडुपन्यु हातमा परेपछि कति क्रुर, अविवेकी र धोकेवाज हुँदारहेछन् भन्ने उनीहरुले त्यतिबेला प्रमाणित गरे। मुलुकको आर्थिक वृद्धि दर यही बेला निकै ओरालो लाग्य। शान्ति र संविधानको विषय यही बेला सबैभन्दा बढी ओझेलमा पर्यो। भ्रष्टाचार यही बेला चरम भयो। विधिको शासन यही बेला सबैभन्दा बढी सङ्कटमा पर्यो। राज्यको ढुकुटी यही बेला चरम दुरुपयोग भयो। सुकुम्बासी यही बेला लखेटिए। मल नपाएर किसान यही बेला रुन बाध्य पारिए। के भएन यस अवधिमा ? त्यसलाई जनताले सचेतपूर्वक नियालिरहेका थिए र त यो परिणाम आउन सक्यो। यति हुँदाहुँदै पनि एकल जातीय सङ्घीयता, आत्मनिर्णयको अधिकार, एक मधेस एक प्रदेश, जात, लिङ्ग र धर्मका आधारमा जनतालाई विभाजन गर्ने, जहाँ गयो त्यहीँ राज्य मौखिकरूपमा बाँड्दै हिँड्ने, कङ्ग्रेस–एमाले जस्ता पुराना लोकतान्त्रिक संस्कार बोकेका दललाई 'पार्टी नै छैन' भनेर अस्तित्व नै स्वीकार नगर्ने जस्ता भनाइ र व्यवहार जनताले रुचाएनन्। यी दलले घोषणापत्रमा समेत सङ्घीयतालाई स्वीकारिसकेको अवस्थामा पनि कङ्ग्रेस–एमाले सङ्घीयता विरोधी हुन् भनेर व्यापक प्रचार गरियो। तर यस्तो गोयबल्स शैलीलाई पनि जनताले 'नमस्कार' गरिदिए। र, पाठ पनि सिकाए– हामी झुटको खेतीमा विश्वास गर्दैनौं। त्यसैले अहिले निर्वाचनमा जनताले दिएका मत यिनै कमजोरी, अहम् र अलमलको 'फ्युजन' हो। अन्त्यमा, एमाओवादीले आफूहरुलाई हराउन ठूलो ग्रान्ड डिजाइन भएको बताएको छ । यो ग्रान्ड डिजाइन के हो त ? एक माओवादी मित्रकै भनाइमा १. बाबुराम भट्टराईलाई संविधान सभा विघटन गर्न पार्टीभित्रैबाट उक्साइनु २. एमाओवादीको सरकार खेदेर कर्मचारीको सरकार बनाइनु ३. मतदाता परिचयपत्र अनिवार्य गरिनु ४. सुरक्षा व्यवस्था मजबुत पारिनु ५. अरु दलले एमाओवादीलाई मत नहाल्न जनतालाई भन्नु र उनीहरुले पनि त्यसै गर्नु - See more at: http://www.nagariknews.com/opi...
_____ · Nov 24, 2013 4:48 PM · 1,379 views
Good article and well highlighted. Thx for sharing.
Kiddo · Nov 24, 2013 5:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion